रोटीको नाता
डा० लक्ष्मीनारायाण ढकाल
केन्टकी, अमेरिका
त्यस दिन बिहानको १० बज्दो हो, रामजानकी मन्दिरका व्यवस्थापक भोजनालयमा भएको सामग्री देखाउँदै ‘खाना बनाके खाओ,मै कुछ देर में आता हुँ’ भन्दै बाहिर निस्किए । म पनि स्वीकारमा टाउको झुकाउँदै भोजनालयतिर पसेँ । हिन्दी अलेली सुनेको तर बोल्न भने कहिले नबोलेको, म बुझ्न भने मनग्गे बुझ्दथेँ । सबै नेपाली भाषी विद्यार्थीहरूको आरम्भिक स्थिति यस्तै हुँदोरहेछ भारततिर । आफ्नो गरिबीको अवस्थाले गर्दा नेपाली भाषी छात्रहरू प्राय मठ मन्दिर र आश्रमतिर कठिन सेवा गरेर आफ्नो अध्ययन पूरा गर्ने पुरानो चलन छ बनारसको । कसैले मन्दिरमा पूजारी बस्नुपर्ने हुन्थ्यो र कसैले आश्रममा हुने साधु सन्यासी र विद्यार्थीहरूलाई भोजन बनाएर ख्वाउनु पर्ने हुन्थ्यो । मेरो पनि उच्च शिक्षार्थ बनारस पुगेको चौथो दिन थ्यो त्यस दिन ।
त्यस आश्रमा हिटरमा खाना बनाउनु पर्दोरहेछ । ती साधु बाहिरिए पछि मैले पनि सब्जी तयार बनाएर ओहिरिएँ । रोटी बनाउँने आँटा मुछेकोमात्र देखेको थिएँ, तर आफुँले भने पहिलो पल्ट आँटा छोएको हो त्यस दिन । घरमा आमाले फापर, कोदो, धान र अन्य पीठोको रोटी पकाउँदा डाडुले स्वाल्ल तावामा हालेको याद आयो । पिठो मुछ्दा जस्तो देखेको थिएँ, त्यस्तै होला भन्ठानेर गहुँको आँटा मुछ्नलागें । तावा हिटरमा बसाएर रोटी बेल्न लाग्दा सबै लतत…भयो, बेलिएन । अलि गिलो भएछ क्यार जस्तो लागेर फुको पिठो मिसाएँ, अलि चाम्रो बनाउने प्रयास गरेँ । जसो तसो भारतको नक्सा जस्तो भयो रोटीको स्वरूप, तर तावामा लगाउने बित्तिकै पत्पति धुवायो । तावा तातेर रन्किएको रहेछ, पिठो पनि निकै गिलो भएछ, पछि बुझ्दा । आगो लाग्लाझैं देखेर छेउमा भएको चिम्टाले त्यो रोटी निकाल्न खोजेँ तर मजाले टाँसिएछ, उक्किने कुरै गरेन । वितौजी हुनलागेको देखेर अत्तिएछु । हतार हतार बेलना र चिम्टाले दुईपट्टिबाट त्यस तावालाई हटाउन खोजेँ । बिजुलीको तार छोएको मात्र थियो, एक्कैचोटी बरण्डाको तारको जालीमा म बजारिन पुगेंछु । धेरैबेर के भएको हो भन्ने थाहा भएन मलाइ । देब्रे हात छिन्लाझैं गरी असाध्य दुखेको थाहा भयो । केही क्षणमा होसमा आएँ, त्यतिन्जेलमा तावाको रोटी जलिसकेको थियो । मैले जसोतसो तार फेदैबाट पर हुत्त्याइदिएँ, आगो फैलिनबाट बच्यो । तर घरभरि धुवाँको मुस्लो फैलिएछ, सबै ढोकाहरू खोलेर पङ्खा चलाइदिएपछि अलि शान्त भयो । त्यसपछि मात्र थाहा भयो, बिजुलीको करेन्ट लागेकोरहेछ मलाई ।
प्रभुका कृपाले करेन्टबाट र आगलागी हुनबाट बचेँ तर अब अर्को झन् ठुलो समस्या आइपर्ने भयो । झूठ सावितहुने भयो जसले गर्दा त्यहाँबाट निर्वासित हुनु पर्ने र शरणार्थी माथि सन्यासी नै बन्नुपर्ने होकि जस्तो अवस्था सिर्जित भयो । किनकि रोटी पकाउँन जान्दछु भनेर मात्र इन्टरभ्यूमा पास भएको थिएँ । असत्यको सहारा नलिँदा बस्ने ठाउँ नै नमिल्ने भयो । जीवनमा पहिलो पटक झूठ बोलेको थिएँ मैले त्यसदिन ।
राम्रा उद्देश्यका लागि असत्य बोल्नु पाप होइन भन्ने गुरुहरूका मुखबाट सुनेको थिएँ । काशीमा अध्ययन गर्नु र आफ्नो भविष्य उज्वल बनाउनु अवश्य पनि असत्कर्म होइन भन्ने मलाइ लाग्यो । मैले आफ्नो मनलाई दर्शिन ढुङ्गो भन्दा चाम्रो र सुमेरु पर्वत भन्दा पनि अटल बनाएँ र ती पुजारीको गाली खप्न हिम्मत कसेँ ।
करेन्टको डरले पुन: त्यो हिटर छुन सकिन मैले । ती आश्रमका स्वामी आउनेबेला भएको हुँनाले अब के भन्ने भनेर अन्योलमा थिएँ, उनी टुप्लुक्क आइपुगेछन् ढोकाको घण्टी टुंगलुंग बज्यो । मेरो शरीर हिउँ झैँ चिसो भयो डरले । भित्र पस्ने बित्तिकै “क्या हुआ’ भनेर प्रश्न गर्दा पाखुरो छाम्दै करेन्ट…. करेन्ट …..मात्र मेरा मुखबाट निस्किएछ । उनलाई सारा कथा थाहा भएझैं गललल……हाँसे । त्यो उपहासको वेदनाले त्यतिखेर मलाइ मर्माहत बनायो । एक क्षण पछि साधु चुपचाप भान्साघरमा पुगेर भण्डारतिर पसेका थिए, अलिकति चामल लिएर आए । “लो बनाके खाओ मुझे नही चाहिए” भन्दै उनी फेरी आश्रमबाट बाहिरिए ।
म लामो स्वास फेर्दै एक छिन शान्त भएर बसिरहेँ । मनमा हजारौँ भावनाहरू तरंगित भए, घर छोडेको, आमाका हातबाट बनाएको त्यो अमृत समान भोजन संझिएँ । लगभग १२ बजिसकेको थियो हिजोवेलुका खाएको खानाले साथ छोडिसकेको थियो, भुँडीमा मुसा सल्बलाउँन थालेका थिए । मनलाई थुम्थुम्याउँदै हिम्मत र सतर्कताका साथ त्यही हिटरमा चामल पखालेर भात बसाएँ ।
अगिको आपत्तिमा बनाएको सब्जी पनि जम्मै घोप्टिएको हुनाले भात खाने साधन केही भएन । आमाले घरबाट हिँड्दा गुन्द्रुक पोको पारेर झोलामा लागाइदिनु भएको थियो तर गनाउने डरले झोलाबाट निकाले कै थिएन, त्यसलाई पकाउने आँट पुन:आएन मलाइ । बरन्डाबाट पर…पर गल्लीमा हेर्दै थिएँ, चार जना वृद्ध महिलाहरूले सब्जीका सा-साना पसल थापेर बसेका देखिए । छेवैमा माटाका साना साना हण्डीहरु जस्तो पनि देखिन्थे, तर ती हण्डीहरूमा के छ भन्ने थाहा भएन अलि पर भएकाले । पहिला त बुझ्नसकिन, केहि क्षणपछि एउटा व्यक्तिले हण्डीबाट सेतो पदार्थ खन्याएको देखेँ । मलाइ लाग्यो यो अवश्य पनि दहिहुनुपर्छ । दुईचार रुपया बोकेर म बाहिरिएँ । पावाभरको एकहण्डी दहीलाई २ रुपया लिँदारहेछन्, जसोतसो एउटा दहीको हण्डी किनेर ल्याएँ अनि दहि-नून सँग मजाले पहाडे भात खाएँ । भूटान छोडीकन त्यति मीठो दही खान पाएकै थिँईन मैले ।
नेपालमा छँदा माइधार मन्दिर देखि तल गाउँमा दूध खोज्न जाँदा एक दिन दुन्यारामा पानी लिएर गाई दुहुन बसेको देखेको थिएँ । शालीन स्वभावका भए पनि त्यो देखेर उग्र बनेका थियौँ त्यस दिन हामी चारजना ठीटाहरू । दूधमा पानी मिसाएको देखेर ती गडतौला बासँग धेरैबेर प्रतिवाद गर्यौँ । ‘तँ भोटानेहरूलाई बाक्लो दूध पिउन गाईको बाच्छो भएर जन्मिनु पर्छ ” भन्दै गड्तौला झ्वाक्किए । हाम्रापनि टुप्पीबाट धुवाँ छुटेका थिए । हामी मध्ये तोयनाथ नामका साथी निक्कै साहसी थिए । उनी बुरुक्क उफ्रिएका मात्र थिए गडतौलाको हातको दुध्यारो पर ग्वा बगानमा पुर्याईदिएछन् । त्यसपछि हामीले डरले कुलेलाम ठोकेका थियौँ त्यहाँबाट ।
बनारसको बाक्लो शुद्ध दहीसँग भात खाँदै त्यो घटनालाई संझिएँ त्यसदिन । भूटानमा दारका ठेकीमा जमाएको दही बिर्सिसकिएको थियो,त्यति मीठो रहेछ काशीको माटाको हण्डीमा जमाएको दही । भूटानको पुन:एकपल्ट झल्झली याद दिलायो त्यो काण्डले ।
म स्वादिष्ट दहीभात खाइसकेर ओच्छ्यानमै ढल्किएर पुस्तक हेरिरहेको थिएँ केही विसन्चो भए झैँ भयो, पेट कटक्क खायो । चिसो लाग्न थालेको रहेछ पछि जान्दाखेरी । तरपनि सहन सक्नेगरि नै दुख्यो । बेलुका ५ बजेतिर ती पुजारी पनि फर्किएर आए । बेलुकाको पूजा सकेर खाना बनाउन भान्साघरमा आफैँ लागे ती साधु त्यसदिन । छेउमा बसेर उनले रोटी बनाएको हेरिरहेँ मैले । उनी माथिल्लो तलामा सुत्दारहेछन्, मलाइ भोलि बिहान ५ बजे उठ्नु र यो कुँडा तल गल्लीमा लगेर थुपार्नु भन्दै छतमा रहेको तीन ट्रक जति कुँडाको थुप्रो देखाए । म जी जी भन्दै गएँ उनी आफ्ना कोठातिर पसे । मैले पनि त्यही बिहान दिएको प्लास्टिकको चटाइमा आफ्नो तौली ओछ्याएँ र शिविरबाट लिएर आइएको एउटा च्याँगलो कम्बल ओढेर सुत्ने प्रयत्न गरेँ । रातभरि दिनभरका क्रियाकलापहरू सम्झेर निद्रा पटक्कै लागेन । बाल्यकालदेखि भूटानको सम्पूर्ण इतिहास, शिविरको बसाई, अब पढ्न बनारस आएको अनि पहिलो दिनमै रोटी बनाउँन नजान्दा ठोकर खाएका सबै घटनाहरू समुद्रका छाल जस्तै आउँदै जाँदै गर्न थाले मेरा मस्तिष्कमा । तरङ्गहरूको समुद्र मेरा मनमा रातभरि नाचिरह्यो त्यसदिन ।
नोभेम्बरको महिना सिमेन्टको सेलाएको मुण्डाघर भएकाले चिसो असाध्यै भएको थियो । झोलामा भएको धोती निकालेर खापें, तरैपनि निद्रा आएँन, जाडो भैरह्यो । जाडाले चिउ चिउगर्दै कुकुरका छाउरा गुडुल्किएझैं डल्लो पर्दापनि निद्रा आउँन सकेन त्यसदिन । भित्तामा टांगिएको घण्टा घडीमा टुंग.. टुंग.. गरेर पाँचपटक बज्यो, मालिकको आदेश अनुसार समयमै उठेँ । यो मेरो जीवनको पहिलो कालरात्री थ्यो काशीमा । उठेर हिंजो देखाएको छतको कुँडा तीनमा उठाएर तल गल्लीमा थुपार्न थालेँ । उज्यालो हुँदा न हुँदा नगरपालिकाको मैला बोक्ने गाडी आएर त्यसलाई उठाउँन थाल्यो । मैले त्यस दिनलाई त्यो काम बिसाएँ । तर असाध्य जाडो भयो । एक छिन बाट पेट कटक्क खाएको मात्र थियो मलाइ पखाला लाग्न थाल्यो । पाँच पाँच मिनेटमा म पाइखाना धाउँन थालेँ । एकछिनमा ती पुजारी पूजा सकेर निक्लिए अनि सिधै छतमा गए । मैलाको थुप्रो कति ओसारेछ भनेर हेर्न गएका रहेछन्। ‘कुछ भी काम नही किया ? बहुत कम लगाए हो । कल और परसों में इसको खाली करना” भन्दै आएर झोंक्किए । मैले केही भनिन जी मात्र भनेँ । भोलि पल्ट बिरामी भएकाले मैले त्यो कुँडा ओसार्ने काम गर्न सकिन । म ओछ्यानबाट उठ्न नसक्ने स्थितिमा पुगेको थिएँ त्यसदिन ।
पुसको काशीको जाडो निकै निमोठिएको हुँदोरहेछ । मलाइ चिसो गाडिएछ,सिकिस्त बिरामी भएँ । मलाइ त्यस आश्रममा ल्याएर राखिदिने खिम खतिवडा अलिपर अर्कै मन्दिरमा बसेका थिए ,संयोगवश उनी र उनका साथी चूडामणि भट्टराई आएछन् । मेरो विरामको जानकारी पाएपछि एउटा दवाई किनेर ल्याइदिए । दवाई खाएर तोरीको तेल जिउभरि लगाएर घाममा सुतेँ गाडिएको चिसो भगाउँलाई । विराम निको हुने कुरै गरेन झन् पखालामाथि ज्वरो पनि थपियो । रोटी पकाउने डिउटीबाट अवकाश मिलेन । म बिरामी छु रोटी बनाउँन सक्दिन मात्र भनेको थिएँ हतार हतार “ कल आश्रम खाली करदेना’ भने ती पुजारीले ।
चिसोबाट लागेको बिराम भन्दा अझ ठुलो विराम थपियो त्यसदिन आश्रम छोड्नु पर्ने । त्यस तापमा मेरो ज्वराको तापलाई दबाउँदै बाहिरिएँ । रोटी नै जीवन रहेछ काशीमा । रोटी बनाउँन नजान्दा बस्ने ठाउँ नै नमिल्ने,बिरामी भएर नसक्दा घरै छोड्नु पर्ने । म सकि नसकि त्यही पुरानो मन्दिरमा पुगेँ जहाँ दुइदिन मलाई मन्दिरका मालिकले देख्ने डरले कोठा भित्रै लुकाएर शरण दिएका थिए खिम खतिवडाजीले । मेनेजर नभएको पल्याक पुलुक्क हेरेर तीन तलामाथि बाट रोटी र शब्जी कुदाउँदै रोटी र शब्जी ल्याइदिन्थे । म बिरालाका चालमा श्वास नफेरी खाना खान्थे । जब उनीहरू अध्ययन गर्न विद्यालय जान्थे मलाइ बाहिरबाट ताला लगाएर बन्द गरिन्थ्यो अनि भरे ३- ४ घण्टा पछि उनीहरू आएर खोलिन्थ्यो । तर दैलो भने लगाएर नै कोठा भित्र बस्यौँ म हुन्जेल । यो क्रम तीन दिन चलेको थियो । आज फेरी तीनै गुणकारी,संरक्षकहरूकहाँ आश्रम छोड्नु पर्ने समस्या लिएर म पुगेँ । के भन्ने हुन कि भन्ने सङ्कोचले अनुहार रातो पिरो भएको मलाइ स्वयम् अनुभव हुन्थ्यो । उनीहरू पनि सहजले कहाँ बस्न पाएका थिए र । एक जानाले पूजा र अर्का जानाले भोजन बनाउनु पर्ने उत्तरदायित्व भए पनि दुवै मिलेर सबै काम फत्ते गर्दा रहेछन् । कुनै आभार परेका साथी-भाइलाई खुल्ला रूपमा राख्न न पाइने । उनिहरोले लुकाएरै मेरो संरक्षण गरे,जीवन भरको ऋण लगाए ।
अचानक बनारसमा कर्फ्यु लाग्यो । अयोध्यामा बाबरी मस्जिद ढालिएछ त्यसदिन । अयोध्यामा भएको हिन्दुहरूले युगौं देखि स्थापित गरिएको रामजनम भूमिको मन्दिरमा अतिक्रमण गरेर मुसलमानहरूले त्यो मस्जिद बनाएका अरे । त्यही मस्जिदलाई ढाल्दा आसपासका थुप्रै जिल्लाहरूमा कर्फ्यु लागेको थियो । त्यसैले हामी बाहिर निस्कन पाएनौँ । उनीहरू पनि मसँगै म बसेको स्थानमा आएर भोलि सम्म मलाइ त्यही राखिदिने निवेदन गरिदिएछन् ।
भोलि पल्ट बिहानको भोजन सकेर खिमजी आउनुभएछ मकहाँ । डाक्टरले दिएको औषधीले निकै काम गर्नथालेको थियो । पूर्ण रूपमा निको नभएको भए पनि अर्को स्थानमा सर्नु पर्ने बाध्यताले मेरो बिराम हार्दै गएको थियो मसँग । कर्फ्यु नै लागेको भएता पनि गल्ली नै गल्ली हुँदै मलाइ एउटा अर्को आश्रममा पुर्याइदिनुभयो खिमजीले ।
पछि बुझ्दा यस आश्रमको नाम रहेछ “अभय सन्यास आश्रम’। त्यस आश्रममा स्थिर प्रसाद भण्डारी र मुकुन्दा निरौला नामक अग्रज त्यसरी नै रोटी पकाएर बस्दा रहेछन् । मेरा बारेमा सारा बेलिविस्तार पछि आश्रमका महन्तबाट दुइचारदिनलाई शरण दिने अनुमति मिलेछ । लुक्दै लुक्दै मेरो झोला लिएर बिरालाले छाउरा सारे झैँ त्यहाँ मलाइ त्यहाँ सार्नु भयो खिमजीले । यस आश्रममा मैले रोटी पकाउनु परेन दाइहरूले नै पकाउँथे,तर पनि मैले सघाएँ उनीहरूलाई ।
भोलिपल्ट बेलुकाखेरी ती दाइहरू एक छिन हराएका थिए । कर्फ्यु नसकिउन्जेल सम्मलाई अस्थाई रूपमा मेरो बस्ने व्यस्था मिलाएर आएछन् । भोलि पल्ट दिउँसो खेरि मलाइ गंगाजी कै छेउमा नरसिंह मठमा पुर्याइदिए । ठुलो भवन,पुरानो र विस्यार भएको तर एक जना मात्र नेपाली भाषी साधु वस्दारहेछन् त्यस मठमा । उनी नेपालबाट पढ्न गएका उतै सन्यासी भएर आश्रम सम्हालेर बसेका विद्वान व्यक्ति रहेछन्,स्वामी गोपालानन्द गिरीजी । “कर्फ्यु न हटुन्जेल तिमि यहाँ बस्न सक्छौ,तर खाना खान अन्तै जानुपर्छ’ भने ती महात्माले । म चुप लागेर जी मात्र भनिरहेँ । “आज म सँगै खाना खानु भोलि म तिमीलाई चिनीया क्षेत्रमा पुर्याइदिन्छु,बेलुका त्यहाँ रोटी मिल्छ “फेरी अर्को कुरो थप्दै उनले भने । म चुपचाप हँ मा टाउको हल्लाउँदै सुनिरहेँ । बेलुका रोटी उनैले पकाए र मलाइ पनि दिए । भोक लागेको पेट भएर होला त्यो नुन बिनाको पालकको साग पनि अमृत तुल्य भयो मलाइ । उनी नुन खाँदा रहेनछन् ,मलाइ आश्चर्य लाग्यो । भोजनका क्रममा मैले उनलाई सोधेँ “स्वामीजी हजुरले नुन किन नखानु भएको ?” यो नुन जिब्रालाई चाहिन्छ बाबु पेटलाई होइन,यसले हड्डी मकाउँछ ’उनले भने । सबै कुरो अभ्यासमा नै निर्भर रहेछ यस जीवनमा भन्ने ज्ञान पाएँ मैले । भाँडा वर्तन साफ गर्न सघाएँ मैले उनलाई । आश्रमको सरसफाइ र पूजामा लाग्ने सामग्री जुटाउन म उनलाई सघाउँथें ।
भोलिपल्ट बिहानै कर्फ्यु र पुलिसबाट बच्दै त्यो चिनीया क्षेत्र देखाउँन लगे ती स्वामीजीले मालाई । आज देखि प्रतिदिन संस्कृत साहित्यका तीनवटा पुस्तकका पाँच पाँच वटा श्लोक रटेर सुनाउनु पर्ने सर्त राखेका थिए मलाइ शरण दिँदा । मैले त्यसै गर्दै गएँ । म आश्रमको छतमा गएर बाँदरबाट बच्दै श्लोक याद गर्थेँ र बेलुका नहेरीकन सुनाउँथेँ उनलाई । यसरी मैले कालीदासका रघुवंश प्रथम सर्ग,प्रताप विजय,तर्क संग्रह आदि ग्रन्थ सुनाइसकेको थिएँ एक महिनाको त्यहाँको वासमा । मेरो परिश्रम बाट निकै खुसी भएका थिए ती हमात्मा ।
म प्रतिदिन कर्फ्युबाट बच्दै लगभग तीन किलोमिटर पर रहेको चिनियाँ क्षेत्रमा बेलुकाको भोजन गर्न जान थालेँ । त्यहाँ पचास साठी जना विद्यार्थीहरूलाई बेलुका मात्र रोटी वितरण गरिँदो रहेछ । कोही रोटी थापेर लिएर हिँड्थे भने धेरजसो त्यहीँ बसेर खान्थे म पनि उनीहरूकै पङ्क्तिमा मिलेर बस्दथेँ र रोटी खान्थेँ । बेलुकाको त जसोतसो रोटीको व्यवस्था भयो, तर अब बिहान के गर्ने भन्ने त्राही थ्यो, तिनै साधुले एउटा अर्को आश्रममा खिचडी मिल्ने कुरो सुनाए। भोलिपल्ट देखि बिहानको भोजनका लागि विश्वनाथ अन्न क्षेत्रले चलाएको क्षेत्रमा गएर खिचडी थापेर खान थालेँ । यी दुवै क्षेत्रहरू निरन्तर चल्दारहेछन्, तर एउटा बिहान मात्र र अर्को बेलुका मात्र । बिहान बेलुका भिन्ना भिन्नै स्थानमा गएर आफ्नो पेट भर्ने दैनिक नियम बन्यो मेरो।
एक दिन बेलुका चिनीया क्षेत्रमा ठुलो होहल्ला हुन्दैथ्यो म पुग्दा। हिन्दीमा भर्खर बामे सर्दै गरेको भए पनि कुरो बुझेँ मैले। कसैले रोटीमा घुन र चिल्याँसा भेट्टाएछन् , त्यसैले हल्ला मच्चिएको रहेछ। राम्ररी हेर्दै छँन्दै भए पनि हामी रोटी खानेगर्थ्यौं । कति विद्यार्थीहरू वासी रोटी दिएका दिन छोडेर हिँड्थे । आफ्नो त उपाय थिएन। वासी हुन की चिल्याँसा परेका हुन, यो पेटलाई भर्नु र अघिको गन्तव्यलाई तय गर्नु मेरो लक्ष्य थियो।
एक दिन कर्फ्युका बिच रोटी खाएर बाहिर गल्लीमा चाल मारेर वासास्थानतिर लागेको मात्र थिएँ । पछाडि मान्छे चिच्याएको र रोएको आवाज आयो। डरले भुतुक्क हुँदै छिटो छिटो पाइला अघि बढाउँदैथिएँ एक्कासि मेरा छेपारामा केही आएर बज्रियो, म पुर्लुक्क लडेँ । खुट्टो सुम्सुम्याउँदै अँध्यारामा के भएको हो भन्ने निर्क्योल नभैकन छेवैमा बाँसको बामे डण्ठी लडेको देखेँ । पुलिस कुद्दै आफू पट्टी नै आइरहेको देखेर मेरा हंसले ठाउँ छोड्यो । उठेर भाग्ने प्रयास गरेँ तर खुट्टो असाध्यै दुखेकाले म भाग्न सकिन । दैवसंयोग त्यस पुलिसका हातमा बन्दुक थिएन र म बचेँ । पुलिस छेवैमा आएर मलाइ हप्काउँन थाल्यो। ‘म विद्यार्थी हुँ यसरी रोटी खान यहाँ सधैँ आउनेगर्छु’ भन्दै मैले जानी नजानी भनेपछि उसले फेरि उठाएको डण्ठी तल झारो। मलाइ उसले त्यहाँबाट छिट्टै भाग्ने आदेश दियो। उसलाई नमस्कार गरेर म खुट्टो खोच्याउँदै आश्रममा पुगेको थिएँ। मेरो खुट्टो जाति हुन तीन महिना जति लाग्यो। रोटीका निम्ति मेरो सङ्घर्ष कहाँ यतिमात्र होर !
एक महिना पछि कर्फ्यु हट्यो बनारसमा । पहिलाको सर्त अनुसार मैले त्यो आश्रमपनि छोड्नु पर्ने समय आयो । मैले भोलिपल्ट देखि बनारसका थुप्रै आश्रमहरू चालेँ । जान्ने साथीहरूसँग ठेगाना लिँदै हिँड्दै गर्थे । साना साँघुरा गल्लीभित्र ती आश्रमलाई भेट्न थुप्रै मान्छेहरूलाई सोध्दै सोध्दै जानु पर्ने । दुइदिन भरी हिँड्दा लगभग ३० ४० वटा आश्रमहरूमा बिन्ती बिसाएँ, कतै स्थान पाइएन । पुलिसका डण्ठीले लागेको चोट यस हिँडाइले आफैँ जाति हुन कर लाग्यो । चौथो दिनको सूर्योदयसँगै म पनि गतिमान भएँ र बनारसको पश्चिमी भेकमा रहेको बोधगया मठमा पुगेँ । लगभग आठ किलो मिटर रहेछ बोधगया मठ पुग्न । म पैदल हिँडेर नै पार गरेँ । रिक्सा आटोमा हिँड्ने खर्च थिएन मसँग । त्यहाँ पुग्दा एक जना मोटा वृद्ध साधु बसी रहेको भेट्टाएँ । फिलेरिया रोगले सुनिएका उचाल्नपनि नसक्ने खुट्टामा झुकेर स्पर्श गर्दै प्रणाम गरेँ ।
प्रणिपात पछि आफ्नो नालीबेली बताएर बस्ने खाने स्थानको खोजीमा आएको भनेँ । साधु बोलेनन् । म आश्रमको ठुलो तीन तले भवनलाई त्यहीँबाट नियाल्दै उत्तरको प्रतीक्षामा थिएँ । ३ मिनेट पछि आफ्नो मौनतालाई तोड्दै ती स्वामीले सोधे ‘ क्या रोटी बनाना आत्ता है ? मैले हतार हतार जी आत्ता है भनेर मुन्टो नचाएँ । लगत्तै अर्को कुरो थप्दै उनले फेरी भने ‘कभी कभी पूजा भी करना पडेगा, इसके लिए पैसा नहीं मिलेगें’ । म जी जी भन्दै स्वीकारको स्वर थप्दै गएँ थप्दै गएँ । फेरि निकैबेरको मौनता पछि साधुवाले भने ‘अच्छा जाओ अपना समान लेकर आओ’! यो सुनेर मलाइ निकै ठुलो श्वास आयो । चारदिनको सङ्घर्ष पछि सफलता मिलेको थियो । म उनलाई फेरि प्रणाम गरेर धन्यवाद भन्दै आफ्नो समान लिन हिँडे ।
मैले यस आश्रममा आठ वर्ष लगातार बिहान र बेलुका २५-३० जना साधु र विद्यार्थीहरूलाई रोटी बनाएर खुवाएँ । स्नातकोत्तरको परीक्षा नसकेसम्म मैले यस स्थानलाई छोडिन लिसो झैँ भएर बसेँ । रोटीको नाता अभिन्न भएको छ मेरा जीवनमा । यो रोटी नै रहेछ यो शरीरलाई दिडाउँने, डुलाउँने । यसकै निमित्त यो सारा प्रपँच चलेको रहेछ, नत्र म शान्त भएर कति लोकपरक कार्य गर्थेँ होला ! आज पनि सुगर आदि रोगबाट बच्न घरमा रोटी नै खाने गर्दछु । रोटी र मेरो नाता अब पुरानो भैसकेको छ । जय रोटी !