परिवर्तन
सुशील पोखरेल
दक्षिण अष्ट्रेलिया
लामो समयको पर्खाइपछि म तेस्रोदेश पुनर्वासको पहलमा लाग्न थालेको थिएँ । नेपाल र भारतका केही साथीहरुले यो पहल राम्रो वा नराम्रो हो भनेर दुवैखाले प्रतिक्रिया दिएका हुन् । विकल्प पनि त थिएन । नेपाल वा भारतमा पेट पाल्ने अस्थायी काम गरिएको थियो । तर त्यतिले नै लक्ष पुरा हुने पनि थिएन । केही साथीहरुले अर्काको मुलुकमा अल्पसंख्यक भएर बाँच्न सजिलो छैन भन्ने प्रतिक्रिया दिएका हुन् । मैले बितेको दुईदशक लामो प्रवासी जीवनमा शरणार्थीको कहालीलाग्दो अनेक क्षण भोगेको छु । त्यस्ता दुःखदायी समयको कुन पाटो कोट्याउँ । अझै मलाई थाहा छैन । वषौंदेखिको शरणार्थीको यो तिरस्कृत दर्जा मेरो निम्ति असैह्य कुरो थियो । कति दिन सहने? पुनर्वास मेरो निम्ति एउटा निर्णायक घडी थियो । शिविरमा भूटानी भूटानी बीचमा तेस्रोदेश पुनर्वासको भित्रभित्रै विरोध नभएको पनि होइन । पुनर्वासको निम्ति कसैले निवेदन हाल्यो भने उसको ज्यानको डर । धम्क्याउने, घर घेर्ने, बाटो छेक्ने अनि अनावश्यक पोल लाउने कुराले भूटानी भूटानीबीचको अन्तर्कलह छर्लंग देखिन्थ्यो । भूटानमा हुँदा लुकी-छिपी सरकारलाई अनेक खाले पोल लाएर कतिको परिवार वित्यास पार्ने हाम्रै नेपालीभाषी भूटानीहरुको कमी थिएन । तर शिविरमा पुनर्वासको विरोध भनेको भूटान फर्किने कुरालाई लिएर भएको हो । यो दुई दशकभन्दा अधिक समयको मूल्यांकनले नै पनि भूटान फर्कने विकल्प अहिलेलाई नदेखिएको अवस्थामा तेस्रोदेश पुनर्वासबाहेक अरु के नै पो संभव थियो र । यस कुरालाई घोरिएर सोच्नेहरुले पुनर्वासलाई स्वीकारेका हुन् । यस साँचो तथ्यलाई त्यसताक खस्रो मसिनु गरी केलाउने व्यक्तिको कमी थिएन । तर शुरु शुरुमा बोल्ने अवस्था नै थिएन। विरोध भनेपछि दायाँ बायाँ नहेरी विरोधमात्र गर्ने एउटा परम्परा नै बसेको थियो । समूहको त के कुरा पुनर्वासको कुरालाई लिएर परिवारबीच पनि ससानो झगडा र फसाद हुनु कुनै नयाँ कुरो थिएन । शिविरमा भविष्य छैन भनेर सबैले अनुमान गर्नसक्ने कुरो थियो । तर पनि विरोध हुन्थ्यो । जानेर, सुनेर वा अर्कोले उकासेको भरमा पनि विरोध गरिने चलन पुरानो हो शिविरमा । यस्तै क्रममा पुनर्वास प्रक्रिया अघि बढ्यो । कोही आपसी सल्लाहले पुनर्वासको निम्ति हिँडे भने कोही पारिवारिक विरोधबीच पनि बाटो लागे । तेस्रोदेश पुनर्वासको कुरालाई लिएर कुनै परिवारमा निकै लामो समयसम्म बोलचाल नै हराएको कुरो अहिले सम्झन्छु । उदेक पनि लाग्छ । बाबु एउटा देशमा गए भने छोरा अर्कै देशमा पुगे । छोरीहरु अर्कै मुलुकमा रमाएका छन् । कोही त परिवारबीचको सल्लाह बिना नै आफ्आफ्नो रोजाइको देशमा उडे । विदाईको रातो टीका लाएर आँखाभरि आँसु बोकी आइओएमको गाडीमा चढ्ने क्रम अहिले पनि जारी छ । महिनौं नबोलेका आफन्तजन पुनर्वासमा हिड्न लागेकालाई एकैपल्ट भए पनि अन्तिम भेटेर मनको धुलो मैलो मेटाउने धोको पूरा गरेको कुरो मलाई जस्तै अरुलाई थाहा भएको हुनुपर्छ । किन पो मन चिसो पारिएछ……., आखिर जो जस्तो भनाभैरी भए पनि मान्छे आफ्नै हो…….. । धेरैलाई अहिले आएर पछुतो पनि भएको हुनसक्छ । थक्क थक्क लाग्छ । निर्णय गर्न जो पनि स्वतन्त्र छ । खुशी आफैंले बटुल्ने त हो नि । खुशी भएर रहन पाउनु जीवनको सबैभन्दा राम्रो पक्ष हो । कति परिवारमा बाबा आमालाई तेस्रो मुलुक नराम्रो होइन भनेर सम्झाउनेहरुको पनि कमी थिएन । कतिका बाबुआमा नेपाल मै छन् । कतिका छोराछोरी भूटान फर्कने ताकमा । कति भूटान मै पनि छन् । फर्कने विकल्प के के हुन् कसैलाई पनि भन्न गहारो हुन्छ । धेरैले पुनर्वास ठीक हो भन्ने बुझेर पहल गरे । कुनै कुनै त अझै भूटान नै जाने अडानमा छन् । विकल्प नदेखिए पनि एउटा अडानमा रहनु आफ्नै प्रकारको चिन्तन हो । देशलाई बाजीमा लाउन भूटान सरकार तयार छ तर शरणार्थी फर्काउन उसले चाहेको छैन । यो कुरो हामीले विगत अढाइ दशकदेखि नबुझेको कुरो होइन । उपर्युक्त कुरालाई ध्यानमा राख्दै मैले तेस्रो देश पुनर्वासमा आएर निश्चय पनि राम्रो काम गरेँछु जस्तो लाग्छ अहिले । शरणार्थी शिविरमा बेला बेलामा हुने गरेका पारिवारिक चिसोपनका कारण एकै घरका सदस्य पनि भिन्न भिन्न ठाउँ र देशमा पुनर्वासको रोजाइमा परे । लामो समयसम्म टाढा मुलुकको एक्लोपन र परिवारका अरु सदस्यको यादले धेरैलाई सताउन थालेको छ । यो पछुतो लाग्ने कुरा नै हो । किन छुट्टिएछौं । सबै सँगै आएको भए कति राम्रो हुने थियो । फलानोलाई अब देख्न पाइन्न होला । फलानोलाई यतै ल्याइदिने हो कि होइन । मर्दा-पर्दा वा खुशीको बेलामा सँगै हुइन्थ्यो । पुनर्वास पछिको एक प्रकारको अव्यक्त पीडा हो यो । जुन परिवार परस्परमा टाढा रहन चाहेन त्यो परिवारले विदेशमा पनि उन्नति गर्न सकिरहेको अवश्य छ । परिवार अलग अलग देशमा परेपछि भने कतिको मनमा व्यथा छ । पीर छ । बेला बेलामा यो व्यथा फोनमा व्यक्तिन्छ । टाढा भइयो, खोइ अब भेट हुने हो होइन, यसै मरिन्छ कि……..इत्यादि । यो खालको रुन्चे गुनाशो हिजो आज कुनै नयाँ नौलो भएर रहेको छैन भूटानीहरुमा । मेरो परिवार पनि यस अपवादबाट धेरै हदसम्म अछुतो रहन सकेन । शरणार्थी शिविरको स्वच्छन्द वातावरणमा बाबा, आमा, दाजु, भाइ, दिदी, बहिनी वा अन्य आफन्त जन सधैँ सँगै रहे-बसेकोले पनि परस्परको मूल्य र मान्यता सीमित रहन्थ्यो । देखी रहिन्थ्यो-भेटी रहिन्थ्यो । दुःख सुखका कुरा भइरहन्थे । प्रत्येक दिन अनि रात सँगै रहिन्थ्यो । यसरी नै एक अर्कामा कम नजिकपनको अनुभव भएको थियो । सम्झना सधैँ बासी हुन्थ्यो भने माया सेलाएको । भइरहेको वस्तुमा आकर्षण कम हुन्छ । त्यही वस्तु टाढा भएर रहोस् त मन र मायाँ त्यतै खिँचिएर जान्छ । मन आँखा होइन । यसैले त यसले सात समुद्र पारी पनि देख्छ । आज धेरै छोरा छोरीलाई बाबा आमा के रहेछन्, उनीहरुको मूल्य र मान्यता के कस्तो रहेछ, उनीहरुको अनुपस्थितिले कस्तो एक्लोपन ल्याउँदो रहेछ भन्ने कता कता लाग्छ । बाबा आमा वा पाकाहरुलाई पनि छोराछोरीको सान्निध्यता कति आनन्ददायी हुँदो रहेछ भन्ने अनुभूति अहिले आएर खड्किरहेको हुनपर्छ । यस्तै उहापोहको बीचमा पनि दुरदृष्टि विचार राख्ने हो भने अहिलेको परिस्थितिमा तेस्रो देश पुनर्वास शरणार्थी भूटानीहरुको निम्ति सुनौलो अवसर हो । पुनर्वासमा पुगेका भूटानीहरुले आफन्तलाई गरेको आर्थिक सहयोगले शिविरमा कतिलाई विगतमा भोग्नपरेको अभावपूर्ण अवस्था बिर्साइदिएको छ ।
आफन्तले पठाएको धनराशिले शिविरमा कहीँ कतै युवा समूहलाई कुलततिर धकेलेको कुरो समेत जगजाहेर छ । पुनर्वासमा समस्या भनेको कतिलाई भाषा र रहन सहनको छ । शिविर छोड्नु अघि मुख्यतः यिनै विषयमा सबै चिन्तित देखिन्थ्ये । तर क्रमशः परिजन वा छिमेकी पुनर्वास गएपछि उनीहरुको कुराबाट धेरैलाई धेरै कुरो स्पष्ट भएको हुनपर्छ । अट्रेलियाकै सन्दर्भको कुरा लिऊँ । यस देशमा भाषा संस्कृति र धर्मलाई समान मान्यता दिएको पाइन्छ । वषौं अघिदेखि यहाँ आएका हामी जस्तै अन्य देशका आप्रवासीहरु दिनदिनै समुन्नत हुँदै गएको इतिहास छ । उनीहरु पनि समय समयमा आफ्नो जन्मभूमि जाने आउने गर्दछन् । भाषा र रहन सहन भनेको ठाउँ अनुसारले चल्न र बोल्न सकिने कुरो हो । यस खाले समस्यालाई विस्तारै निराकरण गर्न नसकिने चाँहि होइन । भित्रैबाट परिवर्तन नचाहेर सधैँ कट्टर विचार राख्ने मानसिकताले जहीँ पनि असहज परिस्थिति बेहोर्नुपर्छ । परिवर्तन युग अनुसारको खाँचो हो भन्ने बुझ्नु राम्रो हो । यस प्रकारको शोच राखेर अघि बढ्ने व्यक्ति जहाँ रहे बसे पनि उसलाई असहज कहिल्यै हुँदैन । त्यसै पनि हामी एउटा विकसित राष्ट्रको नागरिक हुन गइरहेका छौं । पुनर्वास नयाँ पुस्ताको निम्ति विषेश गरी ससाना केटाकेटीहरुको निम्ति यो एउटा भाग्य निर्माणको अमूल्य अवसर हो भन्ने कुरा हामीले स्वीकार्नैपर्छ । यो कुरो पुनर्वासमा आएका नानीहरुले पनि आत्मसात गरेको साह्रै असल हो । भूटानमा होस् वा शिविरमा हाम्रा नानीहरुको शिक्षाको स्तर पुनर्वास भएका देशको बराबर निश्चय पनि हुनसक्दैन । लाखौं लाख खर्च गरेर एशियाबाट धनाढ्य परिवारका मानिस मात्र अमेरिका, अष्ट्रेलिया, न्यूजील्याण्ड जस्ता विकसित राष्ट्रमा पढ्न आउँन सक्छन् । केही वर्षसम्म अध्ययन गरेर फेरि फर्कन्छन् । उपर्युक्त कुरामा ध्यान दिँदै हाम्रो बितेको र अहिलेको अवस्थालाई दाँजेर हेर्नु हो भने कुरो छर्लंग हुनसक्छ । हामी र हाम्रा नानीहरुले यो अवसर पाउनु कम भाग्यको कुरो होइन । यो प्रत्येक बाबु आमाले मनन गर्नुपर्ने कुरो हो । दिनदिनै हाम्रो परम्परा, भाषा, धर्म, संस्कृतिप्रति नयाँ पुस्ता टाढिन सक्ने चिन्ता छ हाम्रा अघिल्लो पुस्ताका मानिसलाई । तर हामी जस्तै आप्रवासीको रुपमा वषौंदेखि विदेशमा बस्दै आएका अन्य भाषीका नानीहरु उनीहरुको परम्पराबाट टाढिएको भने देखिँदैन । उनीहरु पनि त्यत्तिकै गम्भीर छन् । सम्बेदनशील छन् । लगाउ छ उनीहरुलाई पनि आफ्नो पारम्परिक अस्तित्वप्रति । भाषा संस्कृति परम्परा जस्तो विषयमा समय अनुसारले परिवर्तन आएको इतिहास छ । परिवर्तनको यस सिलसिलालाई हामीले स्वीकार्नैपर्छ । उपर्युक्त विषयमा भन्दा आफ्नो शिक्षा र विकासतिर विषेश ध्यान दिने समय हो अहिले । हाम्रा बाबा-आमाले जस्तो परम्परा पालन गरे त्यो हामीबाट हुनसक्दैन । हामीले जुन रीतिरिवाज पछ्याउँदै आयौं हाम्रा नानीहरुले त्यो अनुसरण गर्न निश्चय पनि सक्ने छैनन् । हामीले नानीहरुमा सो कुरो जबर्जस्ती लाद्ने काम गर्यौं भने त्यो उनीहरुको निम्ति भारी अन्याय हुनेछ। नानीहरुलाई आफ्नो दुनियाँमा आफ्नै प्रकारले अघि बढ्न दिनु उनीहरुको निम्ति असल हो । हामीले अघिल्लो पुस्ताबाट जे जति लिन सक्यौं र हामीबाट हाम्रा नानीहरुले अब कति लिन सक्छन् त्यसैमा निर्भर रहने कुरा हो । त्यति नै हाम्रो निम्ति पर्याप्त हो भनेर हामीले स्वीकार्न सक्नुपर्छ । यो कुरो प्रत्येक बाबु आमाले बुझ्नु समय सान्दर्भिक हो । एउटा शिक्षित नानीको लागि नेपाल, भूटान, भारत मात्र नभएर सम्पूर्ण विश्व नै पानी पँधेरो हो । हामीले हाम्रा नानीलाई उच्चकोटीको शिक्षा दिन सक्यौं भने उनीहरु शिक्षितमात्र होइन धनी पनि हुनेछन् । यहाँ नेपाल वा भूटानको जस्तो नानीहरु पढाउन परिवारले रुपियाँ खर्च गरिरहनु पनि पर्दैन । यो देश भनेको स्वावलम्बीहरुको देश हो । यहाँ सानैदेखि नानीहरुलाई स्वावलम्बनको पाठ सिकाइन्छ । यो कुरो विकसित राष्ट्रका शिक्षित मानिसको जीवन शैलीबाट पुष्टि भएको कुरा हो । हाम्रा नानीहरुले पनि यो पाठ सिक्ने समय आएको छ । अनि हामीमा पनि यो खाले परिवर्तन आउन अति आवश्यक छ । हामी नेपाल अथवा भूटानमा थियौं भने पनि हाम्रा नानीहरुमा आउने परिवर्तन हामीले स्वीकार्नैपर्थ्यो । परिवर्तन कुनै नराम्रो पक्ष होइन । एउटा बालकको जीवनमा धेरैपल्ट परिवर्तन आएपछि मात्र बूडो भएको हुन्छ । परिवर्तनको यस ध्रुवसत्यलाई के नराम्रो भन्ने ? घोरिएर विचार गर्नु हो भने परिवर्तन नहुने कुनै चीज छैन संसारमा । कुरो यति हो यसलाई हामीले स्वीकार्न जानेकै छैनौं वा जानेर पनि चाहेका छैनौं ।