बिवशका बिन्दास गजल र स्ल्याम

→ भूपेन्द्र तिम्सिना, झापा/ नेपाल Bhupendra

नजिस्किनु आगोसँग पानीसँग नजिस्किनु ।
दिँदा दिँदै भोकाएका दानीसँग नजिस्किनु ।।

केही कोहीसँग पनि खेलाँची गरेर जिस्किनु हुँदैन । प्रेमी प्रेमिकाबीच समेत दिल खोलेर जिस्किन डराउनु पर्ने समय छ । आगो, पानी र दान गरेर आफू रित्तिएकाहरुसँग त झन जिस्कने कुरै भएन भन्छन् लिखुरे ज्यानका शक्तिशाली गजलकार बिवश बलिभद्र कोइराला । यति हुँदाहुँदै र यति भन्दाभन्दै पनि उनी भनें श्रष्टामञ्च झापाको ०६९ चैत ३ को मासिक श्रृंखलाको आफ्नो एकल गजल वाचनमा दिल खोलेर प्रेमिल मनहरुसँग जिस्किए । जिस्किनु मात्र पनि होइन ती मनहरुलाई स्मरणीय गजल शेरहरुमार्फत यसरी ‘शब्दमोहनी‘ लगाएका थिए –
तिम्रै लागि त हो नारी, शंकरजीले काम भुले ।
म कसरी नभुल्नु त्यहाँ, जहाँ सीताराम भुले ।।

एकल श्रृजना प्रस्तुतीको लहरमा उभिएका बिवश कार्यक्रमको माहौल बढाउन तन्नेरी मनहरुलाई हौस्याउँदै थिए । उनको यो जीवनकै पहिलो एकल वाचन भएकाले पनि उनी कस्तो होला भन्ने चिन्तामा थिए । एकातिर एकसाता अघिमात्र चितवनबाट गजलरत्न पुरस्कारले सम्मानित भएको खुशीको माहौल जारी थियो । समसामयिक भन्दा बढी मायाप्रेमका कोमल गजलहरुमा धेरै रमाउने उनको मनले त्यहाँ पनि त्यसै गरायो । वाचनले गजललाई प्रभावकारी बनाउने उनको कला यो गजलमा पनि प्रष्टिन्थ्यो –
मैले काँडामा जीवन खोज्दै गर्दा, तिमी फूलमा टेकेर हिँड्दै थियौ ।
म आँसुले तिर्खा मेट्दै गर्दा, तिमी मुलमा टेकेर हिँड्दै थियौ ।।

उनका गजल अरुले त्यही ओजमा वाचन गर्न अलि अप्ठेरो पर्छ । उनका गजल शेर लामा पनि छन् र लयमा ढालेर पढ्न खोजियो भनें झन नमिल्ने समेत हुन्छ र फसाद पर्छ । भावनामा चुर्लुम्म डुबेका, खिपिएका शब्दपुञ्ज भएकाले उनले त्यसलाई शक्तिशाली बनाएर वाचन गर्छन्–
त्यो खिड्कीको दोष छैन, दोषी त पर्दा न हो ।
यो मुटु मबाट भागेको पनि, त्यो पर्दा झर्दा न हो ।।

उनी अलि बिरामी समेत थिए केही दिनयता । त्यो दिन पनि खोक्दै गजल वाचन गरे । अनि स्वार्थी समाजको चित्रण यसरी गरे –
तिमी बाँच्दा तिमीसँगै, बाँच्ने हजार हजार हुन्छन् ।
तर मर्दा हुन्छौ एक्लै , नाँच्ने हजार हजार हुन्छन् ।।

उनका गजल र गीत रेकर्ड हुने क्रममा पनि छन् । यसर्थ उनका सुन्दर गजल गाइएपछिको उचाई निकै अग्लो हुने देखिन्छ । मणिकमल क्षत्रीको संगीतमा जगदिश समालले गाएको ‘जन्म जन्म तिमीसँगै’ र, ‘बदलिन्न म’ बोलका गजल सांगीतिक जगतमा छाउँदैछन् । ०५७ मा गीती संग्रह बिवशका गीतहरु, ०५८ मा गजल र गीतको संग्रह लेकबेंशीका भाकाहरु र ०६६ मा गजलकृति काँचको मुटु बाहिर ल्याएर लेखनमा रमाएका छन् । त्यही आफ्नो लेखन र जीवनको तारतम्य मिलाउने पृष्ठभूमिका बारेमा भन्दै गए । श्रृंगारिकताले कसलाई पो आकर्षण गर्दैन र भन्ने कुरा पनि जोड्दै गए । हँसिलो शैलीमा माथि माथिसम्म हात पुर्याउँदै जोसिलो रुपमा प्रस्तुत हुने उनको बिशेषता त्यहाँ पनि जम्यो । केशव आचार्य, शिव रेग्मी प्रणत, देवीभक्त श्रेष्ठ, सुन्दर कुरुप, कृष्ण घिमिरे, साबित्रा ढुंगाना, उद्धव ओझाले उनलाई वाचनमा सघाए । सघाउनेमा म पनि थिएँ । तर हामीले उनको जस्तो प्रभावकारी वाचन गर्नै सकेनौं । हाउभाउले उनले उतारेको दृष्य हामीले त्यही रुपमा उतार्नै सकेनौं ।
वाचनको प्रसंग आउँदा म काँकडभिटामा रिडर्स झापाले फागुन २७ देखि २९ सम्म आयोजना गरेको कला साहित्य उत्सव सम्झिन्छु । त्यहाँ स्ल्याम पोएट्रीपर्फम भनेर उज्वला, युक्ता, नयन र समिपले कविता वाचनमा गरेको प्रस्तुतीले वास्तवमै कबितालाई चरितार्थ गरेको थियो । शब्दलाई अभिनयात्मक शैलीले चित्र अथवा दृष्यमै उतारेको थियो । साँच्चै भन्नुपर्दा सृजना प्रस्तुतीका लागि त्यसखाले हाउभाउ आवस्यक चीज हो । तर हामीले त्यसको वाचन राम्रो छ या त्यसको नराम्रो भनेर सामान्य रुपले मात्र टिप्पणी र आलोचना गर्ने गरेका छौं । शब्दलाई त्यही भावमा डुवाएर त्यसलाई सार्थक बनाउन प्रस्तुती ज्यादै महत्वपूर्ण र आवस्यक चीज हो भन्ने कुरालाई सो कार्यक्रमले गतिलो रुपमा पुनर्स्मरण गराएको मेरो अनुभूति रह्यो । साहित्यलाई युवापुस्तासम्म लानका लागि पपशैलीमा समेत उनीहरुले गरेको वाचन र अभिनयात्मक प्रस्तुती युवापुस्ताले चाख मान्यो । शिक्षणमा अहिले आएको मन्टेश्वरी प्रणाली जस्तै गरी स्ल्यामले साहित्यमा मानिसहरुलाई प्रवेश गराउन र साहित्यप्रति चासो बढाउन सजिलो हुने लाग्यो । राम्रो लेखेरमात्र पनि भएन त्यसको प्रस्तुती प्रभावकारी भएन भनें त्यही सृजनाको ओज आफसे आफ घटेजस्तो, कस्तो कस्तो खल्लो हुन्छ । बिवश र स्ल्याम पर्फमलाई जोड्दै हामीले पनि त्यस कुरामा ज्यादै ध्यान दिनु आवस्यक छ भन्ने बुझाई थप भएको छ मेरो बुझाईमा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *