मेरै कथा लेख्नु छ
मणिराम धिमाल (दीपित)
टेक्सास, अमेरिका
छन्द: शार्दूलविक्रीडित
****
पथ्री रुन्छ हजार बार चकना भै रातमा काँटिदै
बग्थ्यो भेल सगैं टिमाइ खुदुनाबारी कठै आत्तिदैँ
भो गोल्धाप जलेर खाक झुपडी छाया अझै आँउछ
आँसूले मन धोइ शब्द कविता मेरै कथा लेख्नु छ ।।
****
छाप्रो रुन्छ यता भुटान थपडी मारेर हाँस्थ्यो उता
हेर्दै कन्तविजोक दु:ख -सुखमा नेपाल रुन्थ्यो बरा
हे! नेपाल दियौं त साथ दुखमा त्यै सापटी तिर्नु छ
आँसूले मन धोइ शब्द कविता मेरै कथा लेख्नु छ ।।
****
बेल्डागी अझ रुन्छ कष्ट सहदैँ भक्कानिदै बौरिदै
लामो सास लिएर फेरि क्षणमा मुर्छाउदैँ आत्तिदैँ
मुर्छाबाट उठाउने अब छिटै त्यो औषधी खोज्नु छ
आँसूले मन धोइ शब्द कविता मेरै कथा लेख्नु छ ।।
****
मैले लेखिँन आँफु भित्र युगको बाँची रहेको कथा
मैले देखिँन बिम्ब आँफु सगंको नाँची रहेको कथा
मेरो अर्थ यहाँ रहन्छ न कुनै अस्तित्व के बाँच्द छ
आँसूले मन धोइ शब्द कविता मेरै कथा लेख्नु छ ।।
****
मेरो जीर्ण कुटी अझैं नयनमा स्वप्ना बनी आँउछ
लाखौं चोट मभित्र बल्जिरहने खाटो अझैं साथ छ
मेरो शैशवकाल नाँच्छ म सगैं छाया बनी हर्पल
आँसूले मन धोइ शब्द कविता मेरै कथा लेख्नु छ ।।