यसपालिको चाड

डम्बर घिमिरे-

एडिलेड दक्षिण अष्ट्रेलिया

ऋतुको भिरालो पाखाबाट ओरालो लाग्दै चाडबाडको

पहिरो निरन्तर बगेर कसैको इच्छा ओइलायो,

कोषौँ दूर क्षितिज पारिका आफन्तको झिनो आशैआशमा

आँखा ओछ्याएर बाटोभरि चुहूलो चम्को

सुस्ताएको ट्वालट्वाल्ति नियाल्नुको पीडा

अलग्गै छ

कट्वाल  दाईकाँ खसी ढल्यो पल्लाघरमा फर्सी ढल्छ

उसकोमा कुखुरा

उसले नयाँ काँचुली फोऱ्यो

कसैको चटकी र डाढस अनि रवाफ छ

कसैलाई छैन कवाफ

नसधिएको घोडाको अनियन्त्रित बेगझैँ

मन बेकाबु हुनुको रहस्य उदांगो नाचको रमिता हेरिरहेको छ

यसपालिको चाडमा बीरमान सोकाकूल छन्

चमेलीकि आमा एक्लो बिरह गाउँछिन्

बिनायो आफ्नै दुःख पोख्छ

चाड हुने र भैखानेको हो छोरा हामी भए खानेको होइन-

आँगनको पछिल्लो किनारा सुसाउँछ

छाती सुमसुमाउँदै  मनको अभाव टाल्छ

सुक्सुकाँउछ

मनको मसाल बुझाउँछ ।

कैयौंका आँगन भरिए त कतै सन्नाटाले घुम्टो ओड्यो

कतै रमिता त कतै बाजाको बेसुरा तालहरूको रौनक

झन्झटिलो संवेगात्मक प्रहारदेखि

अचेत मुद्रासम्म गतिशील छ परिवेश

गरिबीको जाँतोमा अभावको

ओइरो हालेर

अर्थहीनताको हातो घुम्दैछन् यसपालिको दशैंमा,

चिसो खरानी पल्टाएर आँसुको घुड्को

निल्न परेनि हाँस्छन्

मनका धनीहरू

यसपालिको चाडमा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *