माटोको कथा ( पुस्तक समीक्षा )
जे एन दाहाल हेरिश्वर्ग, अमेरीका
जसरी माटो खने जमिनमा खाडल पर्छ, त्यसरीनै देश खने कस्तो स्थिति आउला भन्ने कल्पना गर्दै नैनासिंह सारुमगरले ‘माटो खन्नु देश नखन्नु’ कथासंग्रहको शांकेतिक तरिकाले नामाकरण गरेका छन् ।
यस संग्रहको पहिलो कथा ‘यस्तै छ आजभोली हाम्रो समाजमा’ म जति चलाख कोही छैन भन्ने सोच राख्ने मुसो वनढाडेको डरले दुलाभित्र लुक्न बाध्य रहन्छ । मृत्युसंगको त्रासद अवस्थाकै कारण मुसो भित्रैबाट सुरुङ बनाई अर्कातिर भाग्छ । यस कथाका माध्यमबाट लेखकले समाजका आफूलाइ चतुर सम्झने पात्रको भगुवा प्रवृत्तिमाथी व्यांगात्मक चित्रण गरेको छ। कथाको बनोट पढिसक्दा यो लामो शीर्षकलाई शांकेतिक या बिम्बात्मक बनाउन चुस्त छोटो राख्न सकिन्थ्यो कि भन्ने पनि लाग्छ ।
यसरीनै पाना पल्टिन्छन् ‘गरिबको जन्म अँध्यारो कर्म’ र ‘आत्महत्या’ शीर्षकका दुई कथाले जहाँ पाठकलाई निक्कै भावुकता तुल्याउँछन् । यी दुवै कथामा पात्रहरुको दुखद अन्त्य छ । भाव पक्षका आधारमा यी कथा सुन्दर छन् । केही कथामा शब्दहरु टुक्रिएका छन् । उदाहरणका लागी पृष्ठ १५, १६ -मनो विज्ञान, दुध बाट, छोरी हरुलाई एउटै डिकोमा हुनुपर्ने दुई छुट्टै अक्षरमा लेखिएको छ । कतै कथामा लेखकीय एउटा विचार टुङ्गिएर फरक अभिव्यक्ति आउँदा अनुच्छेद परिवर्तन हुनुपर्ने,तर भएका छैनन् । यस्ता त्रुटिहरू पुस्तकमा धेरै छन् ।
सारुका कथामा पात्रहरु आसामको कोक्राझार, मुडे, हाँसिमारा हुँदै केही बेल्डाँगी त केही वर्मासम्म पुगेको पाईन्छ । ‘वियोग’ कथामा धनमान नामगरेको पात्र रोजगारीको खोजीमा वर्मासम्म पुगेको एउटा उदाहरण छ । यसकथामा पनि दुखद अन्त्य नै छ ।
‘संघर्ष’ नामक अर्को कथामा विपन्न परिवारमा संघर्ष गरिरहेकी रेणु देवीस्थान काम गरी घरफर्किएको मजदुर मोने खोज्न बेल्डाँगी पुग्छिन् । यसमा कथाकारले सुत्केरी श्रीमती छाडेर काम गर्न गएको मोने भनेपनि रेणीसंग उसको सम्बन्छ प्रेमी या श्रीमती कस्तो थियो खुलाएका छैनन् ।
नैनसिंहका छोटा आकारका धेरै जसो कथाहरुमा घटनाहरू छन् । पात्र छन् । संवाद छ । कथाका आवश्यकता अनुसार चरित्र चित्रण पनि हुन सकेको छैन । एउटा पात्रको मनोविज्ञान विकास भइनसक्दै अर्को घटनाको क्रम आइ हाल्छ । यीनै अष्पस्ट कुराले गर्दा मगर पात्र चित्रण भन्दा घटनाक्रम अघी बढाउन हतारिएका छन् भन्न सकिन्छ ।
‘माया यस्तो हुनुपर्छ’ शीर्षकको कथामा प्रिया गोरेसंग टेलीफोनको सम्वाद आउँछ । ऊ गोरेलाई विवाह प्रस्ताव राख्छे । ईमिग्रेसन अफिसमा चिनजान यी दुईको संवादमा गोरे – ‘माछो देख्दा भित्र हात, सर्प देख्दा बाहिर गर्नु हुँदैन’ भनेर ऊ मान्दैन । लेखक मगरले यी दुई पात्रको ईमिग्रेसन अफिसमा पहिलो भेट भएको देखाइए पनि ईमिग्रेसन अफिसको स्थान चित्रण छैन । गोरे उभिएर गफ्फिरहेको बस स्टेसनको चित्रण पनि छैन । पछि ऊ बोल्दै अंग्रेजी पढ्ने स्कूलसम्म पुगेको भनिएको छ, तर त्यहाँ पनि स्कूलको चित्रण छैन । यो उदाहरण लिएर कथाकारले भन्न चाहेको कुरा राख्न सक्षम छन् तर स्थान चित्रण गर्न छुटाएको पाईन्छ ।
सुरुका दुई कथामा पशुपन्छिसंग सम्बन्धित भए पनि ‘माटो खन्नु देश नखन्नु’ भित्र समाजिक चित्रणनै धेरै आउँछन् । मगरका कथामा ‘देश नहुनुको पीडा, शरणार्थी शिविरको संघर्ष, तेश्रो देशको पुर्नस्थापन पछिको समस्यानै मुख्य विषयवस्तु छन् ।
साहित्य परिषद् भूटानले प्रकाशन गरेको यस पुस्तकमा २१ वटा कथा समावेस छन् । कथासंग्रहमा आई एस बि एन किताबको पहिचान नम्बर प्रयोग गरिएको छैन ।
‘आत्महत्या’ शीर्षकको कथामा एउटा वाक्य यस्तो आउँछ- “त्यही गाउँको बिचमा हरियाली जंगल थियो त्यसको फेदीमा एकघर थियो जसको नाम भद्रबहादुर ।” लेखकले घर वा वस्तुको नाम भद्रबहादुर भनेपनि भित्र कथामा पात्रको रुपमा भद्रबहादुरलाई उभ्याईएको छ । वाक्य गठनमा यो अर्को त्रुटी हो ।
एक्काईसौं ‘भाषा’ शीर्षकको कथामा देशमा भएको आन्दोलन चित्रण छ । पृष्ठ १०९को दोश्रो अनुच्छेदको अन्त्यमा लेखिएको छ- ‘सन् १९९० मंसिर २२ तारिकको घटना हो’ अंग्रेजी साल लेखिएपछि विक्रम संवत पात्रोको मङ्सिर महिना देखाउन उपयुक्त देखिन्न । फेरी तारिख शब्द पनि गलत लेखिएको छ । यसरी भाषा शीर्षकको कथामानै भाषागत त्रुटिहरू देखिनु निक्कै हाँस्यास्पद लाग्छ ।
सोझो हेराइ मा ‘माटो खन्नु देश नखन्नु’ नामक शीर्षक कथा पुस्तक भित्र भने छैन । तर कथाहरु माटोकै विषय वरपर घुम्छन् । यी कथा परम्परागत धारका छन् । शैली र कथ्यमा नविन प्रयोग पाँईदैन ।
तृतिय पुरुषमा लेखिएका यी समान्य जनजिवनका कथामा लेखकले जीवनमा गरेका संघर्ष, तिता-मिठा अनुभुतिलाई शब्दमा जोड्ने प्रयास गरेकाछन् । कथाकारले कतै उखान-तुक्का जोडेका छन् , कतै वाक्य गठन सुन्दर बनाउन अनुप्रासको प्रयोग गरेको पाईन्छ । समग्रमा उनको मगर, आफ्नो सामुदायिक भाषा भन्दा नेपाली भाषाप्रति बढी लगाव र प्रेमचै देख्न सकिन्छ ।
लेखकले कथालाई दुखद अन्त्यमा टुङ्ग्याउनु , चरित्रमाथी व्यंग कस्नु र समाजिक परिवर्तनको आशा राख्नु पुस्तकको सफल पक्ष हो । अन्त्यमा पुनर्अध्ययन, पुनर्लेखन, पुनर्सम्पादन गर्न सके यी कथाहरु अझ तंग्रीएर उभिन सक्छन् । कथाकार मगरको निरन्तर अध्ययन, अभ्यास र चिन्तन बढ्दै गए भविष्यमा अझ सुन्दर कथा पढ्न मिल्छ सक्छन् भन्ने मलाई लागेको छ । उहाँलाई लेखन यात्राको हार्दिक शुभकामना !