बहस पहिचानको

स्तम्भकार

परदेशी कान्छो

डिक्याव काउन्टी, जर्जियाको राजधानी एट्लान्टा नगरीको उत्तर पूर्वी भागमा पर्दछ । जर्जिया राज्यसरकारले विदेशबाट ल्याइएका आप्रवासीहरुलाई पनि यही काउन्टीमा केन्द्रिकृत गरेको पाइन्छ । त्यसैले यस काउन्टीमा सोमालिया, इथियोपिया, इरिट्रिया, इराक, नाइजेरिया, इरान, अफ्गानिस्तान, बर्मा, भियतनाम, आदि मुलुकबाट आएका शरणार्थीहरु यत्र तत्र सर्वत्र पाइन्छन् । यी शरणार्थी समाजमा पछिल्लो समयमा मिसिन आएको शरणार्थी समाज भने भूटानी समाज हो । डिक्याव काउन्टीको डिकेटर, क्लार्क्स्टोन, स्टोनमाउन्टेन र नरचेस् सहरका विभिन्न आवासक्षेत्रमा भूटानीहरुको उपस्थिति उल्लेख्य पाइन्छ । त्यसमा पनि क्लार्क्स्टोनको मध्यक्षेत्रमा पर्ने साउदनप्लेस, क्लार्क्स्टोन स्टेसन, लेकसोर, क्यारियेज् कोर्ट, इङ्गिस्ओक्स्, विलो ब्रान्च, इन्डियन भ्याली, विलो रिज्, सिडरक्रिक र भ्यालिप्लेस जस्ता आवासक्षेत्रमा पनि भूटानीहरुको घनत्व बढी रहेको पाइन्छ । उल्लेखित आवासक्षेत्रहरु वरिपरि भएकाले भूटानी समूदायलाई आवातजावत गर्नलाई अत्यान्तै सहजमात्र नभई नेपाली परिवेश नै लाग्ने गरेको पाइन्छ । सायद भूटानीहरुको घनत्व बढी भएकाले होला परदेशीले आजभोलि आफ्नो चौतारो पनि यतै सारेको छ ।
आज बिहानैदेखि परदेशीलाई छटपट भइ रहेको छ । अमेरिका न हो उठ्दा आठ बजिसकेको हुन्छ । झन् मार्च महिनाको ….. तारिकमा समय बढेपछि त बिहानको समय थाहै नपाई बिति सकेको हुन्छ । त्यसैले उठ्ने बित्तिकै पाकेको भात खाएर परदेशी बाहिरिन्छ । हिलटाउन आवासक्षेत्र झट्ट हेर्दा जंगलको बीचमा भएझैं भान हुन्छ । अलिअलि दक्षिणतर्फ भित्तो परेको, उत्तरमा गहिरो तर समतल जग्गा र पूर्वतर्फ फेरि डाँडो पर्दछ । त्यही डाँडाबाट मन्ट्रियल रोड हुँदै एउटा मोटरबाटो अन्तर्राज्यस्तरीय राजमार्ग २८५ छेउभएर लरेन्स्भिल राजमार्गमा जोडिन्छ भने अझ पूर्वमा अर्को मोटर र रेलमार्ग स्टोनमाउन्टेनतर्फ जाने गर्दछ । परदेशी आफ्नो हिल्टाउन आवासक्षेत्रको दृश्य हेर्दै र आफूले त्यहाँ बिताएका बिगत आठ महिनालाई गुन्दै ओरालो झर्दछ । एक तर्फबाट डाँडाको बाटो हुँदै नजिकैको थ्रिप्टाउन बजार निस्कने बिचार हुँदाहुँदै पनि पाइला साम्ने पर्ने साउदनप्लेस् आवासक्षेत्र तर्फ बढ्छन् ।
साउदनप्लेसको फेस् २ आवासक्षेत्रभित्र पस्ने बित्तिकै दायाँपट्टि पर्दछ आवास नम्बर ३५ । मनको किराय निवास यही ३५ नम्बरको डी मा पर्दछ । परदेशी सरासर गएर ढोकाको घन्टी थिच्दछ ।
“ए परदेशी काका पो हुनुहँदो रहेछ । आउनु’स्न भित्रै ।” मनकी १५ वर्षीय छोरी कुमारीले हँसिलो मुहारले परदेशीको स्वागत गरी ।
परदेशी भित्र पसेर ढोका थुनी जुत्ता तलामाथि जाने भ-याङको छेउमा खोल्दै बोल्छ–“अनि घरमा को को हो नि? बा खोइ त?”
“बा माथि फोनमा व्यस्त हुनुहुन्छ । म बोलाइ दिन्छु । बस्दै गर्नुहोस्न ।” – भन्दै कुमारी माथि चढ्छे ।
एकै छिनमा मन माथिबाट तल झरी “नमस्कार है परदेशीजी । कतिखेर आउनु भ’को ? म त एरिजोनाबाट फोन आएछ र त्यता पो भुल्लि राखेको थिएँ त ।”–भन्दै सोफामा बस्छन् ।
“भरखर भित्र पस्दै मात्र छु । आज यसो साउदनप्लेस घुम्न निस्कने रहर चल्यो र निस्किएको । चिसो पनि जान लागेन । दिन धुम्मिन छाड्दैन त हौ ? जाडोले मरिन्छ कि क्या हो ?”
“यस्तै हो । अब जाडो धेरै दिन रहन्न । यहाँ के आज धुम्मियो भने भोलि असाध्यै घाम लाग्छ र पर्सि फेरि उल्काको पानी वर्षिन्छ । अर्को दिन फेरि घाम लाग्छ । तर अब यो जाडो लामो रहँदैन ।”
“अनि भाउजु खोइ त ?”
“अमेरिकाको जिन्दगी यस्तै त हो नि । बूढी दिउँसोको जागिर, बूढाको रातीको । बूढाबूढीको हप्तामा एक दिन भेट हुन्छ । त्यो पनि ओभरटाइम प-यो भने त भेट हुन पन्ध्रैदिन लाग्छ । चार जनाको परिवार सँगै भात खाने दिन त महिनाको एक दिन, दुई दिनमात्र पो हुन्छ, परदेशी भाइ ।”
“तपार्ईंहरु काम हुनेको भेटघाट भएन भनेर चिन्ता । हामी काम नभएकाहरुलाई काम भएन भनेर चिन्ता । नयाँ ठाम, कता जाम, हल्यो हिंड्यो खायो माम् । त्यस्तै पो छ हौ मेरो त ।”
“साँची परदेशीजी एउटा कुरा सोध्न मन परेको । यो जनगणनाको कुरा आएको छ नि? यो के कस्तो हो हौ ? के हामीले पनि त्यसमा भाग लिनु पर्ने हो ?”
“ए अमेरिकाको जनगणना २०१० को कुरा गर्नु भएको होला । अँ …… मैले बुझेसम्म यो दश, दश वर्षमा हुने गर्दछ । यो अरु कति देशमा जस्तो कहाँ जन्मेको थिइस्, फलानो सालमा कर तिरेको रसिद ले । तेरो बाबु जन्मेको प्रमाणपत्र ले । तेरो जात, धर्म, भाषा के हो ? …….. आदि जस्ता बकवासका सवाल अमेरिकाको जनगणनामा सोधिंदैन रे । यहाँको जनगणना अत्यान्तै सरल र सहज छ रे । खा….ली के के नामका, कुन मूलको र कुन उमेरका भन्ने मात्र सोधिन्छ रे । बरु यसो गरौं न मनजी, त्यहाँ तनजीकामा जाऔँ न । वहाँ हामी भन्दा केही अनुभवी र हाम्रा समुदायका पुराना व्यक्ति पनि हुन् । वहाँलाई यस बारेमा धेरै थाहा होला ।”
“तपाईंले ठीक भन्नु भयो । ल जाऔँ । तर घरमा पो हुनुहुन्छ कि हुनुहुन्न ।”
“भए भेटिएला, नभए वहाँका परिवारसँग त भेट होला नि । जान चाहिँ जाऔँ न ।”
दुबै जना बाहिर निस्केर आवास संख्या ५६ ई तर्फ लाग्छन् । बाहिर केटाकेटी जथाभावी खेलिरहेका थिए । परदेशीलाई यसरी खेलिरहेका बीच भूटानीहरुका नानीहरु पनि अभिभावक विहीन साइकल, गोल, आदि खेलिरहेको देखेर हैरान हुँदै कुरा खोल्छन् —
“आई.ओ.एम्.ले कति मजाले सुरक्षाका सवाल सम्बन्धि तीन दिन लगाएर जनचेतना दिएर पठाएको हुन्छ तर हाम्रा मान्छेलाई कुनै मतलव नै छैन । हेर्नुहोस् न केटाकेटी कति असुरक्षित तरिकाले खेलेका ? एउटा गाडी आएर ड्याङ्ग……. हिर्काएर गयो भने के गर्नु होला ?”
“हो नि परदेशीजी, हाम्रा मान्छेलाई भनि कन लाग्ने होइन । कहिले यिनीहरुमा परिवर्तन आउने हो को नि?”
यस्तै के के गफ गर्दा गर्दै तनको ढोकामा पुग्छन् दुबै जना । भाग्यवश तन आज घर मै रहेछन् ।
“नमस्कार है दुबै जनालाई । आज कसरी दुबै जना एकै साथ हौ ?”
“परदेशीजी आउनु भएछ र मैले नै यो जनगणनाको बारेमा सोधें । वहाँले बरु तनजीकामा गएर बुझौं । वहाँ भनेका हामीभन्दा अनुभवी र पुराना पनि हुनुहुन्छ भनेर यतै पो लाग्यौं । बरु तपाईंको पो कहिँ जानु पर्ने हतार थियो कि ?”
“काममा जाने समय अलि बाँकि नै छ । अब गफ गरौं न । बरु ए सानु ……….. चिया बनाउन काकाहरुलाई ।”
“मैले भरखरै खाना खाएर निस्किएको । मनजी पनि भरखर खाना खाएको भन्दै हुनुहुन्थ्यो म आउँदा । पर्दैन भाउजू दुःख गर्नू ।”
“अँ जनगणनाको कुरा गर्दा अहिले अमेरिका भरि नै चर्चा परिचर्चा भइरहेको छ । अहिले भरखर पनि जर्जियास्थित नेपाली समुदायबाट एउटा ई–मेल आएको छ पढ्नु होस्न ।” तन कम्प्युटरमा भरखरै नेपाली समुदायका राज घलेले पठाएको जनगणना सम्बन्धि ई—मेल देखाउँछन् । ई–मेलमा लेखेको थियो –

“संयूक्त्त राज्य अमेरिकाको जनगणना २०१०: हाम्रो भविष्य-हाम्रो हातमा जन गणना २०१० के हो ?
संविधानमा तोकिएको बमोजिम हरेक १० बर्षमा यू.एस. जनगणना बिभागले संयुक्त राज्य अमेरिकामा रहेका हरेक बासिन्दाको गणना गर्छ ।आउने जनगणनाको दिन अप्रिल १, २०१० हो ।

जनगणनामा कसले भाग लिन्छ ?
जनगणनाले हरेक ५० राज्यहरुमा जिल्ला (District of Columbia) र यू. एस. क्षेत्रहरू (U .S . territories) जस्तै पोर्टोरिको र गुवामको हरेक ब्यक्त्तिको गणना गर्छ । मानिसहरु जहाँ बसोबास गर्छन र त्यही नै उनिहरुको गणना गरिन्छ ।जन गणनाले दुवै नागरिक तथा कागज पत्र नभएका आगंतुकहरू (undocomented immigrants) को पनि गणना गर्छ ।यसले उनिहरुको कानूनी अवस्था ( Legal Status ) बारे कुनै प्रश्न सोध्दैन । परम्परागत रुपमा घर नभएकाहरु जस्तै घरवार विहीन, कैदिहरू र वृद्ध गृह र अन्य दीर्घ रुपमा सेवा पुर्याउने ठाउमा बस्नेहरुको पनि गणना गरिन्छ ।
हामीले २०१० को जनगणनामा भाग लिन किन महत्व पूर्ण छ ?
२००० सालको जनगणना अनुसार संयुक्त राज्य अमेरिकामा केवल ११,७१५ मात्र नेपाली थिए । गत जनगणना भए देखि हाम्रो समुदाय निकै बढेको छ। यसो भए तापनि हाम्रो समुदायमा संख्या कति र कहाँ बस्छ्न भन्ने तथ्यांग्क छैन । २०१० को जन गणना हाम्रो गणना गर्ने राम्रो मौका हो ।हामीसंग सही तथ्यांक छ भने हाम्रो समुदायको लागी श्रोतहरु र अति आवश्यक कुराहरु जुटाउन मद्दत पुग्छ र स्थानीय, राज्य र केन्द्रीय स्तरको राजनितिक र नीति निर्माण गर्नेले पनि हामीलाई बढ़ी गम्भीरताका साथ लिन्छ्न ।हामी अहिले लागेनौ भने अरु फेरी १० बर्ष पर्खनु पर्ने छ । नेपाली समुदायको सन्दर्भ बाहेक, जनगणनाको आधारमा ४०० विलियन डलर भन्दा बढ़ी केन्द्रीय कोषको रकम समुदायमा बाँडीनछ ।अस्पताल, सड़क, विधालय, आकस्मिक तथा अन्य सेवाहरु हामीले भर्ने जनगणना फ़रममा आधारित हुन्छन ।
“नेपाली” सुंची (list) मा छैन, मैले के गर्ने ?
तपाईको नागरिकता जहाँको भए पनि तपाई नेपाली हुनुहुन्छ भने “अरु एशियन” ( Other Asian ) को कोठामा चिन्ह लगाउने (प्रश्न नं. 9 मा ) आधारित र खाली ठाउमा “नेपाली” (Nepali ) लेख्ने । उदहारणको लागी यदि तपाई भूटानी नेपाली हो भने अरु एशियन (Other Asian ) भनेको ठाउमा “नेपाली” लेख्न सक्नुहुन्छ । यदि हामीले नेपाली भित्रमा जातजाती (जस्तै : शेर्पा, राई, गुरुंग, मगर) लेख्यौ भने “अरु ” अन्तर्गत राखिन्छ र सबै हराउन सक्छ ।

फारम कहाँ पाउन सकिन्छ ?
जनगणना प्रश्नावली मार्च २०१० मा प्राय: सबै घर घरमा पठाईन्छ र अप्रिल १, २०१० सम्मको ठीक सुचनाहरु भर्न भनिन्छ | कुनै घर-परिवारले भरेर हुलाक मार्फ़त नपठाएमा जनगणना लिनेहरू घर-घरमा आएर सूचना गर्नेछ्न | कुनै ठाउमा घर वा डेरा खाली रहेछ भने त्यों निर्क्योल गर्छन ।
प्रश्नावाली “बासिन्दा ” (Resident ) को नाममा पठाईन्छ वा आउछ ।कृपया काम नलाग्ने चिठ्ठी भनेर नाफाल्नु होला । यदि तपाईले प्रश्नावाली पाउनु भएन भने “गणना गरिने” स्थान वा प्रश्नावाली सहयोग केन्द्र ( Questionnaire Assistant Center ) बाट पाउनु हुनेछ । हामी पनि अधिकार (Adhikar ) को कार्यालय ७१- ७० wood Side Avenue , New York मा उपलब्ध छ ।
संकलन गरिएको सूचना के गरिछ।
केन्द्रीय (संघीय) कानून अनुसार तपाईले जन गणनाको फारममा दिनु भएको सूचना गोप्य रहन्छ र ७२ बर्ष सम्म त्यो सूचना प्रकाशन गर्न मिल्दैन । केवल समष्टिगत तथ्यांक तथा हाम्रो जन संख्याको समष्टिगत रुपमा र घर-बसोबासको सूचना मात्र प्रकाशित गरिन्छ ।जनगणना विभागले तपाईको ब्याक्तिगत सूचना अदालत, प्रहरी, केन्द्रीय (संघीय) विभागहरू जस्तै कर सेवा(IRS ) होम्ल्यांड सुरक्षा विभाग (Home Land Security ) हरुमा दिदैन । जनगणना बिभाग काम गर्ने सबै कर्मचारीले यस सम्बंधित जीवन भएको गोपनीयता सम्बन्धी वाचा (Oath ) गरेका हुन्छन् र यदि कसैले उलंघन गरेमा कारावासको वा ठुलो रकमको वा दुवै सजाय हुन सक्छ ।
मैले कसरी फारम भर्ने र फर्काउने ?
प्रश्नावाली घर-परिवारमा प्रत्येक ब्यत्तिको बारेमा केही साधारण प्रश्नहरु मात्र समावेस गरिएका हुन्छन- नाम, नाता सम्बन्ध, उमेर, जन्म मिति जाती र जवाफ दिनेको आफ्नै घर, डेरा छ की भाडाको सोधिएको हुन्छ ।जनगणनामा ब्यक्तिको अध्यागमनको स्थिति ( Immigration Status )को बारेमा सोधिएको हुँदैन। केन्द्रीय (संघीय) कानून अनुसार सबैले जनगणनामा भाग लीनै पर्छ -उमकन पाईन्न ।आफुले पूर्ण रुपमा भरेको फारम अप्रिल १, २०१० सम्ममा हुलाकबाट पठाउनु होला । यदि तपाईले त्यो फारम पठाउनु भएन भने जन गणनाका कार्यकर्त्ताहरु तपाईकै घर- डेरामा पटक पटक आउन सक्नेछन।

के प्रत्येक ब्यक्त्तिले फारम भर्नु पर्छ ?
एक घरको एक जनाले मात्र भरे पुग्छ । प्रत्येक फारममा १२ जना सम्मको जनगणना गर्न सकिन्छ।यदि तपाईको परिवारमा १२ जना भन्दा बढ़ी हुनुहुन्छ भने माथि उल्लेखित कुनै पनि ठाऊ बाट तपाईले अर्को फारम लिन सक्नु हुनेछ । यदि एउटा डेरामा (Apaartment ) एक भन्दा बढ़ी परिवार बसेको भएमा तपाईले एक डेरामा सबैको लागी एउटाफारम भर्न पनि सक्नु हुन्छ वा हरेक परिवारको लागी छुट्टा छुट्टै भर्न पनि सक्नु हुन्छ ।
हाम्रो नेपालीलाई जनगणना सम्बन्धी जानकारी वा सूचना दिन, सबैको गणना निश्चित गर्न तपाई “नेपाली सम्पूर्ण गणना समिति” (Nepali Complete Count Committee , GA ) मा सहभागी हुनुहोस ।
केही प्रश्नहरु भएमा हामीहरुलाई संपर्क गर्नु होला ! राजा घले , राजु खरेल , गोबिन्द श्रेष्ठ, लेख नाथ शर्मा, राजु थापा , तर पुन, सि के पराजुली , अभी मल्ल , मनिष श्रेष्ठ, जनक बराल”

“तनजी, यो जातजाति भनेर म चाहिँ नेपाली लेख्ने कुरामा पटक्कै मञ्जुर छैन है ।” मनले आफ्नो गुनासो राखे ।
“अहिले बहस नै यसैको छ । हामी भूटानीहरुले के लेख्ने भनेर समुदायभित्र सवाल छ । समुदायको साझा ई–मेलमा यस सम्बन्धि सवाल नै भइरहेको छ । तपार्ईंहरुको ई–मेल छ ?”
“मेरो छ मनजी । बरु कसलाई भनेर साझा ई–मेलमा राख्नु पर्ने हो?”
“म राखिदिल्छु नि । भन्नुहोस् त?”
“ल मैले थपिदिएँ । अब तपाईंलाई चिट्ठीहरु आउन थालि हाल्छन् ।”
“तनजी, अझै पनि मैले एउटा कुरा चाहिँ बुझ्नै सकेको छैन । यो जातपातको कुरा अमेरिकाको जनगणनामा किन होला नि? अमेरिकामा बसेका सबै अमेरिकी होइन र ?”
“अमेरिकामा धेरै देशका नागरिकहरु कोही स्थायी र कोही अस्थायीरुपमा बसेका छन् । मैले बुझेसम्म यो जनगणनामा अरु धेरै महत्व छन् । एउटा कुरा त कुन मूलको भन्नाले के भाषा बोल्ने भन्ने बुझाउन खोजिएको हो । सार्वजनिक सुविधाहरु राज्यसरकार दिंदा कुन मूलका मानिसहरु कुन क्षेत्रमा बढी छन् त्यसै अनुरुप दिने गर्दछ । बजार व्यवसाय पनि जनसंख्याका आधारमा केन्द्रित हुन्छ । राज्यको प्रतिनिधिसभादेखि केन्द्रको सभा, जसलाई यहाँ काँग्रेस भनिन्छ, त्यसको प्रतिनिधि छनौट पनि जनसंख्याको आधार मै हुने गर्दछ । अस्पतालमा डाक्टर, विद्यालयमा शिक्षक, कक्षाकोठा, विद्यार्थीलाई सुविधा, आदि पनि जनसंख्याको आधारमा नै दिइन्छ । यो सबै कामका लागि एक व्यक्ति बराबर १३०० डलर महिनाको उपलब्ध भएको हुन्छ । तर त्यो पैसा व्यक्तिलाई नभएर व्यक्तिको सार्वजनिक सुविधाको लागि प्रयोग गरिन्छ । त्यसैले यो जनगणना महत्वपूर्ण छ ।” — तनले जाने बुझेको कुरा भनिदिए ।
“भने पछि हाम्रो नाममा कसैले पैसा कमाउने रहेछ, होइन त?” मनको शंकालु मन समाधान भएकै छैन । उनले प्याच्च कुरा उठाए ।
तनले सम्झाउँदै भने – “गरिब देशमा जस्तो जनताको नामको रकम, सरकारका कर्मचारीले अमेरिकामा कहिल्यै खाँदैनन् । यदि त्यसो गरेको सरकारले पायो भने, तिनीहरु नराम्रोसँग कानुन्को सञ्जालमा फँस्दछन् ।”
“हामीलाई चाहिं के फायदा त यो जनगणनाले ?”– फेरि मनले सोधे ।
“मैले बुझेसम्म हामीलाई कतिप्रायः हाम्रा प्राथमिक सेवाका डाक्टरलाई नेपाली दोभाषे चाहियो भन्दा बजेट छैन भन्छन् । विद्यालयमा जाँदा, कतिजना हाम्रा भूटानी दाजुभाइ–दिदीबहिनीहरुले भाषा बुझ्दैनन् । दोभाषे चाहियो भन्दा, बजेट छैन भन्छन् । कतिवटा विद्यालयमा २० जनामात्र राखिनु पर्ने कक्षामा हाम्रा नानीहरु भर्ना हुँदा ३० नाघेका छन् । कक्षा कोठा थप्नु प-यो भनेर विद्यालय प्रमुखलाई भन्दा, बजेट छैन भन्छन् । वास्तवमा हामी भूटानीहरुलाई अमेरिकी सरकारले नै ल्याएको भए पनि कानुनी रुपमा हामी अमेरिकामा र यस ठाउँमा बसेको देखिएको छैन । त्यसैले हामीले पाउने सुबिधा पनि यहाँ आएको छैन । त्यही भएर हामी र हाम्रा नानीहरु समस्यामा पर्नु परेको छ । यो जनगणना पछि, हाम्रो पनि बजेट आउँछ र हामी ती सुबिधा उपभोग गर्न पाउँने छौं ।”
परदेशीले पनि तनको कुरामा सही थप्दै भने — “कुरा त साँच्चै हो है । हेर्नु’स्न, हिँजो म मेरो प्राथमिक डाक्टरकामा गएको चार घण्टा पू….रा लाग्यो आफ्नो पालो आउन । सायद बजेट आए पछि डाक्टर थपियो भने त अलि छिटो पालो आउँदो होला हगी ?”
“हुन सक्छ । त्यसैले पहिलो कुरा त अमेरिकामा अब भूटानीहरु पनि छन् भन्ने जनाउनका लागि हामीले यो जनगणनामा सहभागी हुन पर्दछ । त्यस पछि सार्वजनिक सुविधा सहजरुपमा उपलब्ध हुन हामी जनगणनामा सहभागी हुन पर्दछ ।”— तनले बुझाए ।
“त्यसो भए त हामीले अहिले जे सार्वजनिक सुविधा पाइराखेका छौं, त्यो त अरु कसैको नाममा आएको सुविधा पो बाँढिंदै छ कि क्या हो ?” — मनले केही बुझेझैँ गरी सोधे ।
“हो नि । अरुको सुविधा त हामीले भोगिराखेका छौं त ।” — तनले भने ।
“भने पछि त हामीले बुझेसम्मका सबैलाई यो जनगणनामा सहभागी हुनै पर्दछ भनेर सुनाउनु पर्ने रछ त नि?” — मनले बल्ल जनगणनाको महत्व बुझेर प्रस्ताव राखे ।
मनले आफ्नो कुरा बुझेकामा खुशी हुँदै तनले भने – “हो नि । आफूले भेटे जति र चिने जति सबैलाई यो कुरा हामीले सुनाउनु पर्दछ ।”
परदेशीले कुरा दोहो-याए— “तनजी, तपार्ईंको बिचारमा के लाग्छ ? हामीले भूटानी मात्रै लेख्नु ठीक, अथवा, भूटानी नेपाली लेख्नु ठीक अथवा नेपाली मात्रै लेख्नु ठीक त्यो नौ नम्बरमा ?”
तनले आफ्नो कुरा अघि सारे— “सबै भन्दा ठूलो कुरा चाहिँ जसलाई जे लेख्न मन छ, लेख्न सकिन्छ । कुनै किसिमको रोकावट यहाँ छैन । कसैलाई यस्तो गर भन्नु अमेरिकामा अमानवीय व्यवहार ठहरिन्छ । हामीले कसैको विचारमा हस्तक्षेप गर्नु पनि हुन्न र आफ्नो विचार लाद्नु पनि हुन्न । मेरो विचारमा हामीले ‘हामी नेपाली मूलका भूटानी’ भनेर विचार बाँड्नमा कुनै असर पर्छ होला जस्तो लाग्दैन । यो मेरो व्यक्तिगत विचार हो । जनताले राम्रो नराम्रो सबै बुझ्न पाउनु पर्दछ र के गर्ने भन्ने निर्णय गर्न उनीहरुलाई नै छोडिदिनु पर्दछ । हामी को हौं र कहाँबाट आएका भनेर लाटालाई सोधे पनि उत्तर त उही भूटान र भूटानी भन्ने हुन्छ । मेरो यो जनगणना दोश्रो हुने छ । मैले पहिलोमा पनि भूटानी नेपाली भनेर लेखेको छु र अहिले पनि त्यही लेख्ने छु । मेरो अमेरिकी नागरिक्तामा पनि जन्म भूटानकै लेखिएको छ । हाम्रा जनता पनि भूटानी भएका कारणले अमेरिका आएका हुन् , नेपाली भएका कारणले होइनन् । तर नेपाली भाषी भएकाले शरणार्थी भएका हुन् । त्यसैले पनि हामी नेपाली मूलका भूटानी हौं ।”
“मनजी, म चाहिं तनजीको कुरामा सहमत छु । म सग्लो नेपाली नभएर नेपाली मूलको भूटानी हूँ । मेरा बुवा आमालाई उपचारका लागि नेपाली दोभाषे चाहिन्छ । त्यसैले म त्यो फारममा नेपालीमूलको भूटानी नै लेख्ने निर्णय गरें है ।”
यस्तै पहिचानको गफ केही बेर गरेर परदेशी र मन बाहिरिन्छन् ।
समय बित्दै जान्छ । परदेशीको कम्प्युटरमा चिट्ठी आउन थाल्छन् एट्लान्टावासी भूटानी समुदायको साझा ई–मेलबाट । पहिचानको बहस सम्बन्धि पहिलो चिट्ठी परङ्कुस सुवेदीको थियो । यो मार्च महिनाको ६, २०१०, शनिबारको थियो । लेखिएको थियो—
“मेरो परिवारले भूटानी लेख्नको कारण निम्न छन् :
१. मैले मेरो बुवाको नागरिक्ता हेरें । त्यहाँ भूटानी नागरिक लेखिएको छ ।
२. मैले मेरो परिवारको १९५८ को जग्गाको कर तिरेको रसिद हेरें । त्यहाँ रैती
लेखिएको छ र तिरेको रकम ३८ रुपयाँ र १२ आना लेखिएको छ ।
३. मैले हाम्रो उपलब्ध भएको सबैभन्दा पुरानो कर तिरेको रसिद हेरेँ । सन् १९१८ को
रहेछ । त्यहाँ पनि रैती लेखिएको छ ।
४. मैले नेपाल सरकारले मलाई म थाइल्याण्डमा पढ्न गएको बेलाको यात्रा गर्ने
दस्तावेज हेरें । त्यहाँ नागरिक भनेको ठाउँमा भूटान लेखिएको छ ।
५. पुनर्वासका लागि नेपाल सरकारले दिएको यात्रासम्बन्धि दस्तावेज हेरें । त्यहाँ पनि नागरिकतामा भूटान लेखिएको छ ।
६. अमेरिकी सरकारको अध्यागमन विभागले दिएको आई—९४ हेरें । त्यहाँ पनि नागरिक भनेको ठाउँमा भूटान लेखिएको छ ।
७. मैले मेरा सम्पूर्ण शैक्षिक प्रमाणपत्र हेरें । सबैमा भूटानी लेखिएको छ ।
८. मलाई ईमोरी विश्वाविद्यालयमा भर्ना पनि भूटानी भनेर नै दिइएको हो ।
यी माथिका यति बिघ्न प्रमाणमा कहिँ पनि भूटानी नेपाली अथवा नेपाली मूलको भूटानी लेखिएको पाइनँ । त्यसकारण म निःशंकोच भूटानी लेख्नेछु ।”

मार्च ६, २०१०, शनिबार कै दिन पशुपतिको नामले अर्को चिट्ठी देखियो । लेखिएको थियो —
“परङ्कुशजी, साह्रै राम्रो विचार । हामी भूटानी भन्दा अन्य केही हुन सक्तैनौं । यस सम्बन्धमा हामीले सार्वजनिक जागरण अभियान चलाउनु पर्ला कि यस सम्बन्धमा ?”

मार्च ७, २०१०, आइतबारका दिन परदेशीको कम्प्युटरमा अर्को चिट्ठी आयो । यो सरमानको नामले पठाइएको थियो । लेखिएको थियो—
“परङ्कुशजी, तपाईंले भूटानी शब्दलाई स्थान दिएर राम्रो गर्नु भयो तर अरु धेरै कुरा छुटाउनु भयो । मैले सन् २००० को जनगणनामा नेपालीमूलको भूटानी लेखेको थिएँ । म अहिले यस देशको नागरिक र मतदाताको नामावालीमा दर्ता भएकाले यही क्रम जारी राख्नेछु किन भने म नेपाली बोल्छु र मेरो जीवनको पृष्ठभूमिमा जे आए पनि म नेपाली नै हूँ । तपाईंको दस्तावेजमा भएको भूटानी नागरिक्ता, तपाईं कहाँबाट आउनु भएको भन्ने आधारका लागि मात्र हो । यो राजा र रैतीको जमाना होइन । आई—९४ आगमन र वहिर्गमनको बही मात्र हो, स्थायी बसोबासको प्रमाणपत्र पाए पछि त्यसको आवश्यकता रहन्न । त्यो नभई निर्धक्क अमेरिका बाहिर जाने आउने गर्न सक्नुहुन्छ । म २०१० को जनगणना फारममा किन भूटानीमात्र नलेख्ने भन्ने केही विचार राख्न चाहन्छु ।
— भूटानी मेरो पहिलाको नागरिक्ता हो । नागरिक्ताको जनगणनासँग कुनै सम्बन्ध छैन ।
— म नेपाली भाषी हूँ ।
— म समुदायमा जोङ्खा बोल्दिनँ ।
— अमेरिकामा धेरै कुसल जोङ्खाभाषी छन् जो शरणार्थी भएका पनि छैनन् र नेपाली बोल्न पनि जान्दैनन् ।
— अंग्रेजी बोल्न असक्षम भूटानीहरुलाई विद्यालय र अस्पतालमा नेपाली दोभाषे चाहिएको छ ।
— सार्वजनिक सुविधाका लागि फोनबाट दिइने दोभाषे सेवा, नेपाली भाषी भूटानीहरुले
भरपर्दो पाएका छैनौं ।
— म समुदायका मानिसहरुको ईच्छा विरुद्ध जान चाहन्न ।
— हामीलाई सवारी विभाग र चालक इजाजत सेवा विभाग, आदिमा नेपाली भाषा चाहिएको छ ।
अन्त्यमा, म सम्पूर्ण आलोचना, सल्लाह र सुझावको स्वागत गर्दछु । ”

सन् २०१०, मार्च ७, आइतबारकै दिन पशुपतिको नामले अर्को चिट्ठी देखियो । परदेशीले हतार हतार खोल्यो । लेखिएको थियो—
“सरमान दाजु, तपाईंको विचार अझै राम्रो छ । भूटानी हुनाले हाम्रो जन्मभूमिको पहिचान दिन्छ । नेपालीमूलको भूटानी हुनाले हाम्रो भाषिक, सांस्कृतिक, धार्मिक, भेषभूषा, रितिथिति, आदि सम्बन्धि वास्तविकताको पहिचान दिन्छ । वास्तवमा हामीलाई सार्वजनिक स्थान जस्तै विद्यालय, अस्पताल, क्लिनिक, सवारीचालक सेवा विभाग, आदिमा दोभाषेको आवश्यकता नै छ । परङ्कुशजी, सरमान दाइको विचार हाम्रो समुदायको आवश्यकता प्राप्ति र हाम्रो अस्तित्व देखाउन लेख्नु उपयुक्त होला । तपाईंहरु दुवैजनालाई यो साझा ई–मेलबाट छलफल सुरु गरेकामा मेरो तर्फबाट धन्यवाद । म यो साझा ई–मेल मध्यस्थकर्तालाई यो सार्वजनिक सेवा व्यवस्थापन गरेकामा ह्रदयदेखि नै धन्यवाद दिन चाहन्छु । एट्लान्टावासी सम्पूर्ण भूटानीहरुको ई–मेल ठेगाना पनि समावेश गरे अझै राम्रो हुने देखिन्छ । ”

सन् २०१०, मार्च ७, आइतबार कै दिन नर्वु डुक्पाको नामको ठेगानामा चिराङ्गे माइलो (तुलसी) भन्ने नामले अर्को चिट्ठी परदेशीको कम्प्युटरमा देखियो । परदेशीले भेडाको उनको खास्टो बेरेर पनि कतै बाख्रो भेडो बन्ला र? भन्ने हास्यास्पद प्रश्न आफैंलाई गर्दै चिट्ठी खोल्यो । लेखिएको थियो—
“भूटान सरकारले हामीलाई ङोलोप भनेको छ । यदि स्थान पुग्छ भने हामीले यही लेख्नु पर्दछ । यसो गरे कसो होला ? यो शीर्षकमा छलफल गर्नु मेरो विचारमा बढी नै होला ।
अब हाम्रा केटाकेटीहरु विदामा रहनेछन् । हामीले उनीहरुलाई लेमोनेड बनाउन सिकाएर बजारमा बेच्न पठाई पैसा कमाउन सिकाऔँ होइन ? तपाईंहरुलाई थाहा छ,अमेरिकी केटाकेटीहरु यसो गरेर हजारौं डलर कमाउँछन् नि ? उनीहरुले सडकमेलामा, सपिङ् कम्प्लेक्समा अथवा कुनै विशेष कार्यक्रममा बेच्न सक्नेछन् । उनीहरुलाई अलिकति मात्र हाम्रो सहयोग चाहिन्छ । रमाइलोमा पैसा कमाउन र अन्य बुद्धि सिर्जना गर्न सहयोग गरौं । ”

सन् २०१०, मार्च ७, आइतबार कै दिन देउ शर्माका नामले अर्को चिट्ठी पुलुक्क देखियो । परदेशीले त्यसलाई खोल्यो । लेखिएको थियो —
“तपाईंको अनुमानलाई मैले शब्द निर्माण गरेझैं लिँदा भूटानी (नेपाली मूलको) भन्ने हुन्छ । हाम्रो लागि उपयुक्त शब्द नेपाली (भूटानी मूलको) हुनेछ । यस बारेमा सही कुरा बुझ्न साहित्य–लेखन कार्यमा भूटानी शब्दलाई प्रयोग गरे अनुरुप हुनेछ । उदाहरणका लागि, भूटानी जनता, भूटानी संस्कृति, भूटानी सरकार, भूटानी सिमा, भूटानी सेना ।
यो मेरो अनुमानमा भूटानी मूलको भन्नाले भूटानमा जन्म भएको भन्ने बुझिन्छ । म प्रार्थना गर्दछु र इमानदारीपूर्वक आशा गर्दछु कि तपाईंहरुले तपाईंहरु भूटानीमूलको होइन भनेर पहाड जत्रो गल्ती गर्नु हुने छैन ।
मसँग मेरो अनुमानलाई सत्य ठहर दिनका लागि पाँचवटा महत्वपूर्ण कुरा छन् । हामी आगामि समुदायको वैठकमा छलफल गरौंला । त्यसपछि त्यो सूचना संयुक्त राज्यको अन्य भागहरुमा प्रवाह गर्न सक्नु हुनेछ । धन्यवाद, यहाँहरुको दिन शुभ रहोस् । ”

सन् २०१०, मार्च ७, आइतबार कै दिनको चिट्ठी परदेशीले भेट्यो । त्यो रमन दाहाल नामले आएको थियो । परदेशीले क्लिक पा-यो । लेखिएको थियो—
“प्यारा साथीहरु, प्रश्न ९ मा जाति का बारेमा सोधिएको छ ।
http://2010.census.gov/2010census/pdf/LAG_Nepali.pdf

भाषागत र सांस्कृतिक दृष्टिकोणले यो महत्वपूर्ण छ । मलाई के लागेको छ भने जनगणनाले मानिसलाई कसरी सहयोग पु-याउन सकिन्छ भन्ने प्रयास गरिएको छ र भाषा मानिसलाई सहयोग पु-याउने महत्वपूर्ण औजार हो ।
भूटानमा विभिन्न भाषा र भाषिका भएका १८ जाति छन् भनेर रामरी दस्तावेज बनाइएको छ । (श्रोतः केन्टर फर भूटान स्टडिज्)। नेपाली भाषा भूटानमा बोलिने भाषा मध्येको एक महत्वपूर्ण भाषा हो । (जोङ्खा २५% जनताको मातृभाषा हो । —श्रोतः क्युनसेल)
भूटानका जातिका उदाहरणमा ब्रोक्पा जाति, सार्छोप जाति, खाम्बेजाति, नेपाली जाति, खेङ्पा जाति, आदिलाई लिन सकिन्छ । अहिलेको घडिमा हाम्रो जातिलाई के भन्ने सन्दर्भमा हाम्रो भाषा र संस्कृतिलाई लिनु पर्दछ भन्ने मलाई लाग्दछ । सबैलाई को के हो ? भन्ने लेख्न छनौट छ । मेरो बारेमा भन्नु पर्दा — मेरो नागरिक्ताको देश अनुसार म भूटानी हूँ । पाँचवर्ष पछाडि नागरिक्ता पाए पछि यो अमेरिकी हुनेछ । मेरो जाति मेरी आमाको भाषा र संस्कृतिका कारणले नेपाली हो । म विश्वस्त छु कि फारममा नेपाली भाषी भूटानी लेख्ने पर्याप्त स्थान हुनेछ, जसले अझै तुरुन्तको भाषिक र सांस्कृतिक महत्व नागरिक्ताको देशलाई पनि झल्काउँदै रामरी व्याख्या गर्नेछ । म जब अमेरिकी नागरिक हुनेछु मेरो जाति अझै पनि नेपाली नै रहने छ र म एउटा समाजशास्त्रीलाई आफ्नो बारेमा व्याख्या गर्दा भन्नेछु — म नेपाली भाषी भूटानीमूलको अमेरिकी हूँ । कृपया अरुहरुलाई पनि वेवपेजमा प्रश्नहरु हेरेर सहयोग गरौं —
http://2010.census.gov/2010census/pdf/LAG_Nepali.pdf
टासीदेले । ”

सन् २०१०, मार्च ८ तारिक, सोमबार, नारायण कट्टेलको नामले अर्को चिट्ठी परदेशीको कम्प्युटरमा देखियो । लेखिएको थियो—

(बाँकी अर्को अंकमा……………..)

2 Replies to “बहस पहिचानको”

  1. puspa

    Pardashi dai you need to bring more about it including how Nepali friends are influencing Bhutanese to write Nepali. I was shocked when One of the Nepali friends asked me to write on question – Nepali. On your continuation you need to mention about it. It is now our duty to teach our younger generation about who we are and what we are? Our real identity crisis starts when IOM started bringing us in America and when issue of federal fund after 2010 census to minority groups.

  2. Pradeshi Kanchha

    Dear Puspaji, thank you for your message. In this articles and in bold format, you may see the e-mail by a Nepali friend had suggested us to write Nepali in question no. 9. Again, there are many email stuffs in my mails. As my article was going to be long, I am making it two parts. Currently, I am translating exactly what was written in the emails and seen in the computer. That’s what the discussion made in the Bhutanese Community in Georgia. Common people’s opinion and conclusion to the article is yet to come. I try my best to do so, as you have suggested. If you have as such email, that the Nepali frns stressing you to write Bhutanse, please forward me. As it is the time of the search of identity, may that will also speak in deriving propor conclusion by our community people.

Leave a Reply

Your email address will not be published. Required fields are marked *