फागुन

मधु घिमिरे
पेन्सिलभेनिया,अमेरिका

सफा सुरम्य पोखरी सफा कुना र कन्दरा
सफा हिमाल देखिए विचित्र खेतका गरा
छ स्वच्छ नील व्योमको अपार दिव्य सद्गुण
फिरिन् लिएर हर्षको मुहार सौम्य फागुन १

न शीतको भयो कुनै प्रभाव अङ्ग अङ्गमा
उठेर गीत गाउँछन् चराहरू उमङ्गमा
फुलेर लेक शैलमा गुरॉंस मुस्कुराउँदा
मनै फुरुङ्ग दङ्ग भो सुरम्य मास आउँदा २

शनै शनै अरण्य वा सुशान्ति कान्ति वाटिका
विभिन्न रङ्ग रङ्गमा बने समान नायिका
हटेर माघको चिसो प्रभातमा प्रभाकर
मुसुक्क मुस्कुराउँदै सजाउँछन् वसुन्धरा ३

रमाइलो घमाइलो जताततै छ बाहिर
प्रसन्नता प्रफुल्लता हिमाल छन् मनोहर
मनुष्य चेतना खुली हुने भए सुसिर्जना
विभिन्न साग पातका टुसा खुले बगानमा ४

न उष्ण तापको भयो शरीर यो गलाउँने
न त्रास शीतको कुनै धरा सबै चलाउँने
भएन पेट गड्बडी पचेर जान्छ भोजन
सदैव चित्त चित्तमा भलो छ मास फागुन ५

छन्द-पञ्चचामर

Leave a Reply

Your email address will not be published. Required fields are marked *