विवाह

आइ.पी. अधिकारी

साझ पर्न लागेको समय । सूर्यले पश्चिम पहाडमा विस्तारै आराम लिन लागेको थियो । पूर्वबाट सन्ध्याकाली अध्याँरोले पृथ्वीलाई विस्तारै छोप्दै थियो । चराहरु आ-आफ्नो बासस्थान फर्कने क्रममा थिए । किर्तिपुर, चम्पादेवीको काखमा रहेको यो गाउँ संध्यालाई अंगाल्ने समयमा सुनौलो र चहकिलो देखिएको थियो । थोरैमात्र क्षेत्रमा फैलिएको खेतमा गहुँबाली फुल्न लागेको छ । शीत्तल हावा सुस्तरी बहेको छ । यसले गोधुलीलाई अरु रौनकता थप्ने काम गरेको छ ।

म घरको माथिल्लो तलामा उभिएर बाहिरतिरको दृश्य हेरेर रमाइरहेको छु । साँझ पर्ने समय म धेरैजसो कापी कलम छाडेर यसरी ने बिताउँछु। चैते दशैं र भर्खरै नयाँ वर्ष शुरु भएको कारण मानिसको चहल-पहल निकै थियो । पर बजारमा गाडीको आवाज र मानिसको हल्ला स्पष्ट सुनिन्छ। मेरो आँखालाई नजिकैको एउटा दृश्यले खिच्यो ।

म बसेभन्दा त्यस्तै सय मिटर पर । बालबालिकाको निकै ठूलो हुल छ। मैले धेरैलाई त्यसअघि नै देखेको हो तर अहिले खुट्याउन गार्‍हो भैरा’छ । यिनीहरु त्यस्तै ८-१० वर्षका हुँदा हुन् । दर्जनको संख्यामा छन् । वयस्कहरुको उपस्थिति छैन । कुनै खेलजस्तो पनि छैन । केटाकेटीको हुल बढ्दै गएपछि त्यहाँ के भएछ भनेर जान्ने इच्छा जाग्यो ममा ।

+    +    +    +    +    +    +    +    +    +    +   +

बिमला पीठो केलाउँदैछे । अरुहरु कृष्ण र सोनाका वरिपरि उभिएका छन् । छेउमा पानीका बोतल, नाङलो, थाल र कचौराहरु छन् । भाँडा-कराइ हुनुथ्यो भने त्यसलाई पक्का म पिकनिक ठान्थें तर भाँडा-कराइ छैन ।

श्याम विशेष भेषमा सजिएको छ । उसलाई लाउन केवल कछाड र सेन्डो मात्र छ । उ बाहुन बनेको छ, अनि कृष्ण र सोना त्यस समयका लागि दुलाहा-दुलही । ब्राम्हणको भुमिका निभाउन श्यामलाई निकै धौ धौ परे पनि उ मुसुमुसु हाँसिरहेको देखिन्छ । लाग्छ उ यस भुमिकामा त्यति सिरियस छैन । सोनालाई आमाको साडीले निकै सुहाएको जस्तो देखिएको छ । उसको अनुहार प्रष्ट देखिएको छैन । कुनै सेतो धर्के कपडाले त्यो छेलिएको छ ।

ब्रम्हाण केही हतारमा छन् । बिमला पीठोको नाङ्लो एकातिर राखेर हतार-हतार ब्राम्हणको नजिक आई र कानमा केही खुसुक्क भनी ।

कृतिका पनि छेवैमा उभिएकी थिई । तर उ यस समारोहकी दर्शकमात्र। उसको उमेर यस्तो खेल खेल्न सुहाउने छैन । १५ लाग्न आँटेकी कृतिका करिब दुई हार पर बसेर यो खेलको मज्जा लिइरहेकी छ । केही समय पहिलेसम्म उसले पनि यस्ता धेरै खेला रमाइलो मानेर खेलेकी थिई । उ आफैं पनि केही पटक दुलही बनेकी थिई । बच्चा उमेरमा विवाहजस्तो रमाइलो खेल अरु हुन सक्तैन, उसलाई यसको ताजा अनुभव छ ।

कृतिका केही हुर्केकी छ, स्तनका भागहरु विस्तारै बढ्न थालेका छन् । उ सुकिला लुगा लगाउन थालेकी छ, अरुले गरेको नक्कल गर्न थालेकी छ । लिपस्टिक र गाजल अनुहारमा देखिन थालेको छ । सानो कालो टीकाले उसलाई खुब सुहाएको छ । यी सबै उसको उदाउँदो यौवनका लक्षणहरु हुन् । समय धेरै छैन अब उसले वयस्क हुने दिन । भन्छन् १६औं वर्ष जीवनको चरमोत्कर्षको विन्दु हो । कुखुरे जोवन, यो उमेरमा नारीलाई विश्व सुन्दरी नै बन्न मन लाग्छ । राम्रो लाउने र खाने अनि नयाँ-नयाँ ठाउँ घुम्ने रहर यही बीचमा आउँछ ।

कृतिकाले अब विस्तारै सामाजिक परिपाटीमा घुलमिल हुनुपर्छ, घर व्यहारमा हात हाल्नु पर्छ । यौन र यौवन मात्र हैन उसलाई सामाजिक चालचलन र घर धन्धाले पनि वेर्न थालेको छ ।

तर यो पनि सत्य हो उसले बनावटी दुलही बनेको धेरै अघि हैन । उता बाबु-आमाले चाहे उसले साच्चैकी दुलही बन्ने दिन पनि त्यति टाढा छैन । आज विवाह मण्डपभन्दा अलि पर बसेर ऊ बनावटी दुलही र आफूले साँच्चै दुलहीको भुमिका निभाउनु पर्ने दिनको तुलना गर्दैछे । उसले यस्ता खेललाई चट्ट छोड्न पनि सकेकी छैन, मात लागेको छ। तर त्यहाँ खेल्ने दौंतरी उसका उमेरका छैनन् । त्यसैले सामेल हुन पनि आँट छैन ।

हिजो अस्तिका ती रमाइला दिन । त्यो उत्साह, त्यो मज्जा अब कहिल्यै आउदैनन् । उसको भित्रि मन पोल्यो । उसलाई लाग्यो यस्ता खेल खेल्न पाए ती रमाइला दिन, त्यो आनन्द, त्यो रमझम फेरी पलाउने थियो । उसले यो बालखेल न छोड्न नै सकी न खेल्न नै । विवाहभन्दा उसलाई कता कति कुतकुती लाग्न थालेको छ । केही समयअघि मात्र दिदीले प्रेमविवाह गरेर गएको दृश्य उसका अगाडि छ। इलु-इलुका कहानी उसलाई थाहा हुन थालेको छ ।

उ आफू बसेको वरिपरि हेर्थी अनि फेरी विवाह मण्डप । हाँस उठ्यो, अर्कोतर्फ फर्केर हाँसी । ठूलो आवाजमा हाँस्न पनि उसलाई मन लागेन। त्यो गिल्ला गरेको हुनेछ बालबालिकालाई । ऊ त्यसो गर्न रुचाउन्न । वस समारोहमा भाग लिन जाने हिच्किचाहटले उसले टाढैबाट त्यसको रमाइलो लिन चाहेकी छ ।

सिँदूर हाल्ने समय उसको मन थामिएन । बेहिलिको शिरबाट सेतो कपडा अलि परसम्म टाँगिएको छ । यो कपडा समाउन उसलाई रहर लाग्यो । उठी, अघि गई र समाई । बेहुलाले सिँदूर हालेको नाटक गर्‍यो । त्यो रातो हैन सेतो-खैरो देखियो । सायद त्यो बालुवा थियो । दुई-तीन पटक बेहुलाको हात तलमाथि गरिरह्यो ।

म छेवैमा उभिएको थिएँ । कृतिकाले पुलुक्क मेरो अनुहारमा हेरी । लाजले उसको अनुहार रातो भयो । लाग्यो उसलाई यो काम सुहाएन । उसले रुमाल त्यसै छाडी अनि अलि पर गएर अर्कैपट्टि फर्केर मुख छोपेर हाँस्न थाली । उभिइएका केटाकेटी त्यो देखेर हा-हा र हि-हि गरेर हाँसे अनि विवाह बीचैमा छाडे । कराउन थाले ।

राखेका सामानमा कसैले लात्तले हाने, कसैले टिपेर फाले । दुलाहा-दुलही पनि खितितिति हाँस्दै दुईदिशा दगुरे । विवाह सिद्धियो । विवाह उत्सव बिचैमा भंग गरेकोमा मलाई पछुतो भयो, नरामइलो लाग्यो ।

कृतिका निकैबेर उभिइरही । सबै केटाकेटी लाखापाखा लागे । एउटी बच्चीले म उभिएर उसलाई हेरिरहेको सूचना दिएपछि कृतिका नफर्किनै दौडी । साँझ झमक्क परेको थियो । म घर फर्कें । कोठामा रेडियो बजिरहेको थियो । रोडियोले विवाहको गाडी दुर्घटनामा परेर ४० जना मरेको खबर सुनायो ।

Adhikari blogs at ipajournal.wordpress.com

One Reply to “विवाह”

  1. bhutani jaya

    I P Adhikari dai ko katha malai sarai mann paroo. Tara bibha ko kura garera lekhag chai bibha nagari basne ho?? Hami ma yei ta komjori chha ki hami sadhai sadhai kalpana ma matra santusti lena chanchhun…. J bhaye pani I P dai kathanak shaili chi malai man paroo….
    keep posting more dai
    with regards
    Jaya Bhutani

Leave a Reply

Your email address will not be published. Required fields are marked *