पानी

रमेश दियाली
ओहायो, अमेरिका

“पानी पिउन मिल्छ?”
धुवाँले चुलो वरिपरि या भनौं कोठा नै अन्धकार थियो। भुकारीको कोइला सल्काउँदै गर्दा कानमै आँगनबाट आवाज ठोक्कियो ।
“कोही छन् ?” फेरि आवाज दोहोरियो ।
आमा झस्किन्।
“सारै तिर्खा लाग्यो,लौ न पानी पिउँ ।”
एक लोटा पानी लिएर दोधार गर्दै बाहिर आइन् आमा। म अलिक सानो फुच्चे देखिन्थें । कुरा बुझ्न सक्ने भएको रहेछु। घरको आँगनमा गुच्चा खेल्दा खुब रमाउँथें । जितेका गुच्चाहरू कट्टुको गोजीमा राखी छर्ल्याङ्गछर्ल्याङ्ग बजाउँदा आनन्द आउँथ्यो। सरको आँखा छली स्कूलबाट भागीभागी रिक्साको पछि झुण्डिनुको मजा नै बेग्लै हुन्थ्यो। अब म सोच्न पनि थालिसकेको थिएँ ।
निधारमा सेतो टिका,हातमा लोटा अलिक दुब्लो पातलो र कपालका केही भागहरू फुलेर सेता, मानौँ झट्ट हेर्दा साधु झैँ लाग्ने। मेरो लागि एउटा रहस्य भयो। आमाको स्वरले म अलिक नजिक गएर एकोहोरिंदै हेरिदिएँ ।
“ए !!! साधु बा पो आका रहेछन्।”
साधुले धटधट पानी पिउँदै गर्दा आमा घरभित्र पसिन्। स्वास भित्र लिँदै र बाहिर फ्याँक्दै साधुले आफ्नो धर्म जगाए।
“अलख…… निरञ्जन…….!!!”
म छक्क परेर हेरी मात्र रहेँ। मनमा एक किसिमको डर उत्पन्न भयो। तिमी को हौ ? सोध्न मन लागेको थियो तर सोधिन।
“बालक तिम्रो नाम के हो?” झसङ्ग झस्के।
गोजीका गुच्चाहरू छर्ल्याङ्गछुर्लुङ भुँइभरि खसे। मेरो ध्यान गुच्चामा गयो। गुच्चा टिप्दै गर्दा हातमा केही फलफुल र थालमा चामल लिएर आमा आइन्।

“ओम विश्वकर्मा” – फ्याट्ट मुखबाट नाम निस्किहालो। खै कसरी आँट आयो। मेरै उमेरका केटाकेटीहरूले लुते पनि भन्छन्। सानोमा खुब हिलोमा हिले माछा खोज्थेँ, जिउभरि लुतैलुतो थियो,पछि नाम नै लुते भयो।
“छि: छि”
साधुले भुँइमा थुक्दै कराउन लागे।
“मेरो २५ वर्षको तपस्या अनित्य भो, खत्तम भो। तिमीहरू पापी हौ। अधि नै भन्नु पर्दैन, कामी हौ भनेर। तैँले गर्दा मेरो धर्म नाश भो”, भन्दै आमाको संवेदनशील अंगहरुमा हिर्काउन थाले। म यो सब दृश्य टुलुटुलु हेरी मात्र रहेँ। आमा लडिन् भुँइमा। साधु हतार हतार भागे। आमाको छेउमा गएँ। नजिकै बसेँ। निधारबाट रगत अलिअलि गालासम्म आउँदै गर्दा कमिजको बाहुलाले पुछिदिएँ। आमाले पुलुक्क मलाई हेरिन्। आशु झारिन्। मेरो आँखाबाट आशु आउन खोज्दै गर्दा मैले रोकेँ। अब मैले मानवताको लागि बहस र विरोध गर्नुपर्छ भन्दै आँशु बाहिर आउन दिइन।
एकछिन मौन रहेँ, चुपचाप बसेँ। म भित्रभित्रै आक्रोशित भइरहँदा भरत राई आइपुगे। अति नै तल्लो मानव चेतनाको कुकर्म हो भन्दै साधुको पछि दगुरे। आमालाई घरभित्र लगें। भूटानको तानासाहीको विरुद्धमा लड्दा ५ वर्ष जेल बसेका रहेछन्। राणा शासन विरुद्ध २००७ सालमा कमाण्डरको भूमिका निभाएर कडा सङ्घर्षमा उत्रिएका रहेछन्। मैले सुनेको, सङ्घर्षको सहयात्री स्व: गिरिजा बाबु पनि थिए रे त्यसताका। पछि भूटान गएर बसेछन् र हाल बेल्डाँगी शिविरमा मेरै घर अगाडी बस्थे।

म अलिक चलाख, कुरा बुझिहाल्थें । मभित्र एउटा चित्र कोरियो। एउटा विशाल विद्रोह जन्मियो। घरहरू बाक्लै थियो। शिविरको बसाई, मेरो घर सेक्टर G।, सेक्टर प्रमुख खगेन्द्र सङ्ग्रौला पनि टुप्लुक्क आई पुगे। अरू पनि थिए। कसैले पान चपाउँदै थिए त कोही सिगरेट। आमाले सबै सुनाइन् । बिचरा भन्ने शब्द कसैले मुखबाट उच्चारण गरेन।
सङ्ग्रौला बोल्दै थिए – “तिमीहरू सानो जात भएर आफ्नो थान्कोमा बस्नु पर्छ।” मुख भित्रको पानको थुक भित्तामा थुक्दै छिमेकी विदुर गिरीले थपे-
“यिनीहरू पानीको धारा पनि तर्किँदैनन्।”
अरूले के के हो के के…..म सुनि मात्र रहेँ। मलाई सोध्न मन लागेको थियो। यस ब्रह्माण्डमा जे जति छ, त्यो सब ब्रह्मामणकै मात्र हो? जीवन र जगत्, संस्कृति र वर्ण प्रस्तुत गर्ने सामन्तवादको प्रतिनिधित्व के यिनीहरू नै हुन?
मलाई थाहा छ, बाउले भनेका -‘मानिस मानिस बिचमा जातीय भेद, वर्ण भेद र छुवाछुत जस्ता अन्धाधुन्ध अस्त्र चलाउने यिनीहरूको ठूलो सङ्गठन छ।’

हामीहरू जस्ता यिनीहरूको अत्याचारले ठगिएकाछौँ। अझ भनौं स्त्रीहरू ठूलो मारमा परेका छन्। यस्ता ढोङी उच्च जात र सत्ताधारी पुरुषहरूले पाशविक व्यवहार गरेर नै धर्मको नाममा भ्रम छरिदिएका छन् । अन्धो संस्कृतिको पासोमा पारेर गरिब निमुखा दलित वर्गका महिलाहरूलाई बोक्सीको आरोपमा दिशा पिसाब खुवाएका छन्। घरभित्र पसेको निहुँमा होस् या पानी छोएको, एवम् ससाना निहुँमा बहिष्कारदेखि हत्यासम्मको अत्याचार गरेका छन्। मेरो बाल मस्तिष्कमा यो समाजले धार्मिक अन्धो परम्परा सिकाउँदै छन्। म सोच्दै छु , मेरो बाल मस्तिष्क बिलकुलै सुरक्षित छैन।

भरत राईले साधुको कठालोमा समातेर ल्याए। साधु अब पुरै थाकी सकेको थियो। आमाको खुट्टा समातेर माफी माग्दै गर्दा भरत राई भन्दै थिए-
“हरेक चिज परिवर्तन भई सक्दा पनि किन हाम्रो सोचमा परिवर्तन छैन। अब हामी उठ्नु पर्छ। जाग्नु पर्छ र सभ्य समाजको निर्माण गर्नु पिर्छ। कति भेडाहरू झैँ अरूको पछि लाम लागेर दास मानसिकता बोकी आफ्नै अज्ञानताले बलिको बोका हुने।”
भरत राईको रोहबरमा एक शब्द नबोली खगेन्द्र सङ्ग्रौला र अरू सबै मिली आमालाई उपचारार्थ आम्दा अस्पताल लगे र साधुलाई घिस्याउँदै अफिस तिर लगे । म निरन्तर स्कूल जान थालेँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *