बर्थडे गिफ्ट

निल अधिकारी
ओहायो, अमेरिका

आज राधाको जन्म दिन।जीवनका अनगिन्ती आरोह अवरोह झेल्दै पच्चीस वसन्तमा पाइला टेकेको दिन ।मेरो मनमा अनेक किसिमका तर्कहरूको ज्वारभाटा उठ्न थाले। उनलाई के उपहार दिऊँ यस पालिको बर्थडेमा भनेर।साधारण केक काटेर कि ,खानाका  मिठा परिकार बनाएर कि। सानो तिनो उपहार दिऊँ भने उनी म सँग जोडिनु भन्दा पहिले उनका आफन्तहरूले के कस्ता उपहार दिएर यति खुसी राख्थे होला?।आफ्नो जागिरको हैसियतकै उपहार दिनु पर्ला भनेर सुन पसल तिर गएर एउटा पचास ग्रामको ब्रासलेट हेरेँ ।किनेर बोकेँ तर अहँ!साह्रै सानो,यति सानो त कसरी दिनु।प्याक गरेर दिँदा प्याकेटमै हराउने हातैमा लगेर लगाई दिऊँ भने यति सानो भनेर मन दुखाउने हुन कि।अलिक ठुलो उपहार दिनु पर्ला बरु आईफोन किनेर दिनु पर्‍यो भनेर फेरि मोबाइल पसल तिर लागेँ।पसलमा पुगेर पसलेलाई ब्राण्डेड फोनहरू देखाउन  आग्रह गरेँ।पसलेले भएभरका लेटेस्ट मोडलका फोनहरू फिँजाए।ती मध्य एउटा आई फोन 12 को सेट कालो रङ्ग बाट रहेछ जसले मेरो ध्यान आकर्षण गर्‍यो।दाम काम मिलाएँ $1155 को रहेछ।पसल बाट उपहार लिएर बाहिर निस्किएँ फेरि सोचेँ अहँ यो पनि गोजीमा बोक्ने मात्र भयो साह्रै सानो।उनका आफन्तहरू पनि भेला हुन्छन्।उनका एक जना दाइ त  उता विदेश तिर बाट आएका छन् रे मेरो उपहार देखेर बेसरी खिल्ली उडाउने हुन कि भन्ने  मनमा अनेक किसिमका तर्कहरू एकै चोटि तरङ्गित भए।सम्झिएँ उनले मलाई दिएको उनको सिङ्गो जीवनको उपहारको तुलनामा जाबो यस्ता ब्रास्लेट अनि फोन उनको अगाडि फिका प्राय लाग्नेछन्।यतिकैमा फोनको घण्टी बज्यो ।फोन उठाएँ,हेलो…अं तिमी कता हो? दाइहरू आइ सक्नु भयो अनि नि मेरो सानिमाको छोरा अमेरिकाको लसएन्जलसमा रहेको एपल कम्पनीमा मेनेजर हुनुहुन्थ्यो वहाँ पनि आउनु भएछ,तपाई छिटो आउनु।घरमा हामी सबै तयारी भई सक्यौँ।ल ल म पुगी हालेँ।अब झन् असमञ्जसमा परेँ।एपलकै कम्पनीबाट आएको मान्छेले दिई हाल्छ होला नि आई फोन त।अब सानो तिनो उपहारको कल्पना हरायो।अब ठुलो खालको उपहारको खोजीमा भौंतारिए।आफ्नै मन सँग वादविवाद गर्दै बेसुरमा दौडी रहेको थिएँ बाटाको दाहिने पट्टि एउटा टेस्लाको कार डिलर देखियो।निस्किएँ टेस्लाको मोडल x हेरेँ मन पर्‍यो दाम मिलाएँ $80,000 पर्‍यो।साथीलाई फोन गरेर गाडी लान सहयोग मागें।घर पुग्दा घरमा कोही पनि छैनन्।फोन गरेँ राधालाई, भनिन हामी सबै जना होटेल मेरियटमा छौँ यतै आउनु।होटेलमा पुग्दा त्यहाँको भव्य सजावटले फेरि अर्को तरङ्ग ल्यायो, त्यो सजावट अनि त्यति ठुलो तामझाम अगाडि मेरो उपहारको के मूल्य रहला।हतार हतार निलो सुट लगाएँ राधा रातो गेटअपमा रहिछन्।टेबलमा ह्यापी बर्थडे लेखिएको केक राखिएको थियो।नजिकैको अर्को टेबलमा पनि केक देखेर अचम्म लाग्यो।राधालाई सोधेँ,त्यो चाहिँ किन? उनले भनिन मेरो साथीको पनि आज जन्म दिन हो त्यसैले हामी सँगै बर्थडे मनाउन भनेर यही बोलाएको।मैले सोधेँ विवाहित हुन? हुन दुई वर्ष भयो।उनको श्रीमान् के काम गर्दा रहेछन्?मेरो जिज्ञासामा ‘उद्योगपति’ राधाले भनिन।मेरो मुटुमा  फेरि अर्को शूल पस्यो। अहिले सम्म सञ्चय गरेर राखेको धैर्यताको बाँध फेरि फुट्यो,दिमाग रिङियो।उद्योगपतिले श्रीमतीलाई कस्तो उपहार देलान्।उनले श्रीमतीलाई दिएको उपहारले मेरी राधाको मनमा कस्तो रियाक्सन ल्याउला ।नेपथ्यमा गाना सुरु भयो “ह्यापी बर्थडे टु यु”।हामी दुवै बस्यौँ केक काटी सके पछि फेरि ह्यापी बर्थडे टु यु भन्दै मैले केकको सानो पिस उनलाई ख्वाइदिएँ।आफन्तहरूले ताली पड्काउँदै नाच्न व्यस्त भए।यता राधा भने निन्याउरो  र न्यास्रो अनुहारमा देखिइन।गाजलले लच्याप्रै ढाकेका दुवै आँखामा देखिने असीमित प्रेमको सट्टा आँसु टिलपिल भरिएका छन्।सोचेँ उपहार पाए पछि ती हर्षका आँसुमा परिणत हुन्छन्।ब्रासलेट लगाई दिएँ“विवाहको पाँच वर्ष पछि दिएको गिफ्ट जाबो ब्रासलेट”।झन् खिन्न देखिइन।तिम्रो प्रेमिल मुहारमा खुसी ल्याउने अर्को उपहार पनि छ भन्दै झोला बाट आईफोन Ix को प्याकेट निकालेर दिएँ हतार हतार खोलेर हेरिन र फ्यात्त टेबलमा फ्याँक्दै भनिन “मलाई कालो रङ्ग मन पर्दैन भन्ने तिमीलाई थाहा थिएन”अझ उनी उग्र बन्दै गइन ।त्यस बेला मलाई महारानी कैकेयीको याद आयो।रामको राज्याभिषेक हुने अघिल्लो दिन सम्म राम नै राजा हुनु पर्छ भन्ने अनि राज्याभिषेकका दिन आफ्नो छोरोलाई राजा बनाउनु भन्ने कैकेयीको कथा सम्झिएँ।मैले राधाको बारेमा हरेक पाना पढेको जस्तो लाग्छ कुन पाना पढ्न छुटाएछु?हरेक कुरामा कम्प्रमाईज गर्थिन उनी।उनको आचरण,स्वभाव रहन सहनका हरेक पाना पडेको छु तर यस्तो रूप र व्यवहार कहिल्यै देखेको र भोगेको थिएन।उनले मोबाइलमा पठाएका टेक्स्ट मेसेज पड्दा लाग्थ्यो उनी प्रेमकी सागर हुन।उनको निश्चल मनमा प्रेम सिवाय केही थिएन।यस्तो शान्त स्वभावकी राधामा एकाएक आएको परिवर्तनले म शिथिल बन्दै गएँ। सम्झिएँ अझ एउटा उपहार छ उनलाई खुसी बनाउने ।त्यो पाए पछि त पक्कै खुसी हुन्छिन् भन्ने सोचेर मैले भने तिमीले के भन्दो रहेछौ भनेर पो ई साना कुरा पहिले दिएको त खासै उपहार त दिएकै छैन बाहिर हिँड भने ।उनले विस्फारित नेत्रले अरूलाई हेर्दै उठिन।मैले सिधै पार्किङमा पार्क गरिराखेको कालो टेसलाको मोडेल x तिर देखाउँदै यो तिम्रो उपहार हो भने। “कालो रङ्गको फोन कालै रङको गाडी”भन्दै उनी झन् लाचार भएर सुकसुकाउँदै भित्र पसिन।म छाँगा बाट खसे जस्तो भएँ।मैले आफ्नो  औकात बेचेर ल्याएको उपहारले आफ्नी प्रियसीको मन बुझाउन सकिन।मामुली महिनाको तीन हजार डलर कमाउने हैसियत भएको मान्छेले जाबो बर्थडेमा यत्रो ठुलो  उपहार दिँदा पनि आफ्नी स्वास्नी खुसी पार्न नसक्दा सम्झिएँ ती विपन्न परिवारका मानिसहरूले कसरी बर्थडे मनाउँछन् होला? कसरी घर चलाउँछन् होला?।यो जन्मोत्सव त उपहार साटासाट गरेर मनाउने भन्दा पनि अष्ट चिरञ्जीवीको पूजा गरी सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने हो यो त हाम्रो संस्कृति माथिको कुसाँस्कृति पराकाष्ठा हो।म सँग भएको औकात बन्दकी राखी सकेँ अब मेरो यहाँ भन्दा माथि उठ्ने हैसियत केही पनि छैन मात्र एउटा विकल्प छ त्यही गर्छु भनेर “डिभोर्स पेपर” बनाएँ र लिएर गएँ।भित्र पसेँ ढोकाको छेउमा अघिका अर्का बर्थडे जोडीको उपहार साटने बेला भएको रहेछ।फेरि उही ह्यापी बर्थडे टु यु भन्दै श्रीमानले श्रीमतीलाई केक खुवाए श्रीमतीले पनि हाँसेर उसलाई खुवाइदिइन।श्रीमानले गोजी बाट एलजीको दश डलर पर्ने नानीहरूको खेलाउना जस्तो देखिने फोनको सेट दिँदै भने” मेरी प्रियसी,यस पाली मेरो कमाइले जति धान्यो त्यति मात्र दिन सकेँ समय सापेक्षिक भएछ भने अर्को बर्थडेमा तिमीलाई ठुलो उपहार दिउँला है”।श्रीमतीले हाँस्दै भनिन “ मेरो प्रियतम, तपाईँको सिङ्गो जीवन नै मैले उपहारमा पाएकी छु जाबो यस्ता उपहार त कति किन्न सकिन्छ कति।फेरि यी भौतिक बस्तु दिएर कसैको मन जित्नु के जित्नु हो र जीवनमा सच्चा प्रेम दिनु नै सबै भन्दा ठुलो उपहार हो जो तपाईँले मलाई दिई रहनु भएको छ”।एक क्षण वातावरण सन्नाटाले छायो सङ्गीत बन्द भयो,राधा टेबलबाट जुरुक्क उठेर आइन र आँखा भरी आँसु पारेर मलाई अँगालो मार्दै भनिन”  I m so sorry darling “मैले भौतिक बस्तुको लालचमा फँसेर तपाईँको सच्चा प्रेम र ईमान्दारिता लाई बुझ्न सकेको रहेनछु,तपाईँको सच्चा प्रेम नै मेरो जीवन को अखण्ड सौभाग्य हो भन्ने कुरा भुलेकी  रहेछु।धन्य हुन मेरी साथी जसले गर्दा भविष्यमा आई लाग्ने ठुलो दुर्घटना बाट बाँचेँ।उनी मलाई अँगालोमा बेरेर धेरै बेर रोई रहिन।मैले गोजीमा बोकेको डिभोर्स पेपर झिकेर उनले थाहा नपाउने गरी ट्रयासकेनमा फालेँ ।उनको रुवाई बाट यो कुरा प्रस्ट हुन्छ कि सच्चा प्रेम नै जीवन हो, अरबौँ डलर खर्चेर महँगा बस्तु किन्न सकिएला तर सच्चा प्रेम,दिल भित्रको कुनामा रहेको प्रेम किन्न सकिन्न।त्यसैले जहाँ प्रेम छ त्यहाँ सदैव देवताको बास हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *