भालेहरू

युवराज घलेभाइ
सिक्किम, भारत

गाउँमा आजकल भालेहरु बास्न छाडेका छन्
बिहान झिस्मिसेको साइत जुटाउँदै
लामो डाँको छोडेर रातो सिउर फहराउँदै
आफ्ना तीखा र चनाखा आँखाहरु घुमाउँदै
कुखरी !! काँ को स्वरमा
सारा गाउँबासीहरु ब्युँझाउँदै
बास्ने गर्थे राता सिउरवाला भालेहरु ।

कुनै युद्धको शंखघोष गरेझैं
वा कुनै प्रतिक्षित खुशी प्रवाह गरेझैं
वा कुनै पहरेदारले सम्भावित चोरीप्रति
खबरदारी गरेझैं
वा कुनै कमान्डरले सिपाहीहरुलाई
संकटकालीन आदेश सुनाएझैं
अँध्यारो भाग्न लागेको सन्देश सुनाउँदै
बास्ने गर्थे राता भालेहरु ।।

भालेको पहिलो डाँकोमैै
आफ्ना ओछ्यानहरु छाड्दै
आफ्ना निद्रा र तन्द्राहरु त्याग्दै
सारा आलस्य र निष्कृयतालाई पन्छाउँदै
जर्मुराउँदै उठ्थे अधिकांश गाउँलेहरु
उज्यालो नियाल्दै ।
सशक्त किशोर, युवा र पौढहरु
लक्ष्यमा जुटथे
आफ्ना कर्ममा क्रियाशील हुन्थे
अशक्त वृद्ध – वृद्धाहरु
बाहिर निस्कन नसकेपनि
उज्यालोको स्वागतमा आ-आफ्ना ओछ्यान छाड्थे
सुत्केरी आमाहरु बच्चालाई दूध चुसाउन थाल्थे
आभास पाएर बिहानीको
आफ्ना बन्द आँखा उतार्न थाल्थे शिशुहरू
भालेको एउटै स्वरले
यसरी जुर्मुराउँथे एकैचोटि
सम्पूर्ण बस्ती र गाउँहरु
तर , तर्सिन्थे केही सुताहरु
छटपटाउँथे केही निशाचरहरु
भालेले आफ्नो नीद बिथोलेको ठान्थे
भालेले उज्यालो डाकेको आरोप लगाउँथे
भालेलाई आफ्नो दुश्मन मान्थे
यसैले भेटेसम्म
बास्ने भालेजति खोजी-खोजी मास्ने गर्थे !
अनि भालेहरु पनि
गाउँ छाडेर जङ्गल पस्ने गर्थे
भेटाउनै गार्‍हो भएको छ आजकल
बिहान बास्ने भालेहरु ।

आजकल गाउँ – गाउँमा
ब्रोइलरकै रौनक र खाफ छ
भट्टीदेखि हबेलीसम्म
ब्रोइलरकै खाफ र कवाफ छ ।

ब्रोइलरहरु बोल्न जान्दैनन्
ब्रोइलरहरु बास्न सक्तैनन्
खाइलाग्दा र रहरलाग्दा देखिन्छन्
सफा र सुकिला भेटिन्छन्
कीरा – फटयाङग्राहरु खानुपर्दैन यिनलाई
चाराे खोज्न चाहार्नु पर्दैन यिनलाई
यसैले भाले र पोथी समेत छुटयाउने नसकिनेगरी
खाइलाग्दा र मोटाघाटा देखिन्छन्
गोजेरो टम्म भरिएर
स्वरनली समेत टालिएपछि
बोल्नै नसक्ने हुँदा रहेछन् भालेहरु ।

यसैले आजभोलि
बास्ने भालेहरु भेटाउनै
मुश्किल छ गाउँमा
भेटिए पनि एकाध भालेहरु
ब्रोइलरकै संगतमा परेर
ब्रोइलरकै संस्कारमा हुर्किएर
बाहिरबाट आएका
महङ्गा दानामा पल्किएर
कीरा-फट्याङग्रा र घाँसपातहरु खान छाडेका छन्
आँगनको कोदो मकै नपच्ने भएका छन्
यसैले होला
उनीहरू पनि झिसमिसेमा बास्न नसक्ने भएका छन्
मन नलागी – नलागी
बास्न खोज्दा कहिलेकाहीँ कहिले मध्यान्ह र कहिले समसाँझैं बासिदिन्छन्
बास्ने गरेका एकाध भालेहरु पनि
कुनै भाकामा सजाइएका
कुनै देउतालाई चढाइएको
कुनै ब्रोइलरजस्ता बास्नै नसक्ने
कुनै मुग्लान नभासिएर बाँच्नै नसक्ने
कुनै भाकामा पुजिन नपाए
जीवनलाई साँच्चै नसक्ने
चोखो र स्वतन्त्र भालेहरुको
अनिकाल हुँदैछ गाउँमा
बिहान बास्ने भालेहरु
भेटाउनै गार्‍हो छ गाउँमा
के भएको हो
यी घडी चराहरुलाई
यी प्रभातका आव्हानकर्तालाई
यी चेतनाको डाँको छोडनेहरुलाई ?
यसैले गाउँलेहरु पनि आजकल
अल्छी हुन थालेका छन्
माछा पाल्न छाडेर
बल्छी खेल्न थालेका छन्
उठने समयको पत्तै हुन छाडेको छ
आफु खुशी उठने र सुत्ने गर्छन्
कोही दिउँसो उठ्छन्
कोही साँझ उठ्छन्
कोही राती नै उठिदिन्छन्
यसैले आजकल गाउँलेहरु
झिसमिसेमा उठन छाडेका छन्
लक्ष्यमा जुटन नसकी
आपसमा फुटन थालेका छन्
झिसमिसे बिहान र गोधुली साँझ
छुट्याउन नसकी
बिहान सुतेर गोधुलीमा उठ्न थालेका छन्
गाउँमा आजकल भालेहरु हराउन थालेका छन्
गाउँमा आजकल भालेहरु बास्न छाडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *