विशेष सम्पादकीय: साहित्य, इलेक्ट्रोनिक युग र हाम्रो दायित्व
कुनै समय थियो जति बेला हामी आफैँलाई सम्प्रेषण गर्न कुनै त्यस्तै मंचहरुको खोजीमा भौँतारिन्थ्यौँ । हामीसँग अनेकन गुनासा थिए। गथासा थिए। युगको चेतना विपरीत निरंकुशताले चिथोरेका कहिल्यै खाटा बस्न नसक्ने घाउहरू थिए। तिनका दर्द थिए। वेदना थिए। टाढैबाट भए पनि राक्षसी शासकका विरुद्ध उम्लँदै गरेको खुन थियो। जुर्मुराउँदै गरेको मन थियो। ठाढिदै गरेका रौँ थिए। यी गुनासा, गाथासा, वेदना, दर्द, क्रोध, क्षोभ अभिव्यक्त गर्न हृदयको कुनामा कतै भाषा थियो आफ्नै लवजको। अक्षरहरू थिए विलक्षणताका। मन कुँडिन्थ्यो। अक्षरहरू एकआपसमा ठोकिन्थे र शब्द बनेर बाहिर निस्कन्थे। कहिले वाक्य सम्म बन्थे। कहिले वाक्यांशमै विलाउँथे। कहिले उच्छ्वास भएर उड्थे शब्दहरू। कहिले निराशा भएर फैलन्थे वाक्यांशहरू। कहिले कर्मठ योद्धा भएर जुर्मुराउँथे वाक्यहरू।
आफ्नै पिर व्यथा बुझ्न हामीलाई पर्याप्त थियो यो भाषा। तर निरंकुशताको आक्रमणबाट विक्षिप्त भएको यो भाषा अब अरू केही खोज्दै थियो। अलिकति मिठास। अलिकति माधुर्य। अलिकति लालित्य। अलिकति विम्ब। अलिकति अनुप्रास। अलिकति अलङ्कार। अनि अलि धेरै वर्णविन्यास। अलि धेरै शब्दभण्डार। अलि धेरै व्याकरण। सबै भन्दामाथि अलि धेरै ऊर्जा।अनि भाषा र साहित्यको अनन्य विकास र उन्नति।
यही बेला जन्माएका थिए हाम्रा स्वप्नद्रष्टा अग्रजहरूले नेपाली भाषा परिषद् भूटान। शब्दशिल्पीहरूको खेलमैदान यही थियो। भाषाअनुरागीहरूको कार्यशाला यही थियो। काँडाघारी फाँडेर एउटा धुलौटे गोरेटो सम्म बनाउन सके “भोलिको पुस्ता” ले सहज रूपमा हिँड्न सक्छ भन्ने आशा थियो। आवश्यकताअनुरुप त्यही पुस्ताले यसलाई विकाश गरोस् भन्ने भित्री अनुनय थियो। परिषद्ले यिनै शब्दशिल्पीहरूका शब्दहरू सावधानीपूर्वक एकै ठाउँमा थुपार्न “भूटानी कोपिला” जन्मायो। कोपिला यिनै भाषाअनुरागीहरूको मायाले भिजेर निथ्रुक्कै भएको थियो। यही मायाको कसीमा कोपिलाका आठ अङ्कहरू प्रकाशित भए। यही समयमा परिषद्ले हजारौँको सङ्ख्यामा भाषा-साहित्यप्रेमी, लेखक र नेपाली भाषाका शिक्षकहरू जन्मायो।
समय बदलियो। परिवेश बदलियो। भूगोल बदलियो। नेपालका तारघेराभित्र अवस्थित सात वटा ससाना भूटानहरूबाट हामी फ्याँकियौँ विश्वग्रामको महासागरमा। डिजिटल आप्रवासी हामी केही समय अल्मलियौँ। दिशाहीन भयौँ। तर समयको वरदान, समयको शाश्वतता हामी पनि बाहिर निस्कियौँ सामाजिक सञ्जालहरूमा एकाकार हुँदै। डिजिटल चौतारीहरूमा थकाइ मार्दै।
यसरी गतिहीनताले हाम्रो समयलाई अम्ल परीक्षणमा घुर्चिएको बेला हामीले हाम्रो साहित्यलाई Bhutaneseliterature.com को स्थापनामार्फत डिजिटल युगमा प्रवेश गराएका थियौँ। नियमितताका नौ वर्ष बितेछन्। समयक्रमसँगै Bhutaneseliterature.com लाई हामीले “भूटानी कोपिला” को डिजिटल संस्करणका रूपमा विकाश गर्दै लग्यौँ। आज हामी धेरैका हातहरू किबोर्डमा युनिकोडमा नेपाली लेख्न अभ्यस्त भइसकेका छन्। श्रुति पहिचान सफ्टवेयरहरूले हाम्रा आवाजहरू चिन्न थालेका छन्। हाम्रो लेखनले परिष्कारको बाटो पहिल्याउन थालेको छ। तर हाम्रा लेखहरू छरपस्ट छन्। हामी एउटै डिजिटल भन्ज्याङमा बसेर सुसेलिरहेका छौँ तर तिनै सुसेलीहरूलाई पहिचानको आयतन दिन सकिरहेका छैनौँ।
हामीले मूलधार मानेको नेपाली साहित्यमा पहिचानका आवाजहरू बुलन्द हुन थालेको दुई दशक नाघिसक्यो। यही मूलधारमा मिसिँदै गरेको हाम्रो परिप्रेक्षको साहित्यको खहरेको उपस्थिति फितलो भएको प्रतिक्रिया आउन थालेका छन्। साहित्यको स्तरीयताका लागि काम गर्ने समय यही हो।
हामीसँग एकातिर इलेक्ट्रोनिक युगको असीमितता छ; अर्कोतिर हामी आफैँलाई सङ्ग्रहित गर्न संघर्षरत छौँ। विविध प्रतिकूलताका कारण हामी आजको युगमा प्रिन्टमार्फत मात्र पाठकहरूसम्म पुग्न सक्दैनौँ। त्यसैले Bhutaneseliterature.com लाई हामी यसको सही विकल्पका रूपमा विकाश गर्न प्रयासरत छौँ। यही पहलअन्तर्गत हामीले हाम्रो साइटमा अहिलेसम्म दुई सयभन्दा बढी लेखकहरूका दुई हजार चार सय जति लेख-रचनाहरू अभिलेखकृत गरिसकेका छौँ। र यो क्रम जारी छ।
झन्डै एक हप्ता लामो अथक प्रयासपछि आज हामी यहाँहरूसमक्ष Bhutaneseliterature.com लाई फरक आवरण र संयोजनका साथ प्रस्तुत गर्दै छौँ। हामीले अपेक्षा गरेका छौँ कि यो साइट पहिलाभन्दा गतिशील अनि प्रयोगकर्ता तथा उपकरणमैत्री भएको छ। हामी सबै लेखकहरूलाई आफ्ना गृह पृष्ठसहित एकै ठाउँमा एकीकृत गर्दै छौँ ताकि उनीहरूका सबै लेखहरू एकै ठाउँमा पढ्न सकियोस्। हामी लेखकहरूको परिचय पनि सङ्कलन गर्दै छौँ। यस साइटलाई हामी भविष्यमा हुने खोज-अनुसन्धानका लागि “वन स्टप रिसोर्स” का रूपमा विकास गर्दै छौँ। यस कार्यमा हामी यहाँको सहयोगको अपेक्षा गर्दछौँ।
Bhutaneseliterature.com मा यहाँलाई हार्दिक स्वागत छ।
सम्पादन समिति
Bhutaneseliterature.com
साहित्य परिषद् भूटान