यसरी बोल्छ इतिहास-४
बि. पि. कश्यप
भूटानको मौजुदा कानुनी आधार साँच्चै केलाउने हो भने राजा जिग्मेको खलक पनि असल भूटानी नागरिक हुँदैन । सन् १९८५-को नागरिक ऐनले “विदेशी महिला भूटानी पुरुषले विवाह गरे, उनीहरूका छोराछोरी स्वतः चौथो वर्ग अर्थात चार नम्बर दर्जामा पर्नेछन्”, भनेको छ । भूटानको जनगणना-१९८८ को नीतिअनुसार एकदेखि सातसम्मका विभिन्न वर्गमा विभाजित नागरिकहरूको दर्जामध्ये वर्ग एकमात्र असल भूटानी हो, अन्य कोही पनि भूटानको असल नागरिक होइन । सो व्याख्याबमोजिम अक्षरशः अनुसन्धानमा जाने हो भने आजका पूर्व राजा जिग्मे सिंगे चौथो वर्गमा पर्दछन् अनि उनका सन्तानहरू सातौं वर्गमा पर्दछन् जसलाई भूटानमा गैर-नागरिक मानिन्छ ।
ब्रिटिश भारतसितको १८६५-सिञ्चुला सन्धिले भूटानको विशाल भूभाग कब्जा गरेपछि कालेबुङ भारतमा गाभिएको हो । कालेबुङकै दोर्जी परिवारकी छोरी केशाङ वाङ्मोले तेस्रो पुस्ताका भूटानी राजा जिग्मे दोर्जी वाङ्चुकसित विवाह गरी जन्मिएका छोरा हुन् जिग्मे सिंगे । सिक्किमे छोग्याल राजवंशकी छोरी चुनी वाङ्मो केशाङकी आमा हुन् । पूर्व राजा जिग्मे सिंगेले पनि दक्षिण भूटानका ल्होत्साम्पाहरूले झैं सी.यो. (सर्टिफिकेट अफ अरिजीन) ल्याउनुपर्ने हो भने उनी कालेबुङ र सिक्किम धाउनुपर्ने थियो । तर, दरबारलाई सामान्य कानूनले कहाँ छुन्थ्यो र ! यो कानून त बरु राजसंस्थाको स्थापनाभन्दा पहिलेदेखि देशको निर्माण र संरक्षणमा लागेका ल्होत्साम्पाहरूविरुद्ध केन्द्रित गरियो । उनीहरूको राष्ट्रियताप्रति शंका गरी उनीहरूमाथि मात्र यस्तो विभेदकारी कानून लादियो ।
विशेषतः भारतीय लगानीको छैटौं पञ्चवर्षीय योजना (सन् १९८७-१९९२) भूटानमा शुरु हुनु र ‘ड्रूक्पा संस्कृतिमाथि बाहिरी विश्वबाट आयातीत आधुनिकीकरणको प्रभावले प्रतिकूल असर पारेको छ’, भन्ने भूटानका सत्तासीनहरूको रुञ्चे रड़ाको एकै समयका कारनामाहरू हुन् । भूटानको प्राकृतिक सुन्दरता र मनोरम छटासित लोभिएका पश्चिमाहरू पनि भूटानमाथि भारतको लालसापूर्ण चासोलाई ‘भूटानको सांग्रिला (धरतीको स्वर्ग) छवि जोगाउन भारतले गरेको सराहनीय कदम मानेर लठ्ठै परे । यसरी आधुनिकीकरणको स्वछन्द प्रभावलाई रोक्ने उद्देश्यमा शुरु गरिएको कथित सांस्कृतिक पुनर्जागरणको यो अभियान आखिरमा दक्षिण भूटानका ल्होत्साम्पाहरूविरुद्ध केन्द्रित हुनपुग्यो । राजा जिग्मे सिंगे र उनका पछौटेहरूले आफ्नो वंशलाई ‘संकटापन्न जाति’-को नारा दिएर संसारको सदाशयता ग्रहण गरी ल्होत्साम्पाप्रति दमनको छडी चलाउन अग्रसर भए । आफ्ना भोटिया मूलका सर्वसाधारणलाई ल्होत्साम्पाविरुद्ध भड्काउन सिक्किमको उदाहरण पेश गर्दै सन् १९७३ मा छोग्याल वंशको राजकाज समाप्त गराउने नेपालीभाषीहरूको बहुमतको कारण भएको बताए । र, भूटानका नेपालीभाषीहरूलाई सधैं अधिकारविहीन बनाएर अल्पमतमा राख्नुपर्ने मनाशयबाट प्रभावित भई विश्वभरिको आलोचना खेपेर पनि केही प्रतिशत ल्होत्साम्पा नागरिकहरूलाई देशबाट निकालेरै छोड्ने थिम्पू दरबारको योजना शुरु भयो । “नेपाली आप्रवासीहरूलाई बस्न दिएर हामी भूटानलाई दार्जीलिङ र सिक्किम बन्न दिँदैनौं”, भारतको कलकत्ताबाट प्रकासित हुने पत्रिका ‘द स्टेट्स्म्यान’-लाई दिएको एउटा अन्तरवार्तामा तत्कालीन भूटानी विदेशमन्त्रि दावा छिरिङले सन् १९९२-को जनवरीमा भनेका थिए । राजा स्वयंले पनि “यस्तो अवस्था रहिरहे अब पन्ध्र-बीसवर्षमा भूटान एउटा राष्ट्र नरहेर सिक्किमजस्तै एउटा नेपाली राज्य बन्नेछ”, भनी दावा छिरिङको भनाइलाई अनुमोदन गरिदिएका थिए । यसो भनिरहँदा राजा स्वयंलाई थाहा थियो, सन् १९५० को दशकसम्म कालेबुङका सड़कहरूमा लागूपदार्थ दुर्व्यसनी बनेर हिँड्ने एउटा अवारा ठिटो जसलाई जिग्मे पाल्देन दोर्जी (कुमार साहब)-ले भूटानको दरबारमा भतुवाको रूपमा प्रवेश गराएर कालान्तरमा भूटानको विदेशमन्त्रि बनेका दावा छिरिङलाई, नेपालीभाषीविरुद्ध, म उक्साउँदैछु भनेर !
भूटानलाई परम्परा र संस्कृतिको दृष्टिकोणमा तिब्बतबाट अनि आर्थिक तथा राजनीतिकरूपमा भारतबाट प्रभावित एउटा उपनिवेश बनाउन तम्सिएका थिम्पूका शासकहरूले नेपालीभाषीहरूको योगदान नपुगेको भए आजको भूटान सन् १७७८ तिरै फेरि कहिल्यै, एउटा विन्दुसमेत नदेखिने गरी भारत वा नेपालको एउटा प्रान्तको रूपमा बिलाइसक्ने थियो भन्ने कुरा थाहा नपाएका हुन सक्छन् ! ऐतिहासिक तथ्यअनुसार सन् १७७८-मा नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहका नाति बहादुर शाहद्वारा परिचालित ‘विशाल नेपाल’ अभियानका लडाकूहरू कोचबिहारको सालघारी (आजको सिलगढी)-बाट युद्ध गर्दै भूटानको सीमा छेदन गर्न बाटो लागेका थिए । यो देखेर भूटानका नेपालीभाषी सैन्यहरू अघि आई उनीहरूका सामु परे । आफ्ना अघि आफूजस्तै भाषा, संस्कृति र आचरण भएका मानिसहरू देखेर ‘विशाल नेपाल’-का लडाकूहरू मन्त्रमुग्ध भई युद्ध बिसाएर अन्तै मोडेका थिए भन्ने विभिन्न स्रोतहरूमा उल्लेख छ । यो तथ्यलाई बिर्सिएर “अल्पमतका ड्रूक्पाहरूको संस्कृतिमा अतिक्रमण गरी, भूटानको सार्वभौमिकतामा धावा बोल्दै नेपालसित मिलाउन खोजेको”, भन्ने आजको भूटानका शासकहरूले लगाएको आरोप देशको अत्यन्तै माया गर्ने ल्होत्साम्पाहरूका लागि असह्य हुनु स्वाभाविक हो । उनीहरूले यस आरोपको ठाडो खण्डन गर्दै शाही सरकारको विरोध गरे । सरकारले उनीहरूमाथि सैन्यशक्ति खन्याएर उच्छेद गर्यो !
विकास योजना र सांस्कृतिक संरक्षणको नाममा भारतलगायत अन्य देशहरूबाट ल्याएको मोटो रकमले व्यक्तिगत खल्ती भर्दै पानी पँधेरो झैं ड्रूक एयरको विमानबाट दिल्ली, हङ्कङ् , व्यांकक र सिंगापुरको यात्रा गर्ने भूटानको उच्चवर्ग पूर्णत सौखिन भइसकेको छ । अनियन्त्रित छाडापनले ठूलाबड़ाका हुलभित्र लागूपदार्थ दुर्व्यसनीहरू पनि बढ्दैछन् । भूटानको मौलिक सांस्कृतिक शुद्धताका बारेमा भाषण दिने डासो र ल्योन्पोहरू स्वयं विदेशयात्राको क्रममा पारो हवाई अड्डाबाट विमान उड्नासाथ शौचालय पस्छन् , बख्खु लगाएर शौचालय छिरेका उनीहरू निस्कँदा टाई-सुटमा सजिएका हुन्छन् । बजारका युवा-युवतीहरू पनि पश्चिमी ढाँचामै सजिन रुचाउँछन् ! भारत र नेपालबाट अवैध पैठारी भई थिम्पू पुगेका सबै जायज-नाजायज सामानहरू डासो र ल्योन्पोका छोराछोरीमै खपत हुन्छ ! भएभरको जिन्सको थोकबिक्री पनि थिम्पूमै हुन्छ । सिनेमा हलतिर डासो-ल्योन्पोका छोराछोरी स्किन-टाइट भेष्ट र जिन्समा “कहो ना प्यार है-मैने प्यार किया है”, जस्ता गीत गुन्गुनाउँदै हिँड्छन् । लागू पदार्थको अवैध ओसार-पसार र दुर्व्यसनीमा उनीहरू नै बढी संलग्न छन् यद्यपि, प्रहरीले ठूलाका छोराछोरीलाई चलाउँदैन । उनीहरूको त्यो चालचलन ड्रूक्पा संस्कृति संरक्षणमा बाधक छैन तर, नेपाली भाषामा “हाम्रा राजा दयालु छन्”, भन्न पाइएन ! नेपाली भाषा र संस्कृतिले ड्रूक्पा संस्कृतिलाई साह्रै बिझायो । बख्खु किन्न नसक्ने नेपालीभाषी हली-गोठालाले झत्ते पहिरनमा हिँड-डुल गर्दा भूटानको राष्ट्रियतामाथि ‘दखल पुग्यो’ ! नत्र, भाषा र संस्कृति अलग भए पनि राजालाई देउता मान्ने भूटानका नेपालीभाषीहरू आज नेपालका शरणार्थी शिविरमा किन छट्पटाइरहेका हुन्थे ? पश्चिमीकृत जीवनशैली र विलासी संस्कारमा अभ्यस्त थिम्पूका शासकहरूमा दक्षिण र पूर्वका निरीह ल्होत्साम्पा-सार्छोपहरूको दयनीयताप्रति सहानुभूति नहुनु त बेग्लै कुरा हो तर, उनीहरूका निम्ति ती सबै ‘ङोलोप’ बने ! ‘आतंककारी’, ‘देशद्रोही’ र ‘अनागरिक’ बने ।
बीपी काश्यपजीका लेखहरु “यसरी बोल्छ इतिहास” पढ्दै जाँदा भुटानका बारेमा धेरै कुरा जान्न पाए जस्तो लागे पनि वहाँको लेखमा प्रमाण नभएका कुराहरु पनि मिसिएका पाइए । यसरी इतिहासलाई बाडा अथवा हाँगा बिगा हालेर उपन्यास जस्तो बनाउँदै लाने परम्परा नहुनु पर्ने हो । वहाँले आफुले नजानेका कुरा लेख्नु भन्दा जान्नेहरुलाई सोधेर या सप्रमाण प्रस्तुत गर्नुृ भए वहाँको योगदानको कदर मात्र नभएर भावी पिडिका लागि पनि प्रेरणाको श्रोत बन्ने थियो की ?
मदन जी, प्रमाणसहित यहाँले अर्को लेख लेख्नुभए झन् उत्तम हुन्थेन र ? अथवा कसलाई सोधेर लेख्नुपर्ने हो त्यो पनि औंल्याइदिनु भए सबैको (साहित्य र इतिहासको) उन्नति नै हुनेथ्यो त !
कश्यपजीको लेखमा शीर्षकले नै भन्छ त्यो आफैं इतिहास होइन, इतिहासले भन्न खोजेका कुराको व्याख्यामात्र हो त्यो ! त्यसैले शीर्षक आफैं बोल्छ -‘यसरी बोल्छ इतिहास’ भनेर । मदनजी आफैं अलमल पर्नुभए झैं लाग्यो है ! यहाँको नाममा पनि कुनै लेख आए अरुलाई मूल्यांकन गर्न सजिलो हुनेथ्यो । उपन्यास जस्तो होस या अरु केही जस्तो…लेख्ने स्वतन्त्रता सबैलाई छ…जस्तो लाग्छ । परम
भुटानीहरु यसरि नै पछी परेका हुन्. जसले जे गरे पनि खुट्टा तान्ने अनि आफु केहि नगर्ने ! मदन भन्ने यहाँ हजुर महाशयले गरे जस्तो…!
कश्यपजी
I really appreciate you for doing research on historical facts of Bhutan and its population.Please keep posting history of Bhutan because it’s important to know from MONPA to Wangchuck and many more.
Thank You
Sancha Man Khaling