पूँजीवादी र समाजवादी जीवनशैलीका लाभ र हानी

सम्पादकीय

एउटा समाजको या राष्ट्रको सर्वाङ्गीण विकासमा विविध स्रोत र साधनहरूको प्रयोग भएको हुन्छ। त्यसमा सबैभन्दा प्रमुख देखिने पक्ष भनेका शिक्षा र अर्थ हुन्। अर्थात् बुद्धि र वैभव विना मानवको विकास हुँदैन। तर यी दुवैका प्रकृति भिन्नाभिन्नै हुन्छन्। अर्थात् अर्थको प्रकृति स्वार्थ परक हुन्छ र ज्ञानको प्रकृति परार्थपरक हुन्छ। त्यसैले पुँजीपतिहरू प्राय आफ्नो हितलाई मात्र हेर्दछन् र डोनाल्ड ट्रम्प बन्दछन्,तर विद्वानहरू गरिबीको मार सहेर भए पनि देवकोटा झैँ चम्किन्छन् र स्वान्त सुखाय लोकहित नै सर्वोपरि ठान्दछन्।

यीनै दुईटा जीवनशैलीबीचको सङ्घर्षमा आजको मानव रुमल्लिएको छ। पुँजीपतिहरू प्रतिस्पर्धात्मक रूपमा समाजका सबै अङ्गहरूलाई आफ्ना जालमा बेर्न चाहन्छन्। उनीहरू भौतिक उत्पादनलाई मात्र नभएर न्याय,नीति, शिक्षा,राजनीति,भाषा र धर्मलाई पनि आफ्नो दास बनाएर चलाउन चाहन्छन् ,किनकि उनीहरूलाई पैसाका बलाम आफ्नो साम्राज्य स्थापित गर्नु छ। केही व्यक्तिहरू त्यसका चपेटामा फस्दछन् र हस्तिनापुरका स्वार्थी राजकुमारका दास बनेका भीष्म ,द्रोण र कृपाचार्य झैं रिमोट कन्ट्रोल बाट सञ्चालित हुन्छन्। तर, सचेत र स्वतन्त्र व्यक्ति त्यही साम्राज्यका महामन्त्री विदुर बनेर जङ्गल पस्न रुचाउँछन्। किनकि आजको संसारमा सबै राजर्षि जनक बन्न गारो छ।  यी सबै मानवीय चेतना र स्वाभिमानका स्तरका द्योतक हुन्।

व्यापार व्यवसायमा पुँजी नभै हुँदैन, त्यसैले त्यहाँ लाभलाई विशेष ध्यान दिइन्छ र हानी हुनुबाट बच्न हर प्रकारका उपाय अपनाइन्छन्। त्यसले समाजको आर्थिक सुधार त हुन्छ ,तर नैतिक पक्षको पतन हुँदै जान्छ।

व्यापारीहरूको यो प्रतिस्पर्धात्मक जीवन शैलीले गर्दा उनीहरूमा मानवीय सम्वेदना भन्दा अधिक नाफा कमाउनुमा आफ्नो विवेकलाई प्रयोग गर्दछन्। एउटा व्यापारीले आफ्ना ग्राहकलाई विभिन्न प्रकारले लोभ्याउने गर्दछ। उसले थोरै थोरै लगानी सबैतिर गर्न थाल्दछ र उपभोक्ताहरू कुनै कुनै बाध्यताले उनीहरूका ग्राहक बनिरहुन् र अर्को व्यापारीका दोकानतिर जान नसकुन् भन्ने हरसम्भव प्रयास गर्दछ। ग्राहकहरूका धार्मिक, शैक्षिक, भाषिक जस्ता अभियानहरूमा केही आर्थिक सहयोग पनि गर्दछ। यस सहयोगले ग्राहकका तत्कालीन केही सानातिना आवश्यकताहरू टर्छन्, तर दीर्घकालीन समाधान भने हुँदैन। किनकि एक त व्यापारीको व्यापारको स्थायित्वको प्रत्याभूति हुँदैन,अर्को कुरो परार्थ भन्दा स्वार्थ अधिक हुन्छ ।

अर्को महत्त्वपूर्ण कुरो के छ भने धर्म ,ज्ञान र साहित्य जस्ता क्षेत्रहरू प्राचीनकालदेखि आत्मिक सुख र शान्तिका लागि  प्रयोग हुँदै आए र त्यसरीनै प्रयोग हुनुमा तिनीहरूको स्थायित्व र मूल्यात्मक आकर्षणको पक्ष पनि हो। किनकि यसले समाज सेवा र त्यागाको भावनालाई बोकेको हुन्छ। एउटा स्वयंसेवी त्यागको भावनाले अभिप्रेरित हुने हुनाले कुनै कारणवस उ सफल हुन नसके पनि हतोत्साही बन्दैन। उ जति छ त्यतिमा नै सन्तोष गर्न सिक्दछ। यो पूर्वीय परिपाटीको दर्शनबाट प्रेरित समाजवादको दृष्टि हो र सुख र शान्तिको मूल पनि हो।

तर पश्चिमा मुलुकहरूमा त्यसको विपरीत आचरण गरिन्छ ,किनकि उनीहरू सबै कुरो पैसामा दाँजेर हेर्दछन्। जब पैसा पाउने लोभले एक अभियन्ताले काम गर्छ त्यसमा द्रुतता र विज्ञापनको आकर्षण देखिन्छ, तर कर्मको मूल्य र नैतिकतालाई जान्दैन । उसले लगानी गर्छ नाफाका लागि। नाफा नभएका खण्डमा उ हतोत्साही हुँदै अवसादको सिकार बन्दछ। यही पूँजीवादी जालमा बेरिएको  आजको युवा पुस्ता सेवा ,सम्मान ,संघर्ष,आत्मविश्वास र उत्साह आदि गुणहरूबाट टाढिएको छ। किनकि उसको आत्माको प्रेरणाबाट उ चलेको हुँदैन। उ मनको प्रेरणाले चलाइएको हुन्छ। मन एउटा भौतिक तत्व भएकाले भौतिक उपलब्धिनै सबैथोक मानेको हुन्छ। वस्तुतः पैसावाला व्यक्तिले पगार दिएर चलाएको हुन्छ उसलाई। उ स्वतन्त्र हुँदैन ,उ सधैँ परतन्त्र भएर बाँचेको हुन्छ। परतन्त्र व्यक्तिको बौद्धिक या चेतनात्मक विकास हुन सक्दैन। त्यसैले पूँजीवादी संस्कारबाट बचौँ समाजवादी बनौँ ! यही आजको समयको माग हो र भोलिको सुखद फलको बीज पनि हो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *