भुटानको बसोबास इतिहास र भोगाइ

दुर्गा गुरागाई
अस्ट्रल्लिया

नेपाली घर गाउँ शान्त नगरी बस्ती थिए देशमा
बस्थ्यौँ त्यो रमणीय धन्य ममता भुटान त्यो देशमा
खट्थ्यौँ त्यो दिन रात काम घरमा बारी र त्यो खेतमा
आफैले पसिना बगाइ बस्ने डाँडा कतै भेकमा ।।१।।

बस्थे गाउँ हिमालमा सहरमा बेँसी र खेती गरी
आफ्नै पौरखमा परिश्रम गरे उद्योग धन्दा अघि।
खन्थे भीर पहाड मार्ग बलले पुर्खा त हाम्रै अघि
दिन्थे ज्यान विकास निम्ति उनकै बग्थ्यो पसिना अघि ।।२।।

भोको पेट र आङमा न गतिला पोसाक थ्यो त्यस घरी
झारातिर्न कठोर काम बलले खट्थे दिल ज्यान गरी।
हाम्रा पूर्वजका अझै छ कि कतै ठेलो कि त्यो हातमा
आलै छन् कति घाउ दाग उनका छन् चिह्न त्यो गाथमा।।३।।

अत्याचार भयो र त्यो मुलुकमा त्यो नव्यको कालमा
भाषा भेष कला सबै चलन त्यो मेटाउने खेलमा ।
नेपाली भनियो सफाय गरियो अन्याय सारै भयो
हाम्रो थ्यो धन सम्पत्ति चल अचल सर्वस्व लुट्दै गयो ।।४।।

बोल्दा कानुन थ्यो जहान घरका कैयौँ विभाजन गरी
सारा दोष र लाञ्छना थुपारियो जुक्ती अनेकौँ गरी।
उस्तै भेद र भावले मुलुकमा अन्याय धेरै गर्‍यो
बाँच्नै खातिर देश गाउँ घर त्यो त्यागेर भाग्नै पर्‍यो।।५।।

छापा मार्दथे रात-रात बिचमा त्यो गस्तीको नाउँमा
सास्ती दण्ड र यातना दिनदिनै सेना पसी गाउँमा।
घेरा हाल्दथे आइ रात दिनमा बान्थे ती जोडी कर
कारागार र कैद जेल सब त्यो जस्तै बन्यो घरघर।।६।।

पैताला करमा र पाउ तनमा पिट्थ्यो घरी माथमा
घोप्टो ढाड गराइ लात बुटले टेक्थ्यो घरी आङमा
बन्दी कैद असह्य त्यो हतकडी कोर्रा दियो गाथमा।
जेलैमा कति मारियो कति जना भोग्यौँ बडो यातना ।।७।।

नीला डाम शरीरमा नजरमा बाँधेर काल कोठरी ।
कारागार सजायमा पशु सरी मान्छे भरी कोचारी।
कारावास थुना बिना कसुरमा बन्दी बन्यौँ देशमा
हाम्रा चाल निषेध त्यो मुलुकमा थ्यो बाध्यता भेषमा ।।८।।

बाँध्ने त्यो ठिँगुरो लगाइ कहिले चिसो र त्यो घाममा
ढुङ्गा पत्थर भार रास कहिले बोकाउँथ्यो काँधमा
मारी लास दियो पठाइ घरमा इज्जत लुट्यो घर घर
कारागार र कैद जेल सब त्यो जस्तै बन्यो घरघर।।९।।

सारा देश भरी खटाइ छरियो सेना पसे घरघर
त्यागी त्यो धन दौलत महल नै भाग्यौँ रुँदै धरधर ।
ओठे कानुन थ्यो जसो मनपरी अन्याय थ्यो बर् बर
च्यापी बालक अङ्कमाल पिठिममा भाग्यौँ हुँदै थरथर ।।१०।।

ठाडा पाउ गराइ रात भरनै दिन्थ्यो घरी ताडना
कुट्ने बेत र लाठीले त यमको लोकै सरी यातना ।
यस्तै हैकम राज्यले गरिदियो लुट्थ्यो पसी घर घर
हाम्रा बाल बचाउनै कठिनले भाग्यौँ रुँदै धर् धर।।११।।

गाई थिए घर गोठ थ्यो जमिन त्यो थ्यो अन्न-बाली अरू
बारीथ्यो धनसार धान ढुकुटी भेडा र बाख्राहरू।
बाछा गाई बथान थ्यो र कपडा छोडी चटक्कै घर
त्यस्तो त्यो धन द्रव्य वैभव सबै छोड्यौँ रुँदै धरधर।।१२।।

झाराथ्यो अनिवार्य साल घरको प्रत्येक टोपी गनी
सारा जङ्गल थ्यो विकास भरियो डाँडा हिमाल वन खनी।
खन्थे भीर पहाड मार्ग बलले पुर्खा त हाम्रै अघि
दिन्थे ज्यान विकास निम्ति उनकै बग्थ्यो पसिना अघि ।।१३।।

हाम्रा बाबु बराजुले खनिदिए बाटा र गल्लीहरू
हाम्रै त्यो पसिना थियो र रगतै सत्ता चले चाल अरू।
सीमा साँध अखण्ड राष्ट्र पहरा दिन्थे सबै हर् घडी
आर्जेथे बल पूर्वकै हडपियो भाग्यौँ रुँदै धर् धरी।।१४।।

लुट्थ्यो अधिकार माल लुटियो सेना पसी घर-घर
कारागार र कैद जेल सब त्यो जस्तै बन्यो घर-घर
पुर्खाले दिन रात बगाइ पसिना झारा तिरे हर्-घडी
आर्जेथे बल पूर्वकै लखेटियौँ भाग्यौँ रुँदै धर् धरी।।१५।।

माटामा बलिदान ज्यान जिजुले उत्सर्ग गर्दै मरे
आफ्नै सन्ततिका निमित्त उनले सङ्घर्ष ठुलै गरे ।
गर्थे काम विकासका निमित्तमा भोग्दै ठुलो शासन
माटो पत्थरमा अझै छ उनकै सुँघ्दा न त्यो? वासना।।१६।।

हाम्रा पूर्वजको छ रक्त पसिना माटो र पत्थर भरी
भञ्ज्याङ् पर्वत टाकुरा शिखरमा छन् शैल डाँडा परी ।
खोला बाढ किनारमा बगरमा झारे पसीना अघि
तप्-तप् छन् पसिना कतै कि त अझै त्यो कन्दरा वन भरी ।।१७।।

ढुङ्गा पत्थर बालुवा र कणले धूलो कसिङ्गरले
अग्ला वृक्ष र बोटका सयलले हाँगा जरा जीर्णले ।
चिन्छन् बाबु बराजु भाइ भतिजा हाम्रा कुलीन वंशको
तप् तप् छन् पसिना कतै कि त अझै बाँचे कि चुस्दै कि त्यो ।।१८।।

जन्म भूमि छोड्दाको त्यो क्षण ती इष्ट मित्र र आफन्तको यादले सताएको पीडा ।

यादै भो कति साल सम्म घर त्यो सीमा र गल्लीहरू
बाटा घाट किनार टार परका ती पोखरी तालहरू।
सारा त्यो दिनरात याद दिलमा सम्झी रह्यौँ झलझली
बाँच्यौँ कष्ट सहेर छाक भरमा पीडा बन्यो जिन्दगी ।।१९।।

सम्झन्छु आँप अमला र चिउरी
अनार अम्बा फल बोट चिउली।
देउराली घुम्ती वनदेवी थान
छ वन्दना गर्छु सधैँ प्रणाम।।२०।।

सम्झन्छु मित्र सखी साथ इष्ट
उस्तै छ याद मनमा पवित्र ।
छिमेक नाता सबमा सलाम
प्रभात सन्ध्या दिलले प्रणाम ।। २१।।

स्वदेश क्षेत्र थल जन्म स्थान
गर्छु म नित्य ममता प्रणाम ।
बिहान साँझ दिनरात बार्-बार
पुन नमस्ते छ पुनः नमस्कार ।।२२।।

पहाड थुम्का वन कुञ्ज टार
छ नित्य याद घरबार सार
छ वन्दना गर्छु सधैँ पुकार
पुन नमस्ते छ पुनः नमस्कार ।।२३।।

नेपालमा झापा र मोरङ कसरी बसिन्थ्यो र कस्तो कष्टकर जीवन भोग्थ्यौँ।

बेल्डाँगी भनी रत्वका बगरमा माई टिमाई भरी
सातोटा भल बाढका तट महा बस्थ्यौँ सबै पाल भरी ।
खोला टार किनारमा शिविर थिए छाप्रो सिरु बाँसको
होचो बाफ गुमुक्क च्याप घर थिए छानो पनि काँसको ।।२४।।

गोलधाप थियो र नाम पथरी अर्को उता गाउँमा
भोग्दै कष्ट अनेक दुःख भरमा बस्थ्यौँ कठिन ठाउँमा ।
वासस्थान मसान घाट नजिकै मुर्दा समाधिस्थल
औधी मानिस मक्षिका गुँड सरी बाक्लो र थ्यो खल्बल।।२५।।

खाल्टो खाँद हुँदा र नाउँ खुदुनाबारी थियो नामको
तातो घाम तुफान बाढ अहिले सम्झन्छु त्यो ठाउँको ।
लामा सर्प गँड्यौला किसिमका कीरा जतै सल् बल।
गोलो घार छ माहुरी गुँड सरी मान्छे र थ्यो खलबल।।२६।

साना आँगन थिए धुरा लहर थिए गल्ली र त्यो च्याप थ्यो
धूलो धक्कड बाफ बाकस सरी गुम्साउने राप थ्यो।
थाप्ने चामल पन्ध्र-पन्ध्र दिनमा जोखेर सेर नापमा
ढुङ्गा गाँस पिछे चपाउन कठीन् खाँदा न स्वाद वासना।।२७।।

हात्ती स्याल बँदेल बास गरथे बस्थे त्यहीँ वनकर
बाच्यौँ मुस्किलले परी विपथमा बस्थ्यौँ सरी तस्कर ।
झाडी जङ्गलका अँगार कहिले बाल्थ्यौँ झिँजा पत्थर
कालै काल कराल मृत्यु मुखमा बाच्यौँ हुँदै थर् थर ।।२८।।

वर्षा याम झरी बिहाल सबको पानी छिरी धर्-धर
जाडो शीत हुँदा न कोट कपडा न्यानो बिना थर् थर।
ठुला वृक्ष ढलेर ज्यान कतिको लिन्थ्यो घरी काल बनी
घुम्थे क्यार दशा कि त्यो विपथमा निर्धा तिरै फन्-फनी ।२९।।

ठन्डी घाम धुवाँ चिसो लहरले सर्दी पखाला घरी
आँधी व्याधि र रोगको हरघडी चल्थ्यो सधैँ भुमरी ।
तातो घाम घरी बतास जगतै उड्ला कि झैँ फन्-फनी
घुम्थे क्यार दशा कि त्यो बखतमा हामी तिरै फन् फनी ।।३०।।

साङ्ला मच्छड माकुरा घर पसी झिँगा जतै भन्-भनी
सारा त्यो दु:ख कष्ट आज सपना बन्दै ती आछन् घुमी ।
आगलागी सब ध्वस्त माल घरका बल्थे घरी दन् दनी
घुम्थे क्यार दशा कि त्यो बखतमा हामी तिरै फन् फनी ।।३१।।
शरणार्थी भएर बस्दा साना बाँसका घर र बाँसबाट के-के बनेका थिए।

झुप्रोथ्यो घर बाँसको र टहरो थ्यो बाँसकै कोठरी
छानो बन्धन खाट झ्याल घरका थ्यो बाँसकै टोकरी।
बाँसै जीवन थ्यो जता नयनले देखिन्थ्यो चाङ बाँसको
ठुलो रक्षक ठान्छु दैव अहिले त्यो बाँस यो सासको ।।३२।।

आगो बाल्न छिटो तताउन छिटो थ्यो बाँसकै दाउरा
लै! हा हा! भनी सुत्दथे सब सधैँ कोक्रो बुनी छाउरा।
भाटा भार थिए र तिर्र मुरली थ्यो बाँसकै बाँसुरी
चिम्टा थिए जुइना सरा पलङमा बाँसै त थ्यो बार्दली।।३३।।

तर्कारी पनि बाँसकै घरीघरी तामा टुसा बाँसको
दैलो छेक र बार बाकस बरी! खाँबा थिए बाँसको ।
हाम्रा यज्ञ र कर्म कार्य विधिमा मण्डप थिए बाँसको
हाम्रो वंश सुरक्षितै गरिदियो साँच्चै नि त्यो वंश हो।।३४।।

डाँडा बार बला दुना र छपनी सिन्का र चोया नली
झाक्क्रीले पनि थानमा बखतमा त्यो बाँसकै सेउली।
बस्थ्यौँ त्यो दिन आज भुल्न मनले सक्दैन पीडा थियो
दाता प्राण दिने सबै मनहरू प्रकाश झैँ चम्कियोस् ।।३५।।

त्यो कष्टकर जीवन भोगाइ र पीडा

बस्थ्यौँ धुरामा दुख पिर खेप्दै
अकाल मृत्यु भय त्रास भोग्दै ।
न बास न गाँस न कतै थ्यौ खेती
न खाने मीठा चीज न फलफूल न भेटी।।३६।।

गुमाएर सारा धनधान्य माल
बिचल्ली परे थ्यौँ भए थ्यो बेहाल
दियो दुःख दैव कि त? भाग्यले खोइ?
बिताउँथ्यौँ दिन्-दिन रोइ-रोइ ।।३७।।

सम्पत्ति खेत, धन खाल गुमायौँ
वयोवृद्ध बाल परिवार गुमायौँ।
दियो दुःख दैव कित? भाग्यले खोइ
बिताउँथ्यौँ दिन-दिन रोइ-रोइ।।३८।।

पाइन्नथ्यो दूध नत दही मखन
न आँप रसिला न, मीठा बदाम।
तथापि आशा दिलमा सजायौँ
सङ्कष्टले पल्-पल दिन कटायौँ ।।३९।।

घरबार गोठ सब थ्यो गुमायौँ
ती बन्धु इष्ट सँगी साथ गुमायौँ।
व्यथा वेदना जुन दिलमा भुलायौँ
सङ्कष्टले दिन दिन त्यो बितायौँ।।४०।।

न वस्र ताता घरबार तूल
न खेत बारी वट वृक्ष फूल
न दूध नौनी दल अन्न कोल
न राष्ट्र हाम्रो नत मान मोल।४१।।

न थ्यो गाँस बास न कतै विहार
न वस्त्र राम्रा न दसैँ तिहार ।
बिते चाड पर्व नत फल मिठाइ
बिते रात साँझ दिन छटपटाइ ।।४२।।

फिरौँला फिरौँला नि भन्दै करायौँ
सङ्घर्ष निम्ति बलिदान चढायौँ ।
पुकारा बिलौना र बिन्ती बिसायौँ
सङ्कष्टले त्यो दिनरात बितायौँ।।४३।।

कथा व्यथा जो जति हुन् सुनायौँ
नापेर खाई दिन रात कटायौँ।
घाम पानी शीत जति हुन् पचायौँ
सङ्कष्टले क्षण-पल दिन बितायौँ ।।४४।।

न ओछ्यान गतिला गतिला न गाँस
न निद्रा न शान्ति सबै थोक विनाश।
निराशा सदैव न राम्रो निवास
कुन कर्मको त्यो फल थ्यो विधाता।।४५।।

अकाल मृत्यु भयले क्षण-क्षण सतायो
कसो हुँदा दैवले ज्यान बचायो ।
अभाव पीडा अनिकाल पचायौँ
सङ्कष्टले पल् पल दिन कटायौँ ।।४६।।

शिरैमाथि घुम्थे कि त ? राहु काल
फिँजाइ बसे कि ? दशा घात जाल।
ढुङ्गा र माटो मल भल पचायौँ
सङ्कष्टले क्षण क्षण पल् कटायौँ।।४७।।

दशा सङ्कटाले, कि? केतु सतायो
हे दैव ! कसले किन त्यो गरायो ।
ठुला व्याधि रोग कुपोषण पचायौँ
सङ्कष्टले पल्-पल दिन कटायौँ।।४८।।

जाडो र गर्मी भलले दिन-दिन सतायो
चिन्ता र पिरले गलितै बनायो ।
नखाई नखाई कति दिन बितायौँ
कुन कर्मको त्यो फल थ्यो कटायौँ।।४९।।

बाँच्यौँ कि? राम्रा दिन ती हुनाले
कि? दैव भाग्य बलियो दिनाले ।
लाला र बाला सब ती बचायौँ
सङ्कष्टले पल पल दिन कटायौँ।।५०।।

ती धन्य हुन् आतपमा बचाए
सङ्कष्ट भोगी पल-पल कटाए।
निद्रा र भोक भय शोक पचाए
सङ्कष्टले सन्तति मान बचाए ।।५१।।

थ्यो बास स्थान नदीको किनार
त्याग्यौँ कैले कुल धर्माचार्य।
तयार बरु भोग्न कठोर काल
त्याग्यौँ कैलै थिति वृत्ति चाल। ।।।५२।।

न गुमोस् कसैको घरबार स्थान
पुकार गर्छु करुणा निदान ।
सुख शान्ति भोग्छु दिन आज मैले
सलाम छ दाता विधाता क्रमैले ।।५३।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *