नेपाली भाषाको पाठ्यक्रम निर्माण कार्य युद्धस्तरमा आरम्भ

साहित्य परिषद्, भूटानको पाठ्यक्रम विकास समितिले डायस्पोराका नेपालीभाषी समाजको आवश्यकतालाई ध्यानमा राखेर नेपाली भाषाको तहअनुसारको समसामयिक पाठ्यक्रम निर्माण गर्ने कार्य आरम्भ गरेको जानकारी दिएको छ । नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र संवर्धनमा लामो समयदेखि योगदान दिँदै आएको साहित्य परिषद्, भूटानले केही वर्षयता यस क्षेत्रमा पहल गरे पनि विविध कठिनाइका कारण उत्साहजनक उपलब्धि हासिल हुन सकेको थिएन। गत वर्षको दिसम्बरमा भएको निर्वाचनबाट विभिन्न समितिहरू बनेसँगै पाठ्यक्रम विकास कार्यमा ठोस पहल हुने अपेक्षा गरिएको थियो।

समितिका निर्देशक श्री खिम खतिवडा (एम.ए., बी. एड्. नेपाली र संस्कृतमा) संयोजकत्वमा डा. खेम नेपाल (पीएच्. डी. दर्शन शास्त्रमा, एम. ए. संस्कृत र नेपालीमा ), डा. लक्ष्मीनारायण ढकाल (पीएच्. डी. दर्शन शास्त्रमा, एम. ए. संस्कृतमा, पोस्ट ग्रेजुएट र बी. एड्. नेपालीमा ), श्री सोम आचार्य (एम.ए., बी. एड्. अङ्ग्रेजीमा) र युवा कवि श्री खगेन्द्र भण्डारी ‘जन्तरे’ (स्नातक, विज्ञानमा) गरी हाललाई पाँच सदस्यीय पाठ्यक्रम विकास समिति रहेको छ ।  अस्ट्रेलिया, युरोप, एसियाका प्रतिनिधि सदस्यहरूको स्थान भने खाली रहेको र ती पदहरूको परिपूर्तिका लागि विज्ञहरूसँग सम्पर्क जारी रहेको जानकारी पनि समितिका निर्देशक श्री खतिवडाले दिनुभएको छ ।

नेपालबाट प्रकाशित पाठ्यक्रम एवं पाठ्यपुस्तक पाठ्यभार तथा सामाजिक, भौगोलिक, राजनैतिक आदि विभिन्न परिस्थितिका दृष्टिले पनि डायस्पोराका विद्यार्थीकालागि उपयुक्त नहुने देखेर श्री खतिवडाले व्यक्तिगत रूपमा नै श्रृङ्खलात्मक नेपाली पाठ्यपुस्तक, ‘हाम्रो नेपाली भाषा’, सन् २०१७ सालदेखि निरन्तररूपमा प्रकाशित गर्दै आइरहनुभएको छ ।

“शिक्षण, लेखन, प्रकाशन, कार्यपत्रहरूको प्रस्तुति आदि विभिन्न माध्यमबाट नेपाली भाषा र साहित्यको विकासमा लामो समयदेखि योगदान पुर्याइरहनुभएका व्यक्तित्वहरूले समितिमा रहेर काम गर्न सहर्ष स्वीकरिदिनुभएको हुँदा एउटा स्तरीय, समसामयिक अनि वैज्ञानिक पाठ्यक्रम तयार हुनेमा आफू विश्वस्त रहेको छु”, निर्देशक खतिवडाले भन्नुभयो ।

पाठ्यक्रम विकास समितिको पहिलो औपचारिक बैठक बसिसकेको र भावी योजनाहरू तयार भइसकेका छन् । पहिलो स्तरमा जहाँजहाँ भाषाका कक्षाहरू सञ्चालन भइरहेका छन् त्यहाँत्यहाँ स्थलगत निरीक्षण गरी विद्यार्थी शिक्षक/शिक्षिका र अभिभावकहरूसँग अन्तर्वार्ता लिने वा सर्वेक्षण गर्ने र, अमेरिका, क्यानडा, अस्ट्रेलिया लगायत विभिन्न राष्ट्रमा सञ्चालित अन्तर्राष्ट्रीय भाषाका पाठ्यक्रमहरूमा रहेका ग्रेडिंग र क्रेडिट सिस्टमको अध्ययन तथा अनुसन्धान गरी सोहिअनुरूप समसामयिक पाठ्यक्रम तयार पारेपछि नेपाल, भारत, अमेरिका, क्यानडा, अस्ट्रेलिया आदि देशका भाषा एवं पाठ्यक्रमविद्हरूलाई निरीक्षण गराई उहाँहरूको सुझाव अनुरूप परिमार्जन गरेपश्चात् पाठ्यक्रमलाई अन्तिम रूप दिने योजना समितिले बनाएको छ । पाठ्यक्रम निर्माण कार्य समापन भएपछि साहित्य परिषद्को यो विभाग पाठ्यपुस्तक, शिक्षक निर्देशिका लगायत अन्य आवश्यक श्रव्य, दृश्य शिक्षणसामग्रीहरूको सम्बन्धमा अध्ययन, अनुसन्धान र प्रकाशन गर्ने, शिक्षक तालिम, कार्यशाला गोष्ठी आदिको आयोजना गर्ने, अनलाइन भाषाकक्षाहरू सञ्चालन गर्ने र भविष्यमा डायस्पोरामा नेपाली भाषा, साहित्य र संस्कृतिको उच्च अध्ययनको सम्भावनालाई विकास गर्ने कार्यमा निरन्तर लागिरहनेछ ।

पाठ्यक्रम भन्ने कुरा निरन्तर संशोधन र परिमार्जन गरिरहनुपर्ने कुरा हो त्यसैले यो कार्य यति समयमा सकिन्छ भनेर तोक्न सजिलो नभए तापनि यो पहिलो चरणको कार्य भएको हुँदा यस पाठ्यक्रमलाई लगभग वर्षदिन भित्रमा तयार पार्ने समितिको योजना रहेको कुरा निर्देशक श्री खतिवडाले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *