याद आयो
कुमार सिवाकोटी
पेन्सिल्भिन्या, अमेरिका
ढुङ्गा अनि झत्ताको नानी बनाई खेलाउँथ्यौ
पोल्टोमा लुकाई मलाई मिठाई खुवाउँथ्यौ
रोएँ भनेँ पनि अनेक गरी हँसाउँथ्यौ
गोठालोमा मकै अनि आलु पोली खुवाउँथ्यौ
आफ्नो थकाई बिर्सिएर, पसिना नओभाई
मेरो भोक सम्झेर चुलामा पुग्थ्यौ
छिचिमिराको हेलिकप्टर बनाई दिन्थ्यौ
मलाई खुसी पार्न सधैँ लागी पर्थ्यौ
पकाउन, खुवाउन, नुहाउन आदि सबै
आफ्नो पढाई छोडेर मलाई पढाउँथ्यौ
आज जाँचमा पास भएँ म खास भएँ
त्यही भएर दिदी आज तिम्रो याद आयो
हो दिदी ! तिम्रो याद आयो …….
अलिकति पनि बाँडेर खाने तिम्रो बानी
तिमीले बनायौ मलाई पनि धेरै ज्ञानी
बारीका फलफूल टिपेर खुवाउँथ्यौ
छुई डुम, चु कि बु, किर्किता, ईर्किमिर्की
साथीहरू भेला पारी खेलाउँथ्यौ
आफू नाची मलाई नाच्न सिकाउँथ्यौ
काम सिकाउन फुर्क्याउँथ्यौ
जहिले बिरामी हुँदा सुर्ताउँथ्यौ
आफू गाली खाएर मलाई जोगाउँथ्यौ
मलाई सिर्कनोले पिट्दा लुकाउँथ्यौ
तर दिदी आज बा’ले गाली गरे
म नि:शब्द भएँ तर
दिदी, आज तिम्रो याद आयो
हो दिदी ! तिम्रो याद आयो ……
के गर्नु दिदी,
आफ्नो घर छोडेर पराईसँग रमाउनु पर्ने
पराईकै चुलो, डाडु-पुनिउँ समाउनु पर्ने
के होला? कस्तो होला? पराईको घर
बाध्यता पछि फुलाउनु पर्ने त्यही रहर
जन्म घर आउन पनि अनुमति लिनु पर्ने
कठिनाइका दर्दनाक पिडा लुकाएर
ओठमा कृत्रिम हाँसो देखाउनु पर्ने
माइतीलाई पिडा नदेखाउने
घरको कुरा नकाट्नु
समाज र संस्कार जोगाउनु
आशिष् पनि यस्तै दिएका थिए
मैले कतै सुने आफ्नै मान्छेले
मा’प’से गरेर हेला गर्छन् रे
दु:ख भित्र पनि हाँस्दै हौ ली
पुरानै चोली धोयौ होला
मलाई सम्झी रोयौ होला
आँगनीमा मखमली फुल्यो
थाहा पायौ होला तिहार आयो
दिदी, आज तिम्रो याद आयो
हो दिदी ! आज तिम्रो याद आयो ….