बा किन ओझेलमा?

अन्जान मुना
न्यूजीलैण्ड

आज कुशे औँसी; बाबाको मुख हेर्ने दिन । उहाँलाई यस विशेष अवसरमा सु-स्वास्थ्य एवम् दीर्घायुको अनुपम शुभकामना । बाबा हुनु भनेको घर बलियो हुनु हो, सन्तानका मुहारमा खुसी हुनु हो, बाबा हुनु भनेको सन्तानका लागी निजी बैङ्क हुनु हो, सबैभन्दा ठूलो कुरा त; बाबा हुनु भनेको आमाको सिउँदो उज्यालो हो, मुहारमा खुसी हुनु हो । साहित्य धेरै लेखिए आमाका बारे, बाबा प्राय जसो ओझेलमै परिराख्नु हुन्छ।मलाई लाग्छ, बाबा भएर नै आमाले संसार भरि फिँजिन पाउनु भएको हो। पुस्तकका पाना भरी माया र ममताका गाथाहरूमा सजिन पाउनु भएको हो । आमा सृष्टि हुँदै गर्दा बाबा सृष्टिको आविष्कार केन्द्र हुनुहुन्छ भन्ने किन बिर्सिन्छ मान्छे?

जति आमाका बारे लेख्न सजिलो छ, उति नै गारो छ बाबाको बारे केही लेख्न, किनकि आमा साथमा भएकी हुँदा देखिराखेका हुन्छन् सन्तानले आमाको दुख। तर धेरै जसो बाबाहरू परदेशमा खोजिरहनुहुन्छ सन्तानका खुसी र सुखद भविष्यहरू। सायद, त्यसैले ओझेलिन्छन् बाबाका सङ्घर्षका कथाहरू। तर लाग्दछ, बाबाआमा एक अर्काको परिपूरक हुनुहुन्छ, किनकि उहाँहरू एक बाहेक अर्को अपूर्ण हुनुहुनेछ।

आजको यस महत्त्वपूर्ण दिनमा मेरो बाबाप्रति कोटी कोटी प्रणाम गर्दछु। “छोरा छैन छोरीले पाल्दैन”
भन्ने गीतलाई मेरो बाबाले खल्लो बनाइदिनुभएको महसुस मलाई हुन्छ। म त त्यो भाग्यशाली छोरी हुँ जो हरदम बाबाआमाको काखमा लुटपुटिन पाएकी छु। कामबाट थाकेर आउँदा आमाको हातको मिठो भोजन खान पाएकी छु, थाकेको शरीरमा आमाको स्पर्श पाएकी छु। बाबाआमासँगै बस्न कति पनि गाह्रो छैन। उहाँहरूको सन्चो बिसन्चो हेरे पुग्छ, आफूले घुम्न जाने ठाउँहरूमा लगे पुग्छ।सानासाना कुरामा उहाँहरूलाई समावेश गरे पुग्छ। मिठो बोले पुग्छ। समय सधैँ एकनास रहन्न, कहिले काहीँ सोच बिचार नमिल्न सक्छ, तर तिललाई पहाड बनाउनु भन्दा गल्तीलाई स्वीकारेर निर्णयमा आउनु बेस हुन्छ।मलाई त बाबाआमाको उपस्थितिबिना त केही कार्य पनि पूर्ण हुन्न जस्तो लाग्दछ।

केही विशेष सल्लाह गर्नु परे बाबाको कोठामा ढोका ढकढक्याउन पुगे हुन्छ किनकि बाबा जस्तो सल्लाहकार आजसम्म कोही भेटेको पनि छैन। आफूले टन्न कमाए पनि कहिले कहीँ बाबा… अलिकति खर्च चाहियो भन्दा खाली हात फर्किनु परेको छैन। मेरो बाबा, मेरो लागि त्यही भएर पनि निजी बैङ्क हुनुहुन्छ जहाँबाट बिना ब्याज लोन लिन सकिन्छ। फाइँदाको लागि बाबाआमासँगै छु, भनेर गलत नबुझ्दिनु होला। किनकि आफ्नो कर्तव्यभन्दा पर कहिले भागेकी पनि छैन। तिनै औँला समाएर हिँड्न सिकेका मेरा पैतालाहरू आज बलिया छन् भनेर चाउरिएका हात पाउँहरू कहाँ बिर्सिन सक्छु र?
मलाई घरमा बाबाआमासँगका हरेक कुराहरू सोसलमिडीमा ल्याउन मन लाग्दैन, नदेखाउँदैमा माया नगरेको भन्न पनि मिल्दैन। मलाई त उहाँहरूसँगको हरेक दिन रमाइलो लाग्दछ। मैले बाबाआमासँग गर्ने सानासाना रमाइला कुराहरूको वर्णन म मैले लेख्दै गरेको पुस्तकमा समावेश गर्नेछु।

संसार देखाउने बाबाआमालाई बोझ नमानौँ। उहाँहरूको समयमा धेरै कुराहरू गाह्रो र असजिलो पक्कै थियो, अहिले त्यस्तो छैन। आफ्नै बाआमालाई बिस्तारो सम्झाए कसो नबुझ्नु होला। अझ विकाशसित मुलुकहरूमा बुढाबुढी बाआमालाई धेरैले प्रयोग गरेको देखिन्छ। उहाँहरूलाई नानी गोठालो मात्र नराखौँ।साउँकोभन्दा ब्याजको माया भने झैँ आफ्ना नातिनातिनाहरू हेर्न उहाँहरूलाई गारो हुन्न। पछिल्लो समयमा बाआमाप्रति गरिने/हेरिने व्यवहारमा धेरै परिवर्तन देखिएको छ। कतिले बृद्धभत्ताको लागि त कतिले नानीगोठालोको लागि अनि कतिले निरक्षर भएका कारण बैङ्क बेलेन्सको लागि प्रयोग गरेको देखिन्छ। बाआमालाई बोझ नमानौँ। धर्ती टेकाउने र संसार देखाउने बाबाआमाभन्दा ठूलो कुनै देवता छैनन्।

धेरै केही माग्नु छैन, हे भगवान्, बाबाको मुख हेर्ने दिनको अवसरमा उहाँको सु-स्वास्थ्यको कामना गर्दछु । अन्तर मनबाटै बाबाको खुसी माग्न चाहन्छु। सन्तान भएर कर्तव्यनिष्ठ बन्न सकूँ!
अष्टचिरञ्जीवी सदैव दाहिना रहुन्, भगवानको अनन्य कृपा सदैव उहाँमा रहिरहोस्।
जय श्री कृष्ण 🙏❤️

Leave a Reply

Your email address will not be published. Required fields are marked *