बाध्यता

प्रतिमान सिवा
ओहायो, अमेरिका

एलेक्स तीन वर्ष पुगी सकेता पनि रेस्टरूम प्रयोग गर्न भने अझै अभ्यस्त भइसकेको छैन । त्यसैले अघिदेखि उसलाई डायपरमा केही असहज भएको महसुस हुन्छ । तथापि मसिना टिका पटेकाको गोली जाने एउटा सानो प्लास्टिकको पेस्तोल लिएर ठ्याङ ठ्याङ पार्दै दिदी सबनमलाई सिटिङरूमको वरिपरि दौडाई रहेको हुन्छ । धेरै असहज भएपछि दिदीसँग खेल्न छोडेर ममीलाई गुहार्छ ।
ममीले डायपर फेरिदिएपछि चार्जमा लगाइराखेको बाबाको सेलफोन टिप्छ र सोफाको एउटा कुनामा गएर बस्दै युट्युब खोल्छ ।
एलेक्सले सेलफोनमा अत्यधिक युट्युब हेर्ने गरेकाले घरमा यस विषयमा कैयौँ पटक विवादले उग्ररुप लिने गरेको हुन्छ । सबैको मत एउटै हुन्छ तर, दोष जिम्मा लिन सबै पछि हट्छन् । उसलाई सेलफोन धेरै हेर्न दिनुहुन्न । आँखा बिग्रन्छ । घरका अन्य सदस्यहरूसँग प्रत्यक्ष घुलमिल, बोलचाल र अन्तर्क्रिया नहुँदा समयमा बोलीको विकास हुँदैन, शारीरिक बनोट र सुगठनमा तीव्रता आउँदैन र मानसिक विकाशमा पनि असर पर्छ भन्ने घरका सबैलाई ज्ञान छ । तर बाध्यता एउटा यस्तो छडी हो जसको मारमा नपरेका अभिभावक सायदै होलान् यस अमेरिकामा ।

बाध्यता एउटा यस्तो छडी हो जसको मारमा नपरेका अभिभावक सायदै होलान् यस अमेरिकामा ।

एलेक्सकी ममी दिनभरि दश घण्टे काम गर्ने अनि बाबा रातभरि बारहघण्टे काम गर्ने र दिदीहरू स्कुल जाने । एक्लो एलेक्सले के पो गरोस् ? एक त बाहिर गएर खुल्ला रूपमा खेल्ने वातावरण पनि हुँदैन यस ठाउँमा । सुरक्षाको कारण कानुनी रूपमा नानीहरूलाई बिना अभिभावक छोड्न मिल्दैन र यो सही पनि हो; नत्रभने अहिले सम्ममा कति बालबालिकाहरू अप्ठ्यारा स्थितिमा परिसक्थे होलान् ।
“घरभरि मान्छे हुँदा त नानीलाई फोन नदिनु नि ।” ममी ठुलो स्वरमा कराउँछिन् ।
“मैले कहाँ दिएको हो त । उसले आफै लगेको हो ।” बाबापनि त्यही रफ्तारमा जवाफ दिन्छन् ।
“उसले नभेट्ने ठाउँमा राखुपर्दैन ?” ममी चर्किन्छिन् । “तपाईले नै हो यसरी बानी लगाउनु भएको ।”
“हैन, के ठान्छौ तिमी ? म रातभरि बारह घण्ट काम गरेर दिनभरि योसँग खेलेर पनि त बस्न सक्दिनँ नि । मैले पनि सुत्नु पर्छ । फेरि काममा जाने तयारी पनि त गर्नु पर्छ । अनि बेला बखत त यसो भुल्याउँन फोन दिनै पर्‍यो नि ।”
यसरी नै चर्का चर्की भई रह्यो दुईबीच ।
“होइन, मैले अरुबेला भनेको होइन नि । अहिलेको कुरो पो त । हामी सबै घरमै छौँ र पनि ऊ फोन लिएर बस्यो । यो लत भनेको यस्तै हुन्छ ।” एक किसिमले कुरो ठिकै गर्दै थिइन् एलेक्सकी ममी ।
“तिमीले पनि त टिभी हेर्नुको सट्टा ऊसँग एकछिन खेले हुन्छ नि?” आरोप र दोषको लस्कर निकाले बाबालेपनि ।
“मैले एकछिन टिभी हेर्दा तपाईँलाई डाहा लाग्छ ? तपाई पनि खूब ठुलो साहित्यकार भएर पुरै रात कम्प्युटरमा बिताउनु हुन्छ त । बरु त्यो समय छोरासँग बिताउनु नि । छोरोचाहिं बाबा भनेर हिरिक्कै हुन्छ ।” ममी झन् के कम; भएभरको बह पोखिदिइन् ।
“एलेक्स फोनको लतमा परेको होइन । एक्लोपनको सिकार भएको हो । तिमी र म यहाँ बाझ्न र एकर्कामा दोषारोपण गर्नमै व्यस्त छौँ । हेर त ! हामी सबै घरमै भएरपनि ऊसँग को बोलेका छौँ ? को खेलेका छौँ ? बरु दिदीले केही क्षण खेली ।” बाबुले चिन्ताजनक हुँदै नम्र स्वभावमा ओर्लिँदै आफ्नो तर्क राखे ।
ममीको पनि होस खुल्यो, हामी उसलाई दिने समय एक अर्कामा वादविवाद गरेरै खेर फाल्दै रहेछौँ भनेर ।
सुरु सुरुमा यो चर्काचर्की र ठूलो स्वरले खासै असर पारेको थिएन एलेक्सलाई, किनभने उसको ध्यान फोनमा थियो । तर जब धेरै लम्बियो, फोन सोफामा राखेर ठूल्ठुला आँखा पार्दै चोर औँला दुवैजनाललाई ठड्याउँदै जोडले करायो एलेक्स । उसले बोलेको स्पष्ट त बुझिएन तर, आशय भने छर्लङ्गै थियो । तिमीहरू बूढाबूढी किन झगडा गर्छौ बेकारमा ? भनेझैँ गरेर घाँटीका नशा फुल्याउँदै भन्यो,
“हुयुयु……………. हाँ……… हाँ………?”
छोराको चेताउनी सुनेर सबै हाँसे गलल..ल..ल.. ।
मप्रति हाँसे भन्ने भान भएर होला, एलेक्स पनि शरमले लच्कियो र मन्द हाँस्यो ।
“एलेक्स ! जुम बाहिर ।” बाबाले यतिमात्र के भनेका थिए, खुशीले गदगद हुँदै “ऊकी, ऊकी” भन्दै कुदेर गई क्लोजेटबाट आफ्नो जुत्ता र ज्याकेट लिएर आयो ।
बाबा र ममीले एकएक पट्टिको हातमा समातेर बाहिर यार्डमा लगे एलेक्सलाई ।
ब्याकयार्डमा कुखुराको पोथी खेद्न खूब पल्किएको थियो एलेक्स ।
“आऊ, आऊ” भन्दै पोथीको पछि पछि कुद्दा पक्की ड्राईभवेमा जोडले लड्यो । घुँडा मजाले ठोकिएछ । पिल्सिएछ पनि । दिदीले मलम लगाइदिएपछि फेरि दगुर्न तयार भयो एलेक्स । छोराको घुँडा पिल्सिएर रगत आउँदा ममीको मुटु चसक्क पोल्यो तर, एलेक्स दगुर्न छोडेन । यसै बखत बाबाले खल्तीबाट फोन निकालेर देखाउँदै, “आइज नानी । ला, यी यो हेर्नु,” भन्दा प्रत्युत्तरमा एलेक्सले “नु……………, नु……………” भन्दै दगुर्‍यो ।
बाबाले ममीतिर पुलुक्क हेरे अनि ममीले चैँ “के ?” भन्दै आँखा तरिन् ।

अघिदेखि यी सबै कृयाकलाप नियाली रहेकी ठुली दिदीले अनुमान गर्छे कि जति नै खैलाबैला गरेपनि प्रेमले बास गरेको छ यस परिवारमा र यस्तै साना मसिना खुशीहरूमा बाँधिएको हुन्छ परिवार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *