बाल कविता

हरि फुयाल
अमेरिका
lSl  SlS  lSl SlS lSl  S
ज    र    ज    र    ज   गु

छन्द: पञ्चचामर

बनाउँ पुष्प बाटिका सलक्क दिव्य सुन्दर
बढुन् अनेक जातका ति आँकुरा सबै तिर ।
त्यहाँ  सरोवरै  बनोस् विशुद्ध तोय टल्टल

सुसिञ्चितै  भईरहोस्  बनेर  प्रेम  गद्-गद ॥१॥

फुलुन् सुवासना छरी अनेक पुष्प वागमा
समीरको   विशुद्धता  परोस  गेह  देहमा ।
अनेक भृङ्ग  माहुरी  रमुन्  सधैं  परागमा
विभिन्न रूप रङ्गका  फिरिर्र  चम्किईकन ॥२॥

सुवासको सुकीर्तिले  बनोस  व्योम  उज्वल
सलक्क रस्मिको छटा  पुगोस  पालुवा  तिर ।
ति आँकुरा र काइना बढुन् झपक्क साथमा

सुशान्तिको प्रचार भै  फलोस  तत्व  गाथमा ॥३॥

विचार  उच्च  नै   बनोस्  उदीयमानमा  सब
अनन्त सम्म झाँगियोस् सुसभ्य कान्ति मंगल ।
विचारणीय   हुन्  सबै   विशुद्ध   तत्वबोधक
यि बाल  बालिकामहाँ  बसोस  ज्ञान  दायक  ॥४॥

हुँदैन  वीर  धीरमा  कतै  कुभावना-रती
विदेश औ स्वदेशमा हुँदैन भेद क्यै-रती ।
धरा सबै  समानहुन्  भनेर  चल्नु  पर्दछ
यि बाल बालिका महाँ सुभाव भर्नु पर्दछ ॥५॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *