भ्यालेण्टाइनले दान दिएको एक चोइटा प्रेम

Pennsylvania, America

Bhakta Ghimire is one of the editors of Bhutaneseliterature.com.

भक्त घिमिरे-

 

 

पृष्ठभूमिमा प्रेमदिवस

——ःः

एकदिन अघि संसारभरि ‘प्रेम दिवस’ को रूपमा ‘भ्यालेन्टाइन डे’ मनाइयो । फेसबुकभरि युगल जोडीका तस्वीरहरु टाँसिए । तर, सन्त भ्यालेण्टाइनलाई फाँसी दिएर हत्या गरिएको कुरा कतै पनि गरिएन । अर्थात्, भ्यालेण्टाइनले दान दिएको एक चोइटो प्रेमको उपहार थापेर सबै मक्ख परे !

तैपनि, फेसबुकमा तस्वीरको बिस्कुन लगाउनेहरुसित मलाई धेरै खुशी लागेको छ । कमसे कम हाम्रो समाजको रूढ चेतनामाथि यो बिस्कुन फिँजाइले एक किसिमको चुनौती तेर्छ्याइदिएको छ । यद्यपि, भ्यालेण्टाइन डे-को दिन फेसबुकी माईको गहुँत छर्केर आफ्ना तस्वीर चोख्याउने मित्रहरुबाट प्रेमको अन्तर्यलाई दर्शनचेतनाको मोडसम्म उठाएर विमर्शको चरणमा पुऱ्याउन त्यस्तो कुनै पहलचाहिं भइहाले जस्तो लागेन !

प्रेमको उत्सव मनाउँदा मनाउँदै यसको मूल्य पनि सँग-सँगै बुझेर सदुपयोग पनि गरिदिए हाम्रो सभ्यता र संस्कृतिको वैभव र महिमा पनि ‘…बसुधैव कुटुम्बकम…’ को वास्तविकतातिर लम्किन्थ्यो अनि साझा कल्याणको उपायतर्फ सामाजिक प्रगति पनि सम्भव हुन्थ्यो !

भ्यालेन्टाइन् डे-जसले जसरी मनाओस् तर, यथार्थमा यो दिवस पुरानो विश्वास र चालचलनका विरुद्धमा एक विद्रोह थियो । यो एउटा शहीद दिवस थियो । रोममा अनुमानित तेस्रो शताब्दीतिर राजदरबार र चर्चबीचको राजनीतिक दाउपेचमा चर्चका पुरोहित पादरी भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको दिन नै ‘भ्यालेन्टाइन डे’ हो ।

सम्राट क्लाउडियस द्वितीयले स्वास्नी र परिवार भएका सैनिकहरुले देशको लागि धेरै योगदान गर्न सक्दैनन् भनी उनको सेनाका कुनै जवानलाई विवाह गर्न दिएका थिएनन् । तर, सन्त भ्यालेन्टाइनले सैनिक जवानहरुलाई लुकी-छिपी चर्चमा आफ्ना प्रियसीहरुसित  विवाह गराइदिए ।

यो कुरालाई राजद्रोहको रूपमा करार गर्दै सन्त भ्यालेन्टाइनलाई कैद गरियो र मारियो । यसरी दरबारको हुकूमलाई मतलब नराखेर भ्यालेन्टाइनले युगल जोडीहरुको प्रेम-प्रणयलाई शिरोधार्य गरिदिएकै कारण भ्यालेन्टाइनको स्मरणमा यो दिवस मान्ने चलन शुरु भएको हो ।

यसलाई कुनै धर्म र जातविशेषको भनेर बिल्ला भिराउनु भन्दा पनि यो कुनै नीति, समाज, शासन र शासकबीचको आपसी सम्बन्धमा विद्रोह, एउटा मानवीय चेतनाको मोड वा रूपान्तरणको फड्को मान्नसके उचित हुने’थ्यो । भ्यालेण्टाइन डे-मनाउनेहरुको चेतनामा वास्तविक प्रेम हुन्छ कि हुँदैन, कसैलाई छामेर बुझ्ने कुरो भएन ! तर, प्रेममा सम्पूर्ण जीवनदर्शन समेटिएको छ ! यो भ्यालेन्टाइनको सन्देशले मात्र होइन, पूर्वीय सभ्यताको ज्ञान-चेतनाले पनि दर्शाएको कुरो हो ! प्रेम भनेको भ्यालेण्टाइनले दान दिएको एक चोइटो उपहारमात्र होइन ! प्रेम एक-व्यक्तिमा सीमित हुने कुरै होइन ।

प्रेमको विम्बात्मक प्रतीक भ्यालेन्टाइनकै प्रसंगमा पनि उनी एक्लैको स्मरण गरिएको छैन । रोमको दरबारभित्र मारिएका सन्त भ्यालेन्टाइनसँगै त्यो दिन रोमन देवी जुनोलाई पनि सम्झना गरिन्छ । तत्कालीन रोमन विश्वासमा जुनोलाई युद्ध र भूमिरक्षाका लागि योग्य-सन्तान उत्पादनको स्रोत अथवा दीव्य शक्तिदायिनी देवीका रूपमा मानिन्थ्यो ! पोप जेलसियसले रोमन देवी जुनो र सन्त भ्यालेन्टाइनको संयुक्त स्मरणमा सन् ४९६ को फेब्रुवरी १४ का दिन सर्वप्रथम विदाको घोषणा गरेका थिए । यही दिनदेखि मात्र भ्यालेण्टाइनलाई सन्त घोषित गरिएको हो । त्यस दिनसम्म उनी राजद्रोहीकै रुपमा चर्चित थिए ।

सन्त भ्यालेण्टाइन र देवी जुनोको सम्झना र आराधना गर्ने  यो चलन न इशाई परम्परामा त्यो भन्दा पहिले स्थापित थियो न त त्यसपछि नै मूर्तरूपमा रहेको छ ! बरु, आफूलाई वर्षैभरि इशाईविरोधीका रूपमा दर्त्याएका कथित वैदिक-महात्माहरुले पनि फेसबुकलगायतका सामाजिक सञ्जालमा ट्यास्स युगलतस्वीर टाँसेर रमाएका चाहिं प्रशस्तै देखिन्छन् यतिबेला । जे होस्, संसार ग्लोबल भिलेजको रूपमा विकसित भइरहेको परिप्रेक्ष्यमा सांस्कृतिक समभावको विकास हुँदै जानु कुनै नराम्रो कुरो होइन ।

खास गरी संसारका जुनसुकै संस्कृति-परम्परामा पुरुष र स्त्रीलाई प्राचीन अलौकिक स्रोतशक्तिका रूपमा विश्वास गरिएको छ । भ्यालेण्टाइनसँग प्रस्तुत गरिएकी देवी जुनोको प्रसंग पूर्वीय संस्कृतिका देवीहरुको व्याख्यानसित दुरुस्तै मिल्दछ ।

अतः वैदिक संस्कार-संस्कृतिमा देवता र देवीका रूपमा नर र नारीको पूजन भएझैं भ्यालेन्टाइन र जुनोको संयुक्त स्मरण गर्ने दिनका रूपमा १४ फेब्रुवरी स्थापित भएको थियो ।

यद्यपि, यस कुरालाई ऐतिहासिक आधारमा बुझ्ने वा बुझ्न खोज्नेहरु अत्यन्तै न्यून संख्यामा छन् । भ्यालेण्टाइन डे-मात्र होइन, सेतो छाला भएका अरबसागर पारि बस्ने जोसुकैले गरेका राम्रा-नराम्रा सबैखाले कुरालाई गहुँत छर्किएर पनि नचलाउने केही गेरुधारी कट्टरपन्थीहरु पश्चिमबाट उदाएका चलनचल्तीलाई आगन्तुक इशाई संस्कृतिको सूत्रधार मान्छन् र ‘भ्यालेन्टाइन डे-लगायतका पश्चिम प्रभावित चाड-पर्व मान्नेहरुले पूर्वीय संस्कृतिमा धब्बा लगाए’ भन्दै रुवाबासी गर्छन् ।

तर, म्यैकले र म्याक्समुलरहरुलाई बेस्सरी गाली गर्दै डेभिड फ्रावलेहरुसित रमाइरहेका देखेपछि यस्ता कट्टरपन्थीहरुको निष्ठाप्रति पनि सन्देह पैदा भइहाल्छ । अनि आफैंलाई खूबै आधुनिक ठान्ने केही ठेट्नाहरु भ्यालेन्टाइन डे नमनाउनेहरुलाई अनपढ, बुद्धु, प्रेमको अर्थ नबुझ्ने, मूर्ख, श्वाँठ, अन्धविश्वासी ठान्छन् । अनि प्रेम भनेको भ्यालेण्टाइनले दान दिएको उपहार सम्झन् । यी दुवैखाले चिन्तन प्रेमको लागि घातक छन् ।

प्रेम भनेको भ्यालेण्टाइन मरेपछि मात्र शुरु भएको उत्सव होइन; मानवीय चेतना जहिलेदेखि विकास भयो तबदेखि शुरु भएको संवेदनात्मक गुण हो भनेर आफैंलाई आधुनिक ठान्ने पुस्ताले बुझ्नु पऱ्यो । अनि आफूलाई धर्मात्मा, मौलिक आदर्शका हिमायती भनेर सम्झिनेहरुले पनि प्रेमजस्तो प्रकृतिप्रदत्त अलौकिक गुणको सन्दर्भ उठाउने कुरो जोसुकैले प्रचार गरेको होस्, सहजै सत्कार गर्न सक्नुपर्छ । व्यर्थमा किन किचकिच गर्नुपऱ्यो ? भ्यालेण्टाइनको नाममा प्रेम दिवस मनाइँदैमा हाम्रो दर्शनमा रहेको प्रेम शब्द र यसको आदर्श खोसिन्छ र ? अहँ-खोसिँदैन !

रामले हामीलाई भाइ-बन्धुप्रतिको प्रेम सिकाएका थिए, कृष्णले न्याय र समानतामुखी हबिगत निर्माणको, कर्तव्यप्रतिको प्रेम सिकाएका थिए । बुद्धले पनि हामीलाई हरेक जीवात्माप्रतिको प्रेम र करुणा सिकाएका थिए, के उसो भए यी सबै भ्यालेन्टाइनका समर्थक थिए ? शब्द, भाषा, इतिहासको परिभाषा कहाँबाट कता पुगिसकेको छ आज । संसार खुम्चिएर सानो गाउँझैं भइसक्यो । तर, हाम्रो सामाजिक बुझाइ अझै पनि १८ औं शताब्दितिरै डुलिरहेको छ दुःख लाग्छ । प्रेमप्रतिको बुझाइमा दुवै किसिमका अतिवादीहरु उस्तै उस्तै देखिन्छन् ।

पूर्वीय दर्शनले बताएको होस् कि पश्चिमा संस्कृतिबाट उदायको होस्, प्रेम सबै मानवका लागि एकै हो ।  प्रेम प्राप्तिमात्र होइन समर्पणमा पनि विद्यमान छ ! मानिसले प्रेमील भावनामा सन्तुष्ट बनेर जीवन भोग्नुपर्छ, परिवार र समाज निर्माण गर्नुपर्छ अनि त्यस्तै परिवारहरु जोडिएर विकसित हुँदै गएको सोचले संसारमा विभिन्न देश वा राष्ट्रहरु बनेका हुन् । संसारको वृत्ति सञ्चालन गर्नदेखि अलौकिक, निराकार प्रज्ञासम्म पुग्ने सोपानको रूपमा मानिसले प्रेमलाई उपयोग गर्न सक्छ ।

तर, प्रेमलाई आवेगमय यौनतृप्तिको उपायमात्र सोच्नेहरुको बहुसंख्या छ जतासुकै । युद्धमुखी वीरताको घमण्डी सोचबाट ओतप्रोत छिप्पट बुढाहरुले प्रेमलाई अपराध भन्दिएका छन्, यसबारे तलका अनुच्छेदहरुमा विस्तारपूर्वक चर्चा गरिनेछ । यता पखेटै नपह्लाएका चल्लाहरु पनि चारो टिप्न जान्ने भा छैनन् प्रेमको नाममा अस्ति नै चुच्चो जोड्नचाहिं जानिसकेका छन् !

प्रेम भनेको स्त्री-पुरुषबीचको रतिरागमात्र होइन, चुच्चो जोड्ने अख्तियार-पट्टा मात्र होइन ! सामाजिक जीवनको व्यावहारिक अभ्यासबाट सिद्ध हुने दोहोरो सम्बन्ध, अनेकतामा एकत्व कायम गराउने सद्भावनाको सूत्र प्रेममै छ भनेर यिनीहरुलाई कसले सिकाउने ? आलिंगनमात्र प्रेम होइन, वियोग पनि प्रेम हो ! प्राप्तिमात्र प्रेम होइन, त्याग पनि प्रेम हो ! ऐनामा अगाडिबाट हेर्दा प्रतिविम्ब देखिन्छ तर, त्यही ऐनामा प्रतिविम्ब नदेखिने पछिल्लो भाग पनि छ भनेर सबैले बुझ्नु आवश्यक छ !

प्रेम ! के भ्यालेन्टाइन दिवस मान्ने वा मनाउनेहरुले मात्र प्रेम गरेका हुन्छन् ? प्रेम त भ्यालेण्टाइनको जन्मभन्दा हजार वर्ष अघिदेखि हाम्रा सतीहरुले पनि गरेकै थिए । कृष्ण र गोपीनीहरुको कथामा प्रेमबाहेक अरु के छ ? विष्णु-लक्ष्मी, शिव-शक्ति, शंकर-गौरी, महादेव-सतीदेवीका कथाहरुले हामीलाई प्रेमको मूल्य सिकाएका छैनन् र ? ऋषि अत्रि र अनुसूयाको कथाले हामीलाई के सिकाएको छ ? अनि प्रेम कसरी अनैतिकताको भ्रूण बोक्ने अपराधी आचरण भयो भनेर हामी आफैंलाई सोध्न सक्तैनौं ? हाम्रा आदर्श सिकाउने गुरुहरुसमक्ष किन हामी यस्ता जिज्ञासा राख्तैनौं ? के प्रेम भनेको वास्तवमै घृणा गर्नलायक आचरण हो ?

 

प्रेम सनातन छ

——ःः

हाम्रा पूर्वजहरुले नजानेरै भए पनि प्रेम गरेकै थिए । नगरेका भए हामी यस धर्तीमा कसरी अवतरित हुन्थ्यौं ? प्रेम गर्ने सनातन परम्पराले गर्दा नै सृष्टिको प्रारम्भिक अवस्थामा मान्छे बाँच्यो । हाम्रा जिजु-च्याप्जु जन्माउने आदि-आमाले काखीमा शिशु च्यापेर नहिँडेकी थिइन् र आदि-बाबुले सिला-खोजेको शिकार बाँडेर आदि-आमालाई नखुवाएका भए मानव जीवनको शृंखला तन्किएर हामीसम्म आइपुग्ने नै थिएन । यसर्थ, प्रेम स्त्री र पुरुषका बीचमा यौन-चाहना दर्शाउने कडीमात्र होइन । स्त्री र पुरुषका बीचमात्र हुने प्रेमको पनि एउटै रुप हुँदैन । परिबन्दको प्रेम, व्यवहारको प्रेम, भावनात्मक संवेगको प्रेम, पूर्ण समर्पणको प्रेम आदि आदि धेरैखाले रुप छन् ! भ्यालेन्टाइन डे मनाएर बुझ वा नमनाइकन बुझ तर, प्रेम भनेको एक च्वाक चुम्बन र एकथुँगो गुलाफमात्र होइन ! प्रेमी वा प्रेमिकाले एकदिन ल्याइदिने उपहार पनि होइन प्रेम । प्रेम जीवन हो । सम्पूर्ण जीवनको स्रोत हो प्रेम ।

प्रेमबिना मानव जीवनको कल्पना गर्नै सकिन्न । प्रेममा यौन सम्मिलित छ तर, मानव-प्रेम यौनमै सीमित मनोरञ्जन मात्र होइन । यौन प्रेमको एउटा सामान्य पक्ष हो । सामाजिक सद्भाव, पारिवारिक संगठन, जीवन-मोह र जिउने क्रमलाई टेवा दिने आधार हो प्रेम । दुइ हृदयबीचको प्रबल भावावेश हो प्रेम । यसले नर-नारी दुवैलाई ऊर्जा दिन्छ । प्राचीनकालको आदिम प्रवृत्ति पनि प्रेममयी थियो । प्रेम नै मानवको सामाजिक आधारशीला निर्माण गर्ने कडीको रूपमा प्रतिष्ठित थियो तर, कालान्तरमा तथाकथित धर्मको नाम लिएर उदायका नश्लीय सम्प्रदायहरुले बनाएका नीति-नियमद्वारा प्रेमको विशालतालाई चट्टानजस्तो कठोर बनाउँदै लगियो ।

प्रेमलाई कामवासनासित जबरजस्ती जोडेर हेरियो । तथापि, कामवासना पनि अपराध थिएन । जीवनको स्रोत नै कामवासना हो । आजका ‘स्थापित धर्म’ को नाममा कलुषित आडम्बरी अन्धविश्वासहरुको निर्माण हुनुभन्दा पहिले नै वेदले काम (यौनाभूति) बारे कुरा गरेको थियो । प्रेमका लागि देव-देवीहरु स्थापित भएका थिए- कामदेव र रतिदेवी । वेदको ‘नैषधीय’ सूक्तमा कामबारे व्यापक चर्चा छ- “सृष्टिअघि सर्वत्र निशाले छोपेको थियो तर रात र दिन थिएन ! कालक्रमको निर्धारण भएपछिमात्र रात-दिन बनेका हुन् ।”

प्राचीन विद्वतजनले यसलाई ‘पुरुषबाट प्रकृतिको कामना भएको’ भनेर व्याख्या गरे । त्यो निशा (अँध्यारो) मा सत्य-असत्य, अमृत-मृत केही पनि थिएन । त्यस्तो अवस्थामा ‘परमात्माले काम-शक्तिमार्फत ब्रह्माण्डको सृष्टि गरे’ भनिएको छ ।

‘कामस्तदग्रे  समवर्तताधि  मनसो  रेतः  प्रथमं  यदासीत्।

सतो बन्धुमसति निरविन्दन् हृदि प्रतीष्या कवयो मनीषा।।’  (नासदीय/नैषधीय सूक्त-ऋग्वेद-दशं मण्डल)

अथर्ववेदले पनि जीवको शारीरिक सम्बन्ध र प्रेमबारे कैयौं ऋचाहरु उल्लेख गरेको छ ।  शारीरिक प्रेमबारे ईसापूर्वमै अनेक शास्त्रहरु रचिएका छन्-वात्स्यायनको कामशास्त्र, कल्याणमल्लको रस-रंगतरंग, कोक्ककको कोकशास्त्र र अरू थुप्रै यस्ता कृतिहरु । महाकाव्यकालको वर्णन गर्नपरे-वसन्तवर्णन, वर्षावर्णन, शरदवर्णन । नाट्यशास्त्र र काव्यशास्त्रहरूले रतिका लागि शृंगार रस स्थापित गरिदिएका छन् । प्राचीनकालमै नगर परियोजनाहरुमा रमणीय उद्यान र प्रेमालाप गर्ने स्थलहरु बनाइएका थिए ! अहिले भ्यालेन्टाइन डे भन्नेहरूलाई वात्स्यायन, कल्याणमल्ल, कोक्कक, कालिदास आदि को हुन् भनेर थाहै नहुन सक्छ !

प्राचीनकालमा पूर्वीय संस्कृतिको प्रभाव रहेका क्षेत्रहरुमा वसन्त-उत्सव अथवा शरद् पूर्णिमा, कार्तिक पूर्णिमालाई प्रेम दिवसको रूपमा मनाइन्थ्यो । प्रेम एक मानिस र अर्को मानिसका बीचमा मात्र सीमित थिएन । राष्ट्रप्रेम पनि सँगै थियो । त्यही भएर राष्ट्रप्रेमको अवधारणा दर्शाउनः

“मित्राणि धन धान्यानि प्रजानां सम्मतानिव ।

जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी ॥”

जस्ता श्लोकहरु बनेका थिए ।

यद्यपि, बुद्धको धार्मिक जागरणकालपछि अधिकांश युवाहरु सन्यासी भिक्षु बनेका बेला देशमा प्रजाको अभाव हुनथाल्यो । प्रजाहरुको संख्या निरन्तर चलोस् भनेर  प्रेममयी यौनाशक्तिको आदर्श फैलाउन यस्ता दिवसप्रति त्यसबेलाका राजाहरुले चासो राख्न थाले । प्रजनन् नरोकियोस् भनेर यौनजन्य कामुकता बढाउने अभिप्रायले भारतमा  प्रशस्तै यौनजन्य मैथुनरत चित्रहरु कुँदिएका खजुराहो, कोनार्क आदि मन्दिरहरु बनाइयो भने नेपालतिर पनि मन्दिरका टुँड़ालहरुमा त्यस्तै प्रतिमाहरु कुँदिए । तबदेखि नै निश्चल प्रेममाथि बादल लाग्दै गयो, विवाहमार्फत परिवारको सूत्रपात हुनथाल्यो र, प्रेमलाई यौनजन्य क्रीडाको रूपमा मात्र व्याख्या गर्न थालियो ।

त्यसपछि क्रमशः प्रेमलाई स्त्री-पुरुषबीचको यौनचाहना र सन्तान उत्पादनको स्रोतकै रूपमा सीमित गराएर एकोहोरो व्याख्या गरियो । यही कारण हाम्रो सामाजिक आदर्शमा पहिले नै प्रेमको घाँटी निमोठेर निर्माण गरिएका सामाजिक इकाईहरुमा पारिवारिक पवित्रताको महिमा र स्तुतिको व्याख्या गरिएका ग्रन्थहरु लेखिए । यस्तो किन भयो भने हाम्रो समाजको आधार विवाहबाट निर्मित परिवारको जगमा अडिएको छ ।

मानिसहरुलाई तिम्रो परिवारमा प्रेम छ, हुनैपर्छ भनेर बारम्बार सम्झाइरहनुपर्ने थियो, विज्ञापन गरिरहनुपरेको छ । त्यही भएर पारिवारिक आदर्शका ठेलीका ठेली ग्रन्थहरु निर्माए भएका हुन् । तपाईंलाई थाहा छ निः कुनै उपभोग्य वस्तुमा गुणवत्ता छैन भने त्यसको धेरै विज्ञापन गर्नुपर्छ । त्यही चीजको दाम धेरै हुन्छ । यसरी नै प्रेमरहित आदर्शबाट बनेका परिवारहरुका लागि ती प्रेममयी श्लोकका ग्रन्थहरु समग्र समाजको चिन्तनमा गलगाँडशिवाय अरु केही साबित हुनसकेका छैनन् ! समाजको चिन्तन अहिले पनि १८ शताब्दिभन्दा अघि बढ्न सकेको छैन ।

विवाहद्वारा प्रेमको जन्म गराउन कुनै हालतमा सम्भव छैन । किनभने प्रेम उत्पादन गरिने वस्तु होइन । यो संवेदना हो जो हृदयबाट स्वतः जागृत हुन्छ । तर, विडम्बना नै भनौं; हाम्रो सामाजिक आदर्शले प्रेम भनेको उपदेशबाट निर्माण हुने भावनात्मक नाताको रूपमा बुझाउन जबरजस्ती गऱ्यो । त्यसमाथि प्रेमलाई नारीको मात्र गुण बनाइदियो । नरका लागि प्रेम-विरुद्ध निर्मम वीरता वा सौर्य भाग लाग्यो । युद्ध जीत्नु, अरुलाई निर्ममरूपले वशमा पार्नुलाई नै पौरुषीय गुणको रूपमा व्याख्या गरियो । नृशंसता, वलिष्ठता र वीरता नभएको पुरुषलाई घृणा गर्दा कि त चुरा-पोते लगाइदिने अथवा ‘नपुंसक’ भनेर गाली गर्ने चलन अझै समाजले अँगालिरहेको छ । अझै पुरुषले रुनु हुँदैन, कोमलता प्रस्तुत गर्नै हुँदैन !

यद्यपि, यस्तो चलनको सूत्रपात कहिलेदेखि भयो भनेर ठ्याक्क किटान गर्ने तथ्यचाहिं भेटिँदैन । पौरुषीय वलिष्ठताकै परीक्षणका लागि द्रौपदी स्वयंवरमा अर्जुनलाई वाण चलाउन लगाइएको थियो । सीताको स्वयंवरमा रामलाई शिवधनु उचाल्न लगाइएको थियो । कुरो त्यतिमात्र होइन, देवव्रतले अम्बा, अम्बिका र अम्बालिकालाई आफ्ना बुहारीको रूपमा वरण गर्नलाई काँशीका राजासित युद्ध नै गरेका थिए ।

महाभारतको व्याख्या अनुसार अम्बाले राजा शाल्वसित राखेको प्रेमसम्बन्धलाई देवव्रत (भीष्म) ले पूरै उपेक्षा गरेर लत्याइदिएका थिए । कृष्ण स्वयंले राधासितको आदर्शमय प्रेम लत्याएर रुक्मिणी, सत्यभामासहित ८ जनासँग विवाह गरेका थिए । द्रौपदीको प्रेमलाई उपेक्षा गरेर युधिष्ठिरले जुवामा दाउ हानेका थिए । रामले प्रेममयी सीतालाई लंकामा युद्ध लडेर फिर्ता ल्याए पनि एउटा धोबीको चित्त बुझाउन फेरि सीतालाई त्यागेका थिए ।

यसरी जन्मदेखि मृत्युसम्म नै प्रेमप्रतिको बुझाइमा हाम्रो सामाजिक जीवनको यात्रा गलत हुँदै आएको छ । अबको सामाजले यस्ता यथार्थहरुमाथि पुनर्विचार गर्नु जरुरी छ ।

 

प्रेमः बुझाइमा अन्योल

——ःः

सदियौंदेखि अहिलेसम्म हामी सामाजिक सद्भावना र प्रेमको कामना मात्र गरिरहेका छौं तर, उपलब्धि शून्यप्रायः छ । आखिर प्रेममा केचाहिं गलत छ हँ ? तपाईंले कहिल्यै चिन्तन गर्नुभएको छ-तपाईंको परिवार किन सदियौंदेखि प्रेमको शत्रु बनेको हो ? समाज प्रेमको शत्रु बनेको छ भनेर तपाईंले कहिल्यै सोच्न भ्याउनु भएको छ ?

के तपाईंलाई कहिल्यै सोचाइ आएन-हाम्रो आदर्श निर्माणको क्रममा राजा मनुदेखि लिएर आजसम्मका नीतिकारहरु किन प्रेमका विरोधी भए ? सामाजिक जीवनको केन्द्र भनेको परिवार हो । प्रेमले मात्र परिवारमा शान्ति कायम गर्दछ । तर, परिवार निर्माणको शृंखला प्रेमबाट उठेको हुनुपर्नेमा वैवाहिक कानूनको आधारमा खडा गरिएको छ । यसरी सदियौंदेखि मान्छेको आधारभूत पारिवारिक विकासको जग नै खस्कियो । प्रेमको केन्द्रबाट परिवारको संगठन विस्तार गर्नुपर्नेमा विवाहको केन्द्रबाट निर्माण गरिएकोले हाम्रो सामाजिक आस्थाको जग कमजोर धरातलमा अडिएको छ ! आदर्शवान समाज निर्माणको क्रममा योजतिको मिथ्या, कपोकल्पित नौटंकी के हुनसक्छ ?

प्रेम र विवाहबीचको सम्बन्ध कस्तो हुनुपर्ने हो-सन्तुलित चिन्तन नै छैन ? प्रेम भनेको दुइ-हृदयको युगलबन्दी हो ! तर, हाम्रो सामाजिक आदर्शले प्रेमलाई केवल स्त्रीमुखी गुणको रुपमा बुझेकाले यो कहिल्यै साझा उपयोगको विषय बन्न सकेन ! प्रेम दोहोरो हुन्छ, अर्थात दुइ हृदयबीच मौन आदान-प्रदानबिना प्रेम सम्भव छैन ।

प्रेमबाट विवाह सम्भव छ तर, विवाहबाट प्रेमको उत्पति सम्भव छैन । यतिमात्र बुझ्नसके पनि समाजले उन्नतशील फड्को मार्ने थियो । प्रेम भनेको अलौकिक मानवीय गुण हो जसभित्र शान्तिको बीज हुन्छ । तर, विवाह भनेको लौकिक (मानवजन्य) व्यवस्था हो जसभित्र कानुनी दण्डविधान, वंश र सम्पत्तिको हिसाब-किताब मात्र हुन्छ । विवाह भनेको सामाजिक संस्था हो अनि प्रेम भनेको प्रकृति प्रदत्त चैतन्य गुण हो । प्रेम प्रकृतिको वरदान हो । प्राणको कुनाबाट स्वतःस्फूर्त पैदा हुने तरंग हो प्रेम ।

तर विवाह ! विवाह कानून, नियम र शर्तहरुमा अडिएर समाजले जबरजस्ती ठोकठाक गरी बनाएको व्यवस्था हो । हाम्रो आदर्शले समाजलाई वैवाहिक व्यवस्थाको केन्द्रबाट निर्मित परिवारको इकाईमा लगेर घोप्ट्याइदिएको छ ।

हामीले मानिलिएका छौं कि विवाह गरिदिएपछि दुइ व्यक्तिमा प्रेम उम्रिन्छ र आफैं फैलाउँदै जान्छ ! अचम्म छ, वैवाहिक व्यवस्था लागू भएको हजारौं वर्षमा पनि हामीलाई यसले पुऱ्याएको क्षतिबारे कुनै आभास भएझैं लाग्दैन ! परम्पराको ढोंगमा हामी अझै पनि अन्धाझैं छौं । हामी सबैलाई थाहा छ; विवाह भनेको बन्धन् हो !

पहिले प्रेमालाप नभएका, प्रेमको अनुभूति नलिएका दुइ मानिसलाई एकठाउँमा बाँधेर ‘लु प्रेम गर’ भन्दैमा प्रेम कसरी पैदा हुन्छ ? जसले आफू बाँधिएको अनुभूत गर्दछन्, उनीहरुले एकार्कामा कसरी प्रेमील वरताव गर्न सक्छन् ? उनीहरु त त्यो बन्धनबाट मुक्ति चाहन्छन् !

प्रेम भनेको मुक्त, स्वतन्त्र, स्वच्छतामा निर्माण हुने भावनात्मक सम्पत्ति हो । निश्चल स्वतन्त्रताको भूमिमा प्रेमको जन्म हुन्छ र जहाँ कुनै बन्धन छैन, जहाँ कुनै जबरजस्ती छैन, जहाँ कुनै कानून र दण्डको रडाको छैन त्यहाँमात्र प्रेम बाँच्छ । प्रेम भनेको व्यक्तिको हृदयबाट प्रष्फुटित हुने आत्मदान हो, बन्धनयुक्त कारागार होइन । तर हामीले आजसम्मको सामाजिक सभ्यतालाई प्रेमबाट वञ्चित गरिदियौं जसको परिणाम घर घरमा द्वन्द, बेमेल र हिंसा फष्टाइरहेको छ । घर घरमा अविश्वास छ, घृणा छ, वैमनस्यता छ अनि हामी हाम्रो आदर्शमार्फत ‘विश्वशान्ति’ चाहिएको फलाको अलापिरहेका छौं !

हामीलाई थाहा छ नि विवाह भनेको सम्झौता हो । सम्झौतामा अडिएको विश्वास र भरोसा कतिबेला भत्किन्छ, कसैलाई थाहा हुँदैन । अल्पमतका राजनीतिक दलहरुको मिलिजुली सरकारजस्तै हो प्रेमबिनाको वैवाहिक सम्बन्धबाट बनेको पारिवारिक व्यवस्था ! जबरजस्ती कानून लगाएर खडा गरिएको पारिवारिक व्यवस्था र शान्ति पनि कतिबेला भंग हुन्छ निश्चित हुँदैन ।

हाम्रा सामाजिक कानूनहरुले युवा-युवतीहरुको मनमा पैदा हुने प्रेमको भ्रूणहत्या गरिदिन्छन् । हामी भन्छौं, ‘प्रेम पाप हो’, अनि फेरि भन्छौं,‘विवाह गरिदिएपछि प्रेम विकास हुनुपर्छ !’ यो दोहोरो रणनीतिक चेतना अब फेरिनु आवश्यक छ कि छैन ?

विवाहपछि परिवार बन्छ, सन्तान उत्पादन पनि हुन्छ । तर, प्रेमको उत्पति र विकास जबरजस्ती हुँदैन । कथित मर्यादाको बन्धन् मात्र हुन्छ विवाह । यस्तो बन्धनबाट मुक्त हुन मानिस (स्त्री वा पुरुष दुवै) प्रेमको खोजीमा परिवारभन्दा बाहिर निस्किन्छन् । यसरी हरेक परिवारमा अविश्वास, कलह र द्वेष फैलिएको छ । जसलाई हामी गृहस्थी भन्छौं त्यो संघर्ष, कलह, द्वेष, इर्ष्या र चौबिस घण्टा उपद्रो मच्चाउने अड्डा बनेको छ ।

तथापि, हामी कस्ता अन्धा बनिरहेका छौं कि यो सब नदेखेको भान पार्छौं ! जब हामी घरबाट बाहिर निस्कन्छौं, मुस्कानको छटा छर्दै जान्छौं । सबैले घरभित्र आँसु पुछेर बाहिर आउँछन् । बाबु, आमा, छोरो, बुहारी, छोरी ज्वाइँ सबै ढोकाभन्दा बाहिर हाँसेका देखिन्छन् । तर, यो सब झूटो हो, अरुलाई देखाउने मर्यादाको बर्की ओडिएको हो भनेर सबैलाई थाहा छ । घरभित्रका सबै अनुहारहरु प्रफुल्लित छैनन्, रुग्न रुग्न, त्यतिकै विह्वल मुद्रामा बाँचिरहेका छन् ।

यस्तो द्वन्दयम संघर्षको भविष्य-परिणाम के होला ! यस्तो परिस्थितिका दुइवटा परिणामको अनुमान गर्न सकिन्छ ।

१. प्रेमबिनाको रिक्त जीवनमा मानिसले आत्मतृप्ति प्राप्त गर्दैन । प्रेम नै मानिसको व्यक्तित्वलाई कुशल र सफल बनाउने केन्द्रविन्दु हो । जब प्रेमको अभाव हुन्छ, मानवजीवन अपूर्ण हुन्छ । सधैं अधुरो, अतृप्त, तड्पित् बनेर माग गर्दछ ‘मलाई तृप्ति चाहियो ।’ यसरी तड्पिरहेको बेचैन व्यक्तित्वले समाजलाई के दिनसक्छ ?

२. विवाहमार्फत प्रेम फेला नपरेपछि प्रेमको खोजीमा निस्किएको बेचैन मान्छे अर्को ठाउँमा पुगेर फेरि बेचैनी नै रोप्छ । बेचैनी उमार्छ र बेचैनी नै फलाउँछ ।

विवाहपछि प्रेम नै भइहाल्यो भने पनि त्यो जबरजस्ती पैदा गरिएको ‘कल्टिभेटेड’ प्रेम हुन्छ जो अहिलेको कृषि प्रणालीमा स्याउको बोटमा अंगुरको हाँगा जोडेर फलाएजस्तो व्यवस्था ! यस्तो प्रेम वास्तविक हुँदैन, प्राणतन्तुबाट सहज पैदा भएको प्रेम त्यो होइन । त्यो त केवल वासनामय, यौनतृप्तिको लागि मोह जगाउने आशक्तिमात्र हो । यसको जराले यथेष्ट मलजल सिञ्चेको हुँदैन । सम्भवतः यो जराबाटै कुहिएको हुन्छ ।

जसलाई हामी विवाहद्वारा उत्पन्न प्रेम भनिरहेका छौं, त्यो प्रेममा प्राणमयी अन्तरंगबाट पैदा भएको विद्युतीय ऊर्जा छैन । त्यहाँ केवल सामाजिक मर्यादाको औपचारिकता छ । लोभ, प्रतिष्ठा, वंशविस्तार तथा भविष्यमा चाहिने सम्पत्तिको जोहो र सुरक्षाको चिन्ता अधिक हुन्छ । अनि प्रेमको जलप नै लागिहाल्यो भने पनि केवल वासनाको, यौनसुखको क्षणिक मोह हुन्छ । यौनक्रीडाको अघि पछि एउटा भाले पशुले पनि पोथी पशुलाई चाटिदिन्छ, कन्याइदिन्छ निः अथवा एकार्कामा त्यो क्रम चल्छ … यौनमुखी प्रेमको महत्व पनि त्योभन्दा अधिक छैन !

पूर्व होस् कि पश्चिम, प्रेमको अभावमा आज सारा जगत पागल बनिरहेको छ । यी सबै पागलहरु हरेक परिवारबाट पैदा भएका हुन् । पागल भएरै मानिसले ज्यान फालेका छन् । वैरागिएर विक्षिप्त बनेका छन् । एक घण्टामा संसारभरि एक हजारभन्दा बढी मानिसले देहत्याग गरेका तथ्यांकहरु धमाधम बाहिर आउँछन् । तर हामी चिच्याइ चिच्याइ भनिरहन्छौं, ‘हाम्रो समाज एकदमै महान छ, ऋषिमुनिहरुले यसको निर्माण गरेका हुन् !’ हामी चिच्याउँदै भनिरहेका छौं,‘हाम्रो सामाजिक आदर्शमा धेरै विचार पुऱ्याएर पारिवारिक वंशको आधार राखिएको छ !’

 

कथित सन्तुष्टिको पागलपन

——ःः

शायद, प्रेमको अभावमा हामी सबैजना उस्तै, एकै किसिमको रोगले ग्रस्त भएका कारण एकले अर्कोलाई बिरामी भनेर चिन्न सकेका छैनौं ! तर, यथार्थमा हाम्रो पागलपनले समाजलाई दिनदिनै जलाइरहेको छ । सबै उस्तै भएपछि हामीलाई आफू रोगी भएको थाहा पाएर पनि सन्तुष्टि मिल्छ । ऊ पनि, त्यो पनि, तिनीहरु र उनीहरु पनि मजस्तै छन्, के बिग्रिएला र…भन्ने सोच पालेर हामी ढुक्क हुन्छौं । यही जीवन हो भन्ने भ्रान्ति हुन्छ । अनि जब कसैलाई पीडाको तिखो सुइरोले घोचिन्छ, हामी सहजै भन्दिन्छौं, ‘यस्तो त युगौं पहिले फलाना ऋषिले फलानो पुस्तकमा भन्दिएकै थिए, जीवन यस्तै हो, भोग्नैपर्छ !’

यहाँनेर एउटा कथा सुनाउन उत्सुकता जाग्यो । कृपायः अनुमति प्रदान गर्नुहोला ।

प्रेमरहित आदर्शको कारण एउटा देशमा हत्या-हिंसा बढिरहेको थियो । एकदिन राजाले आफ्नै रैतीहरुलाई सधैं वशमा कसरी राख्न सकिन्छ भनेर राजपुरोहितलाई सोधे ! राजपुरोहित गुरुले गाउँको कुवामा मानिस बहुलाउने औषधि लगेर हाल्दिन उपदेश दिएछन् !

आफना सेना खटाएर राजाले गुरुको उपदेश पालन गरेछन् !

त्यस गाउँमा जम्मा दुइटा कुवा थिए । एउटा राजा र दरवारका भारादारहरुले पानी खाने अनि अर्कोचाहिं गाउँका मानिसहरुले पानी खाने ।

गाउँको कुवामा बहुलाउने विषादी परेको कुरा सुनेर राजदरवारका सबै भारादारहरु आनन्दित थिए । ‘हाम्रो कुवामा कुनै जहर पसेको छैन, हामी सज्जन रहन्छौं; बहुलाउँछन् त, गाउँकै मानिसहरु बहुलाइरहुन् ।’ प्रजाप्रतिको प्रेम र करुणा बिर्सिएका राजा पनि यही कुरो सोचेर ढुक्क थिए ।

तर, भोलिपल्ट सारा गाउँ उल्टिएर दरवारमा आइपुग्यो र राजा पागल भएको घेषणा गऱ्यो ! पागल राजालाई गद्धिमा बस्न नमिल्ने भन्दै भीडले अपदस्थ गर्न लाग्यो ! भीडले दरवारको जग भत्काउन थाल्यो ।

यो देखेर आत्तिँदै राजाले मन्त्रीलाई सल्लाह मागे ! मन्त्रीले गाउँको कुवामा गएर पानी पिएपछि सबै समस्या समाधान हुने बताइदिए र आफू पनि हतारिँदै गाउँको कुवातिर दौडिए ! अरु उपाय थिएन, राजा र राजपरिवारका सदस्यहरु पनि मन्त्रीकै पछि पछि दौडिँदै गएर कुवाको पानी पिए ! त्यसपछि त सबै समान भए, एकाकार भए ! मन्त्री र राजपरिवार पनि खित्खिताएर हाँस्तै भीडमा गएर मिसिए । राजालाई संकटबाट मुक्ति मिल्यो ! त्यसपछि त भीडले तिनै राजाको नाममा उत्सवगान गर्न थाल्यो ! “हाम्रो राजा महान, दयावान, प्रजाबत्सल”, भीडले यसरी अटूट जयगान गरिरह्यो !

हो, हृदयमा प्रेम रित्तिएका ती राजाझैं हामी पनि आफ्नै मनको दरवार र घमण्डको राज्यसत्ता जोगाउन आफ्ना आदर्शका रैतीहरुसँगै बहुलाउन बाध्य छौं । आफैंलाई महत्वहीन ठानेर जीवनप्रतिको प्रेम बिर्सिने अनि सधैं दुःखी बन्नेहरुको प्रभावमा कुरो बुझ्नेहरु पनि दुःखी बनेका छौं । त्यसमाथि अझै दुःख थप्न प्रेमलाई घृणित आचरण बताउँदै घृणालाई, विभेद र अवहेलनालाई कथित धर्माचरणको आवरण भिराएका छौं !

वास्तवमा प्रेम छ भने जीवन दुःखी छँदैछैन, प्रेम त्यागेर हामीले आफैं जीवनलाई दुःखी बनाएका छौं ।  ऋषिमुनिहरुले भनेका कुरा सबै मनन, चिन्तन गरी, विश्लेषण गरी अनुभूतिद्वारा त्यस्तो आदर्शको उपभोग हामी गरिरहेका छैनौं । ‘जीवन असार छ, सीमित छ, क्षणिक र भ्रान्तिमय छ । यसबाट छुट्कारा लिनुपर्छ । छिट्टै मृत्युवरण गरी अनन्त, दीव्य धाममा जानुपर्छ’, भन्छौं एकातिर अनि व्यवहारमा चाहिं ‘यो संसार मैले चाहेजस्तो मात्र हुनुपर्छ, अरु सबै दुखुन् कि मरुन् तर, मचाहिं सहजले बाँच्नुपर्छ’ भनेर लिँडेढिप्पी गरिहरन्छौं । यो धर्ती, आकाश, वायु, अग्नि, जल र सारा चराचर मेरो कारणले अस्तित्वमा अडिएको छ भनेझैं गर्छौं । जतिसुकै उपदेश सुनेर पनि प्रेमलाई घृणा गर्ने र घृणालाई धर्म मान्ने परम्परा हामीले त्याग्न सकेनौं !

प्रेममय जीवन नै परमगति हो । मोक्षको मार्ग हो । जीवन छँदै हामीले चैतन्यको उपयोग गरेर परमगति लिनसकिन्छ, लिनुपर्छ भन्ने दार्शनिक चिन्तनलाई आ-आफ्ना गुट निर्माणको उद्देश्यमा जतासुकै बटारेर हामी अरुलाई पनि आफूजस्तै बहुलाउन बाध्य पारिरहेका छौं । जीवन नै प्रमात्मा हो, जीवनको स्रोतस्वरूप प्राण ऊर्जा नै ईश्वरीय अंश हो । त्यो जो जीवनको सारबाट भाग्न खोज्छ त्यो प्रमात्मादेखि भागेको ठहर्छ । जीवन र जगतलाई मिथ्या भन्नेहरुको कारण पो संसार भ्रममा परिरहेको छ कि ? प्रेमलाई दुर्बलता र अपराध ठान्नेहरुबाट पो यो संसारलाई प्रताडित गरिँदैछ कि ? चिन्तन गर्ने बेला भयो हैन र?

 

प्रेममा चरित्रको प्रश्न

——ःः

हामीले सानैदेखि सुन्दै आएका छौं,‘जुन कुरो अनित्य छ, त्यो सांसारिक वस्तु हो । त्यो भ्रम हो, सपना हो । त्यस्तै लौकिक मोह हो प्रेम पनि । प्रेम भनेको पाप हो; यसले घरबार बिगार्छ ! विद्यार्थीको पढाइ बिगार्छ, किसानको खेत बिगार्छ, धनीको सन्पत्ति नाशिन्छ । राजाको राजपाट र ऋषिहरुको तपस्या पनि बिगार्छ !’ प्रेमलाई स्त्रीको नशालु मादकता, पुरुषको यौनाशक्ति अनि यस्ता स्त्री-पुरुषबीचको यौनिक नाताको अर्थमा मात्र बुझ्ने शठहरुको कुरा हो यो । तर, बिडम्बना ! विश्व यस्तै सोचको प्रभावमा चलिरहेको देखिन्छ । स्त्रीलाई एउटा उपभोग्य वस्तु ठान्ने पौरुषिक चेतना त छँदैछ तर, स्त्री स्वयं पनि यही चेतनाबाट द्रवीभूत छन् !

 “नृपस्य चित्तं, कृपणस्य वित्तमा; मनोरथाः दुर्जनमानवानाम्।

त्रिया चरित्रं, पुरुषस्य भाग्यम्; देवो न जानाति कुतो मनुष्यः।।”

(राजाको चित्त, लोभीको धन, दुर्जनको इच्छा, पुरुषको भाग्य र स्त्रीको चरित्र देवताले पनि जान्दैनन् भने मान्छेको त कुरै छोडौँ !)

मनुस्मृति र महाभारतमा रहेको यो माथिका दुइ हरफको श्लोक पुरुषहरुले मात्र भन्ने वा गाउने गीत होइन । नारीहरु पनि यो पढेर खुशी हुँदै रमाएकै देखिएका छन् ।

स्त्रीको चरित्र बुझ्नु जरुरी ठान्ने यो भनाइका विपरित स्त्रीहरुले पुरुषको चरित्र बुझ्ने आवश्यकता आजसम्म ठानेका छैनन् कि ? यतिसम्म कि आफ्नो लोग्नेप्रति शंका लागे, रिस उठे, अविश्वास बढे पनि स्त्रीहरुले पहिले आफूजस्तै अर्की स्त्रीलाई नै धारे हात उज्याउँछन् । यो कस्तो विडम्बना हो ? के प्रेम भनेको यति नै हो त?

 

प्रेम शब्दको दुरुपयोग

——ःः

यति कुरा गरिसकेपछि हामीले समाजमा चलेका चरित्र, स्वभाव, प्रेमजस्ता जो अमूर्त शब्दहरु सुनेका छौं, तिनको व्यापक दुरुपयोग भइरहेको रहेछ भनेर बुझ्नै पर्ने हुन्छ ! चरित्र स्त्रीमै मात्र हुनुपर्ने, प्रेम र करुणा स्त्रीमै मात्र हुनुपर्ने, शील-स्वभाव स्त्रीमै मात्र हुनुपर्ने अनि त्यो स्त्रीलाई सधैं तुच्छ र कमजोर सम्झिरहने, प्रेमलाई अपराध मान्ने चेतनाले समाजमा कहिल्यै शान्ति र सुव्यवस्था ल्याउँदैन ।

हाम्रो दार्शनिक आदर्श जेसुकै होस्, व्यवहारमा हामीले कुनै व्यक्तिको अर्को व्यक्तिप्रतिको आसक्तिलाई प्रेम भन्यौं । लोग्नेमान्छे र आइमाई मान्छे बीचको यौनजन्य आकर्षणलाई मात्र प्रेम भन्यौं । तर, प्रेम जब यौनजन्य अभीप्साको केन्द्र मात्र बन्छ, त्यसलाई प्रेमको सबैभन्दा निकृष्ट स्वरूप ठान्नु पर्दछ । श्रीमान् र श्रीमतीबीचको सम्झौतापूर्ण बन्धनकारी सम्बन्ध, किशोर-किशोरीको क्षणिक आकर्षण, उपहार आदान-प्रदान, पारिवारिक कर्तव्य निर्वाह, प्रेमको नाममा छोरा-छोरीमाथिको अधिक नियन्त्रण सबैलाई प्रेम भन्यौं र सधैँभरि प्रेमको विशालतालाई फोहोरी हिलोमा रुमलेर आफूभित्रको प्रेम-सागरलाई संकुचित दायरामा खुम्च्याइदियौं ।

न त आफूले प्रेम बुझ्यौं, सिक्यौं न अरुलाई सिकायौं, न त प्रेमलाई स्वीकार्न नै सक्यौं ! आफ्नै स्वार्थ पूरा गर्न कसैप्रति नजिकिनु, कसैका लागि केही गरेझैँ ढोंगलाई प्रेम भन्यौं र जब आफूले भनेझैं स्वार्थ पूरा भएन अनि दुःखी भयौं । अनि रुँदै गुनासो गर्‍यौं- कि मैले उसका लागि यति त्याग गरें तर, उसले धोका दियो ! जब त्यागमा अभीप्सा मिसियो, त्यो कसरी प्रेम हुन्छ ? असुरक्षित जीवनको भयले एकार्काप्रति जोडिनु, बाँधिनु, जैविक आवश्यकताले लहसिनु, समाज, संस्कार र प्रतिष्ठाका लागि एकार्काका स्वच्छन्दता बन्धक बनाइदिनुलाई नै प्रेमको नाम दिएर आकाश जस्तै फैलिने प्रेमको निराकार स्वरूपलाई एउटा प्वालमा खादिरह्यौं । अनि प्रेमको सुगन्ध छर्ने र सुवासित हुने अलौकिक करुणाबाट विमुख हुँदै गयौं !

 

 

नयाँ पीढीले बुझेको प्रेम

——ःः

आजभोलिका नवसन्ततिहरुले बुझ्ने भाषामा पनि प्रेमबारे केही कुरा गरौं ! लेखक साइमन सिनेकले प्रेमको व्याख्यामा दिएका उदाहरण महिमावान छ । प्रेमलाई दाँतको तुलनामा उदाहरण दिँदै उनले भनेका छन्, “हामीले छ महिनामा एकचोटि चिकित्सकलाई देखाउँदैमा दाँत बलियो हुँदैन । दाँत बलियो बनाउन दिनको दुईचोटि मञ्जन गर्नुपर्छ !”

यो उदाहरणबाट पनि बुझ्न सकिन्छ प्रेम निरन्तरको अभिव्यक्ति हो । प्रेमि-प्रेमिकाले तपाईंलाई भ्यालेन्टाइन डे-को दिन उपहार दिए माया गरेको र नदिएमा माया नगरेको हुँदैन । न त बर्थ डे-मा सबैभन्दा पहिले शुभकामना दिनेले तपाईंसित प्रेम गरेको हुन्छ ! प्रेम त हरेक पाइलामा तपाईंप्रतिको भरोसा र विश्वास बलियो राख्नुमा केन्द्रित छ । तपाईंलाई आज फोन आएन, काममा जानेबेला प्रेमि-प्रेमिकाले बाई बाई भन्न भ्याएन, कामबाट सधैंको समयमा घर फर्किन सकेन, त्यसलाई प्रेम घटेको भनेर बुझ्न मिल्दैन !

यदि एकदिन, कुनै एउटा विशेष घटनालाई आधार बनाएर तपाईंले प्रेम घटेको अर्थ दिनुभयो भने तपाईंको प्रेममा बर्बादी शुरुवात भयो भनेर बुझे हुन्छ । कलेजबाट फर्किँदा झर्को-फर्को देखाउने, अफिसबाट फर्केर आफ्नो तनाव घरमा सुनाउनेहरुले अब फेरिएर पहिले विपरीततर्फको कुरा सुन्ने धैर्यता राख्नुहोस् त, तपाईंको पारिवारिक व्यवस्थामै आमूल परिवर्तनको कायापलट हुन्छ ।

प्रेम आत्मस्वीकृति हो, वसुधाको निरन्तरता पनि हो ।  प्रेम जीवनको आत्मा हो । प्रेमबिना जिन्दगी सक्रिय बन्दैन । यसलाई उचित तरिकाले अभिव्यक्त गर्नु पनि एउटा कला हो । त्यसैले, प्रेम जीवनको सबैभन्दा महत्वपूर्ण र जटिल विषय हो भनेर बुझ्नु जरुरी छ !

सबै प्रेम सफल हुन्छन् वा असफल हुन्छन् भन्ने पनि छैन । कहिलेकाहीँ आफूले मन पराएकै मानिस पाइन्छ अनि कहिलेकाहीँ मन परेको मानिस गुमाइन्छ पनि । पाउनु पनि प्रेम हो, गुमाउन तयार हुनु पनि प्रेम हो । प्रेमको परम्परागत व्याख्याले प्रेमी वा प्रेमिकालाई पाउनु नै सफलता हो भनेर सिकायो । तर, प्राप्त गर्नुमा मात्र प्रेम छैन । आफूले प्रेम गरेको मानिस गुमाउनुमा पनि प्रेम छ ।

प्रेमलाई पढाइ वा भविष्य बिगार्ने शत्रु होइन, पढाइ वा भविष्य सपार्ने सहयोगी बनाउनु बुद्धिमता हो । एक–अर्कालाई प्रेम गर्दै गर्दा आफूलाई थप निखार्न- तिखार्न सक्नुपर्छ । प्रेमले एक–अर्कालाई सफल बन्न प्रेरित गर्ने, जित्न सहयोग गर्ने, दुवैको पढाइ सुधार्ने, दुवैलाई सफल बनाउने हो । कमजोर बनाउने, असफल बनाउने, सबै कुरा गुमाउन उक्साउने कुरा प्रेम हुन सक्तैन ? फेरि, प्रेम गर्ने उमेरको हदबन्दी पनि हुँदैन । बच्चादेखि वृद्धसम्म प्रेमले ओतप्रोत हुनु आवश्यक छ । यो त मानवसिर्जनाको अनुपम शक्तिस्रोत पनि हो । तर, कसैले पनि प्रेम गर्दै गर्दा आफ्नो उद्देश्य, गन्तव्य, समयको दायरा, लक्ष्य आदि कुरालाई भुल्नु हुँदैन ।

प्रेममा स्वीकार्यभाव हुनुपर्छ । जब मैले कसैलाई प्रेम गर्छु भने उसको हरेक खुशी र स्वतन्त्रतालाई मैले सम्मान गर्नुपर्छ । मैले प्रेम गरेको व्यक्ति मसँग भन्दा अन्यसँग बढी प्रफुल्ल देखिन्छ, मैले चाहेको भन्दा अरु नै काममा खुशी हुन्छ भने उसको खुशीका लागि मैले उसलाई रोकिनँ भने पो बल्ल मेरो प्रेममा त्याग भयो । तब पो मैले उसको इच्छालाई सम्मान गरें, उसलाई मैले प्रेम गरें । नत्र त आफूले चाहेको पाउँदामात्र त्यसको गुण तिरेझैं हुन्छ । त्यस्तो लेनदेन त व्यापारीले गर्छन् । प्रेमील हृदयले लेनदेनको हिसाब गर्दैन ।

अर्काको इच्छा विपरीत आफ्ना अनगन्ती अपेक्षा, कामना र वासना लादेर उसको स्वतन्त्रता कुण्ठित गर्दै आफ्नो चाहनाअनुसार हिँडाउन खोजे त्यो कसरी प्रेम हुनै सक्तैन ? प्रेमील त्याग हुनलाई त्यागमा पनि खुशी हुनुपर्छ; त्यागेर फेरि त्यही त्यागको वैराग्यमा सधैं रोई रोई हिँड्यो भने त्यो अझ ठूलो आसक्ति साबित हुन्छ । यो विषय खाली प्रेमी र प्रेमिका वा श्रीमान् श्रीमतीमा मात्र सीमित नभई हरेक मानवीय सम्बन्धमा लागू हुन्छ ! समुदाय, समाज र आदर्शमय राष्ट्र निर्माणमा समेत लागू हुन्छ ।  यो प्रेम भन्ने चीज “दैवले सजिलै आर्ज्याको वस्तु होइन, सबैलाई चेतना भया !”

Leave a Reply

Your email address will not be published. Required fields are marked *