बधाइ छ नेताजीहरू
विनोद शर्मा
झापा, नेपाल
भूटानी शरणार्थी समस्यको नाममा लाखौ रूपयाको खेती गरेका र अहिले पनि गरिरहेका नेतृत्वपंक्तिका मानिसहरू धेरै छन् । पहिला–पहिला स्वदेश फिर्तिका आन्दोलन गर्ने निहु वा जनता थुपारेर पैसा कमाउने काममा सक्रिय देखिएका धेरै शरणार्थीका नेताहरू आज–भोली शिविरमा हुँने गतिविधिबाट टाँडिदै गएका छन् । न टाड्उिन पनि कसरी र ? शिविर भित्र अहिले कुनै पनि नेता खोजेर पाँइदैन । हुन त पहिला पनि शिविरमा त जोगेन गज्मेर, नाराद अधिकारीलगायत केही नेताहरू मात्र बस्ने गरेको कुरा सबैमा अवगत नै छ । अहिले मैले झापामा सजिलै उपल्ब्ध हुनेमा र शरणार्थी शिविरका अधिकांश कार्यक्रममा सहभागी हुने डा भम्पा राई मात्र हुन । सलाम छ डाक्टर बा तपाईलाई ।
अब हाम्रा नेताको कुरा भरखरै बेलडागीमा सकिएको १२ जना महिलाहरूको पीडासंग गाँसेर हेरौं । महिलाहरूले शरणार्थी वन्न पाँऊ भनेर आमरण अन्सन शुरू गर्दा डाक्टर बा ती महिलाहरूलाई शुभकामना दिन गएका रहेछ । आमरण अन्सनको पाँचौ दिनमा म पनि बेलडागी पुगेंको थिए–त्यस दिन पनि विचरा डाक्टरबा त्यही थिए । तर, उनका कोठा नजिकै डेरा लिएर बसेका हाम्रा बरिष्ट मानव अधिकारवादी नेता एस.बी.सुब्बा दमकबाट बेलडागी–२ पुग्न सकेनन् । बिचरा, ससस्त्र आन्दोलनको लाल्छना बोकेका सुब्बाले बरू दमकबाटै भूटान समाचार सेवा अनि स्थानीय पत्र–पत्रिकामार्फत आन्दोलनकारी महिलाको माग सम्बोधन गरिदिन आग्रह गरे । तिनलाई पनि मेरो तर्फबाट बधाइ छ ।
तर, भूटानको ऐतिहासिक भनौदो पार्टी भूटान पिपल्स् पार्टीका सभापति बलाराम पौड्यालले भने आमरण अन्सनको खबर सुने जस्तो लागेन । नत्र विर्तामोडमा बसेर आन्दोलनको नाममा गफ्चुट्ने उप¬–सभापति जागिरमान लामालाई त बेलडागीको आन्दोलनमा ऐक्बद्धता जनाउनका लागि पौड्यालले निर्देशन दिनु पर्ने हो जस्तो लाग्छ । शरणार्थी समस्यसंग जोडिएका सानातिना कुरामा समेत अलिक तातेर प्रेश विज्ञति बाड्न खपिस पौड्यालले यो पाली “आँ” बाउन समेत सकेनछन् । ज्यानकै बाजी राखेर शरणार्थी दर्जाको माग गर्ने महिलाहरूको मागमा ऐक्बद्धता जनाउन नसक्ने पौड्यालजीको पार्टीको पनि काम छैन ।
अनि, आन्दोलनलाई पछि सारेर पूर्णरूपले लेखन कार्यतिर लागेको भन्दै शरणार्थी समस्यबाट पन्छिने तर शरणार्थीको बरिष्ठ नेता हुँ भनेर नेपाल सरकारबाट ३६ लाख अनि विभिन्न संघसस्थाबाट नियमितरूपमा पैसा चुसि रहने टेकनाथ रिजालजीले पनि आमरण अन्सनमा बसेका महिलाका लागि कुनै पनि निकायमा बोलिदिएनन् । गोविन्द रिजालजीको गुगलग्रुपमा नेदरल्याण्डबाट लक्ष्मी ढकालले पुनर्वाशका भूटानीहरूले सम्युक्तरूपमा प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई पठाएको ज्ञापनपत्र प्रधानमन्त्रीको कार्यलयमा पु–याइदिनोस् भन्ने इमेल पढेको थिएँ । तर, विचरा रिजालले डा ढकालको कुरालाई वस्तै गरेनछन् । उनलाई टन्न पुगेको छ, अरूको रिजाललाई के मत्लब र । उनी जेलमा हुँदा र उनको रिहाइ पछि मुष्टिदान गरेका जनताको मागप्रति चुचाप बसिदिएकोमा रिजालजीलाई पनि सलाम ।
नेपाल मै भएका नेता भनौंदाहरू चुप्चाप् बसे पछि विदेशमा हुने गज्मेर दाजुभाई, नाराद अधिकारी, थिन्ले पेन्जोरआदि त चुपचाप रहने नै भए । सायद उनीहरूले पनि सुनेनन् की ? यदि बोलेका भए देखि त अरू मिडियाले नलेखे पनि तपाई—हामी सबैले पढ्ने भूटान समाचारको अन्लाइन सस्करणले लेख्नु पर्ने हो । कि हाम्रा यी नेताजीहरूले त्यो वेवसाइट पनि पढ्दैनन् त ?
बरू, रोङथोङ जिउदै रहेका भए, उनले बोल्ने थिए की । तर उनको पार्टी त थियो नि । त्यो पनि बोलेन । सलाम छ उनको महान पार्टीलाई पनि ।
रोङथोङको पछि–पछि डाक्टर उपाधी झुन्ड्याएका सन्त नेता डि.एन.एसको पनि अब जनताले चालामाला बुझेका छन् । उनीबाट हुने झिनो आसा भए पनि यसपाली जनताले ढकालजीको जनताप्रतिको मायालाई पनि नजिकबाट बुझ्ने मौका पाए । ढकालजीको उपाधीलाई पनि बधाइ ।
अब, तपाई एक पटक विचार गर्नोस, के यस्ता बकमफुसे नेताको कुनै काम छ ? जनताहरू १२ दिनको आमरण अन्सन बस्ता के यिनीहरूको बोली फुट्नु पर्ने हैन ?