लेक ईरिको छेउछाउ -४

हिम शिखर
ओहायो, अमेरिका

केही असहजता महसुस भयो मलाई, त्यस बाबजुद पनि मिस्टर स्टिभसँग बिदा भएर लागेँ घरतिर । पानी परी नै रहेको थियो । यस्तो लाग्थ्यो आज आकाश पनि मन खोलेर रुँदै आफ्ना पीडा पोखिरेछ मानौँ आज पृथ्वीमा अन्तिम वर्षा हुँदैछ । घर पुगेर फ्रेस भएँ । शरीर हलुको भए पनि मन भने भारी थियो पुरै आकाशले थिचे जस्तो । एकनास पीडाहरू थिए, भीष्मको शरीरमा गाडिएका अनगिन्ती बाण भन्दा धेरै । ओछ्यानमा पल्टिएर उही पत्र पढ्न थालेँ । जसले मलाई वर्तमानको निराश पलबाट विगतको रमझममा पुर्‍याउँछ । मलाई आख्यान लेख्न आउँदैन, आउँथ्यो भने त्यो पत्रलाई तोडमोड गरेर एउटा सिङ्गो कहानी लेखिदिन्थेँ । उनको विगत र मेरो वर्तमान हामी दुवैले भोगेको जीवन समावेश गर्ने थिएँ । यस्तै सम्झना आउँदै थिए । फेरि मेरो मस्तिष्कको तार विगतसँग जोडियो । हाम्रो पहिलो भेटको केही दिनपछि उनले भेट्न चाहेको कुरा फोनमा बताइन् । मैले कारण सोधिनँ, तुरुन्तै स्वीकृति जनाएँ । मभित्र एक किसिमको कौतूहल थियो, नयाँ रौनक थियो । अहिले पो महसुस भयो सायद मलाई पनि उनीसँग भेट्ने तीव्र इच्छा थियो । शनिवार, उही पुरानै ठाउँमा हाम्रो भेट भयो । औपचारिकता केही घटेको थियो । हामी एकार्कासँग केही खुल्न थालिसकेका थियौँ । तर आज उनी पहिला भन्दा केही गम्भीर थिइन् । म व्यग्र थिएँ, उनले बोले हुन्थ्यो भन्ने लागेको थियो । केही बेरको शून्यता पछि उनैले सुरु गरिन् । व्यक्तिगत कुराहरू भए । केही बेरको बसाई पछि उनले घर फिर्ने प्रस्ताव राखिन् । राती नौ बजेतिर उनको म्यासेज आयो; स्काइपमा आउने आग्रहसहित। म हाँजीर भएँ । उनले लेखिन् एक छिन् हेर्छु तपाईँलाई । त्यसपछि भिडियो कल उनको मुस्कुराई रहेको अनुहार सजीव थियो । करिब दुई मिनेटको मौनतापछि उनले भनिन् ‘गुड नाइट’ मैले जबाफ दिएँ ‘यु टु’ । मन कहाँ मान्थ्यो, कथा जस्तै बनाएर आफ्ना भावनाको सम्प्रेषण गरेँ म्यासेज मार्फत । बिहान हेर्दा मोबाइलमा म्यासेज थिए; हेरेँ आस्थाको एउटा रहेछ । “तपाईँले पठाएको म्यासेज पाएँ खूब मिठो कथा रैछ, त्यहाँ भावना छ अबोध मानसिकता छ प्यारो, छाती मै टाँसिरहुन् जस्तो । नक्कले तपाईँलाई नक्कल पार्न मात्र आउँछ हैन? तर खल्लो लाग्यो। कथामा पात्रहरूको उपस्थिति कम भयो ।” त्यो मिठो चिठ्ठी सम्झिन्छु, नक्कले, काले, दारे, कति नाम थिए मेरो ! सबै प्यारो लाग्ने । उनको सबै हाउभाउ मन पर्ने गजल कोरिदिएँ…

‘उनको हरेक चाल मन पर्छ
खुब मन पर्छ बबाल मन पर्छ,

सरसर हावामा बगिरहने उस्तो हो
उनकै मात्र कपाल मन पर्छ,

हुन्न है हुन्न म सँग कुनै उत्तर
जव उनका हरेक सवाल मन पर्छ,

अब उत्सव मनाउँछ यो दिल सधैं
होलीमा झैँ मलाई गुलाल मन पर्छ….. ‘

यति लेखिसकेर पठाइदिएँ प्रत्युत्तरमामा….

क्रमश:

Leave a Reply

Your email address will not be published. Required fields are marked *