बाछाको जुटाइ साँडेलाई चुटाइ

याम खरेल ,अमेरिका

बाज बनेर राज गर्ने
साँडेहरुको लिँडे सिद्धान्तले
ती दुर्बल गाई र बाछाहरुलाई
खर्कदेखि नर्कमा धकेलिदियो।
कु गर्ने दम त कहाँ रहेछ र?
सु गरेको लँगौटी फेर्न सम्म भ्याएनन्
डुङ्डुङ्ती गन्हाउँदै पछि पछि लुरु लुरु आए
बाछाहरुलाई ढाल बनाएर पछाडिबाट नेतृत्व जमाए।

भ्रष्टचारको रङ्गशालामा खेल खेल्ने
साँडेहरुको अन्धो दर्शनले
ती निमुखा गाई र बाछाहरुको
हड्डी रोपेर डलर र यूरो उमा-यो।
यसरी शिक्षित भए साँडेहरु-
गोरुहरुको पनि बढ्वा भयो – साँडे भए
साँडेहरु त झन “पाँडे” भए
अनि त पाजीहरु पनि “काजी” भए।
निरन्तर साँडेहरु जुधिरहे
बाछाहरुलाई मिचिरहे
नव बिचारहरुलाई थिचिरहे-किचिरहे।

साँडेहरु डुक्रिँदा
गाई र बाछाहरुले आकाश गर्जेको सुने
गोठको छानाबाट सिरुको छेस्को भुँइमा खस्ता
उनीहरुले धर्तीमा बज्रपात भएको देखे।
यसरी भयो यथार्थताको अपहरण र वास्तविकताको बलत्कार
यसरी गरियो बिचारहरुको हत्या र सपनालाई दुर्ब्यवहार।

आज बाछाहरु
बिचार निमोठ्ने नंग्रा झड्कार्दै भागिरहेछन्
तर साँडेहरु फेरिपाइला फड्कार्दै पछि लागिरहेछन्।
दन्त्य कथामा झैं
यो भाग्ने र लखेट्ने क्रम
सात समुद्र पारिसम्म जारी छ।

उसै गरि साँडेहरु डुक्रिरहेछन्
यहाँ फेरि बाछाहरु लुकिरहेछन्
उसै गरि साँडेहरु लडिरहेछन्
तर यहाँ बाछाहरु “पढिरहेछन्”।
यहाँ साँडेहरु जर्सी माथि चढ्न खोज्दैछन्
तर बाछाहरु बौद्धिक रुपमा बढ्न खोज्दैछन्।

साँडेहरुको मैदान अत्याधुनिक छ
उनीहरु प्राविधिक सिंगौरी खेलिरहेछन्
तर बाछाहरुको मैदान असीमित छ
उनीहरु परिस्थितिसंग सिंगौरी खेल्दैछन्।

ए साँडे हो !
अब त एक चोटी पछि फर्केर हेर
तिम्रो प्राविधिक युद्धका मौन दर्शकहरुलाई
अनि एक चोटी सोध उनीहरुसंग –
गन्तब्य के हो भनेर,
अनि त्यो नौलो विचारमा पाउनेछौ
युद्धको एक पृथक रणनीति।
तर याद गर!
यदि यो मौका चुकायौ भने
साँडेको जुधाइ बाछाको मिचाइ होइन
बाछाको जुटाइ साँडेलाई चुटाइ हुनेछ
तगारो पन्छिनेछ, इतिहास् फेरि जन्मिनेछ।

2 Replies to “बाछाको जुटाइ साँडेलाई चुटाइ”

  1. Sukman Suhang(Subba)

    Yam,
    Ur really great. U C i went through ur poem deeply n some time i lost there. I’m sure it touches the heart of every people who r dominated n discriminated by so called senior leaders but having empty mind of politics in our Bhutanese community. This zero minded leaders should be setire bcoz they never let the up comming generation who r capable 2 move a head. Hope they go through it n gain some knowledge frm ur poem. Thankx 4 ur so smart poem. keep it up.
    Sukman Suhang.

  2. bala dhakal

    ur good creation is not for u is for all bhutaness so keep it up ur final destination is not so far in my view.do good.

Leave a Reply

Your email address will not be published. Required fields are marked *