माता पिताका कुरा

मणिराम धिमाल ‘दीपित’
टेक्सास, अमेरिका

छन्द: शार्दुलविकृडित

भारी  दर्द  बिसाउँदै  गह  भरी  पारेर  आँसू   बरा
एकै सास  नफेरि  खोलिन कठै! ती वेदनाका कथा
यो सुन्दा कवि  भाव  शब्द लयमा बग्दै गयो सागर
सुन्ने को छ र यो नयाँ मुलुकमा माता पिताका कुरा  ।।१।।

बोल्यो शब्द कुनै  जहान  घरमा  झम्टिन्छ आँफैतिर
सात्तो लिन्छ उसै  बिना कसुरमा  फर्किन्छ आँफैतिर
त्यागौं नस्वर देह यो यदि भने झन् शान्ति के मिल्छर
सुन्ने को छ र यो  नयाँ  मुलुकमा माता पिताका कुरा  ।।२।।

खेपी कष्ट  जहानको  र घरको सासू बज्जैको कति
जाडो  गर्मी  भनेन  यो  शरिरले  ज्युँदै मरेको सरि
जान्ने  विज्ञ  भए  यिनै रगतका सन्तान हुन् आखिर
सुन्ने को छ र यो नयाँ मुलुकमा माता पिताका कुरा  ।।३।।

के हो नैतिक धर्म कर्म अघिको संस्कारको के कुरा
के हो  धर्म  परम्परा  चलन औ  हाम्रा पुराना प्रथा
खाली  वादविवाद  चल्छ  घरमा छोरा बुहारी सित
सुन्ने को छ र यो नयाँ मुलुकमा माता पिताका कुरा  ।।४।।

जन्म्यो  पुत्र  भनेर  हर्षित  थिएँ  सन्तान  मेरो अहो
गर्दै  लालन  पालनादि  सुखले  हुर्क्यो जवानी भयो
ऐले ऊ!  धृतराष्ट्राझैं  बनि दियो भो पाण्डुमा अन्तर
सुन्ने को छ र यो नयाँ मुलुकमा माता पिताका कुरा  ।।५।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *