राम, शम्बुक हत्या र शास्त्रीय अध्ययनको सन्दर्भ
भक्त घिमिरे
पेन्सिलभेनियाँ/अमेरिका
राजारामले शुद्र तपस्वी शम्बुकको हत्या गरे भन्ने अभियोगबाट यो कथा शुरु हुन्छ । कथा अनुसार एकदिन एक ब्राह्मणको एकलपुत्र अल्पायुमा मऱ्यो । ब्राह्मणले छोराको शव ल्याएर अयोध्या राजदरवारको ढोकामा राखी रोई-कराई गर्न लाग्यो । राजाको कुनै दुष्कृत्य (दुष्कर्म)-को कारण आफ्नो छोरोको देहान्त भएको आरोप लगाउँदै ब्राह्मणले विलाप गऱ्यो । ब्राह्मणको विलाप सुनेपछि राजा रामले ऋषिहरुको एउटा टोली खटाएर अनुसन्धान गर्न लगाए । ऋषिहरुको टोलीले राज्यमा कुनै अनाधिकृत मनुष्यले तपस्या गरिरहेको कारण ब्राह्मणको घरमा त्यस्तो दुर्घटना भएको निर्णय निकाल्यो । ऋषिहरुको निर्णयपछि राजा रामचन्द्रले मन्त्रिमण्डलको बैठक डाके ।
मन्त्रिपरिषदको बैठकमा नारदमुनिले भने,‘हे राजन ! द्वापर युगमा पनि शुद्र तपस्या अधर्म हुनेछ भने त्रेतामा त शुद्रले तपस्या गर्ने कुरा कल्पना गर्नै ठूलो अपराध हो ! निश्चय पनि तपाईंको राज्यको सीमाभित्र कुनै खोटी बुद्धिवाला शुद्र तपस्या गरिरहेको हुनुपर्छ । त्यसै कारण यो ब्राह्मण बालकको मृत्यु भएको हो । त्यसर्थ राजन, आफ्नो राज्यमा भइरहेको दुष्कर्मलाई खोजी गरेर त्यो दुष्कर्मीलाई रोक्ने यत्न गर्नुहोस् !’ नारदमुनिको यो कुरा सुनेर रामचन्द्र पुष्पक विमानमा सवार भई शम्बुकको खोजीमा निक्ले । खोज्दै जाँदा दक्षिण दिशाको शैवल पर्वतको उत्तरी भागमा अवस्थित एउटा सरोवर छेउ तपस्या गरिरहेको शम्बुकलाई देखे र उसको शिर छेदन गरी हत्या गरिदिए ! किंवदन्तीको रूपमा अध्यात्म रामायणअन्तर्गत उत्तरकाण्डको सर्ग-७३ देखि ७६ सम्म शम्बुक बधको प्रसंग छ ।
यहानेर अब सवाल उठ्छ-यो माथिको कथामा कतिको सत्यता छ । शम्बुक शुद्र भएकै कारण तपस्या गर्दा रामद्वारा मारिएको कुरा कतिको सत्य होला भनेर पारख गर्नलाई तमाम वैदिक कथनहरुको चर्चा उठाउनु जरुरी देखियो । त्यसर्थ सो चर्चामा हामी लागिरहेका छौं । मुख्य कुरा त राम पुष्पक विमानमा सवारी भएको कुराले यो कथालाई सम्पूर्णरूपमा मिथ्या साबित गरिदिएको छ । पुष्पक विमान अयोध्या आइपुगेकै छैन । पुष्पक विमान कुबेरबाट रावणले जफत गरेका थिए । युद्धमा रावणको बध भएपछिमात्र पुष्पक विमानमाथिको स्वामित्व रामको हातमा आएको हो । लंकायुद्ध समाप्तिपछि राज्याधिकार रावणकै भाइ विभिषणलाई हस्तान्तरण गरी पुष्पक विमान पनि त्यसकै असली मालिक कुबेरलाई फिर्ता दिएर राम अयोध्या फिरेका थिए । (युद्ध काण्ड १२७/६२)
शास्त्रीय मतले जसरी पुण्य वा पाप कर्म गर्ने व्यक्तिलाई नै उसको कर्मफल प्राप्त हुन्छ भन्ने स्पष्ट सन्देश दिएको छ भने शम्बुकको तपस्याले ब्राह्मणपुत्रको मृत्यु हुने कुरा अतिशयोक्ति छ, अत्यन्तै हास्यास्पद छ । शम्बुक हत्या प्रकरणमा दुइटा शंसय विद्यमान छन् । एउटा शंसय के हो भने कि अन्धपरम्परावादी जातिवादका पक्षधर कर्मकाण्डी पण्डाहरुले रामको राजत्वलाई साधन बनाएर शुद्रप्रति ऐतिहासिक दोहन गर्न त्यो कथामा त्यस्तो कुरा लेखाए अथवा अर्को शंसय हो; कि त ‘अतिवादी बाहुनविरोधीहरु’ले ‘बाहुनहरुबाट आफूमाथि भएको सांस्कृतिक दमन’ (भ्रम) को प्रतिशोध लिनका लागि त्यो कुराको हल्ला फैलाएका हुन् ! यी दुवै कुरा सत्य नभएको खण्डमा शास्त्रका निम्न तथ्यहरु सबै झूटा हुनेछन् । राम मर्यादाको पालन गर्ने राजा भएकाले शास्त्रीय मान्यताहरुको उल्लंघन गरे होला भनेर कल्पना गर्न सकिँदैन ।
अब शुद्रका सम्बन्धमा केही शास्त्रीय प्रसंगहरु केलाउँ !
हेरौं है त शास्त्रले के भन्दछन् –
___________
१. ‘तपसे शुद्रं…’- यजुर्वेद ३०/५
अर्थात्- धेरै परिश्रमी, कठीन कार्य गर्ने, साहसी तथा परम् उद्योग अनि तप गर्ने व्यक्तित्व नै शुद्र हो ।
२. ‘नमो निशादेभ्य…’ – यजुर्वेद १६/२७
अर्थात्- शिल्प-कारीगरी विद्याले युक्त जुन परिश्रमी व्यक्ति (निषाद/ शुद्र) छ उसलाई नमस्कार गर अथवा उसको भरपूर सत्कार गर ।
३. ‘रुचं शुद्रेषु…’- यजुर्वेद १८/४८
अर्थात्- जसरी ब्राह्मण, क्षत्रीय, वैश्य र शुद्रमा ईश्वरले समान दया गर्दछ उसै गरी विद्वानहरुले पनि ब्राह्मण, क्षत्रीय, वैश्य र शुद्रमा एक समान प्रीति राख्नुपर्दछ ।
५. ‘पञ्च जना मम…’ – ऋग्वेदः सूक्तं १०.५३
अर्थात् -पाँचौं तहको मनुष्य (ब्राह्मण , क्षत्रिय, वैश्य, शुद्रबाहेकको अतिशूद्र निषाद) समेत मिलेर मेरो यज्ञमा प्रीतिपूर्वक सेवा गरुन् । पृथ्वीमा जति पनि मनुष्यहरु छन् ती सबै मिलेर यज्ञ गरुन् ।
प्राचीनकालमा शुद्रले यज्ञ वा तपस्या गर्दथे भन्ने कुराका यस्ता प्रशस्तै प्रमाणहरु छन् ।
वाल्मिकी रामायणमा पनि शुद्रले उपासना गरेर महान बनेका प्रमाणहरु छन् । सन्त वाल्मिकी भन्छन् रामायण पढेर ब्राह्मण सुवक्ता (कुशल वक्ता) हुन सक्छ, क्षेत्री भूपति (भूमिको धनी) हुनसक्छ, वैश्यले राम्रो आर्थिक लाभ लिनसक्छ तर, ती सबैभन्दा बढी शुद्र महात्मा बन्दछ ! अतः रामायणमा चार वर्णलाई समान सामाजिक जीवनको अधिकार प्राप्त भएका केही अंशहरु हेर्नुहोला ।
- रामायणको पहिलो अध्यायको अन्तिम श्लोक
- अयोध्याकाण्ड, अध्याय ६३ श्लोक ५०-५१
- अयोध्याकाण्ड अध्याय ६४, श्लोक ३२-३३
यसरी नै महाभारतमा कृष्णको कथन छ- हे पार्थ ! जो पाप योनिमा परेका स्त्री, वैश्य र शुद्रहरु छन् तिनीहरुले पनि मेरो उपासना गरेर सहजै मोक्ष प्राप्त गर्दछन् ।
गीता ९/३२
उपनिषद्मा शुद्रको उपासना प्रमाण
___________
शुद्रवर्ण भनेको मानवसेवा अथवा पोषण गर्ने साक्षात प्रकृति वा पृथ्वी समान महानता बोकेको मनुष्य हो किनभने पृथ्वीले जस्तै उसले सबैको भरण-पोषणका लागि परिश्रम गर्दछ ।
बृहदारण्यक उपनिषद १/४/१३
व्यक्ति आफ्नो गुणबाटै शुद्र वा ब्राह्मण बन्दछ– जन्म वा वंशजबाट होइन ! सत्यकाम जाबाल जब गौतम गोत्री हारिद्रमत ऋषिको आश्रममा विद्यार्थी बनेर पुग्यो- ऋषिले उसको गोत्र सोधे । सत्यकामले आफ्नी आमालाई उद्धृत गर्दै भन्यो,“युवा अवस्थामा म अनेकौ पुरुष व्यक्तिहरुको सेवामा व्यस्त रहन्थें । आज एक भोलि अर्को ! त्यही बखत तेरो जन्म भयो । मलाई थाहा छैन तेरो गोत्र के हो । त्यसकारण ऋषिले तेरो गोत्र सोधेमा जबालाको पुत्र हुँ भन्दिनु । मेरी आमाले यति नै भन्नुभएको छ । मेरो नाम सत्यकाम हो ।” ऋषिले यस्तो जवाफ सुनेर भने,“जो यसरी सत्य बोल्दछ, त्यो नै ब्राह्मण हो, अरुले यसरी सत्य बोल्दैन ।” अथवा जो आफ्ना सबै कुरा खुलेर भन्नसक्छ, त्यो ब्राह्मणत्व हो ।
छान्दोग्य उपनिषद ३/४
यो अर्थमा आफ्ना पुर्खादेखि साखा सन्तानसम्मको कमजोरी लुकाएर बोल्ने, राम्रो पक्षमात्र देखाएर बोल्नेहरु कोही पनि ब्राह्मण हुँदैनन् ।
महाभारतमा युधिष्ठिरको कथन छ-कुनै व्यक्ति कुलवंश, कतिवटा पुस्तक अध्ययन गरेको वा कतिलाई मौखिक ज्ञान बाँडेको भन्ने आधारमा मात्र द्विज बन्न सक्तैन तर, सद्व्यवहार र सदाचरणले उसलाई द्विज बनाउँदछ । द्विजको अर्थ हो एकपटक शुद्रको रूपमा आमाको गर्भबाट जन्मिएर चेतनामार्फत दोस्रो जन्म लिँदै जागृत बनेको व्यक्ति अर्थात् सर्वसाधारणको बोलिचालीमा ब्राह्मण !
महाभारत/ यक्ष -युधिष्ठिर संवाद ३१३/१०८–१०९
कर्णले पनि आफू सूतपुत्र भएको कारण द्रौपदी स्वयंवरणमा अयोग्य ठहरिँदा भनेको थियो,“जन्म ईश्वरबाहेक कसैको अधीनमा हुँदैन । तर, पुरुषार्थको माध्यमले एकबाट अर्को पद लिनमा मनुष्यको आफ्नै अधीन हुन्छ ! म पनि भविष्यसम्म यही तहमा रहने छुइनँ ।”
महाभारत
जसरी धर्माचरणद्वारा निकृष्ट भनिएको वर्ण आफ्नो तहबाट माथिल्लो वर्णमा जान योग्य बन्दछ त्यसरी नै उच्चवर्णवाला मनुष्य पनि अधर्म वा आफ्नै आचरणद्वारा नीच वर्णमा झर्दछ ।
आपस्तम्ब धर्मसूत्र २/५/११/१०–११
जुन व्यक्ति शुद्रकुलमा जन्मिएर पनि ब्राह्मणको गुण-कर्म, स्वभाव लिन्छ ऊ ब्राह्मण बन्दछ भने उसैगरी ब्राह्मण कुलमा जन्मिएर पनि गुण-कर्म र स्वाभाव शुद्रको सदृश्य छ भने ऊ शुद्र बन्दछ ।
मनु १०/६५
चारै वेदको ज्ञाता भएर पनि कोही चरित्रहीन छ भने त्यो ब्राह्मण शुद्रभन्दा पनि तल्लो तहमा पुग्दछ । जुन जितेन्द्रिय ब्राह्मणले अग्निहोत्र गर्दछ त्यो व्यक्तिमात्र असल ब्राह्मण हुन्छ ।
महाभारत वनपर्व ३१३/१११
ब्राह्मण, क्षेत्रीय, वैश्य र शुद्र सबैले कठोर तपस्याद्वारा स्वर्ग प्राप्त गर्दछन् ।
महाभारत (अश्वमेधिका पर्व) ९१/३७
सत्य, दान, क्षमा, शील, दया र समताभाव जसमा छ उही ब्राह्मण हो अनि जसमा यी गुणहरु छैनन् त्यो शुद्रभन्दा पनि तलको हो ।
वनपर्व १८०/२१–२६
वाल्मीकि रामायण अनुसार रामचन्द्रद्वारा वनवास कालमा निषादराजले ल्याइदिएको खाने कुरा ग्रहण गरिनुले छुवाछूत थिएन भन्ने प्रमाणित गर्दछ ।
रामायण- बाल काण्ड १/३७–४०
भिल्ल जातिकी शबरीको जुठो बयर खानु आदिले यो सिद्ध गर्दछ कि शुद्रवर्णलाई त्यो बेलामा खास भेद गरिँदैन थ्यो ।
रामायण-अरण्यक काण्ड ७४/७
रामचन्द्र शबरीलाई भेट्न वनमा गएका थिए । शबरीको बारेमा वाल्मिकीले लेखेका छन् –शबरी सिद्धपुरुषहरुद्वारा सम्मानित तपस्वीनी थिइन् ।
रामायण-अरण्यककाण्ड ७४/१०
यी सबै तथ्यहरुलाई हेर्दा रामायणकालमा शुद्रलाई तपस्या गर्न कुनै रोकटोक थिएन भन्ने नै बुझिन्छ । वाल्मिकी रामायणमा नारदमुनिको कथन छ-‘राम एक श्रेष्ठ, सबैलाई समान दृष्टि र व्यवहार गर्ने सर्वप्रिय राजा थिए ।’
रामायण-बालकाण्ड १/१६
यति तथ्य हेरेपछि पाठकहरुले सहजै अनुमान गर्न सक्नुहुनेछ रामले कसरी तपस्यामा लीन शुद्र शम्बुकको हत्या गर्न सक्थे ? जब वेद , रामायण, महाभारत, उपनिषद्, गीता आदि सबै शास्त्रले शुद्रलाई तपस्या गर्ने, विद्या ग्रहण गर्ने तथा ब्राह्मण आचरण अपनाउने जस्ता समान व्यवहारको सन्देश दिएका छन् भने वेदविरोधी आचरण गर्न रामजस्ता क्षेत्रीय राजा र उनका गुरु, ऋषि ब्राह्मणहरुलाई कसले छुट दियो ?
यसर्थ यो लेखको शुरुमा वर्णित- त्रेतामा शुद्रले तपस्या गर्नु नहुने भन्ने नारद ऋषिको भनिएको बयान पूरै कपोलकल्पित लाग्छ !
रामले मर्यादा पालन गरेका कथाहरुको सन्दर्भमा एउटा रोचक प्रसंग अर्को पनि छ । महर्षि कम्बनरचित रामकथा (तमिल) अनुसार रामवनवासको बेला सीता हराएपछि सीतालाई खोज्दै राम दक्षिण भारतस्थित रामेश्वरं भन्ने ठाउँमा पुगे । सीतालाई लंकेश्वर रावणले हरेर लगेको भन्ने कुरा जानकारी भइसकेपछि रामले रामेश्वरंमै एउटा यज्ञ आयोजन गर्ने भए । अरु रामायणहरुमा रामसित लक्ष्मण र हनुमानलाई प्रमुखताका साथ राखिए पनि कम्बनरचित रामकथामा जाम्वन्तलाई प्रमुखता दिइएको छ । रामेश्वरंमा रामले गर्न लागेको यज्ञ लंकाविजयका लागि केन्द्रित थियो ।
लंकाका राजा रावण थिए भन्ने कुरा सबैले सुनेकै छन् । त्यसबेला यज्ञ भनेको महादेवको लिंग (प्रतिमा विग्रह) पूजन भन्ने बुझिन्थ्यो । यज्ञका लागि एकजना वैष्णव परम्पराका जानकार तथा शैवीआराधनाका विधिहरु दुवैमा पोख्त विद्वान पण्डित खोजेर ल्याउन रामले जम्बवन्तलाई निर्देशन दिए । जाम्बवन्तले यस विश्वब्रह्माण्डमा वैष्णव र शैव दुवै परम्पराका जानकार एकमात्र आचार्य पुलस्त्यका नाति, लंकाधिपति रावण रहेको कुरा रामलाई सुझाए ! रावणले उनकै वैरी रामको यजमानी कसरी स्वीकार्लान् भनेर असमञ्जसमा परेका जाम्बवन्तलाई रामले भरोसा दिलाउँदै गएर रावणसित अग्रह गर्न भने । जाम्बवन्त रावणको दरवारमा पुगे । जाम्बवन्त पुलस्त्यऋषिकै मित्र भएकाले रावणद्वारा पितामहका मित्रको भव्य स्वागत गरियो । जम्बवन्तले योजना अनुसार रावणलाई रामको यजमानीको लागि आग्रह गरे । केही समय लगाएर सोचेपछि रावणले रामको यजमानी स्वीकार गरेर समाचार पठाइदिए । रावणले आफ्नो यजमान वनवासी अवस्थामा रहेकाले यज्ञमा चाहिने सबै वस्तुहरु आचार्य (पुरोहित/पण्डित) स्वयंले जुटाउनुपर्ने हुँदा आफू स्वयंले सबै सामग्री ल्याउने कुरा जाम्बवन्तलाई जनाएका थिए । त्यसर्थ आफ्नो रथ लिएर अशोक बाटिकामा बसिरहेकी सीता छेउ पुगेर रावणले भने,“मेरा यजमान रामको यज्ञ गराउन म आचार्य बनेर जाँदैछु । यज्ञको समयमा उनकी भार्या साथमा रहनुपर्ने हुन्छ तर, उनी मेरो कैदमा भएका कारण उनलाई पनि मैले साथमा लिएर जानु छ । मेरो रथमा सवार हुनुहोस् । तर, एउटा कुरामा ध्यान रहोस्, यज्ञस्थलमा पनि तपाईं रावणकै अधीनमा रहनु हुनेछ ।” रावणको यो आदेशपछि सीता ‘जो आज्ञा, आचार्य’ भन्दै रथमा सवार भइन् । त्यतिबेला रावण “अनन्त सौभाग्यवती भवः” भनेर आशीर्वाद दिए ।
यज्ञस्थलमा पुगेका रावणलाई राम-लक्ष्मणले स्वागत गरे । हनुमानलाई शिवलिंग लिन पठाइएको बताएर रामले आचार्य रावणलाई केही समय पर्खिने आग्रह गरेका थिए । तर, मुहुर्त बितेपछि कुनै यज्ञकार्य नहुने जनाउँदै रावणले रामको हातबाट शिवविग्रह गराइ रामेश्वरको शिवलिंग स्थापित गराए । हनुमान अर्को शिवलिंग लिएर आइपुग्दा यज्ञको तयारी भइसकेको थियो । हनुमानको अहंकारमा चोट नपरोस् भनेर रामले त्यो पनि छेउमै राखिदिए-(रामेश्वरंमा रामेश्वर र हनुमानेश्वर नाम गरेका दुइ शिवलिंग अहिले पनि छन् भनिन्छ) ।
त्यसपछि यज्ञ शुरु भयो । शुरुमै रावणले यज्ञको उद्देश्य सोधे । रामले यज्ञको उद्देश्य लंकाविजय हो भनेर बताइदिए । यज्ञद्वारा सदाशिव, सर्वेश्वर महादेव तृप्त भएमा अवश्व पनि यजमानको उद्देश्य पूरा हुनेछ, तथास्तु-भन्दै रावणले आशीर्वाद पनि दिए । त्यसपछि यजमान रामलाई आचार्य रावणले आफ्नी पत्नीसहित यज्ञमा आएर बस्न अनुरोध गरे । आफ्नी पत्नी आफूसित नभएकाले आफू एकलैलाई यज्ञको हक दिन रामले आचार्यसित अनुरोध गरे ।
अविवाहित, विदुर वा पत्नीद्वारा त्यक्त नभएसम्म पुरुष एकलैले यज्ञ गराउन नमिल्ने आचार्यले बताएपछि रामलाई सकस पऱ्यो । राम छट्पटाउन थाले । रामको अवस्था देखेपछि रावणले लक्ष्मण, विभिषण र अरु केहीलाई पठाएर आफ्नो रथबाट सीतालाई यज्ञमा ल्याउन आदेश गरे । सीता र राम दुवैलाई साथ राखेर यज्ञ सम्पन्न गरियो । यज्ञ सकेपछि दक्षीणा दिने कुरामा रामले के दक्षीणा गरुँ, मर्जी होस् आचार्य भन्दा –रावणले वनवासी अस्थामा आफूले चाहेको दक्षीणा रामले दिनै नसक्ने बताउँदै आग्रह गरे,“जीवनको अन्तिम अवस्थामा मेरो सामु मेरा यजमानको दर्शन पाउँ ।”
वाल्मिकीय रामायण र तुलसीदासको रामचरित मानसमा नभएको प्रसंग हो यो । यसरी राम मुख्य पात्र भएका कति हो कति रामायण लेखिएका छन् जसमा अनेकन कथनहरु एकभन्दा अर्को रामायणमा भिन्न भिन्न छन् ।
देश-देशान्तर र अनेकौं भाषाहरुमा त्यहाँका स्थानीय किंवदन्तीहरु मिसाएर लेखिएका रामायण अनेकन भइसकेका छन् । यस पंक्तिकारकै जानकारीमा पनि अहिलेसम्म जम्मा २७ वटा रामायण लेखिएका छन् । तीमध्ये केही यसप्रकार छन् -दशरथ कथानम (चीन), महालादिया लाबन (फिलीपींस), खोतानी रामायण (तुर्किस्तान), रामकियेन (थाईलैंड), रामवत्थु (बर्मा), तैरानो यसुयोरीद्वारा रचित ‘होबुत्सुशू’ (जापानी), रामकेर (केम्बोडिया-ख्मेर भाषा), भानुभक्तकृत रामायण (नेपाल) इत्यादि ।
कम्बनको इरामावतारम नै वाल्मिकीय रामायण, तुलसी दासकृत रामचरित मानसभन्दा कति फरक छ भन्ने कुरा माथिको चर्चाबाट यहाँहरुले जानकारी पाइसक्नु भयो भने कल्पना गरौं यस्ता तमाम भाषान्तर र देशान्तरले रामकथामा कति नयाँ कुरा थपिए होलान् !
यस्तै प्रसंगहरुबाट बुझ्न सकिन्छ रामले तपस्वी शम्बुको हत्या गरेका थिए भन्ने कुरा कसरी रामायणमा गाभिएको होला भनेर । शुद्र भएकोले शम्बुकले तपस्या गर्न नमिल्ने र रामद्वारा उसको हत्या भएकै हो भन्ने कुरामा अन्य कुनै बलिया आधारहरु छन् भने योग्य पाठकहरुले ल्याउनु नै हुनेछ-आशा गर्दछु ।
मेरो आजसम्मको अध्ययनले के देखाउँछ भने, मध्यकाल (ईश्वी सन् ३००) को हाराहारिमा जब बौद्ध र जैन मतको प्रभाव बढेर गएको थियो । कठोर ब्राह्मणवादको कारण वेदविद्या लोप हुन लागेको थियो । जब पशु र पशुपालनको लागि चाहिने भूमिको लागि युद्धहरु भइरहेका थिए । त्यही क्रममा विजेता योद्धाहरुले आफ्नो वंशजसत्ताको स्थापना गरेर ‘राजाको छोरो अनिवार्यरूपमा राजा बन्ने’ चलन बसाले । त्यहीबेला ब्राह्मणहरु पनि गुणको माध्यमबाट नभई जन्मवंशको आधारबाट शास्त्री, महापण्डित बन्नथालेका थिए । त्यही बेलामा शुद्रलाई समाजको तल्लो तहमा गन्न थालिएको थियो भने नारीलाई ‘नरकको द्वार’ भनेर अपराधबोध गराउन थालिएको थियो ।
सोहीबेला मनुस्मृतिमा वेदविरोधी जातिवादी, छुवाछूतको पोषण गर्ने श्लोकहरु थपेर अपभ्रंशित गराइयो । वाल्मिकी रामायणमा पनि अतिरिक्त पाठ थपिएको कुरा छ जसलाई ‘उत्तरकाण्ड’ भनिएको छ । भाषामा ‘उत्तर’ वा ‘इतर’ भन्ने शब्दहरुले कुनै कुराको समाप्तिपछि फेरि थालिएको वा थपिएको भन्ने बुझाउँछ । रामायण कथाका सारा काण्डहरु समाप्त भइसकेपछि थपिएको कारण नै यसलाई ‘उत्तरकाण्ड’ भनिएको अनुमान छ । रामायणको मात्र कुरा होइन, सबैजसो शास्त्रमा अनेकौं थपघट भएका छन् । शास्त्रीय थपघटको प्रसंगमा महाभारतलाई बलियो उदाहरणको रूपमा लिन सकिन्छ ।
प्राचीनकालमा महाभारत आठ हजार आठ सय श्लोकको थियो भने यसको नाम जयसंहिता थियो । पछि चौबिस हजार श्लोक थपेर यसलाई भरतवंशको वर्णन भएकोले ‘भारत’ भन्न थालियो । अनि यो एउटा साहित्यिक महाकाव्य भएकोले दुवै नाम जोडेर यसको नाम महाभारत बनाइयो । जब गुप्त राजवंशको शासन स्थापित भयो त्यसपछि यस काव्यमा अनेकौं श्लोक थपिए र एक लाख श्लोकको पुस्तक बन्यो । एकलाख श्लोक बनेपछि यसको नामै फेरिएर ‘शतसाहस्त्री संहिता’ बन्यो । यसको प्रारम्भिक उपाख्यान आश्वलाय गृहसूत्रमा पनि पाइन्छ । यसैलाई केही ठाउँमा हरिश्चन्द्र उपाख्यान पनि भनिएको छ । अहिले यो ग्रन्थमा अझै दश हजार श्लोक थपेर जम्मा एक लाख दश हजार बनाइएको छ ।
महाभारत महाकाव्य आदि, सभा, वन, विराट, उद्योग, भीष्म, द्रोण, कर्ण, शल्य, सौप्तिक, स्त्री, शान्ति, अनुशासन, अश्वमेध, आश्रमवासी, मौसल, महाप्रास्थानिक एवं स्वर्गारोहण गरी जम्मा अठारवटा पर्वहरुमा बाँधिएको छ । यो महाकाव्यबाट प्राचीन राजनीतिक, सामाजिक तथा सांस्कृतिक स्थितिको ज्ञान पाइन्छ ।
शास्त्रहरुमा यस्तो थप-घटको प्रक्रियाले अवैदिक विचारधारा (हिन्दूविरोधी)-हरुलाई मौलाउन सहायता पुगिरहेको छ भने राम र रामजस्ता ऐतिहासिक पात्रहरुलाई जातिवादी अनि तिनका अनुयायीहरुमध्ये धेरैलाई दुष्ट, संकीर्ण, मानवताविरोधी बनाइदियो ।
यसर्थ, राम, कृष्ण, शिव, विष्णु भनेर मात्र होइन, शास्त्रहरुको अनुसन्धान, गुरुपरम्पराका इतिहासमा गहनतापूर्वक अध्ययन गरेर तिनको उचित मूल्यांकनसहित असल मनुष्य र सभ्य समाजनिर्माणको बाटोमा सबै लाग्नु जरुरी भएको छ । नत्र त कुनै उद्योग र आविष्कार नगरी बयानमात्र गरिरहने हामी पुर्वेली संस्कृतिका उपजहरु विश्वमा सबैभन्दा काम नलाग्ने मनुष्यका रूपमा चिनिने छौं । ग्राहकले पसल फेरेजस्तो सम्प्रदाय र गुरु फेर्दै हिँड्ने, सम्प्रदायहरुबीचमै होडबाजी, एउटै सम्प्रदायमा पनि पुरोहित-पण्डितहरु आपसमा सिँगौरी खेल्ने आदर्श बढेर गइरहेको छ । यस्तै हो भने मागेर खानेहरु ब्राह्मण, खोसेर खानेहरु क्षेत्री, साटेर खानेहरु वैश्य र परिश्रम गरी आफ्नै बलबुताले कमाएर खानेहरु मात्र शुद्र हुन् भन्ने बुझाइ बलियो हुँदै जानेछ । कथंकाल यही मान्यता स्थापित भएर गयो भने भविष्यमा शुद्र बन्नलाई सबै लाम लागेर पालो पर्खिनेछन् !
सन्दर्भ स्रोतहरुः
- प्राचीन तथा प्रारम्भिक मध्यकालीन भारतको इतिहास-उपिन्द्र सिंह
- गुप्त साम्राज्य-राधा कुमुद मुखर्जी
- The Ramayana in Historical Perspective, Macmillan India, 1982, ISBN 0333903900
- वाल्मिकी रामायणः हरिप्रसाद शास्त्री
- ऋग्वेद/यजुर्वेद