वसन्त

के सी सान्दाइ
साउथ अष्ट्रेलिया

सधैँ कुञ्जमा रम्न पाऊ डुलेर
यही कुञ्जमा भाव पोखौँ भुलेर।
यिनै कल्प बृक्षादि देखेर खास
डुबे भावमा हुन्न कस्तै निराश॥१

सुरूभो वसन्तै लिई कोमलाङ्ग
गयो बोकि शीशीर ठण्डी तरङ्ग।
भये जाँहि ताँही हरीया ति फाँट
उठे पालुवा छर्न मीठो सुवास॥२

गरौँ सिर्जना त्यो नयाँ पालुवाको
सुनी राग मीठो उही कोइलीको।
हरीया पहेला लता भित्र भित्र
उतारौँ नछोडी यहीँ मान चित्र॥३

फुलेका बगैँचा लता बृक्ष फेरी
नयाँ पालुवा मञ्जरी सामु हेरी।
फुले चाँप लाली चमेली गुराँस
उता हाँक्छ पङ्खा नमानी उराठ॥४

तिनै फूलका बोट लाई समाई
तिनै बागका दृश्य हेरी रमाई ।
सबै रागमा मस्तछन् पन्छि आज
रमाई खुसीले लता बृक्ष माँझ ॥५

कतै कुञ्जमा धून बज्छन् अनेक
कतै रागमा प्रीत भर्छन् विवेक।
कुनै नाच्दछन् गानमा तान भर्दै
यहीँ गाउँछन् गानमा सान छर्दै ॥६

जहाँ फुल्दछन् चाँप लाली चमेली
त्यहाँ कोइली नाच्न थाल्छे सुसेली।
फिका चाँदनी रातमा छैन शान्ति
लुक्यो बागमा सूर्यको तेज कान्ति॥७

मुना मञ्जरी पालुवा ती पलाए
उता स्वर्गको सान क्यारौँ विलाए।
बसी डालिमा पन्छिले प्रीत गाँस्ता
रिसाईन् शशी ती लता बृक्ष हास्ता॥८

जहाँ हर्षले पन्छि खुब् राज गर्छन्
सुसेली शमीर्ले त्यहीँ धून भर्छन्।
रबीले निजी तेज बाड्नै बिसाए
वसन्ती छटा भित्र चन्द्रै रिसाए॥९

थपौँ भन्छ मन्ले कलात्यो लतामा
विना साधनाले हुँने छैन काम।
विधीले बनायो अनूपम् छटा त्यो
कहाँ पुग्छ सामर्थ्य हाम्रो कलम्को॥१०

सबै साँमु बिन्ती गरेँ हात जोडी
कतै गल्ति भोकी ! मिठा शब्द छोडी।
सबैमा हजूर्ले दिई ध्यान आज
सधैँ आस गर्नेछु पाऊँ सुझाव ॥११

छन्द -भुजङ्गप्रयात

Leave a Reply

Your email address will not be published. Required fields are marked *