यस्तो लाग्छ मलाई
आज मलाई शून्य लाग्यो
कल्पेर मातृभूमि,
आज मलाई खल्लो लाग्यो
सम्झेर मेरी जननी |
मनका इच्छा कति थिए
सारा टुटिगए,
सुलेसनले जोड़ूँ भन्दा
सबै विदेशिए |
टाढाबाट जनानीले
लाग्छ बोलाएको जस्तो,
तर किन आफ्नै मन
लाग्छ टोलाएको जस्तो |
किन होला कल्पिनु पर्ने
कथाभित्र सधैँ,
किन होला अल्झिनु पर्ने
व्यथा भित्र अझै |
तर……………..
यस्तै रहेछ सन्ततिको चाल
पश्चिमेली फेसनको डाल,
कसले बुझिदिने उनको कल्पना,
निराशा र उदासीमा बित्छ सपना |
प्रकृति हेर्छु आफैँ दङ्ग,
सम्झेर ल्याउँदा हुन्छु भरङ्ग,
बढ्दछ मनमा घोर उमङ्ग,
झसङ्ग हुन्छ एकाएक अङ्ग |
परिस्थितिको खेल यस्तै छ यहाँ,
गरौँ न त केही जाउँ कहाँ?
सहनु छ सारा मुटुको पिर,
मुटुमै छ एक तिर्सनाको तिर |
त्यसैले………………….
पृथ्वीले मार्ग भुलेको पाउँदा,
ताराहरुको प्रकाश लोप भएको पाउँदा,
चन्द्रमामा बादल लागेको पाउँदा
कता कता झसङ्ग हुन्छ मेरो मन |
पहाडहरु दु:खी भै रोएको सुन्दा,
बाटाहरु लम्पट भै सुतेको पाउँदा,
काला बजारहरु हुर्केको पाउँदा
भरङ्ग हुन जान्छ मेरो भित्री मन |
सन्ततिमा आलस्य बढेको पाउँदा,
कपटी र घमण्डी फैलिएको पाउँदा,
चोर-चण्डाल मारी-मारी हाँसेको सुन्दा
भ्रममा पर्छ यो मेरो दु:खी मन |
बगरहरु शून्य भएको पाउँदा,
पश्चिमेली साम्राज्यवादको राज्य पाउँदा,
देवताहरुले पृथ्वी भुलेको पाउँदा
नाई! नाई! भन्छ मेरो मन |
धाराहरु सबै सुकेको पाउँदा,
बगैँचामा फूल फुल्न छोडेको पाउँदा,
झार-जंगल बढेको पाउँदा
उदासिन जान्छ मेरो बाबरा मन |
कोइलीले गीत गाउन छोडेको पाउँदा,
परेवा जोडी नभएको पाउँदा,
बन्करहरु वन थर्काई रोएको सुन्दा
कस्तो-कस्तो लाग्छ मलाई
यस्तो अनौठो लेख्न पाउँदा |