परिवर्तन

परदेशी कान्छो

कलिलो उमेर, कलिलो मन
भएको थियो शरणार्थी जन,
अँध्यारो जीवन, शून्य मन
न थियो औसर, न थियो धन !
भाग्यले गर्दा, नेपाली नाता
मिलिन् साथ सरस्वती माता,
तथापि औसर वञ्चित थियो
नागरिकताको प्रश्नले हुर्मत लियो !
न थियो रिसराग, न थियो द्वन्द्व
तर पनि लक्ष्मीजीको मार्ग बन्द,
घरेलु जीवन सम्झेर उड्ने चैन
शरणार्थीलाई लाग्थ्यो कानुनी ऐन !
तेस्रो देश पुनर्वाश, औसर आयो
अँध्यारो जीवनमा घाम छायो,
औसर धेरै, संघर्ष कम
बद्लियो जीवन, बद्लियो गम !
समान औसर, सुखी ओत
कहाँको प्रविधि, कहाँको खन-जोत,
थोरै संघर्ष धेरै धन
सफा छ समाज, सफा छ मन ।
आशय सन्तानको प्रगतिपथ
लिएर महान् शिक्षा, रहुन् एकसाथ,
समाज संस्कृति, समान रहोस्
नयाँ जीवनमा सधैं उज्ज्यालो छाओस् !

लेखन मितिः ०१-०६-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *