युवा

टेकनारायण रिमाल ‘कौशिक’
याङ्गोन म्यान्मार

सुतेर हुन्न है युवा उठी अगाडि बढ्नु छ।
लिएर चाह लक्ष्यको हिमाल शैल चढ्नु छ।

पुगेछ लौ जगत् उठी विकास राजमार्गमा
हटेर हुन्न है डटी विशाल युद्ध लड्नु छ।

छ आजसम्म जाति यो अशिक्षितै कता कता
युवा तिमी घुमी घुमी नवीन ज्ञान बाँड्नु छ।

डुबेछ हेर कस्तरी समाज अन्धकारमा
तिमी जताततै पुगी प्रकाश पुञ्ज छर्नु छ।

नछोडिनू पछाडि हे सुशील छोरी चेली हो!
मिलाउँदै कदम् कदम् सँगै मिलेर हिँड्नु छ।

छ वक्ष वज्रतुल्य यो र पाखुरा फलाम झैँ
अजङ्ग तुङ्ग विघ्नका पहाडसंग भिड्नु छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *