मेरो दोरोखा: एक संस्मरण

तारा दाहाल
ओहोयो, अमेरिका

 

अब म अमेरिकी नागरिक भइसके, “मेरो सिन्सिनाटी” भन्नु पर्ने हो ।

जसले आफ्नो सन्तान नै होइन भनेर नालीमा फालेकोलाई पराई नभनीकन टपक्क टिपेर खान बस्न दियो, जिन्दगी जिउने अवसर दियो अनि आफ्नो देशको नागरिकता प्रदान गर्‍यो त्यो नै आफ्नो हुनु पर्ने हो, त्यही ठाउँ र देशको बढी माया हुनु पर्ने हो । मलाई त्यो राम्रोसँग थाहा छ तर आफू जन्मेको र बाल्यकाल बिताएको ठाउँ यो मानसपटलबाट हटाउन गाह्रोमात्र होइन नसकिने रहेछ । यो मलाईमात्र भएको अवश्य होइन किनभने गत साल भोईस अफ नेपालमा गायक सी डी विजयले एउटा ‘डम्फु बजार’ गीत गाउँदा भूटानी मूलका अमेरिकीबाट सक्दो भोट पाएका थिए । हो, मलाई पनि दोरोखाको औधी याद आउँछ । हुन पनि मलाई दोरोखाले के गरेको छ र । त्यहाँको शासकले लखेटेको हो, त्यहाँको प्रशासनले लत्याएको हो । माटोले त केही गरेको छैन ।

मेरो दोरोखासँग प्रत्यक्ष सम्बन्ध टुटेको लगभग ३० वर्ष हुन लागेछ । १९९० को अप्रिल, मे तिर हुनु पर्छ । सरकारले जनगणनामा सबै परिवार भेला हुनुपर्छ भनेर उर्दी गरेछ । हामी साम्ची हाई स्कुलमा पड्नेहरू सबै एकसाताको बिदा लिएर घर गयौं । उर्दी भएजस्तै हामी आ-आफ्नो परिवारकासाथ मण्डलका कार्यालयमा भेला भएर हाम्रो हाजिरी दर्ता गर्यौं । त्यो एकसाताको बसाइनै मेरो दोरोखाको अन्तिम बसाई भयो । के थाहा त्यो समय नै अन्तिम होला भनेर ? थाहा भइदिएको भए गाउँ-घर वरपर इष्ट-मित्र सबै साथीभाइहरूसँग राम्ररी भेट-घाट गरेर हिँडिन्थ्यो । ल है साथी हो फेरि बर्खाछुट्टीमा भेट गरौंला भनेर गाऊ छोडेको कहिले बर्खा छुट्टी आएन ।

धन्कुटे साल्दाइ, कान्छा दाइसँग माथि फागामा गोठमा बसेको, मिस्र भाइहरूसँग थोत्रे मोजाको गोल बनाएर खेलेको, गाउँका दाइहरूसँग बाँसको चाकाचुलीमा रिँगटा चल्ने गरी फनफनी घुमेको, भोटे खेतमा चट्टि खेलेको अनि छिरिटार डम्फूचिनमा गाई गोठालो गरेको, सबै यादहरू अझै ताजै छन् तर ३ दशक भइसकेछ । एकदिन चाकाचुलीबाट उछिट्यर पछारिदा चापागाईँ माल्दाइको भाँचिएको दाँत फेरि पलायो कि पलाएन थाहा छैन । बेलुका स्कुल छुट्टी भएर घर फर्किदा भोटे खेतमा झमक्क साँझ परुन्जेल मोजाको गोल खेल्दा कहिले कहीँ मिश्र मामाहरू चिर्पटे दाउरो बोकेर खेलेकै ठाउँमा पुगेर लखेटेको पनि बिर्सेको छैन ।

कक्षामा जोङ्खा पढाउने डुक्पा टिचरहरूले, “तिमीहरू नेपालको हो नेपाल जानु ल, ज्यागा दिछु “ भन्थे ।

१९९० को सुरु देखिनै स्कुलको होस्टेलमा गाँइगुँइ हल्ला चल्दै थियो । त्यसैले घर गएको बेला मैले बाबा आमालाई भनेको थिएँ । “खोइ आमा, सबै साथीहरू स्कुल छोडेर भाग्नु पर्छ, पार्टीमा भर्ना भएर आफ्नो भाषा, भेष र धर्मका लागि सरकारसँग लड्नु पर्छ भन्छन् वा म त भागेर इन्डिया जान्छु ।” बाबा आमाले होस्टेलमा बस्न गाह्रो भयो भने कतै नगई घर आउनु भन्नु भयो । मैले त्यति बेला हस् भने ।

नभन्दै हाईस्कुल फर्केको २/३ महिनामा नै स्कुल छोडेर रातारात भाग्नु पर्‍यो । प्रत्येक दिन डाइनिंग हलमा नेपाली विद्यार्थीको सङ्ख्या घट्थ्यो । कक्षामा जोङ्खा पढाउने डुक्पा टिचरहरूले, “तिमीहरू नेपालको हो नेपाल जानु ल, ज्यागा दिछु “ भन्थे । डुक्पा साथीहरू हामीसँग बोल्नै छोडे । हामी नेपाली एक ठाउँ बसेर गफ गर्न, खान लगभग बन्दै गरी दिए । जिन्दगी त्रास र भयमय भयो । एकै हप्तामा ५०/६० जना नेपाली भाषी विद्यार्थी होस्टेल छोडेर भागे पछि हामी रहेकालाई झन् दमन हुन थाल्यो । स्कुल पढ्न गाएको मान्छे पढ्न त के, बाँचिएला कि मरिएला भयो । बेलुका सँगै सुतेको साथी बिहान उठ्दा ओछ्यानमा छैन । कहाँ गएका हुन त्यो पनि थाहा छैन । भागेर घर जाऊँ, वर्षायाम खोलाको बाटो, दुई दिन हिँड्नु पर्ने । त्यही माथि जङ्गलै जङ्गल । बाघ भालुको डर । यस्तो त्रासदी जीवन धेरै बाँच्न सकिन्न भनेर एक बिहान एन आई ई (NIE) मा दाइ भेट्न जाने भन्ने निहुँ पारी म र साथी खगेन्द्रले पनि कुलेलम ठोक्यौँ ।

त्यो नाबालक मस्तिष्कले जे अरायो त्यही गरियो । १५ वर्षकै उमेरमा आफ्नो गाउँ-घर छोडे पनि त्यो उकालो – ओरालो, वर्षाको हिलो -आली, हिउँदको स्कुल छुट्टीमा ढाकर भरी सुन्तला बोकेर दोरोखा- साम्ची गरेको, नाम्चु बगानमा दाजुहरूसँग बाँदर गोठालो गरेको, घर मुनीको मकै बारीमा गाईलाई उदासे काटेको, खरीका रूखमा चढेर डाले घाँस काटेको अनि कसैको बिहे भत्तेरमा जाँदा खेतका गरामा लाइनै बसेर टपरीमा दाल भात खाँदा दालको रस जति सबै चुहिएर फुकै भात खाएको दिमागमा अझै ताजै छ ।

भलै अहिले हजार डलरको खाटमा हजारै डलरको डसना ओछ्याएर सुतिएको होला तर किन हो कुन्नि एउटा दरी ओछ्याएर ढुङ्गाको सिरानमा पातलो कम्मल ओढेर तीन दोभानेको बगरमा सुत्तानै निन्द्रा धेर आउँथ्यो जस्तो लाग्छ । यस्तै यस्तै कुराले मलाई मेरो दोरोखा मन पर्छ । तर अब दोरोखासँग मेरो भावनात्मक सम्बन्ध मात्र बाकी छ । चाहेर पनि म भौतिक रूपमा स्पर्श गर्न सक्तिन । संसारको अर्को कुनामा बसेर फेसबुकमा हालेका तस्बिर हेरेर लाईक गर्न बाहेक अब मसँग अरू तागत रहेन । कसैले साच्चिकै वरदान दिने भएर ‘तँ संसारको कुन ठाउँ घुम्न जान्छस् जा’, भने म लस्एन्जलसको हलिउड, फ्लोरिडाको डिस्नील्यान्ड. लस भेगासको क्यासिनो होइन साम्ची भूटानको दोरोखा नै जान्छु भन्ने थिएँ !!

एनआईई(NIE): शिक्षक तालिम केन्द्र, साम्ची भूटान

Leave a Reply

Your email address will not be published. Required fields are marked *