प्रश्न
प्रान्जल धमला
अष्ट्रेलिया
देवलहरु छाम छाम छुमछुम गर्दै
प्रत्येक दैलाहरुमा जीवन खोज्दै हिँड्ने
अनि तिम्रै ऐस आरामको निम्ति
युगौँसम्म मेसिनमा रङ्गिँदै
रगतमा लत्पतिएर
मरिमेट्ने ती अथक पाखुराहरु
थोत्रा आडम्बरहरु
धमिराका घरहरुझैं
असुरक्षित तिम्रा ती घिनलाग्दा
जातीय सानहरु जोगाउनलाई
तिम्रा बलेंसी टेक्न नपाउने
ती निरीहहरु ,
साच्चै तिम्रा गाँसहरु
आफ्ना हत्केलामा लिएर बाँचेका
ती दोश्रा मानवहरु
एकदिन
शीर ठाडो पारेर
स्वरमा कठोरता भर्दै
मुठी उचाल्दै
“यो संसार कति व्यक्तिको मात्र रे ?”
भनी प्रश्न गर्दा
तिमी के बोल्छौ ?