प्रचलनले निम्त्याएको बिचलन

कथाकार
कथाकार

गङ्गा लामिटारे
ओहायो, अमेरिका

 

 

सुधीर बाजेले मन खोलेर कान्छा छोरा समीरको बिहे गरे । नौमती बाजा बजाएर हर्कबढ्याईँका साथ बिहे गर्ने उनको ठूलो धोको थियो । तर त्यसै साल कुनै पनि कार्यमा हर्षबढ्याईँ गर्न र बजागाजा नबजाउन सरकारी उर्दी थियो । भूटानका तेस्रा महाराज एवं जिग्मेसिंग्येका बाबुको मृत्युको कारण देशै शोकमग्न थियो । यही बाध्यताले चाहेर पनि उनले समीरको  बिहेमा नौमती बजाउन सकेनन् ।

छोराको जुर मात्र होइन चिना पनि मिल्ने सम्योग बन्यो । यो बिहे उनका परिवारमा अन्तिम बिहे  थियो । यस बिहेमा कुनै पनि कुराको अभाव नहोस् भन्ने बाजेको चाहना थियो । उनी  चिराङ जिल्लाकै जाने मानेका पुरोहित थिए । साथै उनी समाज सेवी पनि थिए। उनले भनेको सबैले सुन्थे र पालना पनि गर्थे । उनले सलामी,छोकाना र डम्फुतिरका सबै मानिसलाई बिहेमा निम्तो गरेका थिए । उनका घरमा अर्को बिहेमा खर्च गर्नुथिएन । त्यसैले खर्च पनि मन खोलेर नै गरे, बाजेले ।

१४ वर्षको समीरको बिहे १५ वर्ष उमेरकी ब्रह्माण्ड कन्यासँग हुने निश्चित भयो । छोकानाका एक सामान्य सिग्देल परिवारकी सुशील कन्या चन्दासँग उनका छोरा समीरको बिहे सुसम्पन्न भयो । सिग्देल परिवारले पनि जेठी छोरी चन्दाको विवाह धूमधामले गर्‍यो । रातभरि पुरोहितले कर्मकाण्ड पढेर वैवाहिक संस्कार पुरा गरे । जन्ती र घरगाउँलेबीच श्लोक र कवित्तहरूको रातैभरि जुहारी नै चल्यो । हर्षोल्लासका साथ बिहान ७ बजे विधिवतरूपमा बेहुली अन्माउने काम भयो । परिवारकी सदस्य प्यारी छोरीको विछोड्को असह्य पीडाले बेहुलीका आमा-बाबु भक्कानिदै रुन थाले । छोरीको आँखाबाट झरेका बलीन्द्र आँसु पुछ्दै बेहुलीका बाबुले बेहुलाका बाबुलाई भने” सम्धीज्यु,सानी छे,कामधन्दामा त्यति हात बसेको छैन । ख्याल गर्नुहोला । अब पाले पुण्य मारे पाप ।” लक्ष्मी जस्ती बुहारी भित्र्याउन पाएकोमा खुसी व्यक्त गर्दै बेहुलाको बाबु सुधीर बाजेले भने “हुन्छ सम्धी चिन्ता लिनु पर्दैन । अब चन्द्रा मेरो परिवाकी एक हिस्सा हो । उसको पालन-पोषण र संरक्षाको दायित्व मेरो हो । सुर्ता नलिनु होला ।”
– – – – – — – – – — – – – — – – – – —
सुधीर बाजेको टारी खेतको खलेगरो जन्तीले ढ्याम्म भरिएको थियो । कोही झोल भनेर कराइरहेका थिए । कोही चाना,चाना भनेर फलाकिरहेका थिए । खेतको अग्लो ढिस्कानामा चढेर सुधीर बाजे जन्ते भतेरको रमाइलोबाट गद्गद् हुँदै थिए । हुन पनि यो भतेर उनका पालाको अन्तिम थियो । गाउँका ठालु र हाकिमहरूका लागि छुट्टै टेन्ट हालेको थियो । अतिथिहरूका लागि बफेड पार्टीको बन्दोबस्त मिलाइएको थियो । अतिथिहरू पंक्तिबद्ध भएर आफूले चाहेको प्रकारहरू थालमा पस्किरहेका थिए । मुख मिठ्याइ-मिठ्याइ थपेर खाना खाइरहेका थिए । सुधीर बाजेका लागि मात्र होइन,त्यस गाउँकै लागि यो दृश्य अभूतपूर्व थियो । पार्टीपछि अतिथिहरूले बर-बधूलाई आशीर्वाद दिँदै उपहारहरू टक्रयाए । साँझ पर्न लागेको थियो । केही आफन्त बाहेक अन्य निम्तारूहरू सबै दुर्गा-दिशा लागे । बेलुका सबै मानिसहरू हिँडिसकेपछि बजैले घरको परम्परा र कर्तव्यबारे जानकारी गराउँदै नवबधुलाई भनिन्” ! आजबाट तिमीले सुत्नुभन्दा पहिला लोग्नेका गोडामा चिल्लो लगाउन नभुल्नू । बिहानै उठेर दइलो-अगेनु पोत्नू । झिसमिसे नहुँदै धारामा गएर नुहाइ-धुवाइ गरी पानी ल्याउनु र देवता पुज्ने सामग्रीहरू तयार गर्नू।” दुलहीले मुण्टो हल्लाएर ‘हुन्छ‘ भन्ने सहमति जनाइन् ।बुहारी भित्र्याइएकै रात ! १२ बजिसकेको थियो । चारैतिर सन्नाटा थियो । बिहेको दौडधुपले थाकेका सबै मानिसहरू मस्त निद्रामा थिए । समीर सुतेको कोठाबाट ढुवाङ गरेको आवाज आयो । भुईँचालोले जस्तै घर हल्लियो । केही क्षणमै फेरि समीरकै कोठाबाट आमा,आमा भनेर चिच्याएको नारी आवाज निस्कियो । खोल्मामा सुतेका निम्तारोहरू पनि उठेर त्यो चिच्याहट सुनिरहेका थिए । र मनमनै भनिरहेका थिए”नयाँ दुला-दुलहीबिच खटपट भएछ ।” सुधीर बाजे पनि खुइया गर्दै ओछ्यानबाट उठे । उनी उठ्नुभन्दा पहिला बजै,जेठी बुहारी र निम्ता मान्न गोपिनीबाट आएकी माइली छोरी चम्पा समीरको कोठा अघिपुगिसकेका थिए । चम्पाले हकार्दै “समीर,दइलो खोल।” भनेर दइलो ढक ढक्याई । सुक् सुक् गर्दै दुलहीले दइलो खोली र हतार हतार जेठानी दिदीको घुँडामा समाएर रुन थाली । भित्र सुतिरहेको समीर डरले थुर थुर कामिरहेको थियो । दुलहीकी जेठानी दिदी र आमाजू चम्पा दुलहीलाई सान्त्वना दिँदै भन्दैथिए”आज पहिलो दिन सबैलाई यस्तै हुन्छ । के गर्नु नानी,छोरीको जातले सहनै पर्छ । बिस्तारै सामान्य हुँदैजान्छ ।” जाऊ, नरोई गएर सुत ” भनेर दुलहीलाई कोठाभित्र हुलेर दइलो बन्द गरिदिए ।

————– — – – – – — – – – – – – – – – – –
सुधीर बाजेलाई निद्रा लागेको छैन । मनमा कुरा खेलाएर रातै भरि ओछ्यानमा यता र उता छट्पटिइरहे बाजे । बिचरा बाजेलाई निन्द्रा लागोस् पनि कसरी ! कान्छा छोराको बिहे भनेर सम्पत्तिको खोलो बगाए । ढुकुटी सबै रित्याए ! बेहुली भित्र्याएकै दिन यस्तो हुन्छ भनेर न सुधीर बाजेले सोचेका थिए,न त उनकी अर्धाङ्गिनी बजैले नै ! चियो गरेर फर्किएकी बजैलाई बाजेले खुय्या गर्दै भने” किन रूवाबास्सी मच्चाएका तिनीहरूले ? ठट्टा गर्दै बजैले भनिन्” के हुन्थ्यो ? केही पनि होइन ! बिहेको पहिलो रात न हो ! सबै केटी मान्छेहरूलाई यस्तै हुन्छ । तपाईँले ती दिनहरू भुलिहाल्नु भो बाजे । आफूलाई भने कस्तो मर्नु भएको थियो ।” बजैका कुराले बाजेलाई केही राहत पुगेछ क्यार,बाजे बाँकी रात मस्तसँग निदाए ।

दोस्रो रात पनि ११ बजेतिर  दुलही चिच्याएको आवाज आयो । दुलहीको चिच्याउने र रुने कार्य रोकिएन । यो कुरो घरदेखि बाहिर नजावस् भन्ने बाजेलाई थियो । कसैगरेर पनि जोरी-पारी समक्ष घटनाको सुइँको नजावस भनेर भित्रभित्रै मिलाउने प्रयास गरे । हप्तादिनसम्म यो प्रक्रिया निरन्तर चलिरह्यो । एक दुई गर्दै भुसको आगाको  डढेलो झैँ हल्ला  गाउँभरि फैलियो । मेलो-पात,हाट,बजारहरूमा मानिसहरू कुरा कथुर्नथाले । कोही भन्दैथिए”बिचरा बाजेले घर रित्याएर बुहारी भित्र्याए । जन्तेभतेर पकाएको आगो  निभेकै छैन । जग्ये सेलाएकै छैन । छोरा बुहारीबिच झगडा ! उफ्, भाग्य पनि कस्तो नि सुधीर बाजेको ।” अर्को मानिस भन्दै थियो”जीवनमा बाजेले कसैको कुभलो गरेनन् । कसैलाई ब्याजमा मारेनन् । जहिले सबैको जय जय गर्ने यस्ता धर्मात्माका घरमा कस्तो छेद पसेछ नि ” सबैलाई हँसाउने बाजे आज स्वयम् नतमस्तक छन् र ‘किं कर्तव्य विमूढ‘ भएका छन् ।

गाउँमा पर्दा पञ्चायत जुटाएर जस्तै समस्याको हल गर्ने सुधीर बाजे आज उनकै आँगनमा छोरा-बुहारीको झगडा मिलाउन पञ्चायत बसेको छ । लाज सङ्कोच र हीनताबोधले शिर झुकेको छ,आज उनको । बैठकमा आएका एक छोक्पाले समीरलाई हप्काउँदै भने” ए बाहुन नानी, किन दुलहीलाई रुवाएको ? अर्काकी छोरीलाई रुवाउन मिल्छ ? लु भन, के भएको हो ? डरले लुग लुग काम्दै समीरले भन्यो” मैले उनलाई केही पनि गरेको छैन” महिला पञ्चहरूले राति रुनेबारे दुलहीलाई सोधे । दुलहीले पनि केही जवाब दिइनन् । रोइरहिन् मात्र । केही जवाब आएन । यसरी हतेर्नुभन्दा बरु,अस्पतालमा लगेर जचाउँनु बेस हुन्छ”, भनेर अर्का एक सदस्यले सुझाव राख्यो । यो सुझाव सबैलाई सहज र उपयुक्त लाग्यो । पञ्चायतले डाक्टरी जाँचको लागि सर्वसम्मत निर्णय गर्‍यो । तीनदिन पछि दुवैको डाक्टरी जाँच भयो । दुवैका इन्द्रियहरू सामान्य अवस्थामा रहेको डाक्टरको रिपोर्टले बतायो ।

१४ वर्षको बच्चा समीरलाई काम बास्ना र उत्तेजनाको कुनै आभास थिएन । बिहेको अघिल्लो रातसम्म बाबु-आमा काखमा सुतेको नानीलाई सुहाग  रातको के अर्थ ? दुलही भुइमा पछारिए ढ्वाङ्ग गर्दा तर्छे र बिउँझन्थ्यो र डर  र लाजले भुतुक्क भएर सुतिरहन्थ्यो । बाहिर दुलहीलाई यस्तै हो,पहिला पहिला बिस्तारै ठिकै हुँदैजान्छ भन्ने कुराले समीरलाई ए,बिहेगरेपछि राति केटीहरू  रुँदै बाहिर निस्कनु पर्दोरहेछ,भन्ने लाग्थ्यो । ४ कक्षामा पढ्दै गरेको समीर स्कुलमा दिनभरि गोल खेल्थ्यो । बेलुका घर आएपछि खाना खाएर सुत्थ्यो र भुस्स निदाउँथ्यो  । उसको यही दिनचर्या  थियो ।

हिजोसम्म साथीहरूसँग अमलडमल खेलेकी र आमाका काखमा सुतेकी चन्द्रा भने बिहेपछि कसैकी बुहारी,कसैकी श्रीमती भएकी छन् ।  उनलाई घर धन्दाले भ्याइनभ्याइ हुन्छ । बेलुकाको जुठो चुलो, भाँडावर्तन  सफा गर्दागर्दै रातीको १०बज्थ्यो  चन्द्राको ।   सुरुसुरुमा उसलाई जेठानीहरूले घरको  काम गर्न सिकाए, तर पछि पछि आफै जानेर गर्नुपर्ने बाध्यता थपिँदै गयो । केटा केटी न हो ! छिमेकमा केटाकेटीहरूले अमलडमल खेलेको देख्दा उनलाई पनि जाऔँ.जाऔँ लाग्थ्यो । सबैले हामीसँग खेल्न आउनु न भाउजू भनेर केटाकेटीहरूले बोलाउँथ्यौ । जाने मन हुँदा हुँदै फेरि बिदाइका बेला आमाले भनेको कुरा सम्झना हुन्थ्यो । सासूले अराएको कामलाई मनलगाएर गर्नु, कहिले पनि सासूका आज्ञाको अपहेलना नगर्नू, भन्ने आमाका अर्तीले रोक्थ्यो ! अकासमा चराहरू उडेको देखेर  आफू पनि उड्न पाए हुन्थ्यो । उडेर आमा घर जान पाए हुन्थ्यो भन्ने उसलाई लाग्थ्यो । रातै नपर्दिए हुन्थ्यो भन्ने लाग्थ्यो । तर पनि रात परिहाल्थ्यो ! फेरि बटुकामा तेल लिएर समीरका कोठामा जान बाध्य हुनै पर्थ्यो । शरीर थिलथिलो भएको छ । म अब पक्कै मर्छु भन्ने उसलाई लाग्यो । एक दिन झिसमिसेमा चन्द्राले  आफ्नू सानु लुगाको पोको बोकी । अब यस घरमा बस्नसक्दिन भन्ने लाग्यो उसलाई । जेसुकै होस्, आमा घर जान्छु भन्ने दृढ निश्चय गरेर  उज्यालो नहुँदै उ माइततिर हिँडी ।

बिहान धाराबाट पानी लिएर आउँदै गरेकी आमाले आँगनबाटै घरको पेटीमा बसेर रोइरहेकी छोरी चन्दालाई देखिन् ! छिट्टो छिट्टो गग्रेटोमा गाग्रो राखेर आइन् र छोरीलाई काखमा राख्दै निधारमा चुम्मा खाइन् । त्यहाँ ममता र स्नेहको खोलो बग्यो । धेरै बेरसम्म दुवै भावविभोर भए । आमाको स्नेह र छोरीका ममताको हार्दिकता देखेर बिहानीले पाइला चाल्न बिर्सिए झैँ थियो । बिस्तारै उज्यालो भयो । छोरीका जीउभरि निलैनिल र डामैडाम देखेर बजैले लौन नि मारिहालेछन् नि ! भन्दै सुतिरहेका लोग्ने सिग्देल बाजेलाई घच्घच्याइन् । एक सासमै छोरीमाथि कुटुम्बले गरेको अत्याचार र उत्पडीनको बयान गर्दै बजैले भनिन्” यसरी हुँदैन लेखेर कोटमा दिनुपर्छ । आजै कृष्णे बइदारलाई दरगास्त लेख्न लगाएर कोटमा दिनुहोस् । ” बुढा  पनि उठे । आँखा मिच्दै छोरीको अवस्था नियाले । बाजेले त झन् हेर्नै सकेनन् । सिग्देल बाजेले सम्धी सुधीर बाजे र ज्वाइँ समीरको नाममा दरगास्त लेखेर कोटमा चढाए । तर त्यस बेला भूटानमा वैवाहिक अधिनियम ऐन बनिसकेको थियो । १८ वर्षमुनिका केटा-केटीहरूको मुद्दामा कोटले केही पनि गर्नसक्दैन थियो । त्यसैले समाज बसेर निर्णय गर्नुभन्ने कोटले मौखिक सुझाव मात्र दियो । त्यसपछि दुलहीका बाबुले मण्डललाई छोरीको न्यायका लागि अनुरोध गरे । मण्डलले पनि बुढा-पाकालाई पर्सि बुधवार १० बजे  भेला हुन भनी परमाना काटे ।  उता सुधीर बाजेलाई सूचना दिन गाउँ बुढा मंगलसिंह राईलाई अपरलप्सिबोटे पठाए । मङ्गल सिंगले दिएको पर्माना सुधीर बाजेले सर्सर्ती पढे । पढी सकेर मङ्गल सिंहकै अगाडि च्याते र धुजै धुजा पारेर फेकीदिए । रिसले चुरचुर हुँदै सुधीर बाजेले भने”मेरा विरुद्ध नालिस हाल्ने त्यसका सभामा सुधीर आउँदैन भन्दिनू । ‘खुट्टा पो नपाउनु जुत्ता जाबो जत्ति पाइन्छ ।” भनेर सुधीर बाजेले अड्डी कसेर बसिरहे… बसिरहे ।

– – — – – – – – – – —– – – – — – – – –
सुधीर बाजे उपस्थिति नभएपछि सभा हुने कुरै भएन । एक दिन घरैमा आमाले छोरी चन्द्रालाई के भएको हो,नानी,साँच्चो भन भनेर फकाएर सोधिन् ।”अरूबेला हिर्काएका होइनन्,राती गोडामा चिल्लो लाउन खोज्दा लात्तीले हिर्काउनु हुन्थ्यो । उहाँको खुट्टाले कहिले छात्तीमा कहिले कोखमा लाग्थ्यो । लात्तीसँगै म रित्तै पिच्छे भुइँमा पछारिन्थे । बिहोस् हुन्थेँ । होस् आएपछि चिच्यार कराउँथेँ ।” दिदी र आमा आएर ‘पहिला पहिला यस्तै हुन्छ । छोरीको जातले सहनुपर्छ भन्थे र फेरि मलाई कोठाभित्र हुलेर बाहिरबाट दइलो बन्ध गर्थे ।” जुवाईंले जानी जानी कुटेको होइन रहेछ भन्ने चन्द्राकी आमालाई लाग्यो । कुरा नबुझी सम्धीका नाममा दर्गास्त गरिएछ भनेर केटीका आमा-बाबु भित्रभित्रै लाज र सङ्कोचले मुमुरिन थाले । अब पछुताएर पनि के गर्ने ? जिद्दी स्वभावका सुधीर बाजेले मान्ने होइनन्,क्यार !

भाइ बुहारीको झगडाको कारण जान्नका लागि  समीरको जेठो दाजु कुवेरले एउटा योजना बनायो । राती  १० बजे समीर सुतेको कोठामा सुटुक्क पस्यो । समीर मस्त निदाइरहेको थियो । समीरका दाहिने पट्टी गएर सुत्यो । फेरि केही दिनसम्म देब्रेतिर सुत्यो । केही समस्या पाएन । ९ बजे सुतेको समीर बिहान आमाले बोलाउँदा मात्र बिउँझिन्थ्यो  । समीरको पलङ्मुनि भुईँभरि तेल लत्पतिएको थियो । भुइँमा तेल लतपतिएको देखेर कुवेरलाई गोडामा चिल्लो घस्ने संझाना आयो । बिहेगरेका हरेक स्वास्नी मान्छेले लोग्नेका गोडामा दैनिक चिल्लो दल्नु सुधीर बाजेको बंशपरम्परा नै थियो । कतै हाम्रो यही प्रचलन नै विचलन भएको त होइन ! संस्कृति नै विकृति भएको होइन ? भन्नेमा कुवेरलाई शङ्का लाग्यो । सधा झैँ कुवेर आज पनि समीरका कोठामा पस्यो । समीरको गोडा मुनितिर उभियो । चिल्लो घस्ने जस्तै गरी उसले समीरको दाहिने खुट्टाका औँला च्याप्प समायो । दुर्छे गाईले जस्तै ड्याम्म समीरका जोर लात्ती कुवेरका छाती र नाकमा बजारिए । अइय्या नि मरेँ ! भन्दै नाक समातेर कुवेर कोठा बाहिर निस्कियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *