म अब लाचार नारी होइन !

कवि
कवि

प्रतिमान सिवा
ओहायो, अमेरिका

 

हरेक स्त्री वेश्या भएर जन्मन्छन् भन्ने
बेइमानी धारणा पालेर बाँचेका
ए ! भद्र समाजका अभद्र पुरुषहरू हो !
तिम्रा चरम वासना र क्रुरताको
तीक्ष्ण अग्निशिखाहरूले झोसेका
सक्रिय ज्वालामुखी छातीभरि उमालेर
विद्रोहको झण्डा मैले यस घडी उचाल्दा
यदि मलाई तिमी अपवित्र ठान्छौ भने
यति बेला अपवित्र उभिएकी छु म
तिम्रो सँघारमा
के गर्नु छ, लु आऊ र गर।

थोरै कर्तव्य र थोरै संयम बोकेर
तिम्रो अराजक कामुक्ताको परिधिलाई फड्केर
दलानमा मरणासन्न शिशुलाई
आफ्नो छाती च्यातेर स्तन चुसाइरहँदा
यदि तिमी मलाई व्यभिचारी ठान्छौ भने
यति बेला म व्यभिचारी उभिएकी छु
सर्वाङ्ग तिम्रो अगाडी
के गर्नु छ, लु आऊ र गर।

पुरुषत्वको आडम्बर बोकेर छिल्लिदै
मेरा छाती र जाँघलाई हरपल नापी रहने
तिम्रा ती लालची गिद्धे नजरहरूलाई
मेरो योनिबाट सम्भावित भ्रुणसंगै बगेको
रजस्वलाको राता छिर्काहरूले
तिमी यस भद्र समाजको अभद्र पुरुषलाई
लत्पत् लत्पत् पार्दै मुहार पोतिदिँदा
यदि तिमी मलाई पाखण्डी ठान्छौ भने
यति बेला विजयी एक पाखण्डी उभिएकी छु
म तिम्रा दुस्साहसहरूलाई नकार्दै
चड्किएकी, म अब लाचार नारी होइन,
के गर्नु छ, लु आऊ र गर।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *