मैले भूत देखेँ

नील अधिकारी
ओहायो, अमेरिका

बेलुकीको चार बजिसकेको थियो।

मकै गोड्ने खेतालाहरू दिन भरी वैशाखको टन्टलापुर घाममा मकै गोडेर लखतरान परेर कोही खाजा खाँदै थिए, कोही घरतिर लागिसकेका थिए। म त्यतिबेला सानो फुच्चे नै थिएँ, बाबाले,  “पर बारीमा दिउसो खेतालाले घाँस निकालेकाछन् लेर आइज,“ भन्नु भयो । म कुदेर गएँ। घाँस बटुलेर भारी बनाउँदै थिएँ माथ्ला घरका छिमेकी आइते दाजु काँधमा पुरानो भोटे झोला र कम्मरमा बेतको चोयाले बुनेको चुरुङ्गी भिरेर हाम्रो घरतिर झरे। म पनि घाँस लिएर घर आइपुगेँ। आाइते दाजुले पनि बाबासँग गफ गर्दै मलाई साथी लिएर जाने आग्रह गरे। मलाई पनि गाउँका ठुला दाजुहुरुसँग हिँड्न अति रमाइलो लाग्थ्यो। घाम डाँडामा पुगिसकेका थिए, आमाले, “पहेँला घाममा हिँड्नु हुँदैन अनिष्ट हुन्छ,” भन्दै हुनुहुन्थ्यो। “केही हुँदैन बडेमा,” भन्दै दाजु अघि लागे म पछिपछि लागेँ।

तल्लो घरमुनिको जमुना डाँडामा पुग्दा पल्लाघरका कार्कीकान्छा दाजुले देखेछन् बोलाई हाले। ”माछा मार्न हिँडे जस्तो छ नि ठुलेलाई साथी लिएर?” “हो, हो, तिमीपनि जान्छौ भने हिँड,” भनेपछि कार्कीदाजु पनि तयार भए एउटा झोलामा जाल बोकेर तीनैजना खोलातिर लाग्यौँ। तल तालाबस्तीको पल्लो छेउमा दुलाल कान्छाको घर थियो ।घरकै छेउबाट खोलातिर झर्ने बाटोलाई ‘दुलाल गौँडो’ भन्थे। त्यहीँबाट सिधै ओरालो झर्यौं। खोलामा पुग्दा साँझ झमक्क परिसकेको थियो,पूर्णिमाको रात भएकाले जुन झलमल्ल लागिसकेका थिए। खोलामा पुगेर बाङ्गे दहबाट दुई दाजुहरूले पानीको दह परेको ठाउँमा जाल छर्न सुरु गरे। मलाई चाहिँ हरिया स्याउलाले माछा धपाउँदै छेउ छेउ हिँड्न लगाए। करिब चार-पाँचसय मिटरको दुरीमा रहेर जाल खेल्दै अघि बढ्यौँ। जुन टहटह लागिरहेका थिए। बनजाँचेको पनि डर अनि हात्तीको पनि डर लागिराथ्यो मलाई।

चार घण्टा जति जाल खेली सकेपछि हामी बिमिरे होली पुग्यौँ। दैफाम खोला र बिमिरे होलीको दोभानमा बडो चप्लेटी ढुङ्गा थियो त्यँहि बिसाएर दुई दाजुहरूले बिँडी सल्काए। रातको एघार बज्न लागेछ। दुई पटका हरिया डाँडाहरू बैसाखे हावामा सुसाई रहेका थिए। क्याप्टेन भस्मेमाथि जङ्गली हात्तीहरू पाँचफले तानेर सर्ल्याङ सर्ल्याङ गरेको आवाज पनि उत्तिकै टड्कारो सुनिँदै थियो। मेरो भने डरले हंसले ठाउँ छोडी सकेको थियो। वारीपट्टी सोराङ्गे खोलाको ओस्याईलो फाँटबाट जुनकिरीहरू धिमा बत्ती झिमिक्क झिमिक्क पारेर घरी एउटै ठाउँमा गुजुल्टो पर्दै घरी वरपर छरिँदै रमाइरहेका भान हुन्थ्यो। अचानक मेरा आँखा वारी पाखाको महत गौणापट्टि पुगेछन्। हरियो जलुको घारीको माझमा एउटा चुच्चे ढुङ्गा थियो जसको छेवैबाट माथि बस्ती निस्किने बाटो थियो।

यसो नजान्दो पाराले चुच्चे ढुङ्गातिर आँखा लगाउँछु त मेरी बास्सै………….. !!! एउटा मान्छेको आकृतिले मतिर टुलुटुलु एकोहोरो हेरिरहेको देख्छु। पुरा शरीरै जिरिङ्ग……  भएर आयो। फेरि फर्केर सोझै हेर्छु, ढुङ्गामा छेला लाग्छ। पटक पटक यो क्रम दोहोरी रहँदा डरले मेरा शरीरमा भएजति रौँ सबै ठाडा भए। मलाई त्यति बेला जङ्गली जनावरको भन्दा भूत-पिशाचको भन्दापनि बढी फरेष्ट गार्डको डर लागेको थियो। बोली अवरुद्ध भएर केही बोल्न सकिरहेको थिइनँ। घरी क्याप्टेन भस्मेतिर घरी महत गौणातिर आँखा डुलाउँछु; उठेर एक्लै कुदौँ जस्तोपनि लाग्छ। फेरि कुदेर जाँदापनि बाटो त्यही चुच्चे ढुङ्गाकै फेदबाट छ। अघि देखेको मानव आकृति त्यही छ भने र त्यो फरेष्ट गार्ड हो भने त मलाई समाती हाल्छ। मनमा अनेक किसिमका कुराहरू खेल्न थाले। दाइहरू गोठाला गर्दा यही जङ्गलमा घाँस काटेको, कालिजलाई पासो थापेको, र बाँसका तामा टुसाएका बेला भालुले खेदेको कुरा गर्दै गफ्फी रहेका थिए। उनीहरूले एक खिली बिँडी तान्नपनि एकरात जस्तो लाग्न थाल्यो। डाँडाबाट जुन ओरालो लागि सकेका थिए। अन्धकार बढ्दै थियो। झ्याउँकिरी र जङ्गली जनावरको चर्को स्वरले आङ जिरिङग भइरहेको थियो।

बिमिरे होली दिउँसै पनि डरलाग्दो जङ्गल, त्यहीमाथि रातको समय अझ कहाली लाग्दो भयो। त्यसै बेला नजिकैको मुसुरे कट्टुसको रुखमा आएर कोइरालो बास्यो, “यो सङ्केत त राम्रो होइन जाँउ,” भने कार्की दाजुले र दुवैजनाले जाल काँधमा हालेर बाटो लाग्यौँ । बाटो त्यही चुच्चेढुङ्गाको फेद भएर जानु पर्ने, म हतारहतार दुईजनाको बीचमा पसेर मैले भने, “दाजु त्यो ढुङ्गाको फेदमा एकजना मान्छे लुकेको छ।“ ”हो र” कार्की दाजु निकै तर्सिए जस्तो गरे। आईते दाजुले झोलाबाट तीन बेटरीको टस निकालेर पिलपिल बाले। कार्की दाजुले पनि मेरो कुरालाई पत्याएछन् र ढुङ्गाको फेदतिर हेरेछन्। मैले देखे जस्तै मान्छे फुत्त…… ढुङ्गामा छलिएछ। हतारहतार आत्तिएको स्वरमा साउती मार्दै कार्की दाजुले आईते दाजुलाई “टस मार” भने। “किन?” भने आईते दाजुले।
“ढुङ्गाको फेदमा फरेष्ट गार्ड बसेका छन्”। चाल मारेर ढुङ्गाको छेउमा पुग्यौं, चालचुल केही छैन। वरिपरि जलुको र हरियो झारपनि लतारिएको छैन। अघि मान्छे त यतै पसेको देखेको थिएँ। यदि मान्छे हिँडेको भए जलुको लतारिएको हुनु पर्ने, मेरो त झन् हंसले ठाउँ छोड्यो।
”कुदौँ सबैजना भन्दै” कार्की दाजुले फुस्रे हाने, मपनि पछि पछि कुदेँ अर्का दाजु पनि कुदे सामान्य हिँड्दा बीस मिनेट लाग्ने उकालो बाटो हामी पाँचै मिनेटमा माथि महत गाउँमा पुग्यौँ। उकालो कुदेकाले दम बढेर हुरुक्क भइएछ, पछि फर्केर खोलातिर हरेको त…. राम…!! राम…!! अघि हामी बसेको चप्लेटी ढुङ्गामा त पेरिसको टावर जस्तो करिब पाँच सय मिटर अग्लो स्फटिक सेतो खम्बाजस्तो मान्छेको आकृति ठिङ्ग उभिएको छ है। दुईपल्ट श्वास फेरिन्जेल के उभिएका थियौँ त्यो बढेर खोलाको सतहबाट माथि गाउँ सम्म निस्केला जस्तो अग्लो हुँदै आयो। हामी तीनै जना म्याराथन दौडे झैँ कुद्दै कुद्दै महत जेठाका घर पुग्यौँ । कुकरले झन्डै लुछ्यो हामी अतालिएर तीनै भाइ चिचच्यायौं । ”हामीलाई मार्‍यो है…., मार्‍यो है….”
हाम्रो आवाज सुनेर तल्लो घर माथिल्लो घरका कुकुर भुक्न थाले । अघि देखेको सेतो आकृति भने बाँसको घनो जस्तो भुईँतिर नुहिन थालेको रहेछ। महत बाबै,”को हो? के भो ?“ भन्दै तल झरे । उन्का माइला ज्वाइँ गेलाल घर ज्वाइँ बसेका थिए, तीपनि उठेर आँगनमा आए।  ओल्लो घर, पल्लो घर, दुईचार जना मान्छे भेला भए। हामीले देखेको सम्पूर्ण कुरा सुनायौँ ।

बाबैले चार मुठा मुठे-पराल झिकेर राँको सल्काए र “मेरो पछि आवो” भने ।  हामी लगायत आठ दशजना जति मान्छे खोलाको डिलतिर लाग्यौँ। डिलमा पुगेर उँधो खोलातिर हेरेको त…… बाबा.. ठाकुरे……!!! अघि बज्रठीङ जस्तो ठिङ्ग उभिएको सेतो खम्बा त डङ्ग्रङ भुईँमा ढलेको छ । फेरि जहाँबाट हामीले जाल खेल्न सुरु गरेका थियौँ त्यहीसम्म लमतन्न लडेको छ। जिउबाट डरले चिटचिट चिसा पसिना आए । के हो त्यो भन्ने खुल्दुली चलिरह्यो मनमा एक तमासले । एकजना बिजुवा पनि रहेछन् उनले ”कति जना माछा मार्न गएका थियौ? र अरू बाटामा केही सङ्केत अपसकुन देखे भेटेका थियौ”? भनेर सोधे । हामीले बिसाएका ठाउँमा कोइरालो बासेको, चुच्चे ढुङ्गाको फेदमा मान्छे लुके जस्तो आकृति देखिएको कुरा बतायौँ। ”मानो घोप्टिएको रहेनरैछ र बाच्यौ, तिमीहरूसँग त्यो जाल नभएको भए त्यसैले तिमीहरूलाई निल्ने थियो।”  फेरि डरको अर्को झट्का लाग्यो, बिजुवा भन्दै थिए, ”यो दोख (भूत)हो, औँसी-पुर्णेमा उधौली-उभौली पर्वमा प्राय मान्छेले भेट्ने गरेको र यस्तो दोख देख्ने भेट्ने मान्छे दुईचार दिनमै मरेको” कथा सुनाए।

अब सबैजना घर जाँउ, भोलि गएर हेर्नुपर्छ त्यहाँ अवश्य केही हुनु पर्छ भने महत बाबैले र हामी पनि परालको राँको बालेर घर आयौँ। भोलि पल्ट गाँउलेहरु भेला भएर गएछन् । त्यही चुच्चे ढुङ्गाको छेउमा मान्छेको नलीखुट्टा जस्तो रगत सरिको हाड थियो रे । मैले त त्यसदिनदेखि त्यता फर्केर पनि हेरिन र साँझ भन्दा पछाडि घरबाट पनि निस्किनँ । त्यो दिन धेरै कुराको संयोग परेको रहेछ। वैशाख पूर्णिमाको रात, उँभौली पक्ष, तीनजना तीन थरी हिँड्नु, आधा रातमा कोइरालो बास्नु सबै अपशकुन रहेछन्।   अघि हाम्रा पुर्खाहरूले जे भने सबै प्रमाणका कुरा भनेका रहेछन् ।

उनीहरू त वैज्ञानिक होइन महावैज्ञानिक रहेछन्।
,
,

,

Leave a Reply

Your email address will not be published. Required fields are marked *