प्रजातन्त्र
शम्भु गजुरेल अज्ञानी
नुवाकोट
धर्ती शान्त बनोस् विकार नरहोस् बिश्वास होस् आशमा
छारो हुस्सु हटोस् प्रकाश रविको छर्लङ्ग होस् बासमा
बर्षाउन् सरिता चिसो गगनले हावा चलोस् प्रेमको
पन्छी उड्न सकुन् निमग्न नभमा त्यो नै प्रजातन्त्र हो।।१।।
पीडा लेख्न सकुन् सबै कलमले निर्धाहरूको सदा
अन्धा नेत्र खुलुन् निरीह शिरमा देखुन् नयाँ सिर्जना
भाषा सभ्य रहोस् स्वतन्त्र पथको गाथा बनोस् काव्यको
लाटाले कविता कहुन् हृदयका त्यो नै प्रजातन्त्र हो।।२।।
विद्या मन्दिरले समान प्रतिभा ठानुन् सबै बालक
ज्यामी वा भरिया तथा कृषक हुन् ब्रह्माण्डका पालक
मिथ्या जात र धर्मको कथनमा बन्देज होस् तन्त्रको
होचा पुग्न सकुन् चुली शिखरमा त्यो नै प्रजातन्त्र हो।।३।।
ज्ञानी ज्ञान छरुन् र पावन बनोस् साझा धरा जीवको
प्राणीका मृदु हास्यले विनयले शोभा बढोस् शैलको
आस्थाको भरमार होस् मनुजमा सौगन्ध होस् शान्तिको
झुल्कोस् न्याय दियो सुदूर घरमा त्यो नै प्रजातन्त्र हो।।४।।
माटोमा जलमा तथा पवनमा कब्जा नहोस् शक्तिको
चौकी स्वच्छ बनुन् कुनै कचहरी डेरा नहोस् भक्तिको
सारा मानवको समान हक होस् भन्ने मिठो मन्त्र हो
भोटो, ओत,ढिँडो मिलोस् सहजमा त्यो नै प्रजातन्त्र हो।।५।।
शार्दूलविक्रीडित छन्द