मिस्टिक एक्कोज
-जे एन दाहाल
अगस्ट महिनाको १० तारिख, सन् २०१९’ मा म छघण्टे ड्राईभ बिर्सिएर निरौला निवासमा पुगेको छु । त्यहाँको पाहुना सत्कारपछि आगनमा उभिएर आँखा अघि मानव निर्मित बादलको एउटा दृश्य हेरिरहेको छु । ‘मिस्टिक एक्कोज’ मनमा काफी कौतुहलता छ । मष्तिस्क तरंगीत भइरहेको छ- मिस्टिक एक्कोज, यहि नाम । कति अनौठो छ मिस्टिक र एक्कोजको शब्द संयोजन । त्यो सोच्दै गर्दा बादलको दृश्य मलाई कति पनि अनौठो लाग्दैन ।
साँझको समय, निरौला निवासको आगनमा उभिएको छु । तर सोचाइमा – बफेल्लो स्टेट कलेज पुगेर अनौठो आकारको बादलजस्तै मिस्टिक एक्कोज नामक कार्यक्रम यी जोडी आँखाले हेर्न तत्पर छन् । त्यहाँको सजावट कस्तो होला? कस्तो होला प्रस्तुति? के- के देखाईएला मञ्चबाट? म अनवरत सोचिरहेछु । सोचिरहेछु !
मेरो अघिका वक्ता चुरोट पिई रहेका छन् । दायाँ हातका उनका दुईटा औंला बिचबाट फिल्टर मुखमा पसी नाक र मुखको प्वालबाट धुवाँ बाहिर आइरहेको छ । त्यो चुरोटको धुवाँ हावाले उडाएर मतिर ल्याइरहेको छ । म त्यसलाई बेवास्ता गर्ने कोशिष गरिरहेकोछु ।
‘कार्यक्रम शुरु हुन कति समय छ बाबु?’ अकश्मात प्रश्न सोधिएको थियो । ठिक स्थान र ठिक समयमा सोधिएकाले म खुशी हुन्छु । चुरोटको धुवाँ बेवास्ता गर्दै झटपट्टे उत्तर दिन्छु।
‘एक घण्टा’
फेरि आँखा अघिकै दृश्यमा फन्को मारिरहेको छु । सोच्न लाग्छु, संसारमा एक घण्टामा मान्छेले कति चुरोट सल्काउँददा हुन् ? कति चुरोटले मानव निर्मित बादल लाग्दो हो । तर खुशीको कुरा, त्यहाँ एउटा चुरोट मै आगो निभ्छ । त्यो चुरोट भुइँमा झरी, खुट्टाले कुल्चिएको ठूट्टो हेरी म झट्ट विगतमा पुग्छु । कुनै समय म यी बक्ता जस्तै ज्यादै चुरोट पिउँथे । चुरोटको धुवाँ फोक्सोमा पुग्दा मात्र दिन या रातको शुरुवात भएको जस्तो लाग्थ्यो । सायद उनलाई पनि त्यस्तै रमाईलो अनुभूति हुँदो हो ।
प्रिय पाठक, म ईमान्दारी पूर्वक लेख्दैछु । यो लेख्न मलाई लाज लागेको छैन । टाईप गरुन्जेल डर पनि छैन । एउटा लेखकलाई आफ्नो विचार र अनुभूति ईमान्दारीपूर्वक बोल्न किन डर या लाज लागोस् । किन डर या लाजले छेकोस् । पक्कै छेक्दैन, छेक्नु हुँदैन । यहाँ मलाई समर्थन गर्नु हुन्छ नि होइन?
निरौला निवासमा दिउँसोका खाना खाई कार्यक्रम स्थानतिर हिँडेका छौं । साँझ परेकै छैन, समर सिजनको अस्ताउँदो घाम अझै केही घडी बाँकी छ । बफेल्लो स्टेट कलेज, मन अघिदेखि पुगेको ठाउँ हामी भौतिक रुपमा उपस्थित हुन कार्यक्रम स्थल पुग्छौं । हामी? ति दुईमा म एक भएँ र अघिका वक्ता भक्त घिमिरे हुन् । यि वक्तालाई म सर भनेर सम्बोधन गर्छु । उनी मलाई भतीज भन्छन् । उनको यो सम्बोधनमा छोराको भावनात्मकता झल्कन्छ । त्यसैले मैले खुशीसाथ स्विकारेको छु ।
कलेज अघि गाडी पार्क गरी बाहिर निस्कन्छौं । हाम्रा अघि तिन वक्ता गफ चुटी रहेका छन् । कविहरु नविन प्राचिन रुपेश ढुंगाना बेन्चमा बसेका छन्।त्यसकै छेउतिर एक १२ वर्षिय जतिका बालक छन् ।
हामी नजिक पुग्दा रुपेस र नवीन हामीलाई फर्किएर हेर्छन् । तब मात्र देखिन्छन् घाम तापेर बेन्चमा लडेका दारीवाल उमेश आचार्य, छेलिएका रहेछन् । यसरी हेर्दा उनीहरु तीन होईन चारजना रहेछन् । छोटो औपचारिकताको पछि हामी आलो पालो केही सामुहिक तस्वीर लिन्छौं । कवि आचार्यसँग मेरो खास दोस्ती छैन । म रुपेस र नविनजीसंग यसै क्याजुल कुरामा भुल्लिन्छु । ती प्राचीन भर्खरै फेसबुके माध्ययमबाट चिनेका कवि हुन्, यसबाहेक प्रतक्ष्य भेट थिएन ।
दश मिनेट जतिको गन्थन, फोटो खिचाई पछि भक्त सर र म भित्र जान्छौ । कार्यक्रका मुख्य आयोजक लामिनजी र उनको टिमले दोश्रो तलाको मुल ढोकामै सत्कार गर्छन् । प्रिय पाठ यहाँले याद गर्नु होला लमिन नामका पछिल्तिर जी सम्बोधन राखें । जी सम्बोधन राख्ने मेरो एउटा आत्मियता बानी हो, जसरी भक्त सरले मलाई आत्मीयताले ‘भतिज’ भन्नु हुन्छ त्यस्तै ।
मुख्य ढोकाको एउटा टेबलमा केही पुस्तक र सिडी राखीएका छन् । टेबलमा मेरो आँखा कविता कृतीहरु; बुढो रुख र सान्नानीको ईन्द्रेणी, उभिएर एक्लै, र रुवाई संग्रह; त्रिवेणी सम्युक्त रुपमा धर्मेन्द्र, डिपी र मैले लेखेको देखा पर्छन् । म्युजिक एल्बमहरु ; मेरो सारंगी, रचना, एउटा कहानी, दि ब्लु एन्जल, अध्यात्म, अनायास, जुनिभरीलाई साथै भजन एल्बम आराधना र प्रभु नाम पनि टेबुलमाथि श्रोताको पर्खाइमा देखिन्थे ।
अघिदेखि मेरो मष्तिस्कले बफेल्लो सिटीको ‘मिस्टिक एक्कोज‘ यहि फरक धारको कार्यक्रमको नामले नै फन्को मारी रहेको थियो । सोचिरहेको थिएँ त्यहाँ हेर्नु छ – आँखा भरी गायन, सुन्नु छ कान भरी कविता र रंग्याउनु छ मष्तिस्क आर्टले । त्यसैले हतार हतार गरी केही साथीहरुसँग हात मिलाउँदै लमिनजीलाई पछ्याउँदै, कतै हात जोड्दै, दोश्रो तलाको ढोकाबाट भित्र स्टेज हेर्न प्रवेश गर्छौं ।
कार्यक्रमलाई सहयोग गर्न मित्रद्वय पर्शु र हातमा क्यामरा लिएर काँसी वरपर हिँडी रहेका छन् । तिनीहरुसंग पनि हात मिलाउँछौं । कार्यक्रम शुरु हुन अझै दश मिनेट जति बाँकी छ । ‘कार्यक्रम भव्य र सभ्य हुने छ’ अनुमान गर्छु । एउटा उत्सुक दर्शकले अनुमान त छ गर्नसक्ने, अरु के हुन्थ्यो ! भक्त सर, उक्त कार्यक्रमममा लमिनजीको निमन्त्रणामा पुगेका हुन । तर म ? उनको ड्राईभर भएर त्यहाँ पुगेको थिएँ । प्रिय पाठक यहि हो वास्तविकता जसलाई म जस्ताको त्यस्तै राख्दैछु ।
खासमा चार महिनाकी छोरी च्यापेर श्रीमतीलाई माईत पठाए पछि घरमा म एक्लो सदस्य थिएँ । यो एक्लोपनमा भक्त सरले मिस्टिक एक्कोज कार्क्रममा जाने प्रस्ताव राख्नु भयो । मैले सोझै हुन्छ म तयार छु, भनि सहर्ष स्विकार गरें । त्यसरी म विना निमन्त्रणा त्यहाँ पुग्नु, मेरो लागि साहित्यिक माहोलले तान्नु बाहेक अरु केही होइन ।
दश मिनेट बित्न कत्ति पनि समय लाग्दैन, कार्यक्रम सुरुवात हुन्छ । मैले चिनेका कलाकारहरु जगदिस समाल र श्याम नेपालीलाई देखें । कविहरु लिला निशा, उमेश आचार्य, रुपेस ढुङ्गाना र नविन प्राचीनजी थिए । यि बाहेक पनि अन्य कलाकारको उपस्थिति थियो । मैले फेरि पनि समकालीनलाई जी सम्बोधन गरें। किनकी जी अहिले मेरो प्रिय शब्द हो । खासमा यो लोककै प्रिय शब्द पनि हो । त्यसैले नामका पछिल्तिर झुण्डिन्छ ‘जी !’
मेरा अन्य दोस्त टेक, शसी, दिललाई पनि त्यहीं भेटें । मेरा आत्मीय मित्र टेक क्यानेडाबाट आएका थिए । उनीसंग नौ वर्षपछि भेट भएको थियो, हामी खुशी हुँदै गला लाग्यौं । दोस्तमा समकालीन या प्रौढ भए पनि सम्बोधनमा फरक दृश्टीकोण छ । म उनीहरुलाई सर भनि बोलाउँदिन । त्यसको सट्टा नामका पछिल्तीर जी झुण्ड्याउँछु ।
दायाँतिर दिलको छेउमा नयाँ अनुहार देखेर उनीसंग पनि हात मिलाएँ । उनको नाम हस्त तामागं, परिचय भयो । पुराना साथीहरुसंग भेट भएकोमा खुशी त थिएँ नै । हस्तजीसंग मित्रता बन्न पाएकोमा अझ दंग भएँ । आफू बसेको स्टेट बाहिर आई थप साथी जोड्न पाउँदा मलाई एउटा फरक खुशीलायी मिलेको थियो ।
बफेल्लो स्टेट कलेजको एउटा प्राविधिक कोठाबाट स्टेजतिर लाईटको फोकस जान्छ । तब स्टेजको सिलींगका लाईटहरु धमिलो हुँदै जान्छन् । नेपथ्यमा बाँसुरी, भायलीन, सारङ्गी र गीतारको धुनबाट कार्यक्रम शुरु हुन्छ । त्यो बजेको धूनमा कविले आफ्ना पहिलो चरणका तिन कविता सुनाउँछन् । कविहरू स्टेजमा विना सम्बोधन, विना औपचारिकता कविता वाचन गरी फुत्त निस्कन्थे । यो कविता वाचनकै क्रममा ईफका भूटानका चित्रकार देव राई र अन्य कलाकारहरूले स्टेजको ठिक अघि दायाँतिर लाईभ आर्ट गरी रहेका हुन्थे । यसरी हेर्दा एकसाथ तीन दृश्य प्रस्तुत थिए ।
संगीतकारहरु गीतारमा विजय थुलुङ, दिल राई, पियानोमा डेबिढ ढकाल, तबलामा ईन्द्र लामिछाने र सारङगीमा स्याम नेपाली र बाँसुरीमा शुसिल विश्वकर्माको उपस्थिती थियो । सुमधुर संगीतको साथमा बीच- बीचमा कविता वाचन हुँदा एउटा लाईभ कार्यक्रम यस्तो रोचकिलो पनि हुनसक्छ । ओहो! मैले त्यसै दिन मात्र नजिकबाट अनुभूत गरें । कार्यक्रम यसरी चलिरहेको थियो, मलाई केही छुटाउन मन थिएन; त्यसैले आँखा झिमक्याउनु नपरोस् भन्ने लागी रहेको थियो।
दोश्रा कविले त्यसै गर्थे । त्यसपछि जग्दिस समालको गायकी सम्झँदा अझै आहा लाग्छ । मिस्टिक एक्कोज कार्यक्रम आफैंमा एउटा पोट्रेट हो । एब्सट्र्याक हो। त्यो कार्यक्रम मात्र थिएन, त्यो एउटा आर्ट थियो । कला साहित्य र संगीतलाई एक ठाउँमा जोड्ने प्रशंसनीय काम थियो । मेरा लागि एउटा काव्यिक कार्यक्रम हेर्ने मेरो रहर यहाँ आएर पुरा भएको छ । म त्यहाँ पुग्न पाएकोमा, त्यो पल आँखैले देख्न पाएकोमा अझै दङ्ग बन्छु । जुन कार्यक्रम मैले अक्षरमा उतार्ने प्रयास गरिरहेको छु ।
बीचमा आधा घण्टाका लागि कार्यक्रम रोकेर खाना वितरण गरिएको थियो । म लाईन लागें । अरु साथीहरु, कार्यक्रममा उपस्थित अभिभावक र बालकहरु पनि लाईनमा लागे । ‘अरे सुमी तिमी !’ सुमी मेरो श्रीमतीकी साथी, पारीवारिक साईनोमा म उनलाई बहिनी भन्छु । उनीसंग लाईन विस्तारै अघि सर्ने क्रममा छोटो गफमा हालखबर बुझियो।
सबै दर्शकले आफ्नो टेबल अघि कार्यक्रम स्थलमै खाना खायौं । पछि शसीले जिस्काउँदै, ‘म तँलाई तँ भन्छु जे एन, माईण्ड नगर है’ भन्दै मुस्कायो । म धेरै पछि साथीहरु भेटेकोमा दङ्ग थिएँ । शसीको कुरा सुनी मुस्काएँ मात्र । उसले हातमा मिठ्ठा पान राखिदियो । खाना सकेपछि यसरी पान आउँछ भन्ने कल्पनै थिएन । पान चपाउँदै कार्यक्रम हेर्न खुब मज्जा भयो । साहित्यलाई नेपथ्यबाट दिएको संगीतको धुनले आँखामा नवीन र आकर्षक दृश्य देखिन्थ्यो । उक्त प्रतक्ष्य हेर्ने दर्शकलाई लाईभ पेन्टिङ, कविता वाचन र संगीतप्रिय लागिरहेको अनुमान गर्न सकिन्थ्यो ।
चार कविका धारावाहिक कविता वाचन जसमा सभापतिको चयन भएन । विशेष अतिथिको आवश्यकता परेन । उपस्थित कवि, संगीतकर्मी र चित्रकार मित्रहरु कसैले लामो भाषण गरेनन् । कसैले हाई काढ्ने गरी समय लिई लामो कार्यपत्र प्रस्तुत गरेनन् । त्यस्सै त कार्यक्रमको नाम नै मिस्टिक एक्कोज ।
एकपछि अर्को गर्दै आँखामा मिस्टिक एक्कोजका सांगीतिक कार्यक्रम अघि बढ्थे । प्रतेक सृजना निक्कै आकर्षक, भावुक र प्रोट्रेट थिए । कवि, गायक, संगीतकार र चित्रकार समग्रहमा ‘कलाकारहरु’ एकै ठाउँमा यसरी उभ्याउनु कार्यक्रमकै सबैभन्दा सुन्दर पक्ष थियो ।
भोलिपल्ट कार्यक्रम सकेर लमिनजीसंग विदा लिएर हिँड्यौं । म दाहाल पुत्र ड्राईभ गरिरहेको छु । घिमिरे सरलाई त्यो कार्यक्रम अत्यन्त मन परेको कुरा बताउनु भयो । उहाँले साहित्य, संगीत र चित्रकारीताको त्रिकोणात्मक कार्यक्रम भूटानी समाजले पस्किएको थिएन । यो फरक स्वादको मान्नु भयो । द्वय बफेल्लोबाट हेरिस्बर्ग फर्कंदा बाटोभरि कार्यक्रमकै कुरामा गफिंदै घर पुग्न लागेका छौं । गाडीको अगाडि वीण्डसील सिसाबाट आकाशमा बादलको दृश्य कालो बन्दै गरेको देखिन्छ । यो कालो बादलचाहिँ मानव निर्मित हो या होईन छुट्याउन नसक्दा अनौठो लाग्दछ । आजसम्म बडो अनौठो लागिरहेकै छ !