मेरो गन्तव्य

बुद्धमणि ढकाल
अमेरिका

बेलुकाको घाम रातो टाटो भएर डाँडापारि पुग्दा मात्र ड्राईभरले गाडी गुवाबारिको एउटा घरमा लगेर बिसायो | अघिल्लो दिन साम्चीबाट हिंड्दा निकै अबेर भएको थियो | सौरेनी डांडामाथि घाम छिप्पिएर निस्किंदा मात्र म छात्राबासबाट निस्केको थिए घर पुग्ने हतारमा | त्यो अपरिचित घरमा बास बसेर भोलिपल्ट म एक्लै भांग्तारतर्फ लागें | बाटो जंगलै जंगल बीच भारत- भुटान सिमानासम्म हिंड्नु पर्नेथ्यो | चोरी हुने, लुटिने या त अपहरणमा परिने प्रसस्त डर भएको त्यो आसम र भुटानको जंगल म एक्लै छिचोल्दैथिएँ | एउटा झोलामा लगाउने लुगा र एउटा नोटबुक बाहेक मसंग केहि थिएन | मनमा तरङ्गहरु थिए- कतै बाटामा आन्दोलनकारी भेटिन्छन कि वा चोर डाकासंग जम्काभेट हुन्छ कि भन्ने | तर भाङतार निस्क्युन्जेलसम्म कोही भेटिएन, गोठालासम्म पनि |
सन् १९९० को सेप्टेम्बर महिना | भुटानमा प्रजातन्त्रका लागी आन्दोलनको सुरुवात हुनलागेको थियो, शरद ऋतुमा | त्यस जनआन्दोलनमा भाग लिन जनतालाई भनिए पनि उचित तरिकाले जनचेतना जगाउने कार्यक्रम भएको थिएन | म भाङतारबाट करिब १५/२० किलोमिटर उत्तरमा पर्ने कवैपानी भन्ने ठाउँमा बेलुका बास बस्न पुगें आफन्तकहाँ |
भोलिपल्ट साम्रांग जानु थियो – बाटो दिनभरको पैदल यात्रा , उकालो ओह्रालो खोला खोल्सा र तिनले अलग्याएका स-साना बस्ति छिचोल्नुपर्ने | साथमा यात्रा गर्नेहरु आउने सनिबारको साम्रांग बजारमा सौदा किन्न हिंडेका दुई दाजु बहिनी थिए | दाजुचाहिं भुटान आर्मीका भूतपूर्व जवान ; अवकाश पछी खेति गर्न दालिम झरेका |
बाटो हिंड्दैगर्दा र ठाऊँ ठाऊँमा थकाई मार्न बिसाउदा आन्दोलन गर्न थुप्रै युवाहरु, विथ्यार्थीहरु र सरकारी कर्मचारीहरुसमेत जम्मा भएर भारत-भुटान सिमानामा तयारी गर्दै रहेको अनि गाउँ बस्तीमा चन्दा माग्ने गरेको कुरा चल्यो | म केवल सुन्ने मात्र थिएँ |
दाजुचाहिं भन्थे, ‘म चन्दा दिनेवाला छुइन| सिमाना बाहिर जम्मा भएर राजाको भुत्लो पनि हल्लाउन सक्दैनन् तिनीहरुले | सेनाको भण्डारमा कति हात-हतियार छन् तिनलाई के थाहा ? जतिबेला पनि ति हतियार प्रयोग हुन सक्छन |’
बहिनी भन्थिन , ‘चन्दा नदिनेलाई छ ऐची घटाउने भन्दैछन | तपाईलाई पनि चम्चा भनेर पक्रिन सक्छन, दाजु | अलि होसियार भएर बोल्नु नि |
म श्रोता मात्र | बोल्नलाई न मैले गाऊँको सम्पूर्ण परिस्थिति बुझेको थिएँ न म सिमानापारि जम्मा भएका ती आन्दोलनकारी भनौदाको समूहमा थिएँ|
मनमनै सम्झें, के यी गाउँ बस्ति भरि डर र त्रास मात्र भरिएको छ ? के परिस्थिति साँचै बिग्रेको छ ?
मुटु छेउ चिसो झस्का पस्यो | यो झस्काईलाई बढावा दिने घटना सुनेको पढेको थिएँ, स्कूलमै | गम्टूमा मूला झैँ काटिएका दुई टाउकाहरु एउटा बोरामा फेला पारिएको समाचार आलै थियो | भुटानको इतिहासमा मान्छे काटिएको घटना सार्वजनिक भएको शायद यो नै पहिलो थियो, जो राजनैतिक रंगमा मुछिएको थियो | शाही सरकारको समर्थनमा नबोल्न जनतालाई चेतावनी दिने निहुँमा यो घटना गरिएको रहेछ भन्ने पछी मात्र खुल्यो | कमसेकम त्यो यात्रामा मैले ती क्षेदित टाउकाहरु र गाउँको त्रसित मनोविज्ञानलाई जोडेर हेर्ने प्रयास गरें | तर मैले तत्काल बुज्न सक्ने कुरा कम थिए ती दाजु बहिनीको कुराकानीबाट |
क्रमशः ……………………..

Leave a Reply

Your email address will not be published. Required fields are marked *