परिणति

दुर्गा निरौला
न्यूयोर्क

हुक्काबाट तमाखुको धुवाँ बुङ्ङ फुकेर लामो सुस्केरा ताने मुखिया बा‘ले ! गाउँलेहरूको बेइज्जती सहन नसकेर लब्सिबोटे गाउँ छोड़ी गैरीगाउँ पसेको पनि आज लगभग पाँच वर्षै बितेछ !
लब्सिबोटे गाउँमा उनको राम्रै धाक जमेको थियो । बाह्र खरी नजाने पनि उनी धुरन्धर विद्वान् मानिएकै थिए । उनकै हैकमको भरमा गाउँमा धर्म, कर्म, पर्म, मर्म सबै पूरा गरिन्थ्यो । भनौं उनीबिना गाउँमा वरको सिन्का पर सर्दैनथ्यो । उनका विरुद्ध केही बोल्ने कसैले आँट गर्दैनथ्यो । बोलिहाले बा‘ले ठूलै सजायको भागिदार बनाउँथे । उनीसँग कुनै विषयमा विमति राखे, मतभेद भए समाजमा तनाव ल्याउन खोजेको आरोप आउँथ्यो जोकसैमाथि पनि । उनका घरका मान्छे राम्रा, गाई राम्रा, खेती राम्रो, कुकुर-बिरालो सबै राम्रो, अरुकाभन्दा उनको बारीका मुसा पनि ठूला भनिदिनुपर्थ्यो सबै छिमेकीले । उनको नाता र स्वामित्त्वका सबै थोक राम्रा, ठूला र उत्तम मान्नुपर्ने बाध्यता त्यो गाउँका सबैमाथि लादिएको थियो ।
मुगलान पसेको धेरै बिते पनि पहाड़मा मुखिया भईखाएका उनका बाजेको सम्झनामा उनलाई सबैले मुखिया भन्ने गरेका थिए । गैरी गाउँका जनताले पनि गत वर्ष मुखिया बा‘ लाई नयाँ मुखियाकै रूपमा चुनेका थिए । एकवर्षको शासन र उनको चाणक्य विद्वताको कदर गर्दै जनताले पुनः अर्को वर्षको शासनभार पनि उनकै हातमा सुम्पिदिए ।
अब विस्तारै मुखिया बा‘ पोखिन थाले जनतामाथि । कैयौंका खल्तीमात्र रित्त्याएनन्, मुखिया भएको सम्मानमा डबका र पानखिलीको मागसमेत गर्नथाले । उनको निजी कार्यालयमा टेबुलमुनि होइन माथिबाटै हुन्थ्यो घूसपेशको कारोबार । घूस नपाएको दिन उनी माग्नथाले । दिनदिनै भोज र मोजको लहर चल्नथाल्यो ।
यसरी उनी सकेसम्म लुटी खाने र नसके मागी खाने बन्दै गए । यो कुरा उनलाई अत्तोपत्तो भएन । गैरी गाउँलेहरूले उनलाई मुखिया पदबाट खारेज गर्ने अठोट गर्नथाले । उनी नमान्दा एकदिन गाउँलेहरू मिलेर उनलाई जबरजस्ती कार्यालयबाट घिसारे बाहिर ल्याए अनि खारेजीको घोषणा गरे । त्यसपछि उनको अनौपचारिक नाम खत्तमसिंह राखियो । तैपनि उनले गाउँमा मागीखाने कामचाहिं छोड़ेनन् । उनलाई देख्नेबित्तिकै केटाकेटीहरु भन्थे, ‘‘हाम्रोमा …छैन, उता जाऊ ।’’ उनलाई सबैतिर छिः छिः र दुरदुरमात्र पुरस्कार आउनथाल्यो । उनकै नामको कारण अरु गाउँका मानिसहरूले गैरीगाउँकै बेइज्जती गर्नथालेका छन् । हद भएपछि एक बिहानै गैरीगाउँबाट पनि उनी भागे भन्ने हल्ला फैलियो । सबैले भने-‘‘आफ्नै कारनामाको परिणति मुखिया बा‘ले भोगे ।’’

(सन्देश साप्ताहिकको १२० औं अंकबाट संशोधित साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *