भूटान-नेपाल सम्बन्धका केही झलकहरू

भक्त घिमिरे-अमेरिका

नेपालसँग बिग्रिएको सम्बन्ध पुनः सन्तुलित गराउने प्रयत्नस्वरूप  भूटानका ४१ औं देवराजा जाम्तुल जामयाङ तेञ्जिनले नेपाली मूलका तीनजना भूटानीहरू निनीराम सिंह, ध्वरिया र हरि सिंह सम्मिलित एउटा कार्यदल दिल्ली र काठमाडौंका लागि पठाएका थिए । सो अभियानमुखी कार्यदलले नेपालको तत्कालीन सरकारसमक्ष भूटानले नेपालविरुद्ध भोटलाई सहयोग नगरेको, नेपाल भ्रममा परेको रहेछ भनेर यकिन गराउने प्रयत्न गरेको थियो ।

 

भूटान र नेपाल राष्ट्रहरु कसरी, कहिले बने भन्ने धेरै पुराना कुरा भए, ती सन्दर्भहरु अलग छन् । यी देशहरु बन्ने क्रममा एकले अर्कोमाथि भरोसा गरेको, आपसी सहयोग गरेको र कहिले भरोसा तोडेको, विश्वासको भत्किएपछि फेरि युद्ध गरेको जस्ता अनेकन प्रसंगहरु इतिहासमा आउँछन् नै, हरेक पाठकहरुलाई यो कुराको ज्ञान हुनुपर्दछ । हामी यहाँनेर आधुनिक समयका भूटान र नेपालबीच पहिले बनेको सुमधुर सम्बन्ध एकपटक कसरी तोडियो भन्ने प्रसंगमा मात्र केन्द्रित हुँदैछौं ।

इतिहासका विभिन्न तथ्यगत प्रसंग अनुसार सन् १८५५ मा तिब्बत (भोट) र नेपालबीच भीषण युद्ध भएको थियो । नेपाल र तिब्बतबीचमा यो तेस्रो युद्ध थियो । यसअघि दुइवटा युद्धहरु भइसकेका थिए । सो युद्धमा भोट सैन्यको नेतृत्व सेथिया काजीले गरेका थिए भने नेपाली फौजको नेतृत्व स्वयं जंगबहादुर राणा र उनका भाइखलक बमबहादुर, धीरशमशेर, कृष्णध्वज र पृथ्वीध्वजले अलग अलग गौंडा र नाकामा रहेर गरेका थिए ।

तत्कालीन नेपालको राजनीतिले जंगबहादुर राणा (जंगे) को उदयपछि स्थायित्व पाइरहेको अवस्था थियो । जंगबहादुर आफू शक्तिमा आउनेबित्तिकै सेनाको सशक्तिकरणमा लागे किनकि उनी मानसिक रूपमा तिब्बतसँग लडाइँका लागि तयारीमा थिए । जंगेको यो हुट्हुटि किन थियो भने  दोस्रो युद्धमा भोटसँग नेपाल हारेपछिको सम्पन्न बेत्रावती सन्धीले नेपाललाई अपमानित गराएको थियो । त्यो सन्धी नेपालका लागि अतिशयोक्ति अहितकर थियो । जंगे  नेपालीको गौरव फर्काउन चाहन्थे । जंगे आफैंले पुरानो सैन्यसंख्यामा थपिने गरी १४ हजार नयाँ भर्ती गरेर भोटविरुद्ध युद्धको घोषणा गरे ।

यसरी थालिएको तेस्रो नेपाल-भोट युद्धमा नेपालीपक्षले जित्यो र थापाथली दरबारमा नयाँ सन्धी गरेर युद्धको अन्त्य घोषणा गरियो ।

यो नेपाल र तिब्बतको युद्धप्रसंगमा भूटान कसरी जोडियो त ? सबैको मनमा जिज्ञासा जाग्नसक्छ ।

अब लागौं भूटानतर्फको चर्चामा । नेपाल-भोटको त्यही युद्धमा भूटानले नेपालविरुद्ध भोटलाई सघाएको सन्देह राणाहरुले लिएका थिए । यसै कारण नेपालले भूटानसँगको पुरानो सम्बन्धलाई तत्काल तोडेको थियो । यो मित्रता तोडिएको सन्दर्भ राम राहुल भन्ने भारतीय लेखकले सन् १९७१ मा प्रकाशित आफ्नो कृति ‘मोडर्न भूटान-Modern Bhutan’ (आधुनिक भूटान) मा विस्तारपूर्वक उल्लेख गरेका छन् । सोही प्रसंग अर्का लेखक नगेन्द्र सिंहले पनि सन् १९७८ मा प्रकाशित आफ्नो पुस्तक ‘भूटानः हिमाली क्षेत्रमा अवस्थित एउटा राज्यः भूगोल, त्यसका प्रजा र उनीहरुको सरकार’ मा उल्लेख गरेका छन् ।

नेपालले भूटानप्रति किन त्यस्तो सन्देह गऱ्यो भन्ने सन्दर्भमा दुइ अलग अवधारणाहरु छन् । एउटा अवधारणामा नेपालले युद्धको क्रममा कब्जा गरेका युद्धबन्दीहरुमध्ये एकजना भूटानको नागरिक पनि पाइएको कारण भूटानले भोटलाई सैनिक सहायता गरेको नेपालपक्षको ठम्याइ थियो । अर्को अवधारणा अनुसार तत्कालीन तिब्बती शासक, ११  औं दलाई लामा खेद्रुप ग्यात्सोले भूटानका धेरै मानिसहरुलाई विभिन्न प्रलोभन देखाएर सेनामा सामेल गराएका थिए । सन्देहको कारण जेसुकै भए पनि त्यसको परिणाममा भूटान र नेपालबीच शताब्दि अघिदेखि स्थापित धार्मिक तथा परम्परागत सम्बन्ध एक झट्कामा तोडिएको थियो ।

सो युद्धमा नेपालविरुद्ध भूटान सामेल भएको सन्देहमा मुस्ताङ्गको इलाका छोडेर नेपालभित्र भूटानले पहिले उपभोग गर्दै आएका सम्पूर्ण धार्मिकक्षेत्र , अन्य सांस्कृतिक तथा आर्थिक गतिविधिमा रोक लाग्यो । मुस्ताङ्ग क्षेत्रमा चाहिं भूटानीहरुको वैवाहिक नातासम्बन्ध र रगतको साइनोसमेत स्थापित रहेका कारण भूटानविरुद्ध कदम चाल्दा मुस्ताङ्गसमेतले विद्रोह गर्ला भनेर नेपालले प्रतिबन्ध नलगाई छोडिदिएको थियो । अर्थात् मुस्ताङ्ग भनेको नेपालभित्रको एउटा भूटान थियो जुन राजनीतिक अधिकारबाहेक अन्य विषयमा अहिलेसम्म पनि सोही स्थिति कायम छ ।

यसरी सन् १८५५ मा नेपाल-भोट युद्धका कारण यी देशहरुबीचको सम्बन्धमा ठूलै आघात पुगेको थियो । भूटान भने युद्धपछिका छ वर्षसम्मको यस्तो तनावपूर्ण स्थिति हटाएर पुरानो सम्बन्ध पुनर्स्थापित गराउने प्रयत्नमा लागेको थियो । त्यसताका भूटानमा योन्तेन ग्याल्छेन जेखेन्पो (धार्मिक प्रमुख) थिए भने जाम्तुल जामयाङ तेञ्जिन ४१ औं देवाराजा [देशी] (राजनीतिक/प्रशासनिक प्रमुख) थिए

नेपालसँग बिग्रिएको सम्बन्ध पुनः सन्तुलित गराउने प्रयत्नस्वरूप राजा जाम्तुल जामयाङ तेञ्जिनले नेपाली मूलका तीनजना भूटानीहरू निनीराम सिंह, ध्वरिया र हरि सिंह सम्मिलित एउटा कार्यदल दिल्ली र काठमाडौंका लागि पठाएका थिए । सो अभियानमुखी कार्यदलले नेपालको तत्कालीन सरकारसमक्ष भूटानले नेपालविरुद्ध भोटलाई सहयोग नगरेको, नेपाल भ्रममा परेको भनेर यकिन गराउने प्रयत्न गरेको थियो ।

देशी तेञ्जिनले सो कार्यदलमार्फत दुइदेशबीचको आपसी सम्बन्ध पुनः पहिलेझैं कायम राखियोस् भन्ने आशयको अर्जीपत्रसमेत नेपाललाई पठाएका थिए । थिम्पूस्थित नेशनल लाइब्रेरीमा हालसम्म मौजुद, छ्योकी भाषामा लेखिएको सो पत्रको एकप्रति जसमा देवराजाको लाहछाप लालमोहर पनि लागेको बताइन्छ !

सो पत्रको ब्योहोरा केही भारतीय लेखकका पुस्तकहरूसहित त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल र एशियाली अनुसन्धान केन्द्रद्वारा प्रकाशित, अनुसन्धाता सुशिला मानन्धर (फिशर) को प्रतिवेदनात्मक कृति ‘नेपाल-भूटान सम्बन्धः एक ऐतिहासिक विवरण’ मा पनि समेटिएको छ ।

पत्रको मूलप्रति छ्योकी भाषामा रहेको हुनाले त्यसको अनुवादमा केही तलमाथि भएको हुनसक्छ । यद्यपि, त्यसको मूल आशयमा भूटान पक्षले नेपाल-भोट युद्धमा आफ्नो संलग्नता नभएको पुष्टि गर्ने प्रयत्न गरेको भन्ने अर्थमा फरक परेको छैन । सो पत्रात्मक आशयको एक अंश संक्षेपमा यहाँ राख्न चाहन्छु ।

नेपाल भोटको युद्धमा भूटानले भोटलाई सघायो भन्ने नेपालपक्षको सन्देह सर्वथा असत्य हो । हामी शदियौंदेखिको मित्रवत सम्बन्धलाई यसरी अपर्झट अन्त गर्न चाहँदैनौं ! खास कुरा के थियो भने युद्धबन्दी बनेका भूटानी नागरिक तिब्बतस्थित कालोन शेद्रा विद्यालयमा बौद्धधर्मको शिक्षा लिन अध्ययनरत सोनाम डेन्ड्रूप थिए । उनी भोटको सैनिकलाई सहयोग गर्न नभएर विद्यार्जन गर्न त्यहाँ रहेका थिए । भोटको अमन-चैन भनेको उसैको मात्र निजी चाहना हो । तर, हाम्रो खुशी भनेको गोर्खाका राजा र रैतीको खुशीसँग पनि सम्बन्धित छ । तपाइँहरुको तर्फबाट पठाइएको राजाज्ञ तपाइँका प्रतिनिधिबाट हामीले पायौं । सो आज्ञापत्रको सन्देशबाट म र मेरा प्रजा दुःखी छौं । हामीले भोटको पक्ष कहिल्यै लिएका छैनौं । कालोन शेद्रामा अध्ययनरत एक विद्यार्थी युद्धबन्दी बनेको कारण यो मिथ्याबोध भएर हाम्राबीचमा यो भ्रम सृजना भएकोमात्र हो । जे भए पनि पुरानो मित्रता यथावत राख्ने अभिप्रायले विद्यमान तनावको स्थिति हटाउन एकै अभिभावकका सन्तानझैं रहेका नेपाली मूलका यी रैतीहरूमार्फत यो स्पष्टोक्ति पत्र पठाउँदैछु !”

सो पत्र लिएर भूटानबाट हिँडेका निनीराम सिंह र उनको टोली अनेकौं बाधाहरु सामना गर्दै दिल्ली पुगेर कम्पनी सरकार र नेपालको नियोगमा निर्दिष्ट सन्देश बुझाएका थिए ।

भूटानको तर्फबाट यस्तो अर्जी आए पनि नेपालपक्षले तत्कालै प्रतिबन्ध फुकुवा गरेन भन्ने संकेत अर्को तथ्यबाट खुलेको छ । अर्को तथ्य के भने भूटानको तर्फबाट फेरि पनि नेपालका तत्कालीन कमाण्डर इन्-चीफ् कृष्णबहादुर राणालाई पत्रात्मक निवेदन लेखेर ‘परम्परागत धार्मिक सम्बन्ध अनुसार नेपालभित्र भूटानले पाउँदै आएको विभिन्न जग्गा स्वामित्वको अधिकार र अन्य सुविधामा प्रतिबन्ध फुकुवा गरीपाउँ’ भनेर अर्जी चढाइएको थियो । प्राध्यापक तथा इतिहासविद् रमेश ढुंगेलको ‘द किङ्डम अफ् ह्लो (मुस्ताङ्ग), अ हिस्टोरिकल स्टडी’ नामक कृतिले संकेत गरे अनुसार मुस्ताङ्गसहित परम्परागत रूपमा भूटानले नेपालभित्र हक लिएका जग्गाहरुमा नकथली, सिम्बू, हाकु, कल्यारी, किमाडोल पर्दथे ।

♦♦♦

2 Replies to “भूटान-नेपाल सम्बन्धका केही झलकहरू”

  1. Ratna Subba

    ईतीहासीक लेख धेरै राम्रे छ। प्रयास का लागी लेखक लाई हार्दिक बधाई। एक ठाउमा 1855 को सट्टा 1955 भएछ। सच्याउन जरुरी छ। यध्धपि यो टाईपींड मिस्टेक मात्र हो।

    नेपाल- भुटान पौरानीक सम्बन्ध देखी आदुनिक युग सम्म आई पुग्दै गर्दा धेरै उत्तर चडाब भएको पाईन्छ। तर अध्धयनका लागी सोर्सहरु तेती भेटीन्दैनन्। हाम्रे ईतिहास र आईडेनटीटी का लागी पनि ती तथ्यहरु खोजेर क्लीयर हुनु जरुरी छ। आगामी दिनहरुमा यस बिशय प्रति सबैके धयान जाओस॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *