मेरा पैताला
रूप पोखरेल
पेन्सिल्भिन्या, अमेरिका
म उस्तो हुँ या
मेरा पैताला !
मेरो कर्मै खोटो हो- म मान्दिनँ
म दोष- त्यस अर्थमा दिन्न
न कर्म वा भाग्यको काहीँ खेती छ,
कसैले भाग्यको बोट चढेँ
फल टिपेँ
न कहीले भनेको छ |
के म श्रापित हुँ ?
म दोष- त्यस अर्थमा दिन्न
न त्यो श्राप बस्तु हो, या
कसैको खटनमा छ
तँलाई यति
उसलाई त्यति
इच्छा अनुसार बाँडिएको छ |
तर, प्रश्न अनुत्तरित छन्
उत्तर खोजी रहेछ मन
चाहा भुल्की रहेछ भित्र-भित्रै
एक पत्रकारले समाचार सुँगेझैं
अभियुक्त हिँडेको गोहो सिपाही कुकुरले पैल्याएझैं
म चाल्दै छु, मसँगै हुर्केको प्रश्नको उत्तर
मेरा दुवै पैतालाको दोस् हुनै सक्तैन
मैले राम्रो नियालेको छु
आठ-दसको हुँदा
डम्फुका पाखामा
बाख्रा चराउँदा बिझेका काँडाका डोब
बिस-एक्काइसको हँदा
शिविरमा बाँसका भाटा फुटाउँदा लागेका चोट
चालिसेले छुँदा
क्यालिफोर्नियाको एक फ्याक्ट्रीमा उभिँदा
जुत्ताको शूल र कुर्कुच्चाको बेमेल हँदा
भर्खर हिलो नुहाएको माले गोरुको काँधझैँ
नदुख्ने बाक्लो खिल उठेको
प्रस्टै देखेको छु
म टेकेका सबै ठाउँमा
आज पनि पुगेका छन् यी पैताला
शरीरको भार थेग्ने-खुट्टा
खुट्टा टेकाउने- पैताला
पैतालाको पहिचान- पाइला
पाइलाको प्रतीक- छाप !
कस्तो कस्तो माटो टेके यी पैतालाले
कस्ता कस्ता यात्रा हिँडे यी पैतालाले
कति जंगार तरे यी पैतालाले
कैयौँ बार घण्टौँ कति उभ्भिएँ यी पैतालामा
काहीँ कतै छाप रोप्न सकेनन् पैतालाले
अनि टेक्न खोज्यो छाप रोप्न एकाध माटो
उठ्छन् नियमका पहाड
टाँगिन्छन् काँडे बार
खोजिन्छन् कागजात
मानौँ मेरा पैतालालाई ऋण छ !
अनि अघि बढ्न खोज्यो
थुर्रिन्छ इच्छा- मानव निर्मित काँडा घारीमा
टक्क अल्जिन्छन
यी पैताला
जुन माटोमा मेरा बा’का आँखा पहिले खुले
भू-उत्थान त्यो सुन्दर बस्ती
बा’ले खनेका गोरेटा
पिङ्ख्वाको भिर वा टुंसाको लम्पट सडकमा
दारेछु वा सेती पोखरीका गल्छेडामा
न बा’का वा मेरा पैतालाले छाप रोप्न सके!
पखेटा राम्रो नलाग्दै
गुँड सहित हुण्डरीले बास उठाएको पन्छीझैँ
माई बगरमा गजेरामा सुकाएको बिस्कुन
जीवन बाँच्न पुग्दा
बालुवामा पैतालाले छाप खोप्नै सकेनन् !
छटपटी र खट्पटीबाट उन्मुक्ति
प्राण रक्षको एकल औषधी-स्थानान्तरण
आशाको भूँने
समुन्द्र पारी अमुक पुरीमा
मनको ज्वालो सेक्ने मोइको कथा
सुनेकै भरमा-
टेकायो पैताला डिजिटल सडकमा
विज्ञानको राजधानी क्यालिफोर्नियामा
अँ हँ;
टिकेनन् पैताला त्यहाँ पनि!!
खै, म उस्तो हुँ या
मेरा पैताला
गर्दै उकाली-ओराली
बास बस्न पुगेका छन्
संसारकै पुलै पुलको सहरमा
पैतालो र छाप बिचको समुन्द्रमा
सेतु हाल्नै नपाइ बा’ थाक्नु भो
बा’ शिथिल भई पाक्नु भो
र जानु भो अपुरो बाँचेर
सम्हाल्दैछु बागडोर-
यी पैतालाले
अझ कति दम्को बेहोर्नु छ !
पढ्दै छु-
जमनाको स्टिलको सहर
स्वतन्त्रताको राज्य
विश्वका विद्यार्थीको भीड सहर-
प्रकृतिले फेटा गुथेको सहर
आप्रवासीले कुँदेको सहर-
बिहान बेलुका
सानी छोरीको हात समातेर
भोलि उनीले पैताला राख्ने गल्लीहरूमा |