भरोसा एक ईश्वर

नवीन प्रभात
क्यानडा

म कृष्ण सम्झिन्छु, तिमी बुद्ध सम्झ
उनी येसु सम्झिनेछन्, तिनी अल्लाह सम्झिन्छन्
अब यिनैमा छ भरोसा यिनैमा छ आशा
यिनै हुन् सृष्टिकर्ता यिनै हुन् पालनकर्ता
यिनैले गर्नेछन् संहार यिनैले गर्नेछन् उद्धार
त्यसैले तिमी येसु पुकार, म कृष्ण पुकार्ने छु
उनी बुद्ध पुकार्ने छन् अनि तिनी अल्लाह पुकार्ने छन्।

थाहा छैन संसार यति ग्रस्त किन ?
थाहा छैन मानिस यति भ्रष्ट किन?
प्रतिस्पर्धा चल्दै छ मान्छे मार्ने खेलमा
शक्ति प्रदर्शन हुँदै छन् कसले जित्ने दाउमा
मानिसले धर्म बिर्सियो, मानिसले नीति बिर्सियो
मानिसले सबै बिर्सियो तर पैसा सम्झिरह्यो..
त्यसैले त संसारमा हाहाकार छ आज
खै के हुने हो तर
अब यिनैमा छ भरोसा यिनैमा छ आशा
यिनै हुन् सृष्टिकर्ता यिनै हुन् पालनकर्ता
तिमी बुद्ध पुज, म अल्लाह पुज्ने छु
उनी कृष्ण पुज्नेछन्, अनि तिनी येसु पुज्नेछन् ।।

लासका सिरानी लास भएकाछन् आज
कफनका लागि जङ्गल सकिएका छन् आज
बिउ छर्ने माटो भेटिन्न अचेल
माटो मुनि सिर्फ भेटिन्छन् मानव कङ्काल
आकाशको उल्का नियन्त्रण गर्न सक्ने देशले आज
एक रोग नियन्त्रण गर्न सकेन
मान्छे मार्ने मिसाइल बनाउन सक्नेले आज
एउटा दबाई बनाउन सकेन
त्यसैले त एक भरोसा ईश्वरमा छ आज
तिमी अल्लाह भन, उनी कृष्ण भन्ने छन्
म येसु भन्नेछु अनि अनि तिनी बुद्ध भन्नेछन् ।।

सायद आज धर्मको परिभाषा बदलिएर होला
धर्ममा व्यापार र राजनीति भएर होला
के थाहा ईश्वरले दण्ड दिएका पो हुन् कि ?
इसाई हिंडछ ढोका ढकढक्याउँदै
बाइबल बोकेर येसुको व्यापार गर्न
भन्छ म तिमीलाई स्वर्ग पुर्याईदिन्छु
हिन्दु भन्छ उसै गरी हाम्रो तिर आऊ
मेरो भगवान् ठुला हुन् भनेर
ऊ राजनीति गर्छ, ऊ निक्कै ठुलो भेदभाव गर्छ धर्मको नाममा अनि कुर्सी ताक्छ
उता बौद्धमा पनि तानातान हुन्छ रे
मुस्लिममा झन् घाँटी रेटिन्छन् अल्लाहको नाममा
बन्दुक बोकिन्छन् गोली ठोकिन्छन्
सायद यो ईश्वरलाई मन नपरेर पो हो कि
सायद ईश्वर पनि थकित भएर पो हुन् कि
सायद ईश्वरले नै दण्ड दिएका पो हुन् कि
त्यसैले त कोरोनाले संसार छोप्यो आज
अनि औषधिको पनि त सङ्केत नै छैन
तर तिमी सच्चा मनले कृष्ण भनिरहूँ
म अल्लाह भनी रहने छु
उनी बुद्ध भनी रहने छन्
अनि तिनी येसु भनी रहने छन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *