१३५ औं लेखनाथ जयन्ती सम्पन्न

ह्यारिस्बर्गः २९ दिसम्बरः

आइतबारका दिन यहाँको स्थानीय साहित्यिक संस्था त्रिवेणी साहित्य मञ्चले नेपाली परिष्कारवादी कवि शिरोमणि लेखनाथ पौडेलको स्मृतिमा १३५ औँ लेखनाथ जयन्ती सम्पन्न गरेको छ ।

मातृभाषा संरक्षण समूहका संस्थापक अध्यक्ष धर्मेन्द्र तिम्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न सो जयन्ती समारोहमा प्रिस्टाइन डे-केयरका टीका सुवेदी, त्रि.सा.म.का अध्यक्ष नवीन भट्टराई, कवि गण्डकी पुत्र, देवीका बराल भण्डारीलगायतले विशेष अथितिको आसन लिएका थिए ।

गीतकार तथा गजलकार शेखर कोइरालाको संयोजनमा उद्घाटित सो कार्यक्रमले वैरागी माइलोद्वारा कवि लेखनाथको जीवनी पढेर सुनाइएपछि औपचारिकता लिएको थियो ।

कार्यक्रममा स्थानीय सामुदायिक संस्था बीसीएचको तर्फबाट पनि प्रतिनिधि सहभागिता जनाइएको थियो । बीसीएच प्रतिनिधि विनय लुइँटेलले समाजमा आपसी सहकार्य, भाषाको संरक्षण र साहित्यको उन्नतितर्फ विचार पुऱ्याउने मानिसहरूको सङ्ख्या कम भएकाले यसबारे चिन्तन गर्नुपर्ने बताए । यसरी नै अर्की बीसीएच प्रतिनिधि तीर्थ बास्तोलाले कवि पौडेलको ‘काल महिमा’ शीर्षक कविता पढेर सुनाएकी थिइन् ।

कवि पौडेलको सो स्मृति तथा जन्मजयन्ती समारोहमा प्रेम खनाल, देवी दाहाल ‘दागाने’, वैरागी माइलो, शेखर कोइराला, पातलो अन्तरे, पर्मा अधिकारी ‘कान्छा’, देवीका बराल भण्डारी, डीबी सारु, एन्थन नेपाल, बालकृष्ण नेउपाने, खगेन्द्र रिजाललगायतले विभिन्न कविता, गजल तथा साङ्गीतिक प्रस्तुति दिएका थिए । यसरी नै कार्यक्रममा सबैभन्दा कम उमेरकी प्रस्तोता प्रशंसा आचार्यले पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘किसानको रहर’ कविता पढेर सुनाइन् !

“राजा, रंक सबै समान उसमा वैसम्य गर्दैन त्यो…” को उद्घोष गर्दै कविता लेख्ने कविको जन्मजयन्ती न्यून सहभागिता भए पनि गजब प्रकृतिको थियो । स्रष्टा प्रेम खनालद्वारा प्रस्तुत ‘आफ्नै नेपाल प्यारो छ’ शीर्षक कविता र धर्मेन्द्र तिम्सिनाको ‘शरणार्थी’ कविता दुई अलग चिन्तनधाराका थिए । विचारमा साँच्चै नै वैसम्य थियो र नै कार्यक्रमले नजानिँदो ढङ्गमा ‘विभिन्नतामा एकताको नमूना’ पनि पेश गरिरहेको थियो ।

सर्जक नारद सुदामाद्वारा सञ्चालित सो कार्यक्रममा कवि गण्डकी पुत्रले साहित्यिक सहकार्य र सहिष्णुताको अभ्यासबारे चर्चा पनि उठाएका थिए। “अब भूटानी र नेपाली भनेर होइन, सिङ्गो अमेरिकन नेपाली समाज बनेर हामीले अब संयुक्त रूपमा साहित्यको खेती गर्न थालौँ”, उनको भनाइ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *