बलात्कृत सपना
रुप पोखरेल
पेन्सिलभेनिया,अमेरिका
आजभन्दा अघि म धेरैजनाको मलाम गएको छु । शोकाकुल परिवारलाई भेट्ता वा देख्ता मन खल्लो हुनुलाई स्वभाविक ठान्थें । तर, आज समाजका एक अग्रज ९३ वर्षीय फूँयल बा’को मलामी भएर पार्थिव शरीरमा एउटा फुलको गुच्छा अर्पण गर्दैगर्दा मनमा औधी नै कुरा खेले । फुयँल बा’ र मेरा स्वर्गीय बाबा एकै उमेरका अनि बाल्यकालमा एउटै गाउँमा हुर्केका भएर पनि होला- भन्दै मन बुझाउने कोशिश गरें ।
कता कता ती सयौं मलामीका माझ मलाई मनले ‘सबै भन्दा पहिला म कसको मलामी गएको थिएँ’, भनेर सोध्यो । भुटानमा छँदा त्यसबेला म बाह्र-तेह्र वर्षको हुनुपर्छ पुलामी मण्डलकी श्रीमतीको मलामी लुक्तैछिप्तै भए पनि गएको थिएँ । त्यसदिन म मेरो बाल मस्तिष्कमा भएका धेरै प्रश्नका उत्तर खोज्न गएको थिएँ ।
त्यो जमनामा केटा-केटीलाई मलामी जाँन दिइँदैन थियो । कसैलाई किन जानु हुँदैन भनेर सोध्दा ‘केटा-केटी जानु हुँदैन भनेपछि हुँदैन’, भन्ने उत्तर दिन्थे । त्यसदिन म घरि मलामीहरुका धेरैअघि घरिपछि हुँदै चाँचे खोलासम्म गएर लाश जलाएको हेरेको थिएँ । मान्छे मरेपछि कसरी जलाउँछन् होलाजस्तो लाग्थ्यो । त्यसदिन त्यो धोको पनि पुरा भयो । घर फर्किने बेला ठुलो पानी परेको थियो । त्यसदिन मलाई सानैदेखि औधी माया गर्ने दाइ दिपक कार्कीले एउटा केराको पात ओडाएर ल्याएको याद आयो । एक प्रकारले छुट्टै रमाइलो थियो त्यो बालापन ।
मनमा के के कुराका सोच्तै जेफर्सन मेमोरियल फ्युनरल होमबाट घर आएँ । अघि देखि गोजीमा मोवाइल बजिरहेको थियो । गोजीबाट मोवाइल निकालेर हेरें । फेसबुक म्यासेन्जरमा निकैवटा कल आएका रहेछन् ।
भुटानबाट तीनचोटिसम्म दोर्जी नाम गरेको आइडीबाट कल आएको रहेछ । केहीदिन अघि मात्र हामी फेसबुकमा जोडिएका थियौं तर, बात हुनसकेको थिएन ।
आज कस्तो संयोग ! केही अघि मलामी गएको बेला जसलाई पानी पर्दा एउटा केराको पात ओडाइदिएको भनेर सम्झें, उही व्यक्तिका तर्फबाट कल ।
मैले म्यासेन्जरमा कल लगाएँ । दुई रिङ्गमै भिडियोसँगै कल उठ्यो । ‘कुजुजम्पो, दिपक दाइ’, मैले भुटानी भाषामा नमस्कार भनें । मुसुमुसु हाँस्तै “ कुजुजम्पो भाइ”, भन्नुभयो ।
“आज उनन्तीस वर्ष, चार महिनापछि पुन: गफ गर्ने मौका मिल्यो, दीपक दाइ”, भन्दै पुरानो याद दिलाएँ ।
“हिसाब त राम्रो राख्तो रहेछ मेरो भाइले । हो त केटा एक जुगै भयो”, भन्दै मलाई निकै बेर राम्ररी हेर्नुभयो।
“भाइको त अनुहार नै अर्कै भएछ, काहिँ भेट्नु हो भने भाइलाई चिन्नै नसकिने रहेछ । खोइ त्यो टाउकाको त्यति बाक्लो कपाल ? हेर केटो त अर्कै पो भएछ”, ठट्टेउली गरेर हँसाउनु भयो ।
“दाइलाई चहिं म चिन्ने रहेछु । तपाईं जति नै बुढो भए पनि तपाईंलाई निधारको चोटको खतले म सजिलै चिन्छु”, दाइलाई बेस्सरी हँसाइदिएँ । दाइमा पाकोपन देखिन थालेछ । निधारमा हाँस्ता बुढेउली मुझा पर्न थालेछन्, त्यसमा पनि सानामा लड्दा दाइका निधारमा ठुलो चोट लगेको थियो, त्यसको खत अझै रहेछ ।
दाइले शुद्ध नेपाली भाषा तर, अनौठो सुनिने लवजमा बोल्दा म छक्क परें । मभित्र धेरै कुरा खेले । भुटानभित्रै रहनुहुने धेरै नेपालीभाषी इष्ट-मित्रहरु, मेरा बाल्यकालका साथीहरुसँग दिनैपिछे जस्तो गफ हुन्छ । साँच्चै भन्ने हो भने यो फोन र फेसबुकले भुटान र अमेरिका वल्लो-पल्लो गाउँजस्तै भएका छन् । अरू नेपालीभाषीले प्रष्ट नेपाली बोल्नुभएको थाहा छ । दाइ भित्रको रहस्य के हो जान्न उत्सुक भएँ ।
दिपक दाइ र मैले एकैचोटि फेसबुकलाई (काटिन छे- धन्यवाद) दियौँ ।
दाइले रेला गर्ने शैलीमा “मेरा लागि फेसबुकले बहुत ठूलो काम गरेको छ, भाइ”, भन्नुभयो।
‘दाइ तपाईले त फेसबुकमा नाम पनि फेर्नुभएको रहेछ ? दिपकबाट दोर्जी हुनुभएछ ! दाइको पुरानो नाम यतिका वर्षसम्म फेसबुकमा खोज्दा-खोज्दै बिते । नभए त धेरै वर्षअघि नै तपाईंसँग सम्पर्क हुनसक्ने थियो । धन्न तीन दिन अघिमात्र हामी साना हुँदा काँक्रा चोरी खाने साथी बिमल थापाले पो तपाईंको नाम दोर्जी भएको भन्दै फोटो पठाए । यो सब कसरी भयो ?’, मैले जिज्ञासा राखेँ ।
“तँसँग समय कतिको छ ? त्यहाँ त अहिले दिउँसो होला । आज काम छैन ?, एकैचोटि धेरै कुरा सोध्नुभो ।
“दाइ यहाँ अहिले दिउँसोको दुई बज्न लाग्यो । आज छुट्टी लिएर बसेको छु, काममा जान्न । भर्खर एकजना ९३ वर्षीय बा’को मलामी गएर फर्केको । तपाईं पनि चिन्नुहुन्छ वहाँलाई”, मैले भनें ।
‘तपाईंले पनि चिन्नुहुन्छ…’ भनेपछि अलिक भावुक मुद्रामा फेरिँदै सोध्नुभो,“को भाइ, कुन बा’ को कुरा गरिस् ?”
“तपाई लामो समयसम्म लप्सीबोटेमा बस्नुभएको मान्छे, लप्सीबोटे र गैरी गाउँको सिमनामा बस्नु हुने फुयँल बा’ ९३ वर्षसम्म सन्तान र समाजलाई आशीर्बाद दिएर जानु भयो ।”
“तँ कतै ती नौ-दश भाइ छोरा हुने फुयँल बा’को त कुरा गर्दै छैनस् ?”, जिज्ञासु भएर सोध्नुभो।
“हो दाइ तिनै बा’ को कुरा गरेको”, भने ।
लामो सास फेर्दै, “कति नलेखिएर, कति नचिनिएर त्यस्ता हाम्रा इतिहासका बत्तीहरु निभिसके । वहाँलाई म धेरै राम्रो गरी चिन्छु नि भाइ । कतिचोटि मैले वहाँहरुका घरमा खाना खाएको छु, बारीबाट सागसब्जी टिपेर डेरामा लिएर गएको छु । ती बा’ धेरै धर्मात्मा हुनुहुन्थ्यो । अर्काका लागि सारो-गाह्रोमा जहिले पनि पुग्नुहुन्थ्यो, विचरा बा’ रहनुभएन है !” बिस्मत मान्दै कुरा टुंग्याउनु भो ।
एकछिन पछि एउटा गिलासमा पानी लिएर बस्नु भो र हाम्रो गफ पुन: सुरु भयो ।
“ए तँ मेरो नाम दोर्जी कसरी भयो भन्दैथिस्- मेरो ओफ़िस्येल नाम दिपक नै हो । म चिराङ्ग डिष्ट्रिकको मेन्देगांग (लामीडाँडा गाउँ )-बाट गासा आएको पच्चिस वर्ष भो । म एकमात्र हो यो ठाउँमा ह्लोसाम्पा (नेपाली) । मलाई सबै मान्छेले दोर्जी भन्छन् । म सबैको दोर्जी हो । मेरो एउटा सानो बिजिनेस छ र यसैबाट पालिएको छु । मैले एउटा नानी पालेको छु । उसको नाम नोर्बु हो । ऊ चौध वर्षको भयो । नोर्बुका बाबु-आमा कोइ छैनन् । मेरो घरको साथी भनुँ या सबै थोक यही हो । अहिले रातिको १२ बज्यो, नानी सुतिरहेको छ ।”
दाइले अप्ठ्यारो गरी नेपाली बोल्नुको कारण थाहा भयो । आफूबाहेक नेपाली भाषा बोल्ने अरु कोही पच्चिस वर्षसम्म नहुँदा धन्न पो यतिको बोल्नुहुँदो रहेछ ।
“भाइ, बाबा-आमालाई कस्तो छ ? अब त धेरै पाको हुनुभयो होला ?” मेरा बाबा आठ वर्षदेखि नै हामीमाझ नरहनु भएको दाइलाई थाहै रहेनछ । सुन्नेबित्तिकै दाइले धेरै बिस्मात मान्नुभयो । “आमा सतासी वर्षकी हुनुभो आजका दिनसम्म सञ्चै हुनुहुन्छ”, मैले भनें । त्यो सुनेर दाइको अनुहारमा झलमल्ल घाम लागेजस्तो भयो । प्रफुल्ल देखिनु भयो ।
“भाइ एकदिन टायम निकालेर आमालाई देखा ल । आफ्नै आमाजस्तो लाग्छ, आफ्नी आमा त… ”, भन्दै बोली बिगार्दै कुरा टुंग्याउनु भयो।
के छ ? कसो छ ? बाट सुरु भएको हाम्रो संवाद फेरि क्षणभरमै भावुकतामा प्रवेश गर्यो । दिपक दाइ र मेरो पुरानो चिनजान । उमेरले दाइ मभन्दा सातवर्ष जेठा । दाइका बाबा र मेरा बाबा बाल्यकालीन लँगौटिया हुनुहुन्थ्यो ।
सन् १९९१ को जुन २० तारिक बिहीवारका दिन, दिपक दाइले मलाई दक्षिण भुटानको चिराङ्ग जिल्लास्थित डम्फू बजारबाट करिबन पैदल एक घण्ट टाढा लप्सिबोटे गाउँमा पर्ने पुरानो बजार- चाँचे बजार लिएर जानु भएको थियो ।
त्यसबेला दाइ चाँचे खोलामा जापान सरकारको सहयोगमा निर्माणाधीन जलविद्युत परियोजनामा तत्कालीन अवस्थामा भुटान सरकारको मानवशक्ति कार्यक्रमअन्तर्गत बैदार काम गर्नुहुन्थ्यो । भुटानमा त्यसबेला जग्गा जमिनबाट उब्जनी कम हुने, बाढी पहिरोबाट विस्थापित वा सुकुम्बासीहरुलाई दिगो रोजगारी र आम्दानीका लागि जलविद्युत परियोजना, सडक, पुल आदिको निर्माणमा काम गर्न मानवशक्ति कार्यक्रम सञ्चालन गरेको थियो । त्यसै सिलसिलामा दाइ चाँचे बजारमा एउटा डेरा लिएर बस्नुहुन्थ्यो ।
त्यसदिन डम्फूदेखि चाँचे बजारसम्म पुग्दा दिपक दाइ मसँग धेरै पटक रुनु भएको थियो । घरि मलाई अँगालो हालेर त घरि बाटाका छेउछाउ ढुंगामा बसेर आफ्ना बिलौना सुनाउनु भएको थियो । बाटामा ज्योतिषी डाँडा छेउमा पर्ने तिम्सिनाको बारीबाट हामीले पाक्तै गरेका आरुबखडा टिप्यौं र एउटा ढुंगामा बसेर खाँदै – खोर्साने, गोपिनी, बिचगाउँ अनि पाथीभरा डाँडो हेर्दै दाइले बिलौना पोखेको हिँजोजस्तो लाग्छ ! एक युगैजस्तो भइसकेछ ।
दाइले मलाई यति विश्वास गर्नुहुन्थ्यो कि आफ्ना अन्तरहृदयका कुरा समेत निर्धक्क सुनाउने । त्यसदिन दाइले भनेका कुरा आज पनि झल्झली आउँछ।
“भाइ आजभन्दा तीन महिना अगाडि मार्च १५ तारिक शुक्रबारको दिन रीता र मेरो विवाह हुने निधो भएको थियो । बाइस दिनअघि फरवरीमा मेरा हुनेवाला ससुरा र जेठानलाई सन् १९९० को सेप्टेम्बर २५ तारिख मंगलबार भुटान पिपुल्स पार्टीले निकालेको जुलुसमा सामेल भएको र त्यसपछि पार्टीलाई सहयोग गरेको भन्ने आरोपमा भुटान आर्मीले घरबाट राति गिरफ्तार गर्यो । असहाय रीताकी आमा, बाबु-छोरालाई लछार-पछार गर्दै लगेको देखेर बेहोश भइछन् । त्यही रात … “, दाइले घप्पै मलाई अंगालो हाल्नु भो र निकैबेर चुप रहनु भो ।
एकछिन पछि सम्हालिनु भयो ।
“त्यही राति मेरी रीतालाई एउटा समूहले घरको आँगनमा बलात्कार गरेछ । अन्धकारमा त्यो सुनसान रात र आफूलाई अर्धमरो अवस्थामा लडाइएको धर्ती अनि ती यौन पिपासुबाहेक त्यो अस्मिता लुटिँदै गरेको देख्ने साक्षी कोही पनि थिएनन् ।
समाजमा इज्जतको सवालभन्दा पनि त्रासका कारण बलात्कारको घटना तैँचुप मैँचुप मै अव्यक्त राखिएछ”, दाइले लामो सास फेर्दै कुरा रोक्नुभयो।
दक्षिण भुटानमा त्यसबेला कुनै पनि घटनाको सरकारी निकायमा उजुरी गर्नबाट नागरिकहरू बञ्चित थिए । सन् १९९० मा दक्षिण भुटानका पाँच जिल्लामा भएका शान्तिपूर्ण जुलुस प्रदर्शनपछि सरकारका नजरमा सबै नेपालीभाषीहरु देश बिरोधी थिए ।
“ अनि त्यसपछि के भयो त दाइ “, मैले सोधेको थिएँ ।
“त्यसपछि हाम्रो विवाहका सपनाका पहाड गर्ल्यामगुर्लुम ढले । मार्च महिनाको विवाह त्यतिकै टर्यो । एउटा गाउँबाट अर्को गाउँ जान-आउन लगभग बन्द थियो । एउटा गाउँ वा सहरबाट को बाहिर जान्छ वा आउँछ भन्ने बुझ्न स्थानीय प्रशासनले जासुस राखेको हुन्थ्यो । मे महिनामा कसो कसो गरी एकदिन म रीतालाई भेट्न गएँ । त्यहीबेला रीताले आफूमाथि भएको त्यसदिनको घटनाको नालीबेली बताइन् ।” निकैबेरको बसाई पछि हामी पुन: चाँचे बजारका लागि ओरालो झऱ्यौं ।
सन् १९९२ अप्रिल २५ तारिख, शनिवारको दिन, मेरो परिवारले विवशतावश देश छोडेको दिन । जीवनको एउटा कहालीलाग्दो दिन । दाइ हामीलाई बिदा गर्न डम्फू बजारमा बिहानै आउनुभएको थियो । एउटा थैलोमा चिउरा र तीन प्याकिट बिस्कुट मेरा हातमा थमाइदिँदै “बाटामा खाजा खानु ल”, भन्दै दाइले बोल्न नसकेर घुङ्क घुङ्क गर्न थाल्नु भयो । हामीलाई हेरीमात्र रहनु भयो । हामी दुवैतर्फबाट बोल्न सकीरहेका थिएनौं । दाइका आँखा र अनुहारले धेरै धेरै कुरा बोलिरहेका थिए । मेरा बाबा-आमालाई अँगालो हालेर धेरैबेर निःशब्द हुनु भो । वहाँका बाबा तीन वर्षअघि मात्र बित्नुभएको थियो । दाइकी आमा उनी सानै हुँदा बित्नु भएको । वहाँका अरू दाजुभाइ दिदीबहिनी कोही पनि थिएनन् । त्यही भएर होला मेरा बाबा-आमामा आफ्ना बाबाआमा देख्नुहुन्थ्यो । दाइले आँखाभरि आँशु पार्दै बिदाइको हात हल्लाएको हिजोजस्तो लाग्छ । व्यक्तिगतरूपमा आजसम्म नभेटेका हामी फेसबुक म्यासेञ्जरमा एक अर्कालाई बेस्सरी हेर्यौँ । बेलाबेला बोल्ने क्रममा दाइले पानी पिइरहनु भयो । आवाजबाट प्रष्टै बुझिन्थ्यो, दाइमा के बितिरहेको छ भन्ने !
अप्ठ्यारो मान्दै मान्दै दाइलाई रीताका बारे सोध्न मन गरें ।
“दाइ हामीले भुटान छोडेपछि अरु के के भयो ? रीताका बाबा र दाजु कहिले छुटे जेलबाट ? “
मेरो प्रश्नको उत्तर दिनलाई दाइलाई निक्कै गाह्रो पर्यो । घरि आँखा चिम्म गर्ने त घरि पुपुरोमा हात राखेर एकोहोरो हेर्ने । एकचोटि त नसोधेको भए पनि हुनेरहेछ भन्ने लाग्यो । केही क्षणपछि दाइ बोल्नुभयो ।
“भाइ खोइ तँलाई के बताउँ र ! कहानी लामो छ । भाइलाई थाहै भएको कुरा हो, त्यसबेला एउटा गाउँबाट अर्को गाउँ जान बन्द थियो । सन् १९९१ को मे महिनामा कसो कसो गरी लुकी छिपी गएर रीता र आमालाई भेटेको थिएँ । त्यसपछि हामीबीच महिनौं सम्पर्क हुनै सकेन । त्यही वर्षको सेप्टेम्बर महिनामा रीता र आमा अचानक गाउँबाट हराएछन् ।
पछि सन् १९९४ को मार्च महिनामा कतैबाट मलाई थाहा भयो सुरक्षित स्थान खोज्दै रीता र आमा भारतको आसाम पुगेका रहेछन् । त्यसपछि म उनीहरुलाई खोज्दै आसाम पुगें ।
बलात्कार भएको सात महिनापछि कसोकसो गरी रीता र रीताकी आमा भारतको आसाम राज्यस्थित मुडे भन्ने ठाउँमा आफन्तका घरमा गएछन् । रीता बलात्कारकै कारण गर्भवती भएकी रहिछिन् । गर्भवती छोरीको परिचय दिन आफन्तसामु आमालाई धेरै गार्हो परेछ । आमाले नचाहँदा नचाहँदै बाहना कथ्नु भएछ । घरका बाबुछोरा पक्राउ परे, केही महिनापछि ज्वाइँ पनि पक्राउ पर्नुभयो । अझै जेलमै जिउँदा छन् या मरे, थाहा छैन । यो दुई जिउकी, अनि गाउँको वातावरण असुरक्षित हुँदा यता आँउनु परेको भनी आमाले ढाँट्नु भएछ । त्यहीँ रहँदा बस्ता दिसम्बर महिनामा रीताको छोरो जन्मेछ । अन्जान बाबुको छोरालाई काखमा सुताउँदै महिनौंसम्म रीताले आफूलाई आँशुले नुहाइछन् ।
छोरीको त्यस्तो हालत सहन नसकेर आमाले आफ्नै गाउँ गएर अवस्था बुझ्ने र त्यसपछि आएर छोरी र नातिलाई लिएर जाने निधो गरिछन् । आमाको आगमनको प्रतीक्षामा रीताले धेरै कष्टकर दिनहरू काटिछन् । नानी बर्सीको हुनलाग्दा समेत आमा फर्केर आइन छिन्…. ।”
दाइ कहानी भन्दाभन्दै भक्कानिनु भयो । निकैबेर हामी एक अर्कालाई हेरिरह्यौं ।
केही क्षणपछि मौनता भङ्ग गर्न मैले पुन: आग्रह गरें । ‘त्यसपछि के भयो ?’
“सन् १९९३ को जनवरीमा एकदिन भुटानबाट ज्यान जोगाउन भागेका मानिसहरु मुडे गाउँ छेउमा पर्ने अखौस्थित खोलाको बगरमा अस्थायी टहरा बनाएर बसेका छन् भन्ने रीताले सुनिछन् । तिनीहरू सबै नेपाल जाने तयारीमा रहेछन् । चिनजानका कोही छन् की भन्दै रीता अखौ गइछन् । रीताको जीवनमा अर्को सङ्कट आइलागेछ । उनले त्यहाँ गोपिनी भन्ने गाउँबाट आएको एउटा मगर परिवारलाई भेटिछन् । भुटानमा भएको उनीहरूको घर भत्काएको र रीताकी आमा गाउँ घरमा नदेखिएको भन्ने सुनाएछन् । रीताको अन्तिम आशा पनि तुहिएछ । त्यसपछि सानो नानी च्यापेर त्यही मगर परिवारका साथमा रीता नेपाल छिरिछन् ।”
दाइले रीता नेपाल छिरिछन् भनेको सुन्दा मनमनै मैले रीता र त्यो नानीलाई नेपालका शरणार्थी शिविरमा खोजें । म पनि अठार वर्ष शिबिरमै बसेको मान्छे । भुटानमा हुँदा रीतालाई देखेको थिइनँ । मैले भुटानमा हुँदा भेट्न नसकेकोमा पछुतो लग्यो । नेपालका शरणार्थी शिविरमा कतिचोटि हाम्रो भेट भयो होला ? सायद कति सन्दर्भमा बात समेत भए होलान् । धेरै कुरा खेले मेरा मनमा ।
“ त्यसपछि तपाईंले के गर्नु भयो, दाइ”, मैले प्रश्न गरें।
“जब रीता नेपाल गइन् भन्ने सुनें,… एकपटक त आफैंलाई छाँगाबाट झरेजस्तो भयो । फेरि सम्हालिएँ । रीता जाहाँ होलिन् सकुशलै होलिन् भन्ने लाग्यो । खोइ किन हो त्यो दैवलाई थाहा होला तर, त्यसबेला मलाई रीताको भन्दा रीताकी आमाको खोजी गर्नु महत्वपूर्ण लाग्यो र पुन: भुटान गएँ । दक्षिण भुटानका सर्बाङ्ग, गेलेफु, चिराङ्ग, दागाना जिल्लाहरुका सबै गाउँठाउँ खोजें । कहीं पत्ता लागेन ।”
केही क्षण हामी दुवै मौन रह्यौं । लाग्थ्यो दाइलाई आज वर्षौंपछि आफ्ना मनका कुरा मित्रवत भाइलाई बताउँदा ठुलो भारी बिसाएझैँ भइरहेको छ । बेलाबेला लामो सास फेर्ने, बोल्दै जाँदा पुराना यादले होला घरि-घरि मुसुक्क हास्ने अनि भावुक बन्ने । ती सब दृश्य दाइमा मैले देखिरहेँ ।
मैले फेरि अर्को प्रश्न सोध्ने आँट गरें । “रीताकी आमा कतै पत्ता नलागेपछि तपाईंले रीताको खोजी गर्न जानुभएन ? “
“भाइ, के के कुरा पो बताउँ। मलाई रीता र आमाको यादले आज पनि सताइरहेको छ । अव्यक्त पीडा बोकेर आजसम्म बाँचेको छु । जब रीता र रीताकी आमाको अवस्था बुझ्न मुडे गएँ, भुटान फर्केर सर्बाङ्ग, गेलेफु, चिराङ्ग दागानाका सबै गाउँठाउँ खोजें, अनि धेरै जना मान्छेहरुलाई सोधें । खोइ कसले मेरा बारे के बुझ्यो ? खोइ मेराबारे पुलिस अफिसमा गएर कसले के सुनायो ? मलाई थाहा भएन । एक्कासी म सन् १९९४ को मे महिनाको १० तारिख मंगलबार बिहान डम्फु बजार र चनौटे गाउँ बीचमा पर्ने धजे डाँडामा एउटा सेर्पाको चिया दोकानमा चिया खाँदै गर्दा पक्राउ परें। नेपाल गएर भुटान पिपुल्स पार्टीका नेतालाई भेटेको आरोप लाग्यो । म एघार महिना थिम्फुस्थित चेमगाङ्ग जेलमा रहनुपऱ्यो । जेलमा रहँदा मैले धेरै यातना खप्नुपऱ्यो । कति दिन भोकभोकै बिते । आरामले सुत्नको त कुरै नगरौं । रीताका बाबा र दाजुलाई कतै त्यही जेलमा राखेको छ कि भनेर मैले धेरै चासो गरें । बाहिर-फेर कामका लागि निकाल्दा वरपर कतै छन् कि भन्दै हेर्थें । एकदिन त कसको खोजी गरेको भन्दै बेस्सरी कुटाइ पनि भेटियो ।
मलाई जेलबाट छोड्नुभन्दा दश दिनअघि हामी बन्दीहरुलाई दाउरा चिराउँदै थियो । त्यसदिन एउटा गाडीबाट रीताका बाबु र दाजुसहित अरु चारजनालाई हाम्रै छेउमा ओरालेको देखें । एक अर्कालाई हामीले राम्ररी चिन्यौं । एक आपसमा मुसुक्क हाँस्यौं । बोल्नु हुँदैन’थ्यो । उनीहरुलाई देख्तामात्र पनि मेरो मन प्रफुल्ल भयो । मनमनै रीता र आमालाई सम्झें र भनें बाबा र दाइ जिवितै भेटें । त्यसपछि सन् १९९५ को अप्रिल सात तारिख शुक्रबारको दिन मलाई जेलबाट छोडियो ।”
दिपक दाइले गरेको बयानले म एकोहोरिन पुगेंछु । सुनेंमात्र, केही सोध्ने ममा आँट आएन । केही क्षणपछि विषय बदल्ने सोचेर भुटानभित्रको हाल खबर सोधें ।
“भुटान भित्रको आवस्था कस्तो छ अहिले ?”
“देख्नका लागि पहिलेको भन्दा धेरैमा धेरैखाले परिवर्तन आएको छ । तर, अझै पनि मजस्ता हजारौं मानिस नागरिक हक पाउनबाट बञ्चित छन् । सन् १९९० मा लागेको तथाकथित देशद्रोहीको आरोप अझै मेटिएको छैन ।
एउटै देशमा दर्जादर्जाका नागरिक, एकै परिवारमा दर्जा-दर्जाका परिवार सदस्य; त्यो नीति अझै कायम छ । मैले नागरिकता प्राप्त गर्न हजारौं पटक प्रयास गरें । बाबुका नामका सबै कागजात सन् १९९० मा घरमा अचानक आगलागी हुँदा सबै जलेर नष्ट भएकाले र बाबुको पनि मृत्यु भइ सकेको हुँदा… … (दाइ केही समय बोल्न सक्नुभएन )… म एक अस्तित्वविहीन व्यक्ति भएर बाँचिरहनु परेको छ ।
आफूलाई भुटानको नागरिक प्रमाणित गर्न सन् १९५७ र १९५८ मा आफ्नो बाबु भुटानमा रहेको र सरकारलाई जमीनको कर तिरेको भन्ने कागजात देखाउनु भन्ने आदेश छ । ती कागजात आगजनीसँगै जलेर नष्ट भए भनी बिन्ति बिसाउँदा कसैले सुनेनन् । अझै पनि राजाबाट आफ्नो गुनासो सुनिने आशा मरेको छैन । आज आफ्नै बाबुले पसिना बगाएर आर्जेको सानो टुक्रा जमीनमा उत्तरी भुटानबाट सरेको एउटा डुक्पा परिवारले जोतखन गर्छ । मेरो जमीन हो भन्न मैले पाउदिनँ । त्यही भएर म यो दुर्गम जिल्ला गासामा आएर बस्नथालेको हुँ ।”
दाइले भुटानको नागरिक बन्न झेल्नु परेका सबै कठिनाई पोखिसकेपछि बिस्तारै सोधें,
“दाइ तपाईंले नेपाल जाने विचार कहिलै गर्नुभएन ?”
“देश छोडेरै सधैंका लागि जाने विचार मलाई कहिले पनि आएन । तैपनि रीताको यादले मलाई औधी नै सतायो । त्यही भएर म २०१० मा आफ्नै उपचारको लागि भारतको सिलिगुडी जाने क्रममा नेपाल गएँ । पूर्वी नेपालमा रहेका सबै शिविर घुमें । चिनजानका धेरै साथी भाइहरु भेटें । रीता बेलडाँगी-२ शिविरमा बसेकी थिइन् भन्ने थाहा पाएँ । तर, म नेपाल ढिलो गएँछु, रीता सन् २००९ मै अमेरिका गइछन् । रीताले त्यो छोरो बलात्कारको परिणाम भनेर कसैलाई बताएकी छैनन् भन्ने पनि बुझें । छोराको बाबु भुटानको जेलमा छन् भनेर ढाँटेरै बाँची रहिछन् । त्यो सब कुरा उनले छोराकै लागि गरेकी रहिछन् ।”
रीता अमेरिकामा छन् भन्ने सुन्नेबित्तिकै मभित्र जिज्ञसाका चाङ्ग लागे । अहिले नै जाउँ अनि भेट गरौंजस्तो भयो ।
“दाइ अनि अमेरिकामा रीता कुन ठाउँमा छन् तपाईंको सम्पर्क भयो त ?”, एकैचोटि सबैथोक सोधें।
“फेसबुकले हामीलाई सन् २०१९ को अक्टोबर यता भेट गराएको छ । छोराको नाम कर्ण राखेकी रहिछन् । अहिले कर्ण तीस बर्षको भएको छ । उनीहरु अमेरिकाको न्यू मेक्सिको राज्यमा बस्छन् । कलेज पढी सकेर काममा पनि लागिसक्यो । रीताले मलाई आफ्नो बाल्यकालको साथी भनेर चिनाएकी छन् । हाम्रो बात भइरहन्छ । मैले यहाँ पालेको नानी नोर्बुलाई कर्णले भाइ मान्छ । यो कोरोना भाइरसको माहामारी हटेपछि कर्णले आमालाई लिएर नेपाल आउँदैछ । भाइ, वर्षौंपछि हाम्रो बलात्कृत सपनाको अन्त्य गराउने अर्को सपना बोकेको छु।”
दाइको ह्रदयविधारक कहानी सुनेपछि मलाई पनि शान्ति मिल्यो । मलाई पनि रीतासँग सम्पर्क गर्ने आशा जाग्यो ।
“दाइ मलाई पनि रीतासँग परिचय गराइदिनुहोस् । म पनि भेट गर्न चाहन्छु”- भनें ।
“हुन्छ भाइ, म रीतासँगको अर्को भेटमा गफ गरौंला । भाइलाई म चिनाउँछु उनीसँग । भाइ बसेको ठाउँ र न्यू मेक्सिको कति टाडा पर्छ कोनी, भेटेर गफै गर्न पनि मिल्छ । मेरा लागि सबै अधुरा सपना पुरा गर्ने माध्यम यही फेसबुक भएको छ, भाइ।”
“ए मैले त झन्डै बिर्सेंछु, भाइ तँ फुयँल बा’का घरमा कहिले जान्छस्, गएका बेला मेरो तर्फबाट पनि परिवारलाई समवेदना सुनाइदिनु है ”-यति भन्दै दिपक दाइ रोकिए !
I read the whole story. It is heartbreaking and reflection of our own stories.It is not the story of Karki dai and his family but is the symbolic representation of all the Bhutanese who suffered decades after the brutal repression followed by eviction, by the then government of Bhutan.Thank you RN sir for writing and sharing this small portion of our own history .
Correction in the previous comments:It is not only the story of: