वसन्त र फूलकुमारी
भक्त घिमिरे
पेन्सिल्भिन्या, अमेरिका
वसन्तलाई घरकाहरुले उसको इच्छा विपरित बिहे गर्ने कर गरिरहेका थिए ।
“ए वसन्ते ! खुरुक्कन लुगा लगाएर हिँड् त, केटी हेर्न जानुपर्छ” बाबु रत्नमानले भने ।
रत्नमानका कुरा काट्ने वसन्तको हिम्मत थिएन । वसन्तको के भन्नु, टोलका कसैले पनि रत्नमानको कुरामा जवाफ दिनेसम्म ल्याकत राख्तैनथे । लस्याङ-लुसुङ गर्दै वसन्त लुगा लगाएर बाबुको अगाडि उभियो ।
लप्सिबोटे खँड्काको घरमा अरुदिन हेरी आज निक्कै चहलपहल बढेको थियो । फूलकुमारीलाई हेर्न केटा आएको छ भनेर गाउँका केटीहरु पनि झुम्मिएका थिए । बुढापाका र भुराभुरीसम्म रमिता हेर्न लाम लागेका थिए ।
फूलकुमारी गाउँका सबै सुकुमारीहरुमा विद्वान्, सुशिला र गाउँकै प्यारी तर, घरमा सौतेनी आमाले छोरी नै नगन्ने । बाबु हर्कबहादुर खँड्का सेनाबाट पेन्शन भएपछि पनि समाज सेवामा व्यस्त रहन्थे । सेनामै छँदा फूलकुमारीको जन्मपछि उसकी आमा सरस्वतीको मृत्यु भयो । अनि हर्कबहादुरले सुन्दरीलाई बिहे गरेका थिए ।
‘तेरा बाबुले खोजीखत गर्दैनन्, बढेकी छोरी माइत बसेर अपगालको गुँड !’ सुन्दरीले यसै भनेर फूलकुमारीको टाउको दुखाइरहन्थी । त्यसो त फूलकुमारीमा पनि उमेरसंगै अरु नारीमा जस्तै जैविक गुण हुर्किरहेकै थियो । तर, ऊ धैर्य र शालीन विचारमा अडिएकी थिई । पैसा कमाउन विदेश गएको उसको नवराज फर्केपछि उसैसित विहे गर्ने अठोटमा ऊ पर्खेर बसेकी थिई । नवराजले पनि बेलाबेला उसलाई पत्र लेखिरहन्थ्यो !
आज एक्कासी आफूलाई माग्न अथवा हेर्न भनेर वसन्त आएको कुराले भित्रभित्रै फूलकुमारीको मन पोल्यो । तर, कुरा खोलेर नाइनास्ती गर्ने हिम्मत न वसन्तमा थियो न त फूलकुमारीमा नै । कौसीमा बसेका सारा आगन्तुकहरुसितै सुन्दरी र रत्नमान अब सम्ध्यौलो साइनो गाँसिने कुरामा हँस्यौली गरिरहेका थिए ।
हठात् फूलकुमारीले सोची, ‘अब केटासित छुट्टै भेट्छु र उसैलाई सबै कुरा भन्छु ।’ उसले भनेजस्तै केटा र केटीको छुट्टै कुरा हुने अनुमति पारित भयो ।
भुइँतलाको कोठामा वसन्त र फूलकुमारीको छुट्टै कुरा शुरु भयो । फूलकुमारीले वसन्तलाई आफू नवराजको प्रेममा परेको कुरा सुनाई । वसन्तले पनि आफू विहे गर्ने कुरामा अनिच्छुक रहेको जनायो । तर, फूलकुमारीको भलाद्मी सोच-विचार, कुरा गर्ने तरिका र मलिन मुहारदेखि वसन्त लोभियो पनि । उसले मनमनै सोच्यो ‘भविष्यमा आफूले विहे गर्ने सुकुमारी पनि यस्तै भइदिए हुन्थ्यो ।’ फूलकुमारीलाई पनि वसन्त निक्कै महान व्यक्तिजस्तो लागिरहेको थियो । मनैमन नवराजलाई ल्याएर वसन्तसित ऊ दाँजीरहेकी थिई ।
अन्त्यमा केटा र केटी दुवैले एका-अर्कालाई मन नपरेको बहाना गरेर दुवैतिरका आफन्तहरुलाई चकित पारिदिए । सबै उठेर आ-आफ्नो बाटो लागे ।
आफूले भनेको कुरा पालन नगरेको झोंकमा यता रत्नमानले वसन्तलाई घरबाट निकालिदिए । त्यसपछि ऊ कहाँ गयो कसैलाई पत्तै भएन । उता सुन्दरीले पनि फूलकुमारीको बेइज्जती गराउने उपाय सोच्न थाली । सुन्दरीले बनीबनाउ कुरो जोडेर फूलकुमारी गाउँभरिका केटाहरुसित लहसिएर हिँड्ने, घरमै केटाहरु लिएर आउने गरेको हल्ला फैलाई । ‘एक कान दुई कान मैदान’ भनेजस्तो यो कुरा नवराजसम्म पनि पुग्न बेरै लागेन ।
यस्तो बद्नामीको कुरा सुनेपछि नवराजले आफू फूलकुमारीलाई विहे गर्न गाउँमा नआउने जनाएर पत्र पठायो । पत्रमा आफू आए पनि फूलकुमारीसित विहे नगर्ने कुरा नवराजले प्रष्ट उल्लेख गरेको थियो । पत्र पाएपछि फूलकुमारीको हंशले ठाउँ छोड्यो । ऊ दिनमा रोई, रातमा रोई । आँसुसरिका कैयौं पत्रहरु नवराजलाई पठाई । तर, नवराज कहिल्यै पग्लिएन । बरु गाउँका गुण्डाहरु उठाएर समाप्त पारिदिने धम्की पो दिन थाल्यो ।
यसपछि फूलकुमारी रुन छोडेर चाम बाँधी, मुट्ठी कसी । मन बलियो बनाएर ऊ घरबाट निस्की । नवराजको दुर्भावनाबाट मुटुमा चोट परेको वह पोख्न उसले वसन्तलाई कति खोजी तर, कतै पत्तो लागेन ।
XX XX XX XX
जनान्दोलनको राजनीतिक धङ्धङी सेलाएर आज धेरै हप्तापछि चक्काजाम खुलेको थियो । बजारचोकमा टेम्पोको ट्यार ट्यार आवाज चर्किरहेको थियो । बसका खलासीहरु यहाँ जाने, उहाँ जाने र कहाँ जाने भन्दै कराइरहेका थिए । बाटोमा हिँडिरहेका यात्रीहरुलाई हातमा समाएर जबरजस्ती आफ्ना गाडीतिर तान्नेहरुको होडबाजी थियो । कसैका झोला तानेर गाडीभित्र पुऱ्याइदिन्थे । यातायातमा यात्रीलाई सुविधाभन्दा सास्ती बढी देखिन्थ्यो । तैपनि यात्रा जीवनको अनिवार्य शर्त हो । मानिसले जीवनका आरोह अवरोहमा निरन्तर यात्रा गरिरहनै पर्छ ।
निक्कैबेरदेखि चोकको छेउमा एउटा चारपाटे झोला बोकेर एउटा पुरुष उभिइरहेको थियो ।
“तपाईं कहाँ जाने ?” एउटा नारी स्वरले सोध्यो ।
“तोरीबारी ।” जवाफ दिँदै पुरुषले उतिर अचम्मको नजर पोख्यो! सफा टेम्पोको चालक सीटमा एउटी सुकोमल नारी बसेकी थिई । लामो रूमालले ढाकिएको अनुहार अलि अलिमात्र देखिन्थ्यो । नारीले टेम्पोमा आएर बस्न संकेत गरेपछि पुरुष यात्री बस्यो । अन्यको गन्तव्यका तुलनामा तोरीबारीतिर जाने यात्री कमै थिए । त्यसर्थ टेम्पोमा धेरै भीड थिएन ।
चालकनजिकै बसेको पुरुष यात्री बोल्यो,“टेम्पो चलाएर गुजारा चल्छ ?”
“चल्छ, चल्नुपर्छ ।” मलिन स्वरमा नारी आवाज बोल्यो ।
“कति वर्ष भयो?”
“पाँचवर्ष !”
तोरीबारी पुग्ने बाटो लामो भएकाले दुवैजनाबीच यस्ता प्रश्नोत्तरहरु चल्दै गए, खुलेर कुरा गर्नथाले । हुँदाहुँदै कुरैकुरामा ‘घर कहाँ हो, परिवारमा को को छन्’ भन्नेसम्म चर्चा पुग्यो !
आ-आफ्नो परिचय खुलेपछि वसन्त र फूलकुमारी भावविह्वल भएर बेस्सरी रोए । दुवैले आ-आफ्ना विगतका कथा साटासाट गरे ।
वसन्त घरबाट निकालिएपछि आफ्नो पुरानो एक विद्यार्थी मित्रको सहायताले भारतको लख्नऊ पुगेर सानो जागिर गर्दैथ्यो । यस्तैमा एउटी सहकर्मी अग्रवाल केटी अनितासित वसन्तको नजाँनिदो सम्बन्ध भयो । विस्तारै त्यो सम्बन्ध आपसी प्रेममा बद्लियो । तर, हिन्दूमाथि मुसलमानहरुद्वारा गरिएको एउटा आक्रममणमा परी अनिताको ज्यान गयो । अनिताको आकस्मिक मृत्युले रन्थनाएको वसन्त जागिर छोडेर गाउँ फिऱ्यो ।
फूलकुमारी पनि वास्तविकता नबुझी आफूलाई धोका दिने नवराजलाई चुनौती दिन घर छोडेर वसन्त खोज्दै दर्जनौ गाउँ-शहर डुली । तर उसलाई कतै नभेटेपछि यो शहरमा आएर पहिले गलैंचा उद्योगमा काम गर्न थाली । अलि अलि पैसा जोहोर जाम गर्दै सानो व्यापार शुरु गरी । निक्कै लामो समयसम्म व्यापार चल्यो । व्यापारिक सिलसिलामै लालमोहनसित ऊ साझेदार पनि बनेकी थिई । लालमोहनले साझेदारीको लाभ उठाएर उनलाई बिहे गर्ने प्रस्ताव राख्यो । धेरैवर्ष सँगै काम गरेको र कामको सिलसिलामा ठगी नगर्ने, विश्वासिलो बुझेर फूलकुमारीले पनि लालमोहनको प्रस्ताव स्वीकारी । केही समय उनीहरुको जीवनयात्रा सुगम बनेर चल्यो पनि ।
मुलुकमा आफ्नो नश्लका अनेकौं मान्य सांसद, मन्त्री र राष्ट्रपितसम्म भए । तर, अझै पनि आफूजस्ता सामान्य जीवनका मानिसहरुलाई सम्मानयोग्य नागरिकको दर्जा नमिलेको कुरामा लालमोहन धेरै समयदेखि खिन्न थियो । बालककालदेखि यही शहरमा हुर्किएको भए पनि यस शहरका मान्छेले कहिल्यै आफूप्रति अपनत्व नदेखाएको, ‘भैया’ भनेर अर्कै भाषामा बोलाएको-सिरक ढसना बनाउने मान्छेको रूपमा मात्र चिनेको भन्दै लालमोहन बेलाबेला फूलकुमारीसित खूब गुनासो गर्थ्यो ।
एकदिन गाउँबाट भेट्न आएको हल्दियाले उसलाई गाली गर्दै भनेको थियो, “अरे एई लालमोहन, तु पाहाड के लड्की से बिवाह कइलेह ? तोरा त घरे जाइ खानी मे गाउ मे नही घुसा देताउ गाउवा सब् । सोइच ले !!”
नभन्दै एकदिन एकदिन बिहानै ‘देश जान्छु’ भनेर हिँडेको लालमोहन कहिल्यै फर्किएन । एक्लिएकी फूलकुमारीलाई लालमोहनको यादले त सतायो नै । व्यापारमा पनि उसको मन अडिएन । सहकारीमा अलि अलि भेलापारेको रकम असुलेर उसले टेम्पो किनी । त्यसैको कमाइले गुजारा चल्दैछ ।
दुवैका कथा सकिँदासम्म तोरीबारी पुगिसकेछ । फूलकुमारीले टेम्पो रोकी । वसन्त गह्रौं मन लिएर ओर्लियो । फूलकुमारी पनि ओर्लिई । दुवैले निकैबेर हेराहेर गरिरहे । दुवैको मनमा ज्वारभाटा उठे, आँखाबाट जलतरंग छल्किए । हिँड्न खोज्दै पछि फर्किँदै गरिरहेको वसन्त दौडेर आयो र फूलकुमारीलाई अंकमाल गऱ्यो ! दुवै आलिंगनबद्ध भए ।
(फेसबुकको ‘कथा’ समूहमा प्रकाशित)