प्रधानमन्त्रीलाई प्रश्न

प्रदीप लोहागन, कालेबुङ-भारत

कवि
कवि

गर्भवती स्वास्नीलाई रूँदै छोडेर
निस्केको हूँ म घरबाट ।
संघारमा उभिएकी सुगरग्रस्त आमालाई ढोग्दा
मेरा आँखाबाट खसेको बलिन्द्र आँसुले
आँगनमा बनेको डोब
मेटियो/मेटिएन, थाहा छैन ।
मैले घर छोड्दा ठूली छोरी अक्षर छिचोल्दै थिई
किताबका रंगीन पुतलीहरू आँखामा टाँस्थी
र, पुतलीजस्तै बहिनीको सपना देख्थी ।
गाँउको अन्तिम कुइनेटोसम्म
पच्छ्याउँदै आएको थियो ज्याकी;
मैले जा भनेर हात उज्याएपछि
मन नगरी नगरी फर्केको थियो घर त्यो ।
गाँउ छोडेर कहिले कतै नगएको म
यो बिरानो शहर त
सपनाको संसारजस्तै लाग्यो मलाई ।
मानिसहरू, दिनभरि आफूलाई
घरभित्र कैद गरेर राख्छन्
अनि निलियम लाइटको प्रकाशमा नुहाएर
आफ्ना सारा कुरूपताहरू पखाल्न
राती घरबाट निस्कन्छन् ।
मानिसहरू, जोसँग हृदय त छैन
तर, हृदयका नक्शा भएका महंगा टिसर्ट लगाएर
घुमिरहन्छन् गल्लीहरूमा !
मानिसहरू, जोसँग समवेदना त छैन,
तर शरीरका अधिकांश छाला देखाएर
डुलिरहन्छन् चोकहरूमा ।
यही शहरको तातो बालुवा
मैले आफ्नो पसिनाले मुछेको हूँ,
र टालेको हूँ बुर्जखलिफाको भित्ता ।
यही शहरको निर्जन फार्म हाउसमा
स्याहारेको हूँ मालिकको शानदार घोडा ।
मेरा मालिक जत्तिकै निर्दयी घोडाको लातले
चिरिएको हो मेरो छात्ती र छादेको हूँ रगतको फाल्सा ।
मालिकको आलिसान कोठीको आँगनमा
हालसालै बनाइएको कृत्रिम पोखरीलाई
मैले कत्तिचोटी आफ्नो आँसु पैँचो दिएँ, हिसाब छैन !
त्यही पोखरीको किनारमा निराश उभिएको
खजुरको रूखलाई अङ्गालो हालेर
मैले कत्तिचोटी परिवार सम्झेँ, हिसाब छैन ।
यो धरतीको ओठमा कसले
हानेको हो शक्तिको काँड ?
यसको छात्तीमा कसले
गाँडेको हो सिमानाको किल्ला ?
त्यही किल्लामाथि अजङ्गको पयर राखेर
कसले गरेको हो देशको घोषणा ?
यदि देश हुन्थ्यो भने
मैले हरेक रात देश सम्झेर किन रूनु पर्थ्यो ?
परिवार र आफन्त सम्झेर किन भक्कानिनु पर्थ्यो ?
देशलाई किन आफ्नै छोराको पसिना दूर्गन्धित लाग्थ्यो ?
देशलाई किन आफ्नै छोराको
रगतको फाल्सासँग सिक्सिको लाग्थ्यो ?
आमा !
शोषणका हज्जारौं सूर्यहरूले तताएको
खाडीको यो तातो बालुवा टेकेर
आँसुको पातमा लेखेर;
मैले अरबसागरमा बगाइपठाएको प्रश्नको एक हरफ
मेरो देशको प्रधानमन्त्रीलाई सोधीदिनु कि;
‘संसारमा देश बाँच्नुपर्छ कि गरिब ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *