प्रेम
आई.पी.अधिकारी
जेष्ठ महिना । प्रचण्ड गर्मी । काठमाडौंमा पानी नपरेको निकै भएका कारण गर्मी निकै बढेको छ । कतिपय विद्यालयहरु विदा गरिएका छन् । विद्यार्थीहरु कक्षामै विरामी पर्न थालेपछि स्कूलहरु प्राय विहान बेलुकी मात्र लाग्छन् ।
प्रिन्स्टन स्कूलकी छात्रा हो ईना । कक्षा दशमा पढ्छे । उमेर चढेको छैन । खान लाउन पुगेकी, सम्पन्न परिवारमा हुर्केकी ईना निकै ठूली छे, डालिली छे । पाँच फीट अग्लो जिउ निकै मिलेको छ । विस्तारै ऊ आफूलाई सुन्दरी देखाउन समय खर्चिन थालेकी छे । स्कूलका अविवाहित शिक्षकहरु ईनाप्रति निकै मोहित छन् । तर औपचारिक रुपमा ईनालाइ मन पराउने कमै छन् । व्यवहारमा ऊ निकै कमजोरी छे । एक त पढ्नमा कमजोरी, त्यसमा पनि चढ्दो उमेरका कारण उसले पढ्न भन्दा आफूलाई सुन्दर देखाउनेतिर लागेकी । फेशन र अक्कल-झक्कलले उसलाई गाँजेको छ । पढाइमा अरु असर परेको छ ।
बेलुकिको समय । ईनाले प्रेम पत्र नलेखेको निकै भएको थियो । सुबोधबाट धेरै आए तर उसले तिनको उत्तर दिन भ्याएकी छैन । होमवर्कको बेफुर्सदीले गर्दा उसलाई पत्र लेख्ने समय छैन । संयोग आज विदाको दिन । उसले धित मारेर पत्र लेखी । भोलिबाट परिक्षा सञ्चालन हुँदैछ । उसलाई त्यसको त्यति वास्ता भएन ।
उसले लेखी घर व्यावहारका कुरा । माया-प्रीतिका कुरा । कुखुरे बैंशमा हुर्केको यौन-प्यासका कुरा । रोमियो र जुलियटको फ्लिमका कुरा, जुन उसले सुबोध संगै बसेर हेरेकी थिई । त्यसले नै उसलाई प्रेमको लडाई सिकाएको थियो । पत्रमा अरु थपी आमा-बुबाको हप्काई-दप्काई र साथी-भाइले गरेको उनीहरुको प्रेमको इर्ष्या, डाह र खिसी ।
पत्रको मुख्य विषय थियो गत सालको घटना । त्यसबेला ईना र सुबोध एकै होस्टेलमा बस्थे जहाँ उनीहरुको प्रेमको कथा शुरु भएको थियो । उनीहरुको प्रेम प्रसंगका कारण स्कूलमा समस्या आएको भन्दै प्रशासनले उनीहरुलाई स्कूलबाट केही समयका लागि निलम्बित गरेको थियो । उसले यसलाई आफ्नो प्रेममा उत्साह थप्ने काम भएको ठानी । रोमियो र जुलियटला प्रेमका खातिर दु:ख पाएको कथा उसलाई थाहा थियो । सुबोध यसै साल कक्षा १० को जाँच दिएर स्कूलबाट विदा भैसकेको छ । यसले यी दुईको भेट थोरै हुने गरेको छ ।
गत साल भएको काण्डमा उसले जीपी सरलाई मुख्य दोषी देखेकी थिई । आज पत्रमा पनि उसले जीपी सर र स्कूल प्रशासनविरुद्ध धेरै शब्द लेखी । र, अन्त्यमा भनी, “यस्ता अवरोधहरु रोमियो र जुलियटले पनि पाएका थिए तर, उनीहरुको प्रेम अमर रह्यो । हाम्रो पनि यस्तै अपेक्षा गर्छु ।”
पत्र तयार भए पनि सुबोधकोमा कसरी पुर्याउने भन्ने चिन्ता पर्यो उसलाई । एक दिन-दुई दिन । साता बित्यो । पत्र पुर्याउने माध्यम फेला परेको छैन । खल्तीमा पत्र बोकेर हिँड्दा मनमा छट्पटी बढ्न थाल्यो । गत सालको घटनाले उसका हुलाकी साथीहरु टाढिएका छन् ।
बस ! त्यो दिन पनि आयो । परिक्षा सकेर स्कूल बसमै घर फर्कंदै गर्दा स्कूल भन्दा करिब २०० मिटर पर….., सुबोधलाई देख्ने आशामा ऊ हरदिन झ्यालको छेउमा बस्थी सधैं गाडीमा । आज धेरैदिन पछि सुबोधको दर्शन भो । विपरित दिशाबाट सुबोध आउँदैछ । बसको बेग निकै कडा छ । उसले हतार हतार पत्र निकाली र सुबोधले देख्ने गरी बाहिर फालिदिई । पत्र हावामा लर्खराउँदै अलि पर पुगेर भुइँमा खस्यो । गाडीको हावाले त्यसलाई झण्डै बागमतीमा झार्यो । भिरालो ठाउँमा केही सिन्काहरुले त्यसलाई अडाए । मायाको डोरी दरो हुन्छ भने झैं त्यति साना सिन्काले निकै लामो पत्रलाई अडाएको छ ।
बाइकमा हुइँकिएर आएका प्रिन्स्टन स्कूलकै व्यवस्थापन प्रमुखको आँखा त्यस पत्रमाथि पर्यो । सुबोध आइपुग्नुभन्दा पहिले नै उनले त्यो पत्र टिपेर उसरी नै बाइकमा हुइँकिए । क्षणभरमा आइपुगेको सुबोध नियास्रो अनुहार लाएर फर्क्यो ।
उसको मुटु काम्यो । अबको प्रतिकृया के हुने हो थाहा छैन । रिसले उसको दिमाग तात्यो तर, गर्न सक्नु केही छैन । अब आउन सक्ने परिस्थितिको सामना कसरी गर्ने भन्ने उसले सोच्न सकेन । उसले यति सोच्न सक्यो, त्यो शिक्षक उसको प्रेम-जीवनको बाधक हो । उसलाई थाहा छ, उक्त शिक्षकले उनीहरु दुईलाई सँगै हिँडेको देख्न सकेको हैन ।
युवायुवतीको प्रेम-जीवनबारे शिक्षकहरुलाई के चासो । त्यसमा पनि उसको विद्यालयबाट विदा भैसकेको सुबोधको त उसलाई मतलब पनि नहुनु पर्ने ! तर यहाँ हुन्छ । यो नेपाली संस्कृति हो । अर्काले के गर्यो भन्ने चासो हुन्छ यहाँ । विद्यार्थी जीवनको प्रेम यहाँ अपराधसरह हुन्छ । त्यसैले अभिभावक, शिक्षक वा आफन्तबाट हप्काई-दप्काई मात्र हैन, पिटाइ खान्छन विद्यार्थीहरू । बैंसालु उमेरमा कसलाई यौन र प्रेमका कथा बुन्न मन पर्दैन र ! तर उमेर ढल्केकाहरुले यसलाई बुझ्दैनन् । युवायुतीहरुको प्रेमजीवनको आनन्द लुट्न खोज्नेहरु र उमेर ढल्के पनि युवतीहरुप्रति मरिहत्ते गर्नेहरुले तिनको प्रेमप्रसंगलाई बहाना बनाउने गर्छन् ।
गतसाल मात्रै निकै चर्चाको विषय बनेकी ईनाले फालेको त्यो कागजको टुक्रा लिन ती शिक्षकलाई उत्साहित पारेको हुनुपर्छ । उसले त्यो गर्नुपर्ने अनिवार्यता त केही थिएन तर, पुरानो कथा यसमा जोडिएको कारण उसमा यसप्रति चासो बढेको हुनुपर्छ ।
सुबोधको सातो उडेको छ । उसको अनुहार रातो भयो । शिक्षकप्रति उठ्नुसम्म रिस उठ्यो तर, गर्न सक्नु केही थिएन । ऊ कतिसम्म अवाक भयो भने कताबाट आएको थियो र अब कता जाने सबै बिर्स्यो । ऊ घरतर्फ लाग्यो ।
भोलिपल्ट शनिबार, सुबोधले अर्की केटी साथीमार्फत ईनालाई घटनाबारे जानकारी दियो । फोनबाट भन्ने आँट उसले गरेन किनकि, त्यो ईनाका बुबा-आमाको कानमा पनि पर्नसक्थ्यो । खबरले ईना पनि विचलित भई । उसका ओठ सुके, जीउ डरले काँप्यो । उसले पनि अब के गर्ने भन्ने उपाय निकाल्न सकिन ।
व्यवस्थापक सो पत्र स्कूलमै छाडेर कतै गएका थिए । त्यो साँझ उनी घर पनि फर्केनन् । उनी शनिवारमात्र घर फर्के । थाहा भयो, अमर्यादित भाषा बोल्ने एउटा हुल युवाहरु दुई-चार पटक घरमा आएका थिएछन्, उनलाई खोज्दै । घरमा नभेटेपछि केही जानकारी पनि नछाडी उनीहरु फर्केका थिए । उनीहरुले ‘व्यक्तिगत काम’ मात्र भनेका थिए । यस्ता धेरै हुलहरु आइरहने भएकाले परिवारका अन्य सदस्यले पनि त्यति चासो दिएनन् ।
उता ईना र सुबोधको शनिवार भने तमासले बित्यो । खान-पिउन छाडेर ईना दिनभर टोलाएर सुतिरही । परिवारका अन्य सदस्य घरबाहिर गएका हुनाले उसको यो व्यवहारबारे सोध्ने कोही भएन । साँझ आमाले सोध्दा विसन्चो भयो भनेर उसले टारी । सुबोधको त्यही हाल थियो ।
आइतबार बिहान पनि व्यवस्थापकको घरमा त्यो हुल फेरी देखापर्यो । त्यो समूहले उनले शुक्रवार खोलाकिनारबाट टिपेको पत्र फिर्ता गर्न भन्यो । त्यसो नभए ज्यानसम्मको धम्की दियो । युवाहरु हट्टा-कट्टा छन् तर, व्यवहार र भाषा रुखो र निकृष्ट! उनले सो पत्र स्कूलमा राखेको र लिन दिउँसो स्कूलमै आउन भने ।
बिहान १० बजे । स्कूल परिसर । यहाँ शुरु भएको छ, एउटा फ्लिमी कहानी । सुबोध र ईनाले पनि यस्तो कहानी कुनै फ्लिममा पनि हेर्न भ्याएका थिएनन् होला ।
बाइकको ठूलो आवाज निकाल्दै चार युवाहरु स्कूलगेटबाट भित्र पसे । गेटमा क्षति पुगेपनि गार्डले केही भन्न सकेन । ती युवाको पहिरनले पने सज्जन मान्छेको परिचय दिदैनथ्यो । कसैको लामो केश, कसैको चिन्डे । रंगाएको । कानमा मुन्द्रा !
उनीहरुले ईनालाई बोलाए । उनीहरुवीच केही खास-खुस कुरा भयो । ईना फर्केर कक्षामा गई। ठिटाहरु सरासर प्रिन्सिपलको कक्षामा पसे । चिठ्ठी मागे । आफू ईनाको फुपूको छोरा दाइ भएको एउटाले आफ्नो परिचयमा बतायो । प्रिन्सिपले पत्र माग्नुको कारण मागे । तर केटाहरु धम्क्याउन थाले । त्यो व्यक्तिगत भएका कारण, अरु नबोल्न तर, पत्र तुरुन्त दिन केटाहरु कराइरहेका थिए ।
प्रिन्सिपललाई त्यो सह्य भएन । पत्र दिन इन्कार गर्दै प्रिन्सिपलले ईनाका आमा-बुबालाई नै पठाउन अनुरोध गरे ।
वातावरण एकाएक बदलियो । केटाहरु मुखमा आए जति बोल्न थाले । हो-हल्ला भयो । शिक्षक र विद्यार्थी कक्षा छाडेर बाहिर निस्के । ती चार युवाले स्कूलवरिपरि यस्तो वेगमा बाइक कुदाए कि अरु शिक्षकहरुलाई साना विद्यार्थी जोगाउन हम्मे पर्यो । उनीहर फनफनी स्कूलवरिपरि मात्र घुमिरहे । ठिटाहरुसित बोल्न सक्ने स्थिति नदेखेपछि प्रिन्सिपलले ईनालाई बोलाए । ईनाकैअघि उसको घरमा फोन गरेर प्रिन्सिपलले स्कूलको वातावरणबारे जानकारी गराए र अभिभावकलाई तुरुन्त स्कूल आउन अनुरोध गरियो । प्रिन्सिपलले सुबोधको घरमा पनि जानकारी गराए ।
बाहिर हल्लि-खल्लि झन बढ्दै थियो । हेर्नेको भीड जम्मा भैसकेको थियो । ठिटाहरु व्यवस्थापकलाई मार्ने धम्की दिनथाले ।
केही क्षणमै ईनाका बुबा-आमा स्कूल आइपुगे । सुबोध र उसकी दिदी पनि आइपुगे । उनीहरुलाई सरासर भित्र लगियो । बैठक बस्यो । स्कूलका पुराना शिक्षकहरु, प्रिन्सिपल र व्यवस्थापन समितिका अधीकांश सदस्यहरुको उपस्थिति छ । प्रिन्सिपलले घटनाबारे जानकारी गराए अनि पत्र पढेर सुनाए । त्यहाँ ईनाले केही शिक्षहरुलाई गाली गरेको थिई । पत्रको भाषा सुनेर सबै चकित भए । पुराना घटनाबारे जानकारी थियो, त्यसले ईना र सुबोधको जीवनमा पारेको असरबारे निकै मार्मिक र विश्लेषणात्मक टिप्पणी थियो ।
अरुले केही बोल्न नभ्याउँदै ईना र सुबोध तुरुन्त विहे गर्न राजी भएको भन्दै कराउन थाले । लाग्छ, उनीहरु केटाकेटीले गर्ने विवाह खेल खेल्न लागेका छन् ।
वैवाहिक सम्बन्ध, पारिवारिक जिम्मेवारीलाई सानो अंशमा पनि बुझ्ने नभ्याएका यी कलिला दिमागले काँचो बैंशका कारण कालान्तरमा वैवाहिक जीवन कति बोझिलो हुन्छ भन्ने नबोझिकन चुल्बुले बैंशको पागलपनमा उफ्रँदैछु भन्ने कहाँ सोच्न भ्याएको होला त । कलिलो उमेरमा आफूले राखेको सम्बन्धले आफ्नो भविष्यलाई कसरी साँघुरो बनाउँदैछ भन्ने न यिनीहरुले बुझ्न सके न शिक्षहरुले नै बुझाउन सके । सुबोध आफू तुरुन्त विवाह गर्न तयार रहेको भन्दै कराइरहिको थियो र पनि उसलाई कसैले पनि रोक्ने प्रयास गरिरहेको थिएन ।
अभिभावक पनि केटाकेटी पक्षमा लागे । उनीहरू आफ्ना छोराछोरीले गल्ती गरेको स्वीकार्न राजी भएनन् । अब केटा र केटी पक्षबीच जुहारी चल्यो । सुबोधकी दिदीले आफ्नो भाई त्यस्तो बदमास नभएको तर ईनाजस्ती नकचरी केटीले उसलाई बिगारेको आरोप लगाइन् । उता ईनाका बुबा-आमा पनि के कम, सुबोध नै फटाहा भएको र आफ्नी छोरीको भविष्य बिगारेको आरोप लगाए ।
दुई पक्षबीच निकैबेर जुहारी चल्यो । आफ्नै बच्चा राम्रो तर अर्कोले नै बिगारेको आरोप-प्रत्यारोप चलिरह्यो । उनीहरुले शिक्षकहरुले नै विद्यार्थीलाई राम्रो शिक्षा दिन नसकेका कारण यस्तो परिस्थिति आएको आरोप लाएपछि शिक्षकहरु पनि केही बोल्न सकेनन् । चुपचाप सुनिमात्र रहे ।
अभिभावहरु स्कूल छिरेपछि बाइकमा तमासा देखाउने ठिटाहरु कहिले भागे, पत्तो भएन । बाहिर वातावरण सुनसान भैसेकेको थियो तर, भित्रको वातावरण भने झन बिग्रने संकेत देखिँदै थियो । छलफलबाट समस्याको हल ननिस्कने छाँट देखेपछि प्रिन्सिपलले आफ्नो निर्णय सुनाए–
तपाईंहरूका छोरा-छोरी सोझा छन्, अञ्जान छन् । यसमा हामी दोषी छौं । म क्षमा याचना गर्छु । अनि आज उप्रान्त ईनालाई यस स्कूलमा भर्ना गरिने छैन । आजबाट ऊ यस स्कूलकी विद्यार्थी रहने छैन !
Adhikari blogs at ipajournal.wordpress.com