बिरे दाइको व्यथा: डिप्रेसन बिरुद्ध सामाजिक अभियान
कमल दाहाल
रोचेस्टर, अमेरिका
उमेरले मात्र ४५ पुगेता पनि उनी करिब ५५ वर्षको जस्तो देखिन्छन| कपाल पाकेर भेडाको ऊनको टोपी लाए जस्तो देखिन्छ| छाला चाउरी परेर सुकेको आँपको कोयो जस्तो छ | डल्लो अनुहार, खुइलिँदै गरेको तालु, चिम्रे आँखा र चुस्स परेको सानो दारीले उनलाई परैबाट चिन्न सकिन्छ| नाम वीरबहादुर भएता पनि सबैले उनीलाई बिरे दाइ भनेर चिन्दछन| आँखामा राख्दा पनि नबिजाउने स्वभाव छ बिरे दाइको|
करिब २ वर्षदेखि सयुक्त राज्य अमरिकाको रोचेस्टर सिटीमा बस्दै आएका बिरे दाइलाई आफ्नो परिवारको चिन्ताले सताइरहन्छ| बल्ल बल्ल एउटा कारखानामा काम पाएता पनि गाडीको लाइसेन्स टेस्टमा पास हुन सकेका छैनन्| काममा जान सबेरै उठेर १३ नम्बरको साझा बस पक्रनु पर्ने हुन्छ|
पराइ मुलुकको अङ्ग्रेजी भाषा पनि सिक्न गाह्रो छ उनीलाई| शिविरमा हुँदा जेनतेन गरेर जिन्दगी चलेको थियो | परिश्रम धेरै भए पनि मान्छेको बिचमा लाटो त हुनु परेको थिएन|
सन् १९९५ मा आफ्नै सेक्टरको फूलमाया भन्ने दिदीसँग बिरे दाइको पिरती बसेछ| नभन्दै माया बसेको एक वर्षमै फूलमाया दिदीसँग उनले बिहे पनि गरिहाले| अहिले उनका २ छोरा र एउटा सानी १३ महिनाकी छोरी छिन्| फूलमाया दिदी पनि होटेलमा लुगा धुने र पट्याउने काम गर्छिन्| महिनाको ७५० डलर घरको किरायामा जान्छ | अरू पैसा बिजुलीको बिल र के र के भन्यो त्यतिकै सकिन्छ | अमेरिका आएदेखि नै दुवै दम्पतिले काम गरेता पनि पैसा जम्मा गर्न सक्या छैनन्| अलि पैसा जम्मा गरेर छोराछोरीलाई राम्रो स्कुलमा भर्ना गर्ने सपना सपना नै रहयो| रोचेस्टरको सिटी स्कुलमा भएको दिनुहुँको दंगा र झगडाले आफ्नो छोराछोरीको शिक्षामा असर पर्छ भन्ने डर छ उनलाई| छोराछोरीको भविष्यको चिन्ताले सताइरहन्छ बिरे दाइलाई |
चिन्ता चिन्ताले चितामा पुर्याउँछ भन्थे साँच्चै नै बिरे दाइलाई पनि आफ्नो जिन्दगीमा केही गर्न नसकेकोमा धेरै चिन्ता लाग्छ | उनका आफ्नै उमेरका भूटानका साथीहरू अहिले धेरै पढेर राम्रो जागिर गर्छन्| उनको चाहीँ पढ्ने उमेरमा बुवा बित्नु भएको थियो| छ-सात वर्षको कलिलो उमेरदेखि नै घरको सबै जिम्मेवारी लिनु पर्यो | उता उनकी आमा खुट्टाको बिरामी, हप्तामा ५ दिन चैँ ओछ्यानमा सुतेरै जान्थ्यो | के गर्नु र दैवको लीला बुझेर सकिँदैन| तर पनि भूटानमा त पुर्ख्यौली जग्गामा हलो जोतेरै भए पनि बिहान बेलुकीको दुई छाक टर्थ्यो|
बिरामी आमा, ससाना छोराछोरी, सिधा श्रीमती र आफ्नो घट्दो कमाइको कारण बिरे दाइको मनोबल आजकल धेरै घटेको छ| उनलाई पहिलाको जस्तो सामाजिक जमघट मन पर्दैन | अरू मान्छेसँग बित्थामा रिस उठ्छ, झर्को लाग्छ, टाउको दुख्छ र काममा पनि त्यती ध्यान हुँदैन| भगवान प्रतिको आस्था पनि खच्केको छ| तर समाजमा आफ्नो बह बिसाउने ठाउँ छैन| सबै साथीहरूको सुखी र सम्पन जीवन देख्दा उनलाई आफ्नो जीवनमा बिहे गरेकोमा पनि धिक्कार लाग्छ | आफ्नो भन्दा पनि फूलमायाको जीवन बर्बाद गरेझैँ ठान्छन् उनी| पछुतो लिएर पनि धर त छैन तर पनि आफ्नो मनलाई सम्हाल्न सकिरहेका छैनन् उनी |
पुनर्वास पश्चात हाम्रो भूटानी समाजमा धेरैको अवस्था बिरे दाइकै जस्तो छ| आफ्नो मनमा भएका व्यथाहरुलाई पोख्ने ठाउँ नपाउँदा धेरै वीरबहादुरहरु पनि डिप्रेसनका शिकार भएका छन्| अझ कति ता आत्महत्या समेत गर्न बाध्य भए | भूटानी नेपाली समाजको चिनारी भनेको हाम्रो अखण्डता हो | हामी सबै एक निरङ्कुश शासकबाट पीडित भएका जनता हौँ | यस कारण, मेरो बिचारमा आफ्ना मूलका दाजुभाइ र दिदी बहिनीहरुको चिन्तन गर्नु हाम्रो जिम्मेवारी हो जस्तो लाग्छ | हामी सबै जुटेर एक अर्काको मनका भावना र पिर व्यथा साटसाट गरौँ| हाम्रै ओरीपरी रहने बिरे दाइ र फूलमाया दिदीहरू जस्ता पात्रलाई सशक्तिकरण गर्ने सामूहिक अभियान सुरु गरौँ |