भाषा संरक्षणमा अभिभावकको लगानी हुनुपर्छ ।
डा. लक्ष्मीनारायण ढकाल
केन्टकी, अमेरिका
मानव जीवनका कुनै पनि व्यक्तिगत समस्याहरू एकाध व्यक्तिहरूसँग छलफल गरिएता पनि निदान व्यक्तिगत रुपमै गरिन्छन् र गरिनु पनि पर्छ I तर जब सामाजिक जीवनसँग सरोकार राख्ने समस्या उब्जिन्छन् ,तब तीनको समाधान पनि सामाजिक पहलमै हुनुपर्छ ,यद्यपि कुनै एकदुई त्यागशील र परिश्रमी व्यक्तिहरूको ठूलो लगानी भएको हुन्छ,तर भाषा संरक्षण गर्न एक दुई जनाको बलले मात्र हुँदैन यसका लागि प्रत्येक व्यक्तिले आ-आफ्ना स्थानबाट विभिन्न कुराको लागानी गर्नैपर्छ I डायस्पोरामा भाषाको समस्या पनि व्यक्तिगत मात्र नभएर सामाजिक समस्या हो र यसको निदान पनि सामूहिक लगानीबाट नै हुनुपर्छ I
लगानी भन्नाले आर्थिक लगानी मात्र भन्ने बुझ्नु हुँदैन I लगानी बहु आयामिक हुन आवश्यक छ I सबैभन्दा अधिक लगानी हाम्रा अभिभावकहरूले उत्साह र लगनशीलताको गर्नु पर्ने हुन्छ र आवश्यकता परेका स्थानमा अर्थको पनि लगानी गर्नुपर्ने हुन्छ, किनकि अर्थ विना सबै वस्तु उपलब्ध हुन्छन् नै भन्न सकिन्न I
केही स्थानहरूमा भाषा शिक्षणका लागि राम्रा प्रयासहरू भएका छन र हुँदैछन्,तर त्यहाँ थुप्रै कुराहरूको अभाव खट्किएको छ I ती अभावहरू मध्ये सबैभन्दा अधिक खट्किएको विषय भनेको पाठ्यक्रम र पाठ्य सामग्री हो I
साहित्य परिषद भूटानले भाषा शिक्षणका लागि सर्वाधिक आवश्यक देखिएको पाठ्यक्रम अनुसन्धान र निर्माण गर्न सन् २०१६ देखिनै प्रस्ताव पारित गरेर तदर्थ समितिको निर्माण गरी कार्य आरम्भ गरेको छ I उक्त अवधारणालाई अझ व्यापक बनाउँन २०१८ मा ५ सदस्यीय समितिको पुनर्गठन गर्यो र स्थलगत सर्वेक्षण गर्दै शिक्षक,अभिभावक र बुद्धिजीवीहरूसँग व्यापक छलफल गरी सबैका निम्ति केन्द्रीय पाठ्यक्रमको निर्माण गर्ने अभियान आरम्भ गर्यो I उक्त अभियानको एक अभियन्ता आफुपनि भएकाले र भाषा शिक्षाका क्षेत्रमा चासो राख्दै आफ्नो दायित्व मान्ने भएकाले यस क्षेत्रमा गहिरोगरी अध्ययन र अनुसन्धान गर्ने सुअवसर मिल्यो I तसर्थ सम्बन्धित समस्याहरूलाई समाजसामु राख्नु पनि आफ्नो दायित्व ठान्दछु,किनकि यी यावत् विषयहरू हामी सबैले अक्षरश: बुझ्न आवश्यक छ I
उक्त सर्वेक्षणका क्रममा सबै भन्दा ठूलो समस्याका रूपमा अभिभावकहरूको निरुत्साह फेला पर्यो I भाषा संरक्षणका लागि पूर्ण रुपले लागि परेका अभिभावकहरू मात्र १० प्रतिशत छन् I बाँकीको ९० प्रतिशतमा ४० प्रतिशत भाषाको संरक्षण गर्नुपर्छ चैँ भन्ने तर,आफु कुनै प्रकारको लगानी गर्न कुनैन कुनै कारणले पछि परेका छन् I ५० प्रतिशत अभिभावक आफ्ना नानिहरूसंग नेपालीमा बोल्न चहाँदैनन् ,यो सबैभन्दा ठूलो विषम र खतरनाक परिस्थिति हो I अभियानको मूर्त प्रवाह भएमा उपर्युक्त ४० प्रतिशतलाई सक्रिय बनाउँन सकिन्छ ,तर कुनैन कुनै कारणले पूर्वाग्रहित र असचेत ५० प्रतिशत वाला वर्ग चिन्ताको विषय बनेको छ I
लगानीका आयामहरू
सर्व प्रथम भाषा बोलिनुपर्छ र मात्र बाँच्दछ I यस विषयमा मेरा ३/४ वटा आलेखहरू पहिलानै प्रकाशित भैसकेका छन् ,तसर्थ ती विषयहरूलाई यहाँ पुन: लेखिरहन लागिन I अर्को कुरो मैले ऐतिहासिक संस्मरणात्मक कृति “वासदेखि पुनर्वाससम्म’ मा पनि पर्याप्त चर्चा गरेको छु I त्यसैले यहाँ लगानीका विषयमा केही निम्न बुँदाहरूलाई विचारौं –
१. अभिभावकहरूले भाषा कसरी बाँच्दछ भन्ने विषयमा सदैव जागरुक रहनुपर्छ I हामिले घरमा हाम्रा नानीहरूसँग मातृभाषामा मात्र बोल्नुपर्छ I नानीहरूले अंग्रेजी बोलेमा न बोल भन्नुको सट्टा आफुले नेपालीमा मात्र उत्तर दिनु सबैभन्दा सुरक्षित र प्रभावकारी तरिका हो I किनकि पहिलो कुरो भाषाको प्रकृति सुनेर सुनेर विस्तारै सिकिने खालको हुन्छ I अर्को कुरो आफुले निरन्तर मातृभाषामा मात्र बोलिरहँदा र अर्को भाषा नबोल नभन्दा नानीहरूमा मानसिक दबाव पनि पर्दैन र मातृभाषाप्रतिको मनोवैज्ञानिक आकर्षण पनि बढ्दै जान्छ र उसले यो व्यक्ति अरू भाषा बोल्दैन भन्ने कुरो सिक्दछ र मैले पनि उसँग नेपालीमै बोल्नुपर्छ भन्ने बानी पर्दछ ,किनकि मानव मस्तिष्क बानिको दास हुन्छ I अत: अभिभावकले बोलीको लगानी गर्नु पर्छ I
२. अभिभावकले यति गरेर मात्र पुग्दैन I उसले निरन्तर नेपाली भाषाको शैक्षिक वातावरण घरमा बनाइराख्न निरन्तर चिन्तन गरिरहनु पर्छ I हाम्रा नानीले हेर्ने भिडीयो ,सुन्ने गीत,पढ्ने पुस्तक र खेल्ने सामग्रीहरू भाषा सिकाउने खालका छन् वा छैनन् ? मेरा नानीहरू कस्ता साथीहरूसँग खल्ने गर्दछन् ,टी नेपाली बोल्छन् वा बोल्दैनन् आदि विषयको चासो र व्यवस्था गरिरहनु पर्ने हुन्छ I त्यसैले समय र जागरुकताको लगानी भैरहन आवश्यक हुन्छ I
३. भाषा सिकाइका सुनाई र बोलाइ पछि पढाई र लेखाई आउँछन् ,त्यसैले अब अभिभावकले अर्को लगानीका लागि तैयार हुनुपर्छ I त्यो हो आफ्ना नानीहरूलाई भाषा कक्षामा समावेश गर्नु ,उक्त कक्षाको व्यवस्थापनमा सहयोग गर्नु ,त्यहाँको आर्थिक व्ययमा भागीदार बन्नु र गृहकार्य गराउन सहयोग गर्नु I किनकि हाम्रा भाषा कक्षाहरू समाजकै समाजसेवकहरूद्वारा अथक परिश्रमले चलाइन्छन् र उक्त कक्षाको सम्पूर्ण व्यय र शिक्षकको पारिश्रमिक कुनै सरकारी निकायले दिंदैन अथवा अहिलेसम्म मिलेको छैन र तत्कालै मिल्ने सम्भावना पनि कमै देखिन्छ I शिक्षक विना पारिश्रमिक खटेका हुन्छन् ,तर कक्षाको र शिक्षण सामग्रीमा लाग्ने व्यय समाजबाटै उठ्नु पर्दछ I यी सम्पूर्ण आवश्यकताहरूको लगानी गर्न अभिभावकले आफ्नो दायित्व ठानेर अघि आउँनु पर्दछ I
४. भाषा कक्षाहरूलाई निरन्तर सुचारु राख्न र सुव्यवस्थित बनाउँन त्यहाँ चाहिने सम्पूर्ण वस्तुहरू र पाठ्यक्रम,पाठ्य पुस्तक र विभिन्न प्राकारका पाठ्य सामग्रीहरूको आपूर्ती भैरहन आवश्यक हुन्छ I कक्षाको व्यवस्थापन स्थानीय तहमा भएपनि पाठ्यक्रम जस्तो विषय सबैतिर एकैप्रकारको र स्तरीय हुनुपर्ने हुन्छ I त्यसैले केन्द्रीकृत पाठ्यक्रमको जिम्मेवारी लिएर खट्दै गरेका संस्था र सम्बन्धित (शिक्षाविद्)व्यक्तिहरूसँग सहयोग गर्न सरोकार राख्नु पर्दछ I किनकि पाठ्यक्रम त्यति सजिलै बनिने र सस्तोमा मिल्ने कुरो होइन ,यसमा समय,परिश्रम र आर्थिक लगानी गरिएको हुन्छ I अत: यस विषयमा सरोकार राख्ने संस्थालाई आफ्नो संस्था बनाउँन अभिभावकले तन , मन र धनले सहयोगको लगानी गर्न अघि आउनु पर्दछ I
हामी अभिभावकहरू भाषा र शिक्षाका क्षेत्रमा लामो अनुभव लिएका थुप्रै व्यक्तिहरू छौं ,विभिन्न क्षेत्रमा सीप र कला भएका पनि मनग्गे छौं ,तर हामी एकजुट हुन सकेका छैनौं I हो हाम्रा व्यक्तिगत तमाम समस्याहरू छन् ,थुप्रै उल्झनहरू छन् ,आर्थिक समस्याहरू छन् , जसलेगर्दा सामाजिक जीवनका निम्ति समय निकाल्न कठीन भएको छ ,तर हाम्रो भाषा र संस्कृतिलाई बचाउन हामिले केही समय निकाल्नै पर्छ ,केही त्याग गर्नैपर्छ I शत्रु सेनालाई मेरा देशका सेनाले परास्त गरूँन् भन्ने चाहना राखेर आवश्यकता परेका बेलामा मर्ने डरले आफु वा आफ्ना जवान छोराहरूलाई सेनामा भर्ती हुन न दिने वा नमान्ने अवधारणाले काम काट्दैन I आवश्यकता परेका अवस्थामा ज्यानको बाजी लगाएर अघि आउनु पर्दछ र मात्र देशप्रतिको वफादारी सिद्ध हुन्छ I
अत: हामी सबै अभिभावकहरू भाषा संरक्षणको यस अभियानमा आ-आफ्ना स्थानबाट,आ-आफ्ना स्तरबाट आवश्यक लगानी गर्न र सम्बन्धित सरोकार राखी खट्ने संस्थाहरू ,स्वयंसेवकहरू ,शिक्षाविद्हरू र शिक्षकहरूको सहयोग गर्न अघि बढौं I हाम्रा नानीहरूको भोलीको भविष्यलाई सुरक्षित बनाऊँ ! भाषा बाँचे हाम्रो संस्कृति बाँच्नेछ ,संस्कृति बाँचे हाम्रो अस्तित्व रहने छ I आउनुहोस् सबै मिलेर हातेमालो गरौँ !!!